• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विष्णुकान्त घिमिरे
२०७९ चैत ११ शनिबार ०६:५२:००
पर्यावरण

लमजुङको लिपेलेक क्याम्पिङ ट्रेकको उत्कृष्ट गन्तव्य

२०७९ चैत ११ शनिबार ०६:५२:००
विष्णुकान्त घिमिरे

फराकिलो हिमशृंखलाको अवलोकन, गुराँस अनि जंगलैजगलको यात्रा, बाटोमा उत्तरपानी देवी र इलम पोखरी देवी, लामागाउँको गुम्बा अनि इलम पोखरीको चैत्यको दर्शनसँगै दाम्राङ पोखरीको अवलोकन ।घरको चार पर्खाल अनि मूलढोका र तगारोको परिधिबाट निस्केर प्रकृतिको काखमा क्याम्पिङ गर्दा एउटा अलौकिक अनुभव सँगाल्न पाइन्छ । अलार्मले उठाउने सहरी जीवनको व्यस्तताबाट चराको चिरबिरसँगै आँखा खोल्नु अनि प्रकृतिको माधुर्यमा आफैँ घोलिनु जिन्दगीकै अविस्मरणीय याद बन्न पुग्छ ।

लिपेनजिकैको तोउबाट देखिएको बौद्ध, हिमचुली र मनास्लु


यी र यस्तै अद्भुत अनुभव गर्न पाइने चक्रीय पदमार्ग हो लमजुङको दोर्दी गाउँपालिकास्थित इलम पोखरी–लिपे– दाम्राङ राउन्ड ट्रेक । छोटो, तर उत्कृष्ट यो क्याम्पिङ ट्रेकले जोकोहीलाई मोहित बनाउँछ । दोर्दी गाउँपालिकाको नौथरसेराबाट पदयात्रा सुरू गर्न सकिन्छ । सेरामा खानासँगै किसेदी खोलाका असला माछाको स्वाद पनि लिन पाइन्छ । श्रीमन्ज्याङ हुँदै दुई घन्टा पैदलयात्रा गरिसकेपछि लामागाउँ पुगिन्छ । गुरुङहरूको पुरानो घना बस्ती रहेको लामागाउँमा होमस्टेको विकास गरिँदै छ । त्यहाँ रहेको गुम्बा अवलोकन गरेर १५ मिनेट उत्तर लागेपछि देवीस्थान मन्दिर पुगिन्छ । 

दाम्राङ
पोखरी

देवीस्थानबाट अगाडि बढेपछि ओखारी गाउँ आउँछ । त्यहाँ परम्परागत घरहरू र हिमालको मनमोहक दृश्यहरू देख्न पाइन्छ । ओखारीबाट गौँडा हुँदै सेराबाट हिँडेको ६ घन्टामा जोर्ने पुगिन्छ ।समय कम हुँदा सीधै जोर्नेसम्म जिपमा गएर पनि ट्रेकिङ सुरु गर्न सकिन्छ । जोर्नेभन्दा माथि बस्ती छैनन् । त्यसैले ट्रेकमा चाहिने केही छुटेको भए जोर्नेमा किन्नुपर्छ । जोर्नेबाट उकालो लाग्दै गर्दा माछापुच्छ«े र अन्नपूर्ण हिमालले हामीलाई नियालिरहेका हुन्छन् । एक घन्टा हिँडेपछि प्रसिद्ध तीर्थस्थल इलमपोखरी पुगिन्छ । आडैमा इलम देवीको मन्दिर । उत्तरतर्फ सुन्दर हिमालहरू । अनि हिमालको देब्रे काखमा लिपे डाँडा ।

दाम्राङको
घलेगढी


इलम पोखरी यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो । इलम पोखरी मानवबस्तीको विकासको सुरुवातमा घना बस्ती भएको ठाउँ हो । यहाँ परापूर्वकालमा तामाङ बस्ती रहेको किंवदन्ती छ । महामारी लागेर त्यहाँको बस्ती छोडेको स्थानीय बताउँछन् । अहिलेसम्म पनि भग्नावशेष रहेको छ ।

 

जब लिपे लेक पुगिन्छ, संसारकै उत्कृष्ट स्थानमा पुगेको अनुभूति हुन्छ । १८० डिग्रीमा हिमालहरू । माछापुच्छ्रे«, लमजुङ, हिमचुली, बुद्ध, मनास्लु, गणेश हिमालको अद्भूत दृश्यले सबै थकान बिर्साउँछ । 


आठ पिर्के रोटेपिङ खेल्दा सात बहिनी पोखरीमा खसेर मृत्यु भएपछि देवी उत्पन्न भएको किंवदन्ती रहेकाले इलम देवीलाई सातकन्या देवी भनेर पनि चिनिन्छ । यहाँ हरेक वर्ष चैत्र पूर्णिमामा ठूलो मेला लाग्छ । पोखरीनजिकै बौद्ध स्तुपा पनि छ । पहिलो रात इलम पोखरीमा क्याम्पिङ गर्नु उपयुक्त हुन्छ ।दोस्रो दिन लिपे पुग्ने उत्सुकताले यात्रा अझ रोमाञ्चक हुन्छ । उकालो चढ्दै गर्दा यात्राको गति सुस्ताउने र मुटुको गति बढ्ने अवस्थामा त्यहाँका अनुपम दृश्य र शीतल वातावरणले शरीरलाई पुनर्ताजगी दिन्छ ।


इलम पोखरीबाट च्यार्ने अर्थात् लिपेको फेदीसम्म दुई घन्टामा पुगिन्छ । च्यार्नेसम्म तेर्सो बाटो भएकाले यात्रा सहज हुन्छ । तर, च्यार्नेबाट लेक पुग्न भने नाकै ठोकिने ठाडो उकालो हिँड्नुपर्छ । उचाइसँगै खुल्दै जाने हिमाल र गुराँसको जंगलले थकाइ भुलाउने कोसिस गर्छन् ।च्यार्नेबाट करिब तीनदेखि चार घन्टामा लिपेलेक पुगिन्छ । डाँडामा पुग्नै लाग्दा बाटोमा भेडीगोठ भेटिन्छन् । जाडो लागेपछि भेडीगोठ बेँसी झर्छन् । क्याम्पिङको सुविधा नहुँदा भेडीगोठमै पनि बस्न सकिन्छ । 


‘एकदमै प्रचुर मात्रामा व्यावसायिक सम्भावना बोकेको पदमार्ग लाग्यो । भेडाको सेल्टरहरूलाई टी हाउसको कन्सेप्टमा लगेर नमुना पदमार्गको रूपमा विकास गर्न सकिन्छ,’ नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले भने । सिप सेल्टरलाई नै प्रवद्र्धन गर्दै लिपेदेखि ओखण्ड–मेमे पोखरी–बाह्र पोखरीको आठदेखि १० दिने ट्रेकिङ रुट विस्तार गर्ने गाउँपालिकाको योजना छ ।


जब लिपेलेक पुगिन्छ, संसारकै उत्कृष्ट स्थानमा पुगेको अनुभूति हुन्छ । १८० डिग्रीमा हिमालहरू । माछापुच्छ्रे, लमजुङ, हिमचुली, बुद्ध, मनास्लु, गणेश हिमालको अद्भुत दृश्यले सबै थकान बिर्साउँछ । ‘बौद्ध हिमालदेखि मनास्लु हुँदै टाढामा धौलागिरिसम्मको रेन्ज सबै यहाँबाट देख्न पाइनेरहेछ,’ टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले भने । सानो समूह र प्रशस्त पानी बोकेको अवस्थामा लिपेलेक डाँडाको टुप्पामै क्याम्पिङ गर्न सकिन्छ । लिपेको टुप्पाबाट १५० मिटर तल झरेपछि दायाँतर्फ पानीको मुहान भएकाले क्याम्पिङ गर्न सहज ठाउँ छ ।

श्रीमञ्ज्याङ लामागाउँस्थित बौद्ध गुम्बा


तेस्रो दिनको यात्रामा अब दाम्राङतर्फ ओरालो झर्नुपर्नेछ । गुराँसको जंगलै जंगल हिमाल हेर्दै झर्नु कम्ता रमाइलो हुँदैन । ‘६–७ प्रकारका लालीगुराँस टाढापानीदेखि घान्द्रुकसम्म देख्छौँ । त्योभन्दा पनि घना जंगल र पुराना रूख लालीगुराँस सबै यहीँ देखिनेरहेछ,’ अध्यक्ष पन्थीले भने । गुराँसको जंगलैजंगल हिँड्ने यो ट्रेकिङ रुटलाई ‘गुराँस ट्रेक’का रूपमा पनि प्रवद्र्धन गर्न सकिन्छ ।


‘अहिले तत्काल केही वर्षका लागि क्याम्पिङ ट्रेक र भविष्यमा स्थानीय जनसमुदायहरूको अगुवाई भएमा टी हाउस ट्रेकसमेत हुने सम्भावना मैले देखेँ,’ नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले भने । ‘दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा हुने सबैखाले रूखबिरुवा र चराचुरुंगीसमेत यहाँ देखिए,’ शर्माले भने ।


लिपेबाट हिडेको ५–६ घन्टामा दाम्राङ पुगिन्छ । गुरुङ भाषामा ‘र’ को अर्थ पोखरी भन्ने हुन्छ । दामे नामका गोठालो पोखरीमा डुबेर मरेको भन्ने किंवदन्ती छ । त्यसैले दामेर भन्दै ताम्रा र पछि अपभ्रंश भएर दाम्राङ नाम रहन गएको बताइन्छ । कतिपयले दाम्राङ पोखरीलाई रात पोखरी पनि भन्ने गर्छन् ।

इलमपोखरी र
इलमदेवीको मन्दिर

‘यो पोखरी सिमसार क्षेत्र हो, ऐतिहासिक पोखरी हो, जुन विगतमा मासिएको थियो,’ पर्यटन व्यवसायी राजेन्द्र वस्तीले भने । दाम्राङ आफैँमा राम्रो गन्तव्य हो । जंगलको बीचमा पोखरी बनाइएको छ । जंगली जनावर र चराचुरुंगी अनि भेडीगोठका भेडा पानी पिउन त्यहीँ आउँछन् । दाम्राङमा नयाँ वर्षमा ठूलो मेला लाग्छ । चैत–वैशाखमा दाम्राङ जाँदा काफल र ऐँसेलु मज्जाले खान पाइन्छ । दाम्राङ पुगेर केही समय थकाइ मारेपछि नजिकैको गुफा अवलोकन गर्न सकिन्छ । 


दाम्राङको पश्चिमतर्फ थुम्कामा बाइसे–चौबीसे राजाका पालाका घले गढी, खुलाल गढी र पाण्डे गढी रहेका छन् । दाम्राङ पोखरीबाट आधा घन्टामा गढी पुगिन्छ । गढीमा पुरानो संरचनाका भग्नावशेष छन् । ‘भेडीगोठ हुँदै जाने ट्रेल, विगतदेखि नै पशुपालनलाई प्रश्रय दिएको ठाउँ, उत्तरी भाग, लमजुङको सुन्दरता बोकेको ठाउँ, एउटा गढीको रूपमा पनि प्रसिद्ध भएका कारण यस ठाउँमा पर्यटकीय सम्भावना देखिन्छ,’ टान गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले भने ।


चौथो दिन ट्रेकको अन्तिम दिन हो । पोखरीकै छेउबाट ओरालो लाग्नुपर्छ । खोल्साखाल्सी, जंगल हुँदै लामीडाँडा गाउँको बाटो सादिखोला पुगिन्छ । गुरुङ बस्ती रहेको लामीडाँडामा होमस्टे बनाउन सके ट्रेकिङ उक्लने र ओर्लने यात्रुलाई सहज हुनुका साथै स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिन्छ । आरामले आउँदा चार घन्टामा यो बाटो पूरा गरिन्छ । सादीखोलाबाट नौथर सेरा हुँदै जिप वा ट्याम्पोमा राजमार्ग निस्कन सकिन्छ ।‘बाटो बनाइसकेका छौँ । खानेपानीका स्पट पनि पत्ता लगाइसकेका छौँ । कुनै समस्या छैन त्यहाँ जान,’ गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने ।


कसरी जाने ?
काठमाडौंबाट लमजुङ पुग्ने बसमा जाने । लमजुङ र तनहुँको सीमामा पर्ने पौँदी बजारबाट दिउँसो साढे दुई बजे जोर्ने बजार जाने जिप लाग्छ । सोही जिपमा जोर्ने पुगेर वास बस्ने । त्यसपछि भोलिपल्टबाट ट्रेकिङ गर्ने गरी जाँदा सहज हुन्छ । अथवा भोटेओडार झरेर जिपमा नौथर सेरा बजार गएर बस्ने । दोस्रो दिन सेरा बजारबाट श्रीमन्ज्याङ हुँदै जोर्ने पुगेर वास बस्ने । 


के–के लैजाने ?
टेन्ट, म्याट्रेस, स्लिपिङ ब्याग, न्यानो कपडा, पकाउने र खानेकुरा एवं भाँडा, लाइटर, टर्च लाइट, पावर बैंक, पानी, प्राथमिक उपचार सामग्री, लट्ठी र ड्राई फ्रुट्स ।


के ख्याल गर्ने ?
होटेल एवं गाउँ नभएकाले क्याम्पिङ नै गर्नुपर्ने हुन्छ । समूहमा जाँदा राम्रो । इलम पोखरीमाथि पानी पाउन गाह्रो हुन सक्छ । त्यसैले आफूलाई चाहिने पानी लैजाने ।