• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
गनेस पाैडेल
२०७६ बैशाख २१ शनिबार ११:२७:००
साहित्य

मेरी आमाका गीत

२०७६ बैशाख २१ शनिबार ११:२७:००
गनेस पाैडेल

आमाको सपना 

मेरी आमाको सपना थियो, रेडियोमा गीत गाउने । उनको स्वर साह्रै मधुर छ । बारीमा भर्खरै उम्रेर तरकारीका मुनासँग गफ गर्दै आमा गीत गाइरहनुहुन्छ । धान गोड्दा वा रोप्दा त झन् गीत फुरेर हैरान । केटाकेटी छँदा म आँठामा बसेर सुनिरहन्थेँ । एक दिन धान गोड्दै गीत गाइरहेकी आमालाई सुनेर मेरा माइला काका जगन्नाथ पौडेल टेप रेकर्डर बोकेर बारीमै आउनुभयो र भकाभक गीत भर्न थाल्नुभयो । काकासँग अहिले पनि होला त त्यो टेप ? 

तर मलाई मेरी आमाले गीत गाएको कहिल्यै मन परेन । कारण के भने, आमाले आफ्नो गीतमा कहिल्यै खुसी गाउनुभएन, अभाव, पीडा, दुःख, आक्रोश, गाली मात्रै । आमाको बानी नै कस्तो बस्यो भने कसैसँग वह पोख्दा होस् या गुनासो गर्दा गीतमै गर्नुहुन्थ्यो । दसैँ, तिहारजस्ता चाडबाडमा हुने पारिवारिक भेलामा पनि आमाको ताल सधैँ त्यही, गीत गाएरै गुनासो गर्ने । तुक्का वाचेर होइन कि भाकै हालेर । गाउँदै, पछ्यौराको सप्कोले आँसु पुछ्दै । हामी केटाकेटीलाई अर्ती दिन होस् कि थर्काउन वा गाली गर्न, आमाको मुखबाट गीत नै फुथ्र्यो । अँगेनाको डिलमा बसेर आमाले गीत गाउन थाल्नुभयो भने पूरै घर सन्नाटामय हुन्थ्यो । थर्कमान ! चुपचाप ! आमाका गीत यसरी बुनिएका हुन्थे कि सुन्नेजति सबैको मनमा सुई पसिहाल्थ्यो र भतभती पोल्न थाल्थ्यो ।

बा बितेर घाटमा लैजाने वेला आमालाई अन्तिम दर्शनका लागि बोलाइयो । अब आमाले के गर्नुहोला भनेर म निकै आकुल भइरहेको थिएँ । तर, आमा कोठाबाटै गीत गाउँदै आउनुभयो । आँगनबाट तगारोसम्म गीत गाउँदै पछ्याएर बालाई बिदाइ गर्नुभयो । पीडालाई तत्क्षणिक गीतमा व्यक्त गर्ने आमाको जस्तो सीप र भाका चयनको तरिका मैले अरू कसैमा देखेको छैन । 

बा बितेर घाटमा लैजाने वेला आमालाई अन्तिम दर्शनका लागि बोलाइयो । अब आमाले के गर्नुहोला भनेर म निकै आकुल भइरहेको थिएँ । तर, आमा कोठाबाटै गीत गाउँदै आउनुभयो । 

गन्धर्व गाउँ बाटुलेचौरमा जन्मे–हुर्केकी मेरी आमामा गीतप्रतिको अनुराग देखिनु अनुमानित विषयै थियो, तर यो बिघ्नको अनुराग देख्दा ताज्जुब लाग्छ । आमाको गीतकै प्रभावले होला, मेरी दिदी वसन्ती पनि मस्तै गाउने । कुनै वेला थियो, मेरी दिदी उपस्थित नभएसम्म गाउँको चौतारीमा तीजको जमघटै हुँदैनथ्यो ।

सुर, ताल र लयको भर्सेला परोस्, म पनि गुन्गुनाइरहन्छु । स्कुल पढ्दाताकाका शुक्रवासरीय कार्यक्रममा निकै गाउँथें । आमाको त्यही स्वभाव अहिले मेरी छोरी सौरभीमा पनि सरेको छ । फुर्सद पायो कि गीत गाउन थालिहाल्छे । तीन पुस्तादेखिको रेडियोमा गाउने रहर सायद अब सौरभीले पूरा गर्ली !

आमाको रिस 
९ वर्षको हुँदो हुँ । बर्खेबिदा थियो । पर्मे खेतालीहरूसहित परिवारका सबैजना धान गोड्न बारीमा गयौँ । मध्याह्नखेर आमाले मलाई खाजा बनाएर ल्याउन घर पठाउनुभयो । दाल–भात त मैले पकाएकै थिएँ, तर खेतालीलाई खाजा बनाएको थिइनँ । ‘यतिवटा मकै यसरी पोल्, यो यो सर्दाम हालेर यति पिरो पिन्, कित्लीमा चिया पका अनि यति बजे लिएर आइजा ।’ आमासँग दोहोरो कुरा गर्नै डर लाग्थ्यो । ‘हुन्न’ भन्ने साहसै थिएन । घर आएर आमाले भनेकै संख्यामा मकै उधिनेँ । भुत्ल्याएँ र पोल्न थालेँ । ९ जना खेतालीलाई मकै पोल्दापोल्दा हत्तु भैसकेको थिएँ । हातभरि ठामठाममा आगोले डामेको थियो । मकै पोलेपछि पिरो पिन्दा पो चह¥यायो । त्यसपछि चिया पकाइवरी खाजा बोकेर बारीतिर लागेँ । थर्मस थिएन । कित्लीको चिया नसेलाओस् भनेर चाँड्चाँडो हिँडेँ । बीच बाटोमा पर्ने एउटा तगारो कट्नै लाग्दा सन्तुलन बिग्रियो । कित्ली हातबाट फुत्केर कुलोमा खस्यो । चिया सबै पानीमा मिसियो । बर्बाद भयो ।

म दगुर्दै घर फर्किएँ र फिक्का चिया पकाएर लगेँ । ढाटेँ, दूध त सबै बिरालोले खाइदिएको रहेछ । त्यतिसम्म त ठिकै थियो । तर, जब खेतालीहरूले मकै कोपर्न थाले, सबैको मुख बिगिँ्रदै गयो । मकै त पाकेकै रहेनछन् । आमाले भक्कु थुर्नुभो र पिट्न थाल्नुभो । साँझमा घर फर्केपछि बल्ल आमाले मेरो हात देख्नुभयो । सुक्सुकाउँदै पोलेको ठाउँमा घिउ दलिदिनुभयो । 

आमाको संघर्ष
सन्तान धेरै, बाको कुनै लगन थिएन । घरको काम खासै नहेर्ने, जुवा खेलिरहनुपर्ने । पुरेत्याइँको पैसा अलिकति जोहो हुनेबित्तिकै घर छाडेर घुम्न निस्कने । बाको कामबाट धेरथोर धान–चामल घरमा आउँथ्यो, तर बाले पैसा दिदैँ नदिने । घरको पूरै व्यवहार आमाले धान्नुहुन्थ्यो । आमा घरको मुली हुनुहुन्थ्यो । परम्परागत हिसाबबाट सोच्दा हाम्रा लागि बा आमा हुनुहुन्थ्यो, आमाचाहिँ बा ।

काका र मावलीहरू हामीभन्दा पढेका, जागिर भएका थिए । तर, आमाले त्यस्तो ‘फेमिली सपोर्ट’ पाएको मलाई सम्झना छैन । उसो त हरेक चराका आफ्नै चुच्चा, आफ्नै चारा र बचेराका टन्टा हुन्छन् । हाम्रो गुँड हाम्रै हालमा थियो । हामी आफ्नै बुताले बाँच्यौँ, धेरै लड्यौँ, तर सम्हालियौँ ।

भनिहालेँ नि बाको बानी घरबाट भागिरहने । जब बर्खा लाग्थ्यो र घरमा कामको चटारो हुन्थ्यो, बा गायब । जब हिउँद आउँथ्यो र मंसिरको माहोल हुन्थ्यो, बा फेरि गायब । वर्षको दुई–तीनपटकसम्म भागिदिने । एकपटक भागेपछि हप्तौँ र कहिलेकाहीँ त महिनौँ नआइदिने । भागेर जाने उहाँको गन्तव्यमा देवघाट, जनकपुर, माडी र धनगढी बढी हुन्थे । बा साह्रै कामचोर र अल्छी । अनि बिचरी आमा हामी ६ थान भन्ट्याङभुन्टुङलाई ततेरेर पूरै खेतबारीको मेलो सक्नुहुन्थ्यो । त्यत्रो ठूलो परिवार पाल्ने खेतबारीका लागि हली, बाउसे र खेतालीको पर्म एक्लै लगाउनुहुन्थ्यो । मैले आमा घरमा आरामले बसेको कहिल्यै देखिनँ । उहाँ दिनदिनै खेतालो जानुहुन्थ्यो । अत्यन्तै दुब्ली, ख्याउटी हुनुहुन्थ्यो । अझै उस्तै त हुनुहुन्छ । 

हामी केटाकेटीले बेलुकाको भात पकाउँथ्यौँ । आमा ६ बजेतिर मेलाबाट फर्किनुहुन्थ्यो । दिनभरिको कडा परिश्रमले गर्दा उहाँको गानो जान्थ्यो । तेल वा घिउ तताएर उहाँको गानो तान्ने दैनिकी नै थियो घरमा । 

ढ्याप्रिको मधुरो प्रकाशमा आमा सुक्सुकाइरहनुहुन्थ्यो । आमा नरोएको कुनै साँझ भएन । रुँदैरुँदै बालाई गीतमा गाली गर्नुहुन्थ्यो– ‘घर बारेर सरुवा सारेको, रुन मलाई कर्मले पारेको ।’ तत्कालै ‘के खाए होलान् ? कहाँ गए होलान् ?’ भनेर माया पनि देखाउनुहुन्थ्यो । मलाई आमा रोएको कत्ति मन पर्दैनथ्यो । म कहिलेकाहीँ ‘आमा मेलाबाट घर आएको र नरोई सुतेको’ सपना देख्थेँ । तर, मेरो सपना कहिल्यै साकार भएन । 

अभिभावक आमा
कक्षा १० मा पढ्दा म स्कुलबाट रस्टिकेट भएँ । रस्टिकेट हुनु त्यो पनि कक्षा १० को टेस्ट परीक्षा आउन महिना दिन पनि बाँकी नहुँदै । अन्तिम पिरियड खेलकुदको थियो । फुटबल खेलेका सबै साथीको झोला चौरमै थियो । मेरो भने कक्षाकोठामै । म झोला लिन दौडिँदै कक्षातिर कुदें । ढोका खोलेँ । भित्र पसेँ । बेन्चमाथिको झोला तानेँ अनि फरक्क फर्केर ढोकातिरै कुद्दै थिएँ । अघि खोलेको ढोका कुकुरको छाउरोझैँ कुइँकुइँ गर्दै बन्द हुन लाग्यो । मैले झड्कालिएर खोलियोस् भनेर एक लात्ती ढोकामा बजाएँ । अरू सबै केटाहरूले पनि ढोका उघार्न त्यसै गर्थे । ढोकाको पलेटो त्रिकोशको काठमा ठोक्किएर बाउन्स हुँदै उघारिन्थ्यो । अनि हामी ढोका रिवाउन्स नहुँदै फुत्त बाहिर निस्कन्थ्यौँ । तर मेरो लात्ती खाएर ढोका फर्किएन, बरु एउटा फलिको फुक्लेर बाहिर पो पुग्यो । ढोकाको बीचमा एउटा प्वाल देखियो । प्वालभित्रबाटै देखिए हेडमास्टर । म डराएर भागेँ । भोलिपल्ट स्कुल आएको मलाई कक्षाकोठामा पस्न नदिई घर पठाइयो । भनियो, अर्को निर्णय नभएसम्म तँ रस्टिकेट भइस् ।

पढाइमा म कक्षाको पहिलो विद्यार्थी थिएँ । एसएलसीको बोर्डमै पर्ने आँट थियो । तर, परीक्षाको मुखैमा यस्तो निर्णय सुन्दा म निकै विचलित भएँ । मलाई के गरूँ कसो गरूँ भयो । मैले सबैतिर अँध्यारो मात्रै देखेँ । अब मेरो टेस्ट के हुन्छ ? एसएलसी के हुन्छ ? के मेरो भविष्य बर्बाद भयो ? 

स्कुलबाट रस्टिकेट भएको एक हप्तासम्म स्कुलले कुनै निर्णय सुनाएन । मनमा निकै कुरा खेल्थे– भागेर भारत पस्नेदेखि आत्महत्या गर्नेसम्म । केही दिनपछि आमाले किन घर बसेको भनेर केरकार गर्नुभयो । आमालाई बिस्तारमा बताएपछि पहिला त मसँग रिसाउनुभयो अनि पछि हेडमास्टरसँग झोक्किनुभयो । ‘केटाकेटी बिठ्याइँमा यस्तो सजाय गर्ने ? तँ नआत्ती पढेर बस् ।’ भनेर आमा निस्किनुभयो । कता जानुभयो मलाई थाहा भएन ।

‘त्यही मात्रै स्कुल छ र ?’ साँझमा आएपछि आमाले योजना सुनाउनुभयो । तिनताका जिल्लास्तरीय टेस्ट परीक्षा पास नभई एसएससी दिन पाइँदैनथ्यो । टेस्ट पास भएपछि मात्रै एसएलसीको परीक्षा फारम भरिन्थ्यो । आमा मैले पढिरहेको होइन, छिमेकको अर्कै स्कुलमा जानुभएछ । त्यो स्कुलका हेडमास्टर हाम्रो गाउँले थिए । उनले ‘शिक्षा कार्यालय गएर हाम्रो स्कुलबाट टेस्ट परीक्षा दिन मिल्ने व्यवस्था गर्न कोसिस गर्छु’ भनेछन् । अलिकति आशा जाग्यो । दुई दिनपछि खबर आयो, ‘भोलिबाट स्कुल पठाइदिनू ।’ मेरो खस्केको ह्याउ उकासियो । त्यो दिन म खुब खुसी भएँ । सोचेँ, कसो भारत भागेनछु । आत्महत्या त सोचेको मात्रै हो, कसले गथ्र्यो र ? भोलिपल्ट बिहान म नयाँ स्कुल जाने तरखरमा थिएँ । बिहान ९ बजेखेर पुरानो स्कुलको पियन दाइ घरमा आउनुभयो । ‘हेडसरले बोलाउनुभएको छ । अभिभावक लिएर जानू अरे ।’

म दोमनमा परेँ । नयाँ स्कुलमा जाऊँ कि पुरानोमा । आमासँग सल्लाह भयो । ‘नयाँ गएपछि त्यहाँ पनि भर्ना गर्नैप¥यो । फिस तिर्नैप¥यो (तिनताका सरकारी स्कुलमा पनि मासिक शुल्क लिइन्थ्यो) । बोलाएपछि जाम् न त के भन्दा रहेछन्,’ आमाले भनेपछि मान्नैपर्‍यो ।

समस्या गरिबीको थियो । नभए म पुरानो स्कुलमा फर्केर पनि जानेवाला थिइनँ । स्कुलको ढोका फोरेर मैले गल्ती त अवश्य गरेको थिएँ, तर त्यो अक्षम्य अपराध थिएन, किशोरकालीन जोस थियो । तै आमाको आग्रह टार्ने कुरा भएन । म आमालाई लिएर स्कुल पुगेँ । मलाई स्टाफरुममा बोलाइयो । संसारकै सबैभन्दा उच्छृङ्खल र खराब पात्रको रूपमा मेरो चित्रण गरियो । कान समाएर सबै शिक्षक–शिक्षिकाका अगाडि पालैपालो माफी माग्न लगाइयो ।

जीवनमा कहिल्यै मास्टरको चुटाइ त के थुराइसम्म नखाएको म यसपटक असहाय भएँ । माफी माग्ने कुनै शब्दै फुरेनन् मबाट । आक्रोशका आँसु मात्रै झरे । आँसु त आँसु नै हो । दुःख, सुख वा आक्रोश जेबाट खस्ने पनि आँसु उस्तै देखिन्छन् । आक्रोशले झरेका मेरा आँसुलाई उनीहरूले प्रायश्चितका ठाने र मलाई ‘माफ’ दिए । तर, मेरी आमाले मेरो आँसु नबुझ्ने कुरा थिएन । बाटोमा भन्नुभयो, ‘मनमा इख राखेस् । राम्रो रिजल्ट ल्याएर देखाएस् । तेरो बाउ सोझो भएको हुनाले हेपेका हुन् । फलानोको (एकजना गाउँलेको नामै तोकेर) छोरो भएको भए यस्तो सजायँ गर्थे ?’

त्यसपछि म स्कुल गइनँ । मलाई स्कुल जान नपाउने तर परीक्षा मात्रै दिने गरी पुनर्वहाली गरिएको थियो । पढाइ लगभग सकिएकै थियो । स्कुल जान नपरेकोमा म खुसी नै भएँ । अघिल्लो स्तम्भमा भनेकोझैँ हेडमास्टरलाई गोद्ने योजना त्यही वेलै पलाएको हो । मैले आफैँले त उनलाई गोदिनँ । तर, मलाई विश्वास छ, उनलाई समय, सन्तान, समाज वा नियतिले पक्कै भक्कु गोदिरहेको हुनुपर्छ ।

सपनामा आमा 
म निकै असजिला सपना देखिरहन्छु । भय–कथाका सिनेमाभन्दा पनि भयंकर । हरेक वर्षजसो एउटा सपना बारम्बार आइरहन्छ । आमा, म र छोरी सौरभी कुनै अनकन्टार पहाडमा ज्यान जोगाउँदै भागिरहेका हुन्छौँ । हुरीले उधिन्याएका रूखहरू भकाभक उखेलिदैँ पल्टिँदै हुन्छन् । खोलाहरू घरि उल्टो घरि सुल्टो गरी बग्छन् । तल उपत्यकामा ज्वालामुखीझैँ आगो उम्लिरहन्छ । माथि हिमालमा ठुल्ठूला पहिरो चल्छन् । हामीजस्तै अरू मान्छे पनि भागिरहेको आवाज सुनिन्छ तर तिनीहरू दृश्यमा हुँदैनन् ।

मैले प्रलयमा ज्यान जोगाउन हिँडेका मान्छेहरूका धेरै कथा पढेको छु । सिनेमा त कति कति हेरेको छु । मिथकहरूमा व्यक्त युगान्तका विनाशक किस्सा पनि चेतन–अचेतन दुवै हृदयमा टमाटम छन् । सायद तिनीहरू अचाक्ली गढेर बसेका छन्, र त म यस्ता सपना तारन्तार देखिरहन्छु । स्वप्नविदहरू भन्छन्– डरलाग्दा सपना देख्नु भनेको त राम्रो कुरा पो हो ! यसले स्वप्नदर्शी अझै पनि हारेको छैन भन्ने संकेत गर्छ । ऊ अझै संघर्षशील र मानवीय छ भन्ने संकेत गर्छ ।

यस्ता सपना देखेँ भने म अझै पनि आमालाई सुनाइहाल्छु । आमा पनि आफूले देखेका सपना सुनाउनुहुन्छ । यस्ता कैयन् घटना छन्, जुन वेला हामी आमाछोराले एकै रात एउटै सपना देखेका हुँदा रहेछौँ । 

आमा भन्नुहुन्थ्यो, म जन्मनुअघिको रात सपनामा एउटा जोगी आएको थियो । उसले भनेको थियो रे, ‘तेरो छोरोले जेलाई छुन्छ, त्यो सुन हुन्छ । तर, त्यो सुन उसको आफ्नै लागि कहिल्यै काम लाग्दैन । तेरो छोरो कि झोला भिर्छ, कि खरानी घस्छ ।’

सपनाका कुरै त्यस्ता । मैले केलाई छोएँ ? त्यो कहिले सुन भयो र कसका लागि काम लाग्यो ? मलाई केही हेक्का छैन । न म झोला भिर्ने नेता भएँ, न खरानी घस्ने जोगी । जिन्दगी त त्यसै पो बित्यो, मिस्कटै मिस्कट भएर ।

आमाको प्रेरणा
पत्रिकामा छापिएका मेरा हरेक आर्टिकलको पत्तो आमालाई हुन्छ । भेट्नुभयो भने ‘पढेर सुना त !’ भन्नुहुन्छ । अब मेरो लेखाइ न पर्‍यो, कति आमालाई सुनाउन मिल्ने खाले हुन्छन् कति हुँदैनन् ।

आफ्नो पहिलो र एक मात्र उपन्यास ‘पैताला’को पहिलो कपी आमालाई उपहार दिन म घर गएँ । आमा सदाझैँ बारीमा तरकारी गोडमेल गर्दै हुनुहुन्थ्यो । आफ्नो नामबाहेक अरू लेखपढ गर्न नजान्ने मेरी आमाले छोरोको किताबलाई बिस्तारै सुम्सुमाउनुभयो । उनका आँखामा स–स्यानो फेवाताल देखापर्‍यो । तर, फेवामा हिमालको छायाँ परेझैँ आमाको अनुहारमा खुसीको छाया सोहोरियो । ‘पैताला’लाई मेरो शिरमा राखेर कपाल मुसार्दै भन्नुभयो, ‘किताब ठूलो रैछ, कसले पढेर सुनाउँछ मलाई ? तँलाई डुलेर हिँड्दै फुर्सद छैन ! बरु कोही पढ्न सक्ने मान्छेलाई लगेर उपहार दे । तेरा कुरा त मलाई थाहै छ नि !’ मलाई आमाले सुन्नै नपाउने कथा बेक्कार लेखेछु जस्तो पो भयो ।

आमालाई उपहार भनेर लगेको किताबलाई स्कुटरको डिक्कीका हालेर म पृथ्वीचोकतिर कुदेँ । बसपार्कबाहिरको चौताराछेउ स्कुटर रोकेँ । किताबको अघिल्लो पानामा यस्तो लेखेर एक प्रति ‘पैताला’लाई कुनै अन्जान पाठकको नाममा बाटोमा मिल्काइदिएँ:
अचानक
महाशून्यको अटल अक्केराबाट
फुतुक्क खस्यो हिउँको एउटा चोक्टा
मेरो कफीको मगमाः
छप्ल्याङ्ङ !
अनि ब्रह्माण्ड जन्म्यो,
समय जन्म्यो
तिमी जन्यौ, म जन्मेँ ।
आमा !
म समयको अन्त्य हेर्न चाहन्छु ।
तातो बिग ब्याङ्ग थ्योरीलाई चिसो कफीको मगमा छप्ल्याङ्ङ खसालेर साँझ फेरि घर गएँ । ‘कसलाई दिइस् त नि ?’ आमाले सोध्नुभयो । मैले व्यहोरा बताएँ । आमाले फिसिक्क मुस्कुराउँदै भन्नुभयो, ‘सम्पत्ति सक्ने मेलो समातिस् । भानुभक्त हुन हिँडिस् । नातिनीको ख्याल गरेस् ! अर्कालाई बिझ्ने नलेखेस् !’