• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टंक चौलागाईं
२०७९ चैत ११ शनिबार ०७:१९:००
साहित्य

जहाँ भेटिन्छ काठमाडौंको श्यामश्वेत तस्बिर

२०७९ चैत ११ शनिबार ०७:१९:००
टंक चौलागाईं

‘जङ्क्सन पिपलबोट’ पुस्तक लिएर पढ्न बसेको छु । बिएल शर्माको प्रसङ्ग आउँदा बुबालाई सुनाएँ ।‘बिएल शर्माको पसल न्युरोडमा थियो रे !’ ‘बेल शर्मा दरबारमा राजाहरूलाई मिठाई लिएर जान्थे, हामी त्यहाँ भारी बोक्थ्यौँ ।’ बुबा आफ्नो स्मृतिमा पुगेर बिएल शर्माको बारेमा गफिन थाल्नुभयो । घत परेका कुरा वेलावेलामा बुबालाई सुनाउँछु । परिचय हुनुको फाइदा उठाउँदै लेखक प्रकाश गुरागाईंलाई म्यासेज पठाउन पनि पछि पर्दिनँ । निकै छोएका पंक्ति टिपेर सामाजिक सञ्जालमा पोस्ट पनि गर्दै छु । पुस्तकमा नाम उल्लेख भएका केही लेखकसँग कुरा गर्न पनि चुकिनँ । 


पुस्तकमा आएका रोचक प्रसङ्गहरूले काठमाडौंको श्यामश्वेत तस्बिर मस्तिष्कमा जति छापिँदै गयो, उति छटपटीमा पुस्तक पढेँ । छटपटिनुको कारण पक्कै यो पाठकीय टिप्पणीबाट थाहा लाग्नेछ । जीवित रहेका त्यो कालखण्ड भोग्नेहरू र अझ बढी नयाँ पुस्ताहरू पनि पक्कै छट्पटिनेछन् । पढ्नैपर्ने, नपढे सन्ततिका लागि सङ्ग्रह गरेर राखिदिनू, कि अरूलाई उपहार दिनू, यो पुस्तकले यति ‘अपिल’ गर्दछ ।


जुद्धशमशेरको पालादेखि राजा वीरेन्द्रसम्मको राजनीतिक सेरोफेरोमा रही साहित्यकर्मीको मस्तिष्कमा कैद ‘नोस्टाल्जिक’ तस्बिर नै यो पुस्तकको मुटु हो । प्राकृतिक सुन्दरता मास्दै आधुनिकता भित्र्याएर यस धर्तीलाई सहर बनाउन लक्षित मानव मै पनि त हुँ ! ०५० सालको हाराहारीमा हामी काँडाघारीमा बसाइँ सर्दा कोटेश्वरको एयरपोर्टले घेरेको ठाउँबाट हिँडेर घर आउँथ्यौँ । त्यो कोटेश्वरको डाँडाबाट गोठाटार जगतजङ्गको दरबारमा रहेको कटहरको रुख देखिन्थ्यो । बसको सुविधा नभएकाले हिँड्दै गोठाटार आइपुग्थ्यौँ । राजेन्द्र पराजुली आफ्नो घर एयरपोर्टको डाँडामा भएको बताउनुहुन्छ । गोठाटारका मानिसहरू ठिमी र कोटेश्वर पुगेर किनमेल गर्नुलाई ‘सहर जाने’ भन्थे । कोटेश्वरभन्दा अलि पर बानेश्वर छ । त्यहाँका बुढाबुढीहरूसँग कुरा गर्दा थाहा भयो, बानेश्वरमा पनि कुनै वेला खेतीपाती हुने जमिन थियो, जङ्गल थियो । ०६० सालको हाराहारीमा पनि बानेश्वरका मानिसहरू असन इन्द्रचोक जानुलाई सहर जाने भनेर हिँड्थे । 


च्याप्टर सक्दानसक्दै लेखकलाई म्यासेन्जरमा म्यासेज पठाएँ, ‘सर गज्जब लेख्नुभएछ ! जुद्धशमशेरबारे त नाटक नै गर्न मिल्छ । अरूका श्रीमती, छोरीचेलीलाई ल्याएर श्रीमती बनाउने जुद्धशमशेरको यो पाटोबारे थाहा नै थिएन ।’‘उनको बारेमा त अरू धेरैले लेखेका छन् । पढ्ने सामग्री थुप्रै छन् सर ।’ तुरुन्तै लेखकले जवाफ पठाइहालेँ । जुद्धशमशेरको स्वभाव, राजनीति, चार सहिदहरू, राणा शासनबाट प्रजातन्त्रतिर बामे सर्दाको छटपटीलाई मिहिन तरिकाले पढ्न पाइन्छ ।नयाँ सडकको पिपलबोट खबर, साहित्यको मात्रै केन्द्र नभएर विकास, आधुनिकता, राजनीतिको नै केन्द्र रहेछ । नयाँ सडकको विकास वनमाराझैँ वरिपरिको काँठमा कसरी फैलियो, नयाँ सडकका एक–एक घरहरू कसकसका थिए र कसबाट कसमा पुस्तान्तरण भयो, लेखकले यी सबै कुरा गहिराइमा पुगेर केलाएछन् ।


चार सहिदको हत्या भएको कुरा धेरैलाई थाहा छ । पढेका छन् । सुनेका छन् । तर, ती सहिदहरूको बारेमा सुराकी गरेर राणासमक्ष खबर पु¥याउने व्यक्ति को हो ? कसरी सुराकी गरियो ? सुराकी गर्नेले के पाउँथे ? सहिदहरूको हत्या किन रातको समयमा गरियो ? धर्मभक्तको घर, उनको व्यायामशाला, उनले त्रिभुवनलाई कसरत सिकाउने प्रसङ्ग अझ रोचक छ । गणेशमान सिंहले पुष्पलाल श्रेष्ठलाई पराजित गरेको प्रसङ्ग पनि पढ्न पाइन्छ । 


पहिलो खबर पत्रिका, पहिलो साहित्यिक पत्रिका, कुन कुन थिए ? साहित्यकारहरू को को नयाँ सडक पुग्थे ? पिपलबोटमा पत्रपत्रिका बिक्रीवितरण हुन्थ्यो । साहित्यकारहरू पत्रिका पढेर बस्ने र आफ्नो रचना छापिएको पत्रिका किन्थे । चिया पसलमा बसेर कविता सुनाउँथे । काठमाडौं आउने मानिसहरू पहिलोपटक पिपलबोट पुग्ने रहेछन् । नयाँ सडकका कुन घरमा चिया पसल थिए ? जनसेवा हल कसरी निर्माण भयो र कसरी आगलागी भयो ? नेपालमा पहिलो कात्रोपत्रे भएको सडक, पहिलो ढल निकास, नेपालमा पहिलो मोटरसाइकल चढ्ने व्यक्ति को हुन् ? त्यो वेला कुन कम्पनीका मोटरसाइकल थिए ? मोटरसाइकल कसकसले चढे !

 

बालकृष्णशमशेर राणा किन, कसरी ‘सम’ बने ? विजयबहादुर मल्लको लेख्ने ‘स्टाइल’ कस्तो थियो ? लगायत अनेक प्रसङ्गका श्यामश्वेत तस्बिरहरू न्युरोड एडिक्सन, जुद्धशमशेर, हात्ती र नयाँ सडक, खबरको थलो, त्यो थियो पिपलबोट, राणाविरुद्ध जाग्यो नयाँ सडक, राजनीतिको राजमार्ग : नयाँ सडक हुँदै सिंहदरबार, मदिरा र मित्रता, जुत्ता : शासकविरुद्ध एउटा बिम्ब, साइकल युगमा मोटरसाइकल चढ्नेको कथा, कटुवालका किस्सा, रक्सीले बदनाम एउटा कवि, तीन मित्र, तीन शैली, विमोचन बहाना, जासुसहरूको अखडा, नयाँ सडकका पुराना घर, निरन्तर नयाँ सडक, गरेर सोह्र अध्यायमा सकिएको यो गैरआख्यान विधाको पुस्तक पुरानो काठमाडौंदेखि अहिलेको काठमाडौंको कथावाचन हो । यसका लागि साँच्चै भन्ने हो भने ३१४ पृष्ठ निकै कम प्रतीत हुन्छ ।अहिलेको माइती घर मण्डला र उहिलेको नयाँ सडक पिपलबोटमा केही समानता भेटिन्छ । राणाशासन, पञ्चायत ढलेसँगै नयाँ सडकमा केन्द्रित राजनीति कसरी सिंहदरबारतिर सोझियो भन्ने लेखकको बुझाइ अत्यन्तै सान्दर्भिक लाग्यो । 

नयाँ सडकमा गुँदपाक बेच्ने चर्चित पसल भएको घर कसको हो ? भूगोलपार्कको नाम किन बस्यो ? नब्बे सालको भूकम्पमा जुद्धशमशेरले के–के गरे ? हो, यिनै कुरा थाहा पाउन हो ‘जङ्क्सन पिपलबोट’ पढ्नैपर्ने ! भूपी शेरचन, हरिभक्त कटुवाल, विमल निभा, नारायण ढकाल, किशोर नेपालका ‘फ्यान’हरूले त यो किताब छोड्नै भएन ।


खबर थाहा पाउन, रचना सुनाउन, मदिरा पिउन हरेक साँझ पिपलबोट पुग्ने कविहरूलाई अहिले सामाजिक सञ्जालले कोठामै थुन्दा नयाँ सडकको ‘कवि कुनो’ के भन्दो हो ! नयाँ सडक नपुग्ने, त्यहाँका चिया पसलमा चिया नपिउने, कविता नसुनाउने, कथाका प्लट नसुनाउने लेखक, साहित्यकार, कवि नै हैनन् जस्तो लाग्छ । साहित्यकारहरूले ‘स्ट्रिट एकेडेमी’ नै खडा गरेका रहेछन् । ‘बुट पालिस’ आन्दोलनमा को को सहभागी भए ? पुस्तकको पहिलो विमोचन, विमोचनको शैली, विमोचन भन्ने कि लोकार्पण भन्ने वा अर्कै नाम पो छ कि । 


अहिलेका लेखक, कविहरू अति नै सोझा लागे । त्यो वेला मदिरा नपिउने साहित्यकार कोही पनि रहेनछन् । नपिउनेहरू पनि पिपलबोट धाउन थालेपछि पियक्कड बन्ने रहेछन् । पिएर मात्ने को को थिए ? चुपचाप पिउने मात्र को को थिए ? पिएपछि झगडा गर्नैपर्ने को को हुन् ? कसको झगडा कोसँग प¥यो ? मदिरा पिउँदा धेरैजसो पैसा तिर्ने को हुन् ? यी सबै पिपलबोटले देख्यो, भोग्यो, चुपचाप बसिरह्यो । 


के–के कुरा विस्थापित भए ? के–के कुरा स्थापित भए ? यसको श्रेय नयाँ सडकलाई जान्छ । नयाँ सडकमा गुँदपाक बेच्ने चर्चित पसल भएको घर कसको हो थाहा छ ? भुगोलपार्कको नाम किन बस्यो ? ०९० सालको भूकम्पमा जुद्धशमशेरले के–के गरे ? हो, यिनै कुरा थाहा पाउन हो ‘जङ्क्सन पिपलबोट’ पढ्नैपर्ने ! भूपी शेरचन, हरिभक्त कटुवाल, विमल निभा, नारायण ढकाल, किशोर नेपालका ‘फ्यान’हरूले त यो किताब छोड्नै भएन । यस्ता अनेक–अनेक लेखक, कवि, राजनीतिज्ञहरूको असली चरित्र छर्लङ्ग पार्न लेखकले गरेको मिहिनेत झल्किन्छ ।


त्यो वेलाको खबरको थलो, राजनीतिको केन्द्र, आधुनिकता भित्र्याउने पिपलबोट अहिले धुलोधुवाँले कुरूप भएर उभिएको छ । ऊसँग सुनाउने केही खबर छैन । काठमाडौंका धेरै घरबाट निस्किएको धुवाँ उसले देख्थ्यो र पो खबर सुनाउन सक्थ्यो !‘उसको घरमा गाडी थियो । माथि उभिएर बेल शर्माले त्यो गाडीभित्र हाल्न कसले सक्छ ? भनेर सोध्यो । त्यहाँ भएका कसैले पनि आँट गरेनन् । मैले गाडी चलाएर भित्र हालेँ । यस्तो गाडी चलाउन सक्ने मान्छे भारी बोकेर बस्ने हो ? भनेर बेल शर्माले भन्यो ।’ बुबाको कुराकानी निरन्तर थियो । बुबाको यो कुरामा मलाई पत्यार लाग्दैन, किनभने बुबाले २०५३ सालमा ट्याक्सी सिक्न निकै महिना लगाउनुभएको थियो । भारी बोक्नुभयो, क्याटरिङमा काम गर्नुभयो, त्यसपछि हो बुबाले पछाडि तीनजना बस्ने टेम्पो चलाउन थालेको । बुबा एकदमै कम बोल्नेमा पर्नुहुन्छ । उहाँले पनि कुनै–कुनै घटनालाई यसरी बयान गरिदिनुहुन्छ कि त्यसमा सत्यता छैन भन्ने थाहा हुन्छ । थाहा हुँदाहुँदै पनि विश्वास मानिदिनुपर्ने हुन्छ । किनभने त्यो उहाँले बाँचेको समय हो । यो पुस्तकको जोखिम भनेको यत्ति हो । 


तुलसी मेहेर जेल परेपछि महात्मा गान्धीले दुईपटक पत्र लेखेको प्रसङ्ग पनि छ । योबारे सत्य के हो कसरी थाहा पाउने ? अहिले नयाँ सडकका घरधनीहरू अलि टाढा बस्छन् । कोही विदेश पुगे । नयाँ सडक आधुनिक अनि महङ्गो व्यापारिक स्थल बन्यो । त्यही नयाँ सडक हुँदै, ठमेल, दरबारमार्ग पुगेको आधुनिकता देशैभरि फैलिरहेको छ । आधुनिक नयाँ सडक अहिले गर्व गर्दाे हो, आफ्ना रङ्गीन आधुनिक तस्बिरहरूमा । फेरिएको ढाँचामा जङ्क्सन छ, पिपलबोट छ तर अहिले भेटिनेहरू कोही पनि छैनन् । कोहीले धर्ती छोडे, कोहीले देश छोडे, कोहीले बस्ती छोडे र पलायन भए !