• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सपना लिम्बू
२०७९ चैत ११ शनिबार ०७:२३:००
साहित्य

पारिजातलाई पढेपछि...

पारिजातलाई पढेपछि जीवनमा आफैँसँग र अरूसँग लड्ने एककिसिमको जाँगर आफैँ आउने रहेछ

२०७९ चैत ११ शनिबार ०७:२३:००
सपना लिम्बू

 

म आफूलाई विद्रोही स्वभावकी ठान्छु । त्यही भएर पनि होला कि मलाई केही समययता पारिजात खुब मन पर्न थालेकी छिन् । सानोमा उनका पुस्तकहरूको चर्चा खुब सुन्थेँ । अलि पछि पुस्तकसँगै उनका बारेमा धेरै सुनेँ । 


उनका पुस्तकभन्दा पनि उनका बारेमा सुनेर धेरै उत्सुक हुन्थेँ । म पनि उनीजस्तै लेखक बन्न सकूँ, यही सोच्थेँ । मलाई अझै पनि याद छ, कसरी हामी दुई संगीलाई पारिजातको उपन्यास ‘शिरीषको फूल’ पढ्न दिइएको थिएन । त्यसवेला उपन्यास भनेर अर्कै किसिमको चित्रण गरिन्थ्यो । सायद त्यसकारण पनि हामी दुइटीले खोजेर ल्याएको उपन्यास हाम्रो नजरबाट लुकाइएको थियो । किनकि समाजले तय गरेको उमेरमा हामी पुगिसकेका थिएनौँ । पछि कहिले, कहाँ र कसरी मैले ‘शिरीषको फूल’ पढ्न पाएँ, अहिले खासै याद छैन । तर, यति याद छ, अन्य पाठकझैँ मैले पनि पारिजातका कृतिमध्ये पहिलो ‘शिरीषको फूल’ नै पढेँ । 


मलाई खासगरी ‘शिरीषको फूल’भन्दा पारिजातको जीवनचाहिँ रोचक लाग्यो, उहिले पनि र अहिले पनि । उनका बारेमा सुन्दा खुब रोचक लेखक हुनुपर्छ भन्ने लाग्थ्यो र उनलाई पढ्ने रहर बढेको थियो । त्यसैले काठमाडाैं जाँदा बजेटले भ्याएसम्म र भेटेसम्म पारिजातका सबै पुस्तक भेला गर्दै छु । किनकि पारिजातलाई हाम्रो पुस्ताले भेट्न पाएन । उनका कृति नै हुन्, जसबाट हामी उनलाई नजिकबाट पढ्न र बुझ्न सक्छौँ । 


पारिजातप्रति लगाव बढ्नुका केही खास समय छन् मेरा । ‘शिरीषको फूल’पछि ‘महत्ताहीन,’ ‘तोरीबारी बाटा र सपनाहरू,’ ‘अनिँदो पहाडसँगै’ लकडाउनको छोटो समयमै पढेर सकाएँ । ‘तोरीबारी बाटा र सपनाहरू’ त झन् यति मनपर्‍यो कि चारजना साथीहरूलाई जन्मदिनको उपहार नै दिएँ, पुस्तकको खुब तारिफ गरिगरी ।

 
पारिजातलाई पढ्न ‘अपराजिताः पारिजातका चिठीहरू’ बाट सुरु गरेँ । मैले सुनेकी थिएँ, पारिजात खुब चुरोट पिउँछिन् । समाजका विकृतिहरूबारे नडराई कलमबाटै विद्रोह गर्छिन् । पछि बिरामी भएर थला परिन् । ओछ्यानमा थला परेरै भए पनि लेखिरहिन् । के रोग लागेको थियो ? रोग लागेर पनि कसरी लेख्न सकिन् ? यस्ता प्रश्न थुप्रै थिए । राम्रो साहित्यकार/कवि बन्ने सपनाले मलाई पनि पछ्याइरहन्छ । मलाई पनि पारिजातले जस्तै चुरोट सल्काउँदै शब्दहरू खिप्ने मन छ । कुनैदिन पूरा गरौँला यस्ता रहरहरू ।


कुरा यहाँ ‘अपराजिता’को हुँदै छ । किताब सुरु गर्नुअघि नै एउटा पाण्डुलिपि छ, यो हेरेर धेरै खुसी लाग्यो । यतिका वर्षपछि पनि पारिजातका अक्षरहरूसँग साक्षात्कार हुने अवसर पाइयो । यस पानामा पारिजातले उपचारका क्रममा भारत बस्दा आफ्नी बहिनी सुकन्यालाई लेखेको चिठी छ । पढ्दै जाँदा थाहा भयो, उनका रोगहरू । मानव शरीर त हो । रोग लाग्छ नै । तर, केही रोग भयानक हुन्छन्, जुन रोगले पारिजातलाई सताएको रहेछ ।


यस पुस्तकमा रोगबारे मात्रै होइन, लेखकको सिंगो संघर्ष छ । उपचारका लागि भारत बसाइ, तितो समयको जोड–घटाउ, पैसा अभाव, दुखाइहरू अनि सान्त्वनाका केही खण्ड पुस्तकमा पाएँ । एउटी बिरामी महिलाप्रति भएका दुव्र्यवहारहरू, घरको याद, अनजानहरूको साथ पनि पुस्तकमा पाएँ । पढ्दै जाँदा पाठक आफैँ थाक्ने अस्पतालको त्यो ओहोरदोहोर, बरु घरै गएर बसिदिनु नि भन्न मन लाग्ने । 


पारिजात कति दूरदर्शी र साहसी महिला हुन् भन्ने केही झलक यस पुस्तकमा पाउन सकिन्छ । उनको प्रेम, चिन्ता, झर्को, आश्वासन र शब्दहरूप्रतिको असीम लगाव लोभलाग्दो लाग्छ । पारिजातलाई पढेपछि जीवनमा आफैँसँग र अरूसँग लड्ने एककिसिमको जाँगर आफैँ आउने रहेछ । चिठीहरू सकिन लाग्दा मन त्यसै अमिलो भएर आयो । मानौँ म आफैँ पारिजात हुँ, त्यो पत्र मैले नै लेखेकी हुँ, मेरी प्यारी सकुनलाई । मुटु त्यसै निमोठियो । 


अझ उसलाई बाध्यता हुन्छ,
जसले आफ्ना सारा अस्तित्व नै बाँचेको 
केही कामलाई अधुरो छाडिने डरमा 
फगत आफ्ना केही अधुरा काम पूरा गर्न 
मात्र मृत्युसँग लड्नुपर्छ 
अनेकन् पीडालाई सँगाली 
यमराजलाई फकाएर 
तिथि अलिकति पर सारिदिन बिन्ती बिसाउनु, 
कम्ता गाह्रो होला त ! 


अहो ! कसरी ती वर्षहरूमा पारिजातले आफूलाई सम्हालेर आफ्नो उपचार आफैँ गरिन् होला ? उपचार गरेर निको बनेरै जान्छु भन्ने साहस कसरी रहिरह्यो होला ! तर, हरेक असम्भव कुरा आफूमाथि आइलागेपछि आफैँ सकिन्छ जेनेतेन, हगि ! त्यो अवस्थामा पनि आफन्त, कुकुर र खेतबारीको प्यार, अहो ! भारतमा भारतीय नेपालीको नेपाली स्रष्टाप्रतिको आसक्ति पनि यहाँ पढ्न पाइन्छ । सबैभन्दा बढी यहाँ एउटा लेखकको संघर्ष हेर्न पाइन्छ । जीवन जिउन गरिएको अथक संघर्षलाई प्रयास मात्र भन्न मिल्ला । किनकि यहाँ पारिजातले कतै पनि हरेस खाएको देखिँदैन ।


उनका सबै पुस्तकको बखान गर्न त सायदै सकिएला । तर, उनले लेखेका (धुपी, सल्ला र लालीगुँरासको फेदमा, अपराजिता र संस्मरणहरू) मेरा लागि विशेष छन् । कतिपय लेखक तथा प्रतिष्ठित व्यक्तित्वले आफ्नो भोगाइलाई एउटा सिंगो पुस्तक बनाई निकाल्दै गर्दा उनले सुटुक्क लेखिदिएकी छिन्, आफ्नो बारेमा आफूले सम्झन सक्नेजति आफ्ना कथाहरू । उनको परिवार, बालापन, पढाइ अनि राजधानी बसाइ आदि थुप्रै जीवनका कालखण्डलाई ‘धुपी, सल्ला र लालीगुराँसको फेदमा’ पुस्तकमा लेखेकी छिन्, एकदम निर्मल भएर आफ्ना गुण, अवगुण र गल्ती, सबैलाई स्विकार्दै ।


खै किन हो, उनका धेरै पुस्तकमा मैले आफैँलाई पटक–पटक पाएँ । त्यसपछि मैले आफूलाई साहसी बनाएँ । लाग्यो, जीवनका अरू मोडमा पनि धेरै अप्ठ्यारा पल आउनेछन्, त्यसवेला म पारिजातलाई सम्झनेछु, अनि उनका पदचाप पछ्याइरहनेछु । उनको जस्तै साहस मलाई पनि मिलोस् । म पनि पारिजातजस्तै बन्न सकूँ ।