• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर
२०७९ चैत ११ शनिबार ०८:२५:००
समाज

१८ वर्ष मलेसियामा लुकिलुकी काम गरेका बिसुनकुमार भन्छन्– थाकेँ, अब नेपाल फर्किन चाहन्छु

२०७९ चैत ११ शनिबार ०८:२५:००
मुना कुँवर

बिहेका लागि आफन्तलाई निम्तो बाँडिसकेर पनि बिसुनकुमार चौधरीको बिहे रोकियो । बिहे हुने दिनको तीन दिनअघि बेहुली भागेपछि उनको बिहे रोकिएको थियो । उदयपुरका बिसुन त्यतिवेला १९ वर्षका थिए । बुबाको मृत्यु भइसकेको थियो । आमा, एउटा भाइ र बहिनीको जिम्मेवारी उनकै काँधमा थियो । त्यसैले परिवारको सल्लाहमा नै उनले बिहेको तयारी गरेका थिए । 


यता बिहे भाँडियो, उता बिसुनको मलेसियाको भिसा लाग्यो । बिहे भाँडिएको झोंकमा दायाँबायाँ नसोची उनी सिधै मलेसिया उड्न तयार भए । मलेसिया जानका लागि बाबुले छाडेको तीन कट्ठा जमिनमध्ये एक कट्ठा बेचेर बिसुनले एक लाख ४२ हजार रुपैयाँ एजेन्टको हातमा बुझाए । त्यतिवेला न्यूनतम पारिश्रमिक ९०० थियो । फर्निचरमा काम गर्न उनी मलेसिया पुगेका थिए ।


मलेसियाको क्वालालम्पुरमा भेटिएका बिसुनले हाँस्दै आफ्नो कथा सुनाए । सायद बिहे नभाँडिएको भए उनी मलेसिया पुग्ने थिएनन् । ‘दुवै पक्षको सल्लाहमा बिहे हुन लागेको थियो । तर, बेहुलीको प्रेमी रहेछ । पहिला नै भनिदिएको भए पनि हुने नि ! सबैलाई निम्तो दिएपछि मेरो बेइज्जत भयो,’ उनले भने । बिसुन कुमार त्यो घटनालाई बिर्सिन चाहन्छन् । तर, उनलाई लागिरहन्छ, बिहे भएको भए श्रीमतीको मायाले बिदेसिने थिइनँ कि ! 

मलेसियाको गल्ली चहार्दाचहार्दै बिसुनकुमारले १८ वर्ष बिताए । यो १८ वर्षमा नेपालमा कस्ता–कस्ता नीति बने, कस्ता–कस्ता थिति फेरिए, तर बिसुनको जिन्दगीमा त्यसले केही बदलाव ल्याएन । बरु उनको युवावय भाग्दाभाग्दै, लुक्दालुक्दै सकिन लाग्यो ।


बिसुन मलेसिया त पुगे, तर काम उनले सोचेजस्तो सहज भएन । ठुल्ठूला काठ उचालेर मेसिनमा राख्नुपथ्र्यो । काम सुरु गरेको १६ दिन मात्रै भएको थियो । काठ उचालेर मेसिनमा राख्ने क्रममा काठको एउटा चुच्चोले उनको कोखमा बेस्सरी घोच्यो । उनी रन्थनिए । त्यहीँ ढले । तर, कम्पनीले उनलाई उपचार गर्न लगेन । बरु बिस्तारै काममा जान भन्यो । सकी–नसकी भए पनि उनले काम गरिरहे । तर, कोखमा लागेको चोटले उनको नसामा असर ग¥यो । उनको एउटा अण्डकोष सुक्दै गयो । उनले कम्पनीका म्यानेजरलाई आफ्नो समस्या पोखे । तर, कसैले उनको समस्या सुनिदिएनन् ।

 

विरानो ठाउँमा उपचार गर्न जाऊँ, अस्पताल देखेको छैन । समस्या पोखूँ, सुनिदिने कोही छैन । बिरामी शरीर बोकेर उनी काम गरिरहे । आफ्नो ज्यान दाउमा राखेर भए पनि उनलाई घरको गरिबी भगाउनु थियो । आमाको मुहारमा खुसी ल्याउनु थियो । भाइबहिनीको भविष्य राम्रो बनाउनु थियो । तर, बिग्रिँदो स्वास्थ्यले उनलाई सताइरह्यो । बाहिर हेर्दा तन्दुरुस्त देखिए पनि भित्रभित्रै उनी गल्दै गएका थिए । मलेसियामा कुहिरोमा हराएको कागजस्तै भइरहे । विकल्पहीन भएपछि उनले बिस्तारै पीडालाई पचाएर बाँच्न सिके । पीडा जति महसुस गर्‍यो उति दुख्छ, महसुसै नगरेपछि मानिस त्यसैमा अभ्यस्त हुँदै जान्छ । सायद, बिसुनको जीवनमा त्यस्तै भइरह्यो । 


बिसुन दुखाइसँग अभ्यस्त हुँदै थिए । त्यहीवेला सिन्धुलीका एक साथीको मेसिनले हात काटिदियो । त्यसपछि भने उनी तर्सिए । लगातार भयानक घटनाहरू आफैँले भोग्ने र आँखै अगाडि देखिन थालेपछि मलेसिया पुगेको तीन महिनामै बिसुन त्यो कम्पनी छोडेर भागे । कम्पनी छोडेर मलेसियाकै मलक्कामा रहँदै आएका एक साथीको शरणमा पुगे । बिसुनले कम्पनी मात्रै होइन, त्यहाँ आफ्नो पासपोर्ट पनि छाडेका थिए । मलेसियामा भिसामा तोकिएको कम्पनीबाहेक अन्यत्र काम गरेमा अवैध ठहरिन्छ । कम्पनी छोडेपछि बिसुन मलेसियाका लागि गैरकानुनी कामदार बने । उनलाई कुनै पनि समय प्रहरीले समात्न सक्छ । 

अब बिसुनलाई मलेसियादेखि पुगिसक्यो । उनका खुट्टाहरू थाकिसके । अब बिसुन आफ्नै घर फर्किन चाहन्छन् । तर, उनी चाहेर पनि नेपाल फर्किन सक्दैनन् । उनीसँग पासपोर्ट छैन ।


मलक्कामा रहेको साथीका लागि खाना बनाउने, भाँडा सफा गरिदिने र शौचालय सफा गरिदिने काम गरे । यसैगरी साथीकोमा उनले नौ महिना बिताए । नौ महिनापछि साथीले एउटा एजेन्टमार्फत मलेसियाको केलाङ भन्ने स्थानमा माटोको भाँडा बनाउने काम मिलाइदिए । न्यूनतम १२०० रिगेट दिने सर्तमा उनी काम गर्न गए । दुई वर्ष माटोको पाइप बनाउँदै बसे । तर, त्यो कम्पनी धराशयी हुँदै गयो । कम्पनीले खान र बस्न मात्रै दिन थाल्यो । कमाइ भएन । त्यसपछि उनी फेरि भागेर केएल आए । 


केएलमा उनको एक नेपाली एजेन्टसँग भेट भयो । एजेन्टले उनलाई कलर बनाउने ठाउँमा काम लगाइदियो । त्यो कम्पनीमा उनले एक महिना १९ दिन काम गरे । तर, कम्पनीले पैसा भने दिएन । पैसा पाउने आशामा काम भने गरिरहे । एक दिन कम्पनीमा प्रहरीले छापा मार्ने खबरआयो । उनी अवैध कामदार भइसकेको थिए । त्यसैले लिनुपर्ने पैसा पनि छाडेर भागे । केएलमै केही दिन भौँतारिए । 


फेरि अर्कै तमिल एजेन्टसँग उनको भेट भयो । तलिम एजेन्टले उनलाई सेक्युरिटी गार्डका लागि डेङकिल भन्ने ठाउँमा लग्यो । १६०० रिंगेट तलब दिने भयो । त्यहाँ उनले नौ महिना काम गरे । तर, पाँच महिनाको तलब नै पाएनन् । कहिलेकाहीँ लगातार ४८ घन्टासम्म काम गर्नुपथ्र्यो । कम्पनीले तलब नै नदिएपछि उनी त्यहाँबाट पनि भागे र सम्राज्य भन्ने ठाउँमा पुगे । त्यहाँ उनले सेक्युरिटी गार्डकै काम पाए । त्यहाँ पनि उनले काम गरेको भर्खरै एक महिना भएको थियो । प्रहरीले छापा हान्यो । त्यसैले उनी त्यहाँबाट पनि भागे । फेरि उनी मलेसियाको केएलमा भौँतारिए ।

एक कठ्ठा जग्गा बेचेर मलेसिया पुगेका उदयपुरका बिसुन चौधरी १८ वर्षपछि आधा कट्ठा जग्गा बेचेर नेपाल फर्किने कोसिस गर्दै छन् 


चिनजानेकै साथीमार्फत केएलकै चेरास भन्ने ठाउँमा सेक्युरिटी गार्डको काम पाए । त्यहाँ उनले साढे दुई महिना काम गरे । काम गर्दा एउटा साथीले गल्ती ग¥यो । तर, कम्पनीले सबै गार्डको तलब नै काटिदियो । सामान्य गल्तीमा नै तलब काटिदिने । समयमा तलन नदिने भएपछि उनले त्यहाँ पनि काम छाडे । 


त्यसपछि उनी त्यो ठाउँमा पनि काम छाडेर सुभान जया भन्ने ठाउँमा ग्यालेक्सी फोर भन्ने कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न पुगे । त्यो कम्पनीमा उनले रातभरि कुकुर डुलाउनुपथ्र्यो, तर तलब भने दिँदैनथ्यो । तलब आज पाइएला, भोलि पाइएला भन्दाभन्दै त्यहाँ उनले झन्डै चार महिना काम गरे । तर, तलब पाएनन् । त्यसैपछि त्यहाँबाट भागेर अर्को कम्पनीमा काम गर्न गए । त्यही समयमा लकडाउन सुरु भयो । कम्पनीले महिनामा ६–७ दिन मात्रै काम दिन्थ्यो । तलब दिँदैनथ्यो । कम्पनीले खान र बस्नचाहिँ दियो । लकडाउनभरि खान र बस्नकै लागि उनले काम गरिरहे । 


लकडाउनपछि बिसुनले देसापार्क सिटीमा सेक्युरिटी गार्डकै काम गरे । १६ महिना काम गरे तर कम्पनीले तलब नै दिएन । उनले तबल माग्न थालेपछि कम्पनीले उनलाई पेनाङ पठायो । पेनाङमा एक हप्ता काम गरेपछि फेरि कम्पनीले उनलाई केएल नै बोलायो । तर, केएल आउँदा उनको ठाउँमा कम्पनीले नयाँ कामदार राखिसकेको थियो । कम्पनीले उनलाई पैसा नै नदिई निकाल्यो । बिसुनले केही बोल्न सकेनन् । उनका लागि बोलिदिने पनि कोही थिएन । फेरि काम खोज्दै उनी चेरस भन्ने ठाउँमा सेक्युरिटीमा काम गर्न पुगे । काम सुरु गरेको एक वर्ष काम हुँदै थियो । एक दिन बिहानको ड्युटी सकेर उनी खाना खान जाँदै थिए । उनलाई रिंगटा लाग्यो र थचक्क बसे । त्यसपछि उनलाई केही थाहा भएन ।

 
होसमा आउँदा बिसुन अस्पतालमा थिए । पाँच दिन अस्पतालको उपचारपछि उनी फर्के । तर, कम्पनीले भने उनलाई जागिरबाट निकालिदियो । घर जान भनेर उनले साथमा ३००० रिंगेट साँचेका थिए । त्यो पैसा उपचारमै सकियो । कम्पनीसँग उनले ३००० रिंगेट लिनु थियो । त्यो पनि दिएन । बिसुन मलेसियाका लागि गैरकानुनी कामदार थिए । त्यसैले तलब नपाए पनि उनले कहीँ कतै बोल्न सकेनन् । कम्पनीले पनि उनको श्रमशोषण गरिरह्यो । 


मलेसियाको गल्ली चहार्दाचहार्दै बिसुनकुमारले १८ वर्ष बिताए । यो १८ वर्षमा नेपालमा कस्ता–कस्ता नीति बने, कस्ता–कस्ता थिति फेरिए । तर, बिसुनको जिन्दगीमा त्यसले केही बदलाव ल्याएन । उनको युवावय भाग्दाभाग्दै, लुक्दालुक्दै सकिन लाग्यो । उनी कानुनको नजरमा गैरकानुनी कामदार बनिरहे । स्वदेशको नजरमा रेमिट्यान्स पठाउने मान्छे बनिरहे । अब त स्वास्थ्यले पनि उनलाई साथ दिन छाडेको छ । उनी लामो समय काम गरिरहन सक्दैनन् । डक्टरले उच्च रक्तचाप भएकाले धेरै दौडधुप नगर्न भनेको छ । त्यसैले अब परदेशमा उनको मन थाकेको छ । घरमा ७० वर्षीया आमा छिन् । साना भाइबहिनीको पनि विवाह भइसकेको छ । घरजम गरिसकेका छन् । तर, उनको भने घरमा सुख ल्याउन मलेसियामा भाैँतारिँदा भौँतारिँदै यौवन सकियो ।


अब बिसुनलाई मलेसियादेखि पुगिसक्यो । उनका खुट्टाहरू थाकिसके । अब बिसुन आफ्नै घर फर्किन चाहन्छन् । तर, उनी चाहेर पनि नेपाल फर्किन सक्दैनन् । उनीसँग पासपोर्ट छैन । उनी नेपाल र मलेसिया सरकारकै लागि गैरकानुनी भइसकेका छन् । केही सिप नलागेपछि उनले नेपाली दूतावासमा निवेदन दिए । कागजपत्र नभएपछि दूतावासले पनि केही गरेन । अहिले उनी गैरआवासीय नेपाली संघको सेल्टरमा छन् । तर, नेपाल फर्किनका लागि उनीसँग पासपोर्ट छैन । अब पासपोर्ट बनाएर नेपाल फर्किन पनि उनले एजेन्टको सहारा लिनुपर्छ । कागजपत्र बनाउने एजेन्टले ५५ सय मागेको उनले सुनाए । भन्छन्, ‘मसँग एजेन्टलाई दिने पैसा छैन । त्यसैले घरको आधा कट्ठा जमिन बिक्री गरेर पैसा मगाएको छु ।’ 


मलेसियामा भौँतारिँदै कमाएको पैसा उनले परिवारलाई पठाए । अब उनीसँग खानेबस्ने पनि पैसा छैन । उनले घरमा आमासँग पैसा पठाउन भनेका छन् । तर, भाइले भने दाइले आफ्नो अंश बेचेरै विदेश गएकाले उसको अंश सकियो भन्दै आएका छन् । 


अहिले बिसुनले ४५०० रिंगेट बुझाएर नेपाल फर्किने कागजपत्र बनाएका छन् । बिसुन भन्छन्, ‘एजेन्टले जहाजको टिकट काट्नका लागि ७३० लाग्ने बताएको छ ।’ तर, कागजपत्र के–के बनाउनुपर्ने हो, त्यो उनलाई थाहा छैन । उनलाई एजेन्टले मलेसियाको प्रशासन र प्रहरीलाई पैसा बुझाउनुपर्ने बताएका छन् । अब इमिग्रेसनबाट पास आउँन बाँकी रहेको बिसुनले बताए । अहिले उनी संघकै सेल्टरमा नेपाल फर्किने दिन गन्दै छन् ।