
कुमारीघरबाट
हरेक दिन एउटा घाम उदाउँछ
र, जुद्धशमशेरको सालिकमा पुगेपछि मध्याह्न हुन्छ
र, संकटामा पुगेर अस्ताउँछ ।
हरेक दिन न्युरोड
कपाल बाट्छ–दुईचुल्ठी ।
हरेक दिन
लाउँछ आँखामा–गाजल ।
हरेक दिन
हेर्छ ऐनामा–आफ्नो सौन्दर्य
र, तसके हे बाँला भएर हिँड्छ ।
पर्वहरूलाई खुब प्रेम गर्छ ऊ
चुनावलाई गर्छ घृणा ।
प्रचण्ड गर्मीमा पस्छ रञ्जनागल्लीतिर
र, पिउँछ
सबैभन्दा पुरानो पसलमा पुगेर सोडा ।
जाडोमा–
आफैँ चिया पकाएर पिउने फुर्सद छैन उसलाई ।
भोक लागेपछि
जान्छ–झोछेँतिर
छोइला, कचिला खान्छ
सभुमिचा, चटाँमरी, बारा खान्छ
आलुतामा, बजी खान्छ
जिब्रो र गिदी खान्छ
र, साँझ परेपछि
फेरि त्यही पसलमा पुगेर
पिउँछ–मनभरि ऐला
र, महाबौद्धको साँघुरो गल्ली हुँदै
ऊ चुपचाप निस्कन्छ आफ्नै डेरातिर ।
हल्ला
फिटिक्कैै मन पर्दैन उसलाई ।
अलिकति सुनको भाउ घट्यो कि
–निराश भैहाल्छ न्युरोड
–उदास भैहाल्छ न्युरोड ।
आफ्नो एकलौटी शासन तोडिएकोमा
विशालबजार असाध्यै रुष्ट छ–ऊसँग
आउने–जानेहरूको अनुहार नियाल्नुसिवाय
अरू काम छैन
बूढो जुद्ध वारुणयन्त्रको पनि ।
चालीस वर्षदेखि मोजा बेचिरहेका पन्नालाल
मोजाजस्तै खुम्चिएको निधार बोकेर
घरी असन
घरी इन्द्रचोक गरिरहन्छन् आज पनि ।
गोरखापत्रको हालखबर
आज पनि उस्तै छ
नछापीकनै–क्रान्तिको समाचार
नछापीकनै–भोकको फोटो
ऊ बाँचिरहेछ–सयवर्षदेखि
यहाँ बाँच्ने तरिका आ–आफ्नै हुने रहेछ
यहाँ बाँच्ने तरिका अलग–अलग हुने रहेछ
अँ साँच्ची,
यतिखेर
वसन्तपुर कसरी बाँचिरहेको होला ?