• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दुर्लभ काइँला
२०७९ चैत १८ शनिबार ०७:५०:००
साहित्य

कविता : आगोको वक्तव्य    

२०७९ चैत १८ शनिबार ०७:५०:००
दुर्लभ काइँला

 

कति न्यानो हुन्छ आगो
अभावको ठिही छेकेर
शीतलहरको जीवन सेक्दा
अति अपरिहार्य छ 
बल्न तीन चुलाको आगो
जहाँबाट पाक्छ समानताको वाचिपा
अर्थ रहन्छ
हराएको बाटो र गुमेको माटो
खोज्नको निम्ति सल्किएपछि सितिमी
जहाँ भेटिन्छ कि माटो कै टीका लगाएर
साकेला गीत गाइरहेको–अर्को ढोले
औधी सुन्दर देखिन्छ संसार–
बालेपछि निस्पट्ट अँध्यारोमा मुन्दुमी चेतनाको टुकी

 

(मिस्युज्)
तर
मिस्युजमा भयानक कुरूप बन्छ आगो
जब कुलंगार हातमा पर्नेछ चकमक झुलो
दुष्टका निर्दयी औँलाहरूले
सल्काएर सुलसुले बम
प्रहार गर्नेछ सुकुम्बासी टहरामा
चिच्याउँदै भाग्नेछन् मचानबाट
आधापिल्चो थारू केटाकेटी
त्यसै बखत
हिंस्रक हातले चिथोरेर कलिलो निप्पल
स्वामीको सनकले काट्छ
आफ्नै स्वास्नीको नांगेली स्तन
हत्या हुन्छ मानव अधिकार
झुटो आरोपले ठहरै ढल्छ न्यायमूर्ति
बेपत्ता बन्छ लक–अपमै राजाकर्नु
उन्मुक्तिको आवाज निस्तेज पार्न
जर्नेलले दबादिन्छ जर्ज फ्राइड्को घाँटी
मनपरी डढेलो लगाइदिन्छ नदीमा
स्वाहा बन्छन् माछाहरू
कु–नियत आँखाले ताक्नेछ बन्दुक
जहिल्यै तार्केट बन्नुपर्ने निर्दोष चेपाङको छाती ?
जब
गलत हातले ठोस्नेछ चकमक झुलो
भयानक कुरूप बन्छ आगो
जसले जलाइदिन्छ दण्डकारण्य घर
खरानी पार्छ सिभिलाइज सौन्दर्यशास्त्र
महामूर्ख हातहरूले
उखेलेर आदिवासी रुखको बस्ती
छर्किरहन्छ विषादी 
हाम्रो मनमस्तिष्कमा फैलाइरहन्छ त्रासदी
–जलाउँछ हामी बस्ने गोठहरू
–जलाउँछ हामी बस्ने छाप्रोहरू
–भत्काउँछ हाम्रा आस्थाका धरोहर
–उजाड बनाउँछ प्रकृति

 

यसरी
दलन र दोहनको घानमा 
कहिलेसम्म पिल्सिरहनु ?
कहिलेसम्म जलाइरहनु 
यो कट्मेरो उत्पीडित आत्मा ?

 

(ठेगाना)
व्यवस्थाको आगोले सखाप हुन नसकेको
म कालो मान्छे
वर्षौंदेखि जलाएर नपचेको मिक्राहुँ जस्तो
ढलाएर नाश नभएको सतिसाल जस्तो
अझै बाँकी छ
मभित्र हजारौँ वर्ष बाँच्ने चुरहरू,
बाँकी छ मभित्र
विभेद र दमनको अत्याचारले
दन्किरहेको ह्वारह्वार्ती आगोको लप्का
–जो प्रवेश गर्न आतुर छन्
प्रवेश निषेध लेखिएका
वर्जित शासक प्र–शासकका फाँटहरूमा
–जो प्रवेश गर्न आतुर छन् ह्वाइटहाउसमा
–जो प्रवेश गर्न आतुर छन् सिंहदरबारमा
–जहाँबाट लट्काइएको छ 
तिक्का माझीलाई फाँसीको डोरीमा ।