• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पवन बराइली
२०७९ चैत १८ शनिबार ०८:१४:००
रिपाेर्ट

रोल्पामा रमाउँदै जापानी डाक्टर

२०७९ चैत १८ शनिबार ०८:१४:००
पवन बराइली

 

पाँच दशकअघि स्वास्थ्यसम्बन्धी अध्ययन–अनुसन्धान गर्न पहिलोपल्ट नेपाल आएका थिए, डा. रियुचिकी इसिदा । त्यतिवेला उनी २१ वर्षका थिए । त्यसवेला पहाडी गाउँहरूमा क्षयरोगविरुद्धको खोप कार्यक्रम चलिरहेको थियो । खोप कार्यक्रममा पश्चिम नेपालका गाउँहरूमा स्वयंसेवक भएर काम गर्ने क्रममा उनी धेरै ठाउँ पुगे । उनी कहिले भरियालाई औषधिको भारी बोकाएर कालिगण्डीको किनारैकिनार पाँच दिनसम्म हिँडेर पाल्पाको तानसेन अस्पताल पुगे, कहिले बाग्लुङको अस्पताल पुगे । यसरी केही समय खोप अभियान चलाउँदै दुर्गम गाउँ चहारिरहे । 

 

‘ती गाउँमा मोटर बाटो थिएन, बिजुली बत्ती थिएन, स्वास्थ्य सेवामा पहुँच थिएन,’ इसिदाले सम्झिए, ‘पैदल हिँडेर कुनाकाप्चाका अस्पताल पुग्नुपथ्र्याे । गाउँमा मानिसहरू न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित थिए । विद्यालयमा गाउँका बालबालिकालाई जम्मा गरेर खोप लगाउँथ्यौं ।’

 

बालबालिकादेखि वृद्धवृद्धासम्मले उपचार नपाएर घरमै थलिनुपरेको कठोर सत्य नियाल्दा उनको मन कटक्क खान्थ्यो । स्वास्थ्य क्षेत्रको अध्ययन गरिरहेका उनीसँग प्राथमिक उपचार गर्नेबाहेक अर्को दक्षता र विकल्प पनि थिएन । गाउँलेहरूले सुरुमा त उनलाई डाक्टर नै ठानेका थिए, तर उनले आफू डाक्टर नभएर स्वास्थ्य स्वयंसेवक मात्रै रहेको सम्झाउँथे । ‘त्यसो भए तपाईं चाँडै डाक्टर बन्नुस्, अनि हाम्रै गाउँ आएर बस्नुस् । हामी मरे पनि हाम्रा छोराछोरीले त राम्रो उपचार पाउलान्,’ वृद्धवृद्धाले दिएको आशीर्वाद सम्झिँदै उनले भने, ‘अहिले मेरो कपाल फुलिसक्यो । पहिले डोकोमा बोकेर बिरामीलाई सहर लैजानुपर्ने बाध्यता भएका कतिपय गाउँमा अहिले एम्बुलेन्स गुड्छन् । तर, यो त सडकले ल्याएको परिवर्तन भयो । स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनका लागि गाउँमै गुणस्तरीय सेवा दिने अस्पताल खुल्नुपर्छ ।’

 

जापानमा साढे तीन दशक
नेपालबाट फर्किएको केही समयमै उनले एमबिबिएस सके । त्यसपछि आफ्नो देशकै सरकारी अस्पतालमा सेवा गर्न थाले । यही अवधिमा उनी हाडजोर्नी विशेषज्ञ बने । ३७ वर्ष देशकै सेवामा बित्यो । यस क्रममा विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संघसंस्थामा आबद्ध भएर अध्ययन–अनुसन्धान गरे । तर, नेपालका गाउँलेले भोग्नुपरेका पीडा उनको मनमा गढेर बसेको थियो । त्यसैले ५८ वर्षको उमेरमा अस्पतालबाट ‘रिटायर्ड’ भएपछि सन् २००६ मा उनी नेपाल फर्किए, लामो स्वास्थ्य सेवा अनुभव र सिपलाई गाउँबस्तीमा सदुपयोग गर्ने निधोसहित ।

 

त्यतिवेला नेपालमा युद्धविरामको दुई वर्ष मात्रै भएको थियो । राजनीतिक अवस्था अन्योलग्रस्त थियो । नेपाल आएपछि इसिदाले पाल्पाको तानसेन अस्पताल, काठमाडौंका पाटन अस्पताल, वीर अस्पताल, त्रिवि, शिक्षण अस्पताल, मोडल अस्पताललगायत केही अस्पतालमा प्रारम्भिक स्वास्थ्य अनुसन्धान थाले । त्यसको केही महिनाको अनुसन्धानपछि नेपाल मेडिकल काउन्सिलबाट औपचारिक अनुमति लिएर वीर अस्पतालमा स्वास्थ्य स्वयंसेवकको रूपमा काम थाले । गाउँमा राम्रो स्वास्थ्य सेवा नपाएर काठमाडौं आएका धेरै बिरामीलाई उनले उपचार गरे ।  उनलाई महसुस भयो, ‘नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको रहेनछ ।’ 

 

‘आर्थिक अभावमा उपचार नपाएका मानिसहरूको अनुहार देख्दा मलाई उकुसमुकुस हुन्थ्यो । रातमा राम्रोसँग निद्रा लाग्दैनथ्यो,’ इसिताले सम्झिए । एक वर्ष वीर अस्पतालमा बिताएपछि उनी रुकुमको चौरजहारी अस्पतालमा काम गर्न पुगे । त्यहाँ बिरामीलाई उनले निःशुल्क उपचार गरे, औषधि पनि बाँडे । ‘स्वास्थ्य केन्द्रमा औषधि र दक्ष स्वस्थ्यकर्मी अभाव थियो,’ इसिदाले भने । 

 

 

नमुना अस्पताल 
स्वास्थ्य सेवाका दौरान उनले रुकुम र रोल्पाका मानिसले भोगेका युद्धका व्यथा सुने । रुकुमभन्दा पनि रोल्पाको स्वास्थ्य अवस्था बढी जर्जर रहेको उनलाई अनुभव भयो । त्यसपछि उनी औषधि लिएर रोल्पालीको आँगनमा पुगे । 

 

‘अहिलेजस्तो मोटर बाटो थिएन । रुकुमबाट रोल्पा पुग्न भौगोलिक रूपमा निकै कठिनाइ थियो,’ इसिदाले सम्झिए, ‘दुईजना मान्छेलाई औषधि बोकाएर दुई–तीन दिनमा रोल्पाकै घोरेनेटीको स्वास्थ्य संस्था पुग्यौँ । त्यसपछि उपचारकै दौरानमा थवाङ गयौँ ।’

 

मगर र दलित समुदायको बाक्लो बसोवास रहेको थवाङमा पुगेपछि उनले युद्धकालमा त्यस ठाउँले व्यहोरेको क्षतिको भग्नावशेष देखे । तत्कालीन नेपाली सेनाले स्वास्थ्य केन्द्र ध्वस्त पारेपछि अस्थायी छाप्रोमा सरकारी स्वास्थ्य केन्द्र चलिरहेको थियो । केवल एकजना स्वास्थ्यकर्मीको भरमा चलेको स्वास्थ्यचौकीमा गतिलो उपचार उपलब्ध हुने कुरै भएन । 

 

युद्धमा परेर घाइते, अपांगता भएकाहरूको अवस्था दयनीय थियो । ‘भौतिक सुविधाको अभावमा अस्पताल आफैँ बिरामी थियो,’ उनी सम्झिन्छन्, ‘बिरामीलाई गाउँलेले बोकेर लैजान्थे, कति सहर पुग्थे, कति बाटोमै मर्थे ।’ यसपछि इसिदाले थवाङमै आफ्नो अधिकांश समय बिताउन थाले । युद्धले ध्वस्त पारेको थवाङको घाउमा मलम लगाउन थाले । 

 

स्वास्थ्य संस्था स्थापना 
उनको सक्रियता १३ वर्षअघि थवाङमा ‘जलजला स्वास्थ्य सहकारी संस्था’ स्थापना भयो । इसिदाले अस्पताल निर्माणका लागि अध्ययन–अनुसन्धन गरेर रूपरेखा तयार गरे, एउटा स्वरूप निकाले । उनले जापानी अस्पतालबाट प्राप्त पेन्सन रकम अस्पताल निर्माणका लागि खर्चिए । जापानमा रहेका आफ्ना नातेदार र परिवारसँग सहयोग जुटाए । विदेशमा रहेका थवाङका स्थानीयले पनि सहयोग गरे । त्यसको दुई वर्षपछि जलजला सामुदायिक अस्पताल बन्यो । यसको भौतिक रूपान्तरणसँगै सेवा विस्तार गर्न पनि इसिदाले प्रमुख भूमिका खेले । त्यसैको परिणामस्वरूप अस्थायी स्वास्थ्यचौकी अहिले जलजला सामुदायिक अस्पताल, अनुसन्धान केन्द्र र थवाङ स्वास्थ्य चौकी समायोजन भएको छ । 

 

अहिले यहाँ ओपिडी सेवा, मिनी अप्रेसन, एक्स–रे, भिडियो एक्स–रे र जनरल वार्ड सेवासमेत उपलब्ध छ । जटिल तथा ठूलो उपचारबाहेक थवाङवासी सहर आउनुपर्ने बाध्यता टरेको छ । इसिदा भन्छन्, ‘सिटामोल वा प्राथमिक उपचारका लागि पैदल हिँडेर सहर जानुपर्ने बाध्यता हटेको छ ।’ 

 

बिरामीको सेवामा दिनरात तल्लीन इसिदाले थवाङको स्वास्थ्य सेवालाई डेढ दशकको अवधिमा निकै माथि पुर्‍याएका छन् । यो क्रम अहिलेसम्म पनि चलिरहेको छ । ‘मानिसहरू आफ्नो स्वास्थ्यप्रति सचेत भएका छन्,’ इसिदा भन्छन्, ‘नयाँ पुस्तालाई आंशिक रूपमा स्वास्थ्यसम्बन्धी ज्ञान र सीप प्रदान गरेको छु । तर जति गर्नुपर्ने हो, जनशक्ति र पूर्वाधारको अभावमा गर्न सकेको छैन ।’

 

थवाङमा उनले औषधि उपचार गर्न मात्रै नभएर अध्ययनका लागि आर्थिक सहयोग पनि गरे । उनले थवाङको सामुदायिक विद्यालयबाट तीनजना विद्यार्थीलाई छात्रवृत्ति दिएका छन् । एकजनाले चीनबाट एमबिबिएस उत्तीर्ण गरिसकेका छन् । इसिदा भन्छन्, ‘जनयुद्धमा आफ्ना परिवार गुमाएका थवाङवासी विछोडको पीडाले मर्माहत थिए । गरिब र विपन्न परिवारका मानिसको हालत कहालीलाग्दो थियो । तर, आज स्थानीय मान्छे स्वास्थ्यकर्मी भइसकेका छन् । १५ वर्षअघिसम्म जीवनशैली फरक थियो । मानिसहरू स्वास्थ्यप्रति सचेत भएका छन् । यस अवधिमा सामाजिक रूपान्तरण भएको छ ।’ 

 

अहिले थवाङमा १५ शड्ढयाको अस्पताल निर्माणाधीन अवस्थामा छ । यसले नागरिकलाई स्वास्थ्य सेवामा थप सुविधा पुग्ने उनको विश्वास छ । इसिदा भन्छन्, ‘मलाई लाग्छ, ठूलो लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्नु मेरो पनि जिम्मेवारी हो । मलाई विश्वास छ, निर्माण पूरा भएपछि जापानमा संगालेको अनुभवलाई पूर्ण रूपमा सार्नेछु ।’

 

थवाङ अन्तिम घर 
जिन्दगीको उकालोमा हिँडेर एउटा बिन्दुमा पुगेपछि अधिकांश मानिसलाई थकाइ लाग्छ । आरामको जिन्दगी बिताऊँ भन्ने लाग्छ । तर, ७५ वर्षको उमेरमा पनि इसिदालाई आफ्नो कतव्र्यबाट पलायन हुन मन छैन । त्यसैले, वृद्धावस्थामा पनि उनको सक्रियतामा कमी छैन । बिहान श्रीमतीसँग टेलिफोन भलाकुसरी पछि उनी गाउँ डुल्छन् । स्थानीयसँग साक्षात्कार गर्छन् । १० बजेदेखि ‘डिउटी’ सुरु हुन्छ । बेलुकी ५ बजेसम्म बिरामीको चेकजाँचमै बित्छ । इसिदा थकित छैनन् भन्ने कुरा उनको यो सक्रियताले पुष्टि हुन्छ । उनलाई आफ्नो सक्रियताबाट समाजमा पुग्ने स्वास्थ्य सेवाले अपार सन्तुष्टि मिल्छ । 

 

इसिदालाई स्वाथ्य सेवाका लागि स्थानीयले भरपूर साथ दिए । त्यही ऊर्जाले आजपर्यन्त उनी बिरामीको सेवामा खटिरहेका छन् । उनी भन्छन्, ‘स्थानीयको सहयोगले नै सेवा गर्न पाएको छु । मैले धेरै ज्यान बचाएको छु, दोस्रो जीवन थवाङमा बिताइरहेको छु, रमाउँदै छु । यो मेरो जीवनको अहोभाग्य हो ।’

 

उनी वर्षमा एकपटक मातृभूमि जापान जान्छन् र त्यहाँ एक महिना बसेर फेरि कर्मभूमि थवाङ फर्किन्छन् । केही वर्षअघि उनले छोराछोरी र श्रीमतीलाई पनि रोल्पा घुमाए । परिवारलाई घुमाउनुको कारण सुनाउँदै उनी भन्छन्, ‘मैले कस्तो काम गर्छु, म कस्तो ठाउँमा बस्छु, म बस्ने भूगोल र परिवेश देखाउन ल्याएको हुँ । मैले नेपालमा गरेको कामबारे उनीहरूलाई पनि जानकारी हुन जरुरी छ ।’

 

अप्ठेरोमा सहयोग गर्नु नै जीवनको सार ठान्ने इसिदा शरीरले भर दिएसम्म बिरामीको उपचार गरिरहनेमा दृढ छन् । त्यसैले रोल्पाआसपासका क्षेत्रमा स्वास्थ्य सेवामा खटिरहेका छन् उनी । 

 

थवाङमा इसिदाले पाएको आत्मीयता शब्दमा वर्णन गर्न सकिन्न । त्यसैले उनी थवाङलाई आफ्नो दोस्रो घरको रूपमा लिन्छन् । इसिदाको नेपाली नागरिक भएर थवाङमा जीवन बिताउने इच्छा छ । ‘यदि नेपालमा बस्ने वातावरण मिल्यो भने अझै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा सक्रिय हुन्थेँ । म जापानमा जन्मिएँ । अब थवाङमा नेपाली भएर जिन्दगीको अन्तिम क्षणसम्म बस्ने मन छ । सहिदहरू सुतिरहेको पहाडतिरै सदाका लागि सुत्न पाए खुसी हुन्थेँ ।’