• वि.सं २०८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
वसन्त महर्जन
२०७९ चैत १८ शनिबार ०८:३७:००
समाज

दया र करुणाको भिन्नता

२०७९ चैत १८ शनिबार ०८:३७:००
वसन्त महर्जन

 

दया गर्ने र पाउने दुई व्यक्तिबीच तहगत भिन्नता हुन्छ

 

बुद्ध र उनका अनुयायी, अर्थात् बौद्धहरू शान्त, सहनशील, दयालु हुन्छन् भन्ने एक प्रकारको भाष्य स्थापित छ । तर, यो लेखको शीर्षक देखेर यसलाई साह्रै नकारात्मक र बौद्धहरूलाई लगाएको तुच्छ आक्षेपजस्तो देखिन्छ । बौद्ध धर्मावलम्बी नभए पनि बौद्ध धर्मबारे सामान्य जानकारी राखेको वा बौद्ध समाजलाई देखेको जोकोहीलाई पनि यो शीर्षक मन नपर्न सक्छ । तर, वास्तविकता के हो भने बौद्धहरू दयालु हुँदैनन् नै, किनभने बुद्धले ‘दया’सम्बन्धी उपदेश दिएका छैनन् । बुद्ध र बौद्ध धर्मसम्बन्धी बोल्ने तथा लेख्ने कसैकसैले ‘दया’ शब्दको प्रयोग गरे पनि त्यो बौद्ध धर्म–दर्शनअनुकूल भने होइन । बुद्धले कहीँकतै पनि दयाको उपदेश दिएको पाइँदैन । बरु करुणाको उपदेश दिएका छन् । गौतम बुद्ध त करुणाका खानी नै हुन्, त्यही भएर उनलाई ‘महाकारुणिक’ पनि भनिन्छ । 

 

करुणा र दया भन्नु उही हो भन्ने लाग्न सक्छ, कतिपयलाई । कुन शब्दकोशमा कस्तो अर्थ दिइएको छ, त्यो कोशकारको आफ्नो कुरा होला, तर बुद्धको उपदेशलाई मनन गर्दा यी दुई कुरामा फरक–फरक अर्थ रहेको पाइन्छ । तसर्थ बौद्धहरू दयालु हुँदैनन्, बरु कारुणिक हुन्छन् । बौद्ध हुनुको सार्थकता करुणावान् हुनु हो, दयालु होइन । 

 

अब प्रश्न उठ्छ, दया र करुणामा के फरक छ त ? दया भन्ने कुरा कृपासँग सम्बन्धित हुन्छ । यसलाई अनुकम्पा पनि भन्न सकिन्छ । दया, कृपा, अनुकम्पा त्यस्तोले राख्न सक्छ, जो सक्षम, शक्तिशाली, धनी, वैभवशाली हुन्छ । एक धनीले अर्को धनीलाई केही गर्नुपर्दैन । एक सक्षमले अर्को सक्षमलाई पनि केही गर्नुपर्दैन । अनुकम्पा त राख्नु नै पर्दैन । किनभने तिनीहरूका लागि यो कुरा आवश्यक नै पर्दैन । यसलाई एउटा वर्ग भन्न सकिन्छ भने समाजमा अर्को वर्ग पनि हुन्छ, जो अघिल्लोभन्दा तुलनात्मक रूपमा कमजोर, गरिब, दीनहीन हुन्छ र उसलाई मद्दतको जरुरी हुन्छ । अघिल्लो वर्गका सबै सम्पन्नले अर्को वर्गलाई मद्दत गरिरहेका हुँदैनन् । केही न केही बहाना गरेर भए पनि मद्दत गर्नबाट पन्छिरहेका हुन्छन् । अरू पनि हुन्छन्, जो त्यसरी पन्छिदैनन्, केही त गर्नुपर्छ भनी केही दिएर, सघाएर वा केही गरेर अरूलाई समस्याको दलदलबाट निकाल्ने हुन्छ । लोकमा यसलाई दया भनिन्छ । अरूले दुःख पाइरहेका छन्, टुलुटुलु हेरेर म कहाँ बस्न सक्छु र ? उसलाई सघाउन म सक्षम छु भने किन नसघाउने ? भन्ने प्रश्न गर्दै अघि सर्नेलाई दयालु भनिन्छ । कसैको दया गर्न पाएकोमा आत्मसन्तुष्ट हुने पनि हुन्छन् । कतिपय त मैले यति धेरैको दया गरेको छु, दया गरेर मैले यति खर्च गरिसकेको छु, तर कसैले देखेको होइन, मजस्तोको यहाँ कदर नै हुँदैन भनेर नाफा–घाटा हेरेर समाज र राष्ट्रसँग हिसाबकिताब माग्ने पनि हुन्छन् । अर्थात्, दया गर्ने र पाउने दुई व्यक्तिबीच तहगत भिन्नता हुन्छ । 

 

बुद्ध र बौद्ध धर्मसम्बन्धी बोल्ने तथा लेख्ने कसैकसैले ‘दया’ शब्दको प्रयोग गरे पनि त्यो बौद्ध धर्म–दर्शनअनुकूल भने होइन । बुद्धले कहीँकतै पनि दयाको उपदेश दिएको पाइँदैन । बरु करुणाको उपदेश दिएका छन् ।

 

तर करुणा फरक हुन्छ । कोही दुःखमा छ भने उसलाई अरूको दुःखको रूपमा नलिई आफ्नै दुःख ठानी, समानस्तरमा हेरी द्रवीभूत हुनु र अरू केही कुरा नसोची छिटोभन्दा छिटो दुःखबाट छुटकारा पाउन प्रयत्नशील हुनु करुणा हो । आफ्नै दुःख वा समस्या भनी ग्रहण गरिसकेपछि अर्थात् आत्मसात् गरेपछि आफ्नो र अरूको भन्ने भाव नै हुँदैन । यसलाई अझ सरल भाषामा भन्नुपर्दा कसैलाई घाउ चोटपटक भएर छटपटाइरहेको छ र छेउमा बस्नेको मनमा आयो, यसलाई सघाउने कोही रहेनछ, म सघाउँछु भनेर अघि सर्नु दया हो । तर, कोही घाइते देख्नासाथ आफू र उसमा अन्तर नै नदेखी आफैँलाई चोट परेको हो र आफैँ छटपटाइरहेको ठानी त्यसबाट मुक्ति पाउन आफँै लाग्नु करुणा हो । दुई वर्ग नै नभएको अवस्थामा कृतज्ञताको कुरा पनि हुँदैन । यस्तो करुणा भएकालाई करुणावान् वा करुणामय भनिन्छ । 

 

सन्दर्भ बुद्ध र बौद्धहरूको हो । यसलाई अझै विस्तृत रूपमा व्याख्या गर्नु आवश्यक हुन्छ । कुनै पनि बौद्धको गहना भनेको ‘चतुब्रह्मविहार’ हो र को कुनस्तरको बौद्ध भन्ने कुरा यही गहनामा निर्भर हुन्छ, । यसअन्तर्गत मैत्री, करुणा, मुदिता र उपेक्षा भावना पर्छ । सबैलाई समान रूपले हुर्नु मैत्रीभाव हो भने अरूको दुःखलाई आत्मसात् गर्नु करुणा हो । यसरी नै अरूको खुसीमा खुसी हुनु मुदिता भाव हो भने तटस्थ भाव मुदिता हो । अर्थात्, यहाँ दया भन्ने कुरा नै छैन । बुद्धले कसैउपर दया गरेको वा दयालु भएको कुनै सन्दर्भ पनि पाइँदैन । न कसैलाई दयालु बन्न उपदेश नै दिएका छन् । बरु यस्ता अनधिकृत उपदेशको उल्लेख त्यस्ता लेखहरूमा पाइन्छन्, जसका लेखक अन्य मतवादबाट प्रभावित वा हचुवाको भरमा लेख्ने हुन्छन् । यही भएर महाकारुणिक बुद्धलाई दयालु भन्नु उचित हुँदैन र बुद्धको उपदेशलाई आफ्नो जीवन दर्शन बनाउनेहरू दयालु हुँदैनन् पनि । 

 

करुणाको अभावमा बौद्ध साधना प्रायः असम्भव हो । क्लेशलाई क्षय गरी अर्हत् प्राप्त गर्ने अर्थात् जन्ममरणको भवचक्रलाई तोड्ने साधकमा पनि करुणाको दरकार पर्छ । अर्हत् मात्रै होइन, बोधिसत्व भई सम्पूर्ण पारमि पूरा गरी अन्ततः स्वयं सम्यकसम्बुद्ध नै हुन्छु भनेर प्रणिधान गर्ने साधकलाई त अझ धेरै करुणाभावको दरकार पर्छ । अर्हत् श्रावकयानी बौद्धहरूको लक्ष्य हो भने बोधिसत्वको आदर्श महायानी बौद्धहरूको हो । अर्हत् हुँदा आफू मात्रै मुक्त हुने हो, अरूको मुक्तिमा तुलनात्मक रूपमा सहभागी हुन नसक्ने सोची अन्य प्राणीप्रति पनि अपार करुणा राखी अर्हत् हुने मौकालाई स्थगन गरी बोधिचर्यातिर लाग्ने हुन् । बोधिचर्या गर्नेलाई बोधिसत्व भनिन्छ । यो चर्यामा अरूको मद्दत गर्नुमा नै खुसी हुने हो । अरूको मद्दतमा आफ्नो ज्यान नै दिनुपरे अझ प्रीतिको अनुभव गर्ने हो । यो भनेको महाकरुणा भावको विकास गरेकाहरूमा मात्रै सम्भव हुने हो । करुणाले नै बोधिसत्वहरूलाई बोधिचर्या गर्नमा प्रेरित गरिरहेको हुन्छ । साधनाको यस क्रममा उसले एकपछि अर्को तह पार गर्दै पारमिहरू पूरा गर्ने हुन् । पारमि पूरा गरेसँगै उसमा विशेष गुणको विकास पनि हुँदै जाने हुन्छ, जसबाट स्वयं सम्यकसम्बुद्ध बनिन्छ । यसरी बनेका अनेकौँ बुद्धहरूमध्ये एक हुन्, लुम्बिनीमा इ.पू. ५६३ मा लुम्बिनीमा जन्मेका गौतम बुद्ध । 

 

अपार करुणाले द्रवीभूत भएर जसरी अर्हत् हुने अवसरलाई त्याग गरी बारम्बार जन्म लिएर बोधिसत्वहरू अरूको सहयोगमा दत्तचित्त भएर लागिरहेका हुन्छन्, त्यसरी नै स्वयं सम्यकसम्बुद्ध हुने हैसियत राखेर पनि त्यसलाई स्थगन गरी लोकमा एक मात्र प्राणी दुृःखमा हुन्जेल निर्वाण लाभ गर्दिन, बुद्ध हुन्न भनेर साधनामा नै लीन भइराख्ने बोधिसत्वहरू पनि हुन्छन् । यी बोधिसत्वहरूलाई अवलोकितेश्वर भनिन्छ । यी बोधिसत्वहरू अत्यन्तै करुणावान् हुने भएका कारण करुणामय भनेर सम्बोधन गर्ने गरिन्छ । यसबाट अझ स्पष्ट हुन्छ, बौद्ध धर्म–दर्शनमा दयाभावलाई नभएर करुणा–भावलाई ठाउँ दिएको छ । यस अवस्थामा बौद्धहरू कसैप्रति दया नभएर करुणा राख्नु स्वाभाविक हो ।