• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जनक कार्की
२०७९ चैत १८ शनिबार ०९:१५:००
साहित्य

पहाड–मधेस विचरण गराउने पुस्तक 

२०७९ चैत १८ शनिबार ०९:१५:००
जनक कार्की

 

कथा सुन्ने सुनाउने परम्परा आदिमकालदेखि चलिरहेको छ । सृष्टिको आरम्भमा जब कुनै घटना घट्यो, त्यहाँ सुन्ने र सुनाउने पात्र जन्मिए होलान् । त्यसैले त कथा जन्मियो होला । हिन्दी भाषाका प्रसिद्ध कथाकार प्रेमचन्दले भनेका छन्, ‘कथा यस्तो रचना हो, जसले कुनै एउटा अंग वा मनोभावलाई प्रदर्शित गर्दछ । कथाको विभिन्न चरित्र, शैली र कथानकले त्यसै मनोभावलाई प्रस्ट पार्छ । कथा रमणीय उद्यान नभएर सुगन्धित फूलयुक्त गमला हो ।’ यस्तै मगमगाउने कथाका फूलहरू फुलेका छन् ‘सनेस’को गमलामा । ‘सनेस’ कथासंग्रहलाई रेणुका जिसीले लेखेकी हुन् । ‘शिखा बुक्स’द्वारा प्रकाशित यस किताबमा १२ कथा अटाएका छन् ।

 

यस संग्रहका अधिकांश कथा महिला मुद्दामा केन्द्रित छन् । पुरुषप्रधान समाजको जालोमा अड्किएर महिलाले भोग्नुपरेको शारीरिक, मानसिक, सामाजिक आदि समस्यालाई उजागर गर्न खोजिएको छ । पुरुष भएर जन्मनेबित्तिकै समाजमा धेरै कुरा गर्न छुट हुन्छ र त्यही कुरा महिलाले गर्दा प्रश्न उठ्छ भन्ने गम्भीर प्रश्नलाई कथाकारले उठाएकी छिन् । संग्रहमा केही प्रेमकथाहरू पनि छन् । काँचो उमेरमा हुने किशोरकिशोरीको प्रेम, उमेरको तालमेल नमिलेको प्रेम, एउटासँग प्रेम र अर्कोसँग विवाहका प्रसंग पनि संग्रहमा अटाएका छन् । कथाहरूले महिला सशक्तीकरणको गीत गाएका छन् । शिक्षाको उज्यालोले कसरी महिलालाई शक्तिशाली र सफल बनाउँछ भन्ने कुरा पात्रहरूको संघर्ष र पढ्ने इच्छाशक्तिद्वारा देखाइएको छ । जुन दिनदेखि महिलाले पुरुष दमन झेल्न छोड्छे त्यस दिनदेखि महिला हिंसामुक्त हुन्छन् भनेर पात्रद्वारा विद्रोह देखाइएको छ । किशोरावस्थाको प्रेमलाई समाजमा छिःछि दुर्दुर र नकारात्मक व्यवहार गर्दा उनीहरूले कसरी आत्महत्याको निर्णय लिन्छन् भन्ने विषय पनि कथामा अटाएको छ । अपरिपक्व प्रेमलाई निन्दा गरेर होइन सकारात्मक सम्बोधन गर्नुपर्छ भन्ने सन्देश पनि छ । 

 

केही कथाहरूमा बालमनोविज्ञानलाई पनि समेटिएको छ । समाजमा हुने कुप्रथा र अन्धविश्वासले बालिकाको मनमा परेको मानसिक आघातबारे कथा बोल्छ । महिलाले भोग्ने यौन मनोवैज्ञानिक कथाले पनि स्थान पाएको छ । संग्रहमा प्रधान पात्र महिला छन् । महिलाले भोग्नुपर्ने लैंगिक विभेद, हिंसा, असमानता आदिबाट महिलाले शालीन विद्रोहको बाटो रोजेका छन् । पात्रहरूले आफ्नो अस्तित्व, पहिचान र स्वाभिमानका लागि क्रान्तिकारी कदम उठाएका छन् । कथा पहाडदेखि मधेसको परिवेशमा विचरण गर्छ । कहिले मधेसको प्रचण्ड गर्मीमा शीतल पात्रद्वारा संस्कृति र परम्पराको चित्रण हुन्छ त कहिले पहाडको शीतल चौतारीबाट आगोजस्ता शक्तिशाली पात्र झुल्किन्छन् । कथाकार आफैँ जन्मघरदेखि कर्मघरसम्मको यात्रामा मधेस–पहाडको यात्रा नापेकाले उनले एउटा मिश्रित समाजलाई सजीव चित्रण गरेकी छिन् ।

 

भूगोल फरक भए पनि महिलाका दुःख भने साझा छन् भनेर कथाकारले प्रस्ट्याउन खोजेकी छिन् । उनले महिलाका लागि मधेसमा पीडाको सगरमाथा पनि छ र पहाडमा दुःखको फराकिलो मैदान पनि छ भन्न खोजेकी छिन् । कथामा आञ्चलिकताको सुमधुर उपस्थिति छन् । पात्रको संवादले कहिले पहाडमा बसेर कालीगण्डकी सुसाएको गीत सुनेजस्तो आभास गराउँछ भने कहिले मधेसमा बसेर खेतमा गहुँको नृत्य हेरेको भान गराउँछ । 

 

वैवाहिक जीवनभर एकपटक पनि शारीरिक सुख नपाएकी महिलाले जब समाजबाट बाझोपनको आरोप खेप्नुपर्छ, त्यतिवेला अर्को बिहे गरेर बच्चा जन्माउने निर्णय लिनुलाई क्रान्तिकारी कदम मान्न सकिन्छ । श्रीमान्ले आफ्नो पुरुषार्थ देखाउन अन्य महिलासँग यौनसम्पर्क गरेको भिडियो देखाएर यौन हिंसा गर्न खोज्दा पात्रले अस्वीकार गरेर सधैँका लागि सम्बन्धविच्छेद गर्ने निर्णय पनि क्रान्तिको बिगुल हो । अप्ठ्यारो परिस्थितिमा पनि शिक्षालाई निरन्तरता दिने पात्र प्रेरणादायी बन्न सक्छ । चिकित्सा विज्ञानलाई अन्तिम सत्य मान्दा महिलाको जीवनमा आउने संकटका कथाले पनि केही हदसम्म जनचेतना फैलाउन सहयोग गर्नेछ । सीताहरूको अग्निपरीक्षा झन् रूप फेरिफेरि आएका घटनाहरूले सोच्न बाध्य बनाउँछ । बलात्कारको कुरूप घटनालाई पनि कथाकारले छुटाएकी छैैनन् । निसन्तान हुनुको पीडा पनि कथामा छन् । बारुद र सशस्त्र द्वन्द्वका गन्धसमेत कथामा आउँछ । 

 

कथाको भाषा सरल भएर पनि केही कथा सलल बग्न सकेको छैन । पाठक अन्योलमा पर्छ । पुनः कथा दोहोर्‍याउन बाध्य हुनुपर्ने देखिन्छ । यद्यपि, कथा भन्ने शैली रोचक छ । हरेक कथाले पाठकलाई चुम्बकीय ऊर्जाले जस्तै आकर्षण गर्छ । भाषामा काव्यिक प्रवाह छ । भन्ने शैली रोचक भए पनि नयाँ शैलीको प्रयोग कम भेटिन्छ । ‘अग्निपरीक्षा’ कथाबाहेक सबै कथालाई परम्परागत शैलीमा भनिएका छन् सबै कथामा वर्तमान र अतितलाई जोडिएको छ । बेग्लै स्वादको शैली पाठकलाई दिन कथाकारले कन्जुस्याइँ गरेको हो कि भन्ने लाग्छ । विषयवस्तुको विविधतामा कम ध्यान दिएको पनि लाग्न सक्छ । सामान्य विषयवस्तुका कथालाई पनि असामान्य बनाउन सकेको कुरा ‘तलाउ’ र ‘प्रेमरंग’ कथा पढ्दा महसुस हुन्छ । 

 

‘क्यानाम चुप लाएर लेखाओ ।’ (पृष्ठ–७) यो संवाद संस्कृत शिक्षकको हो । यो संवादमा प्रयोग भएको थेगो ‘क्यानाम’ एउटा संस्कृत शिक्षकले बोल्दा असान्दर्भिक लाग्छ । किनकि यो थेगो प्रायः भारतीय सेनामा काम गर्ने नेपाली र भारतमा रोजगारी गरेर फर्केकाले बोल्ने गरेको पाइन्छ । ‘अनुहारमा पनि दिउँसै सय वाटको बल्ब बल्थ्यो ।’ (पृष्ठ–८) यो वाक्यमा प्रयोग भएको बिम्बको अर्थ नमिलेजस्तो लाग्छ । दिउँसोको उज्यालोलाई हजार वाटकै बत्ती बाले पनि के फरक पर्छ र ? हिज्जे केही ठाउँमा त्रुटि हुनुलाई खासै भनिरहनु नपर्ला ।

 

कतिपय वाक्यले सिंगो जीवनदर्शन नै बुझाएको पनि छ । ‘बाबुआमाको कर्मको ब्याज छोराछोरीलाई पनि मिल्ने रहेछ ।’ (पृष्ठ –१२) यो लाइन वास्तवमै एउटा सूत्र हो । ‘सम्बन्ध जोगाउने सूत्र भनेको संवाद हो ।’ (पृष्ठ–३१) यो वाक्यले सम्बन्धमा दरार परेको पर्खाल भत्काउन महावाणीको काम गर्दछ ।

 

‘सलमा म्याडम’ भन्ने कथामा मुस्लिम महिला पात्रले सिन्दुर लगाएको कुरा छ । मधेस नदेखेका पाठकलाई यो अचम्म लाग्ला । तर, मधेसका केही ठाउँमा मुस्लिम समुदायका विवाहित महिलाले सिन्दुर लगाउने प्रचलन रहेछ । कथाकारले यो विषयलाई उठाएर धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गरेकी छिन् । कथाकारले प्रायः कथाको समापनमा निकै मिहिनेत गरेकी छिन् । हरेक कथाको अन्त्यले पाठकलाई झंकृत बनाउन बाध्य बनाउँछ । यसो गर्दा केही कथा एउटा विषयवस्तुमा बग्दाबग्दै अन्तैतिर गएर मोडिएको हो कि भन्ने पनि महसुस हुन सक्छ । केही कथाको समापन पाठकलाई निर्णय गर्न छोडिएका छन् ।

 

पहिलो संग्रहबाटै स्थापित हुन सक्ने कथा बोकेर नेपाली साहित्यमा उदाएकी छिन् रेणुका जिसी । महिला सशक्तीकरणका कथा खोज्नेलाई यो संग्रह एउटा उदाहरण हो ।