• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नारायण बाबु थापा
२०७९ चैत १८ शनिबार ०९:५३:००
यात्रा

उपल्लो मुस्ताङतिर डुल्दा

२०७९ चैत १८ शनिबार ०९:५३:००
नारायण बाबु थापा

 

दमन थापा र म एकाबिहानै लाग्यौँ, पोखराको विमानस्थलतिर । जोमसोममा कमल तिउसिना र पारसको टोली बिस्तारै मोटरमा आउने भयो । तारा एयरको विमानले धर्ती छाड्यो । हेम्जा, धम्पुसको डाँडा भएर मोदी अनि पुनहिलछेउबाट सोझिएर कालिगण्डकीको खोंचैखोंच बत्तियो । दायाँबायाँका मनोरम दृश्य, निलगिरिको हिमचुचुरा छेउ–छेउ हुँदै जोमसोम उत्रियौँ । 

 

होटेलमा सामान राखेर पूर्वतर्फ घुम्न निस्कियौँ । जोमसोमभन्दा पनि पुरानो गाउँ रहेछ ठिनी । पारि बजार र विमानस्थल देखियो । नेपाली सेनाको उच्च शिखर तालिम केन्द्र जाने बाटो त्यतै माथि रहेछ । मनमा लाग्यो, एकपटक पुग्न पाए हुन्थ्यो त्यो स्थानमा । त्यहाँ सिकाइने तालिम निकै प्रसिद्ध छ । विदेशीहरू पनि तालिमका लागि आउने गर्छन् । विपत् व्यवस्थापनलगायत उत्तरी सीमामा खटिनुपर्दाको अवस्थामा सशस्त्र प्रहरी बलका लागि पनि धेरै उपयोगी छ यो तालिम । तर, थोरै अधिकृतले मात्र गर्न सकेका छन् अहिलेसम्म । सुन्दर, सानो, रमणीय धुम्बा तलाउ आयो । माथि गुम्बासम्म पुगियो । बजारको दृश्य देखियो । गीत त्यसै बनेको होइन रहेछ, जोमसोमे बजारमा, बाह्र बजे हावा सरर...। 

 

भोलिपल्ट विहानै उत्तरी मुस्ताङ अर्थात् लोमान्थाङसम्म पुग्ने उद्देश्यका साथ बाटो लागियो । हामीलाई सीमासम्म लैजान हिम्मत गर्ने गुल्मपति दिल पन्थसहितको टोली पनि सँगै थियो । दमन, कमल, पारस, अर्जुन र म छौँ अरू पोखरेलीहरू । कागबेनी कटेपछि सबै नौलो लाग्ने नै भयो । भौगोलिक बनोटले पनि अचम्मकै छ मुस्ताङ । झन् माथि–माथि पुगेपछि फरक परिदृश्यहरू देखिँदै गए ।

 

हामी, ताङ्वे हुँदै छुसाँग पुग्यौँ, हाम्रो प्रहरीचौकी रहेछ त्यहाँ । एकछिन रोकियौँ त्यहाँ । दुईजना प्रहरी भाइहरूको इसारामा मुस्किलले मोटर तारियो । चेले गाउँ आयो । निकै जोखिमपूर्ण भिर आयो । बाटो खन्दाखन्दै डोजर नै पल्टेर केहीको ज्यान गएको र डोजर नै टुक्राटुक्रा भएको रहेछ । साँच्चै त्यही डोजर पनि देखियो । थन्किएर बसेको, बडो डरलाग्दो तवरले उत्तानो परेको । तीन–चारजना मजदुरको ज्यानै गएछ । राज्यबाट त के पाए होलान् तिनीहरूले । ठेकेदारले काम गरेको ज्याला पनि घरमा पुर्‍याइदियो, दिएन ? ती मर्ने मजदुर भाइहरू रामेछाप, सिन्धुली, गोरखा, काभ्रे, धादिङ या हेटौँडा, उदयपुरतिरका गरिब हुनुपर्छ । न्युरोड, चिप्लेढुंगा, लाजिम्पाट, दरबारमार्ग आदिका त पक्कै थिएनन् । ‘चैलेको भिरमा मर्ने साथीहरू हो, तिमीहरूको सपना अब पूरा भएको छ । बाटो लोमान्थाङ पुग्यो, धन्य छ तिमीहरूलाई । अर्को जुनी फेरि जन्म्यौ भने बाटो खन्ने भएर होइन, गाडी चढ्ने भएर लोमान्थाङ घुम्न जाने गरी गाडीमै आउनु है तिमीहरू । सलाम छ मेरो तिमीहरूको त्यो साहसलाई,’ मनमा यस्तै–यस्तै कुरा खेलिरह्यो । 

 

अलि माथि पुगेपछि समथर भूगोल आयो । हामी खाना खान हिमालयन होटेलमा रोकियौँ । साहुजी छिरिङ फुर्वा रहेछन् । जाडोमा अरूलाई जिम्मा लगाएर तल जान्छन् रे ! खाना तयार हुँदै थियो । मासु याकको मात्रै रहेछ । याक भन्नासाथ चौँरी गाईको सम्झना आयोे । त्यो त कसरी खानु ? 

 

घमी गाउँका राजु विष्ट भेटिए । काम गर्ने केटी सरिना भन्ने रहेछिन् बडो चतुर । उनले हामी सबैको ध्यान खिचिन् । केही महिना मात्र काम गर्न आएकी रे ! आमालाई अस्ति मात्र बीस हजार पैसा पठाइन् रे ! कहाँ–कहाँको अनकन्टार स्थानमा आएर पनि रोजगारी गरेर घर धानेकी छिन् उनले । जाडो महिनामा भारतीय बजारतर्फ स्वेटर बेच्न पनि जान्छु भनिन्् । ओहो ! कस्ती हिम्मतिली नानी ?

 

समरको भिर भर्खर–भर्खर निर्वाचनपछि जिविसले काटेर यताउताको बाटो जोडेको थियो । तर, मोटर जाला कि नजाला जस्तो डरलाग्दो थियो । सबैको सातो गयो । सबैजना ओर्लियौँ, चालक भाइले ज्यादै होसियारीसाथ अघि बढायो । अलि माथि पुगेपछि भेना भन्ने गाउँ आयो । त्यहाँ एउटै घरलाई गाउँको नाम दिइएको रहेछ । सायद नेपालमा भेनाको नामबाट गाउँ नै नामकरण भएको यही एउटा होला कि ? भेना गाउँ नाघेपछि कि दिदी आउनुपर्ने कि साली तर ठाडो उकालो पो आयो । ४०२० मिटरको उचाइ देखायो मेरो जिपिएस्ले । हामी स्याङवोचे हुँदै घिलिङ पुग्यौँ । एउटा कुइनेटो कट्यो, अर्को आउँछ, एउटा गाउँ पुग्यो, अर्को डाँडा आउँछ ।

 

हामी घमी पुग्यौँ । हामीलाई स्वागत गर्न प्रहरी भाइहरू बाटैमा रहेछन् । धन्न जहाँ पनि पुगेको छ यो प्रहरी । देश यसैले धानेको छ जस्तो लाग्छ । सरकारको प्रतिनिधित्व सर्वत्र कसैले गरेको छ भने यही प्रहरीले गरेको छ । चौकीमा गयौँ । पानी पियौँ । प्रहरी भाइहरूसँग कुराकानी गर्‍यौँ । एकजना शिक्षक रुद्रप्रसाद सुवेदी भेटिए । करिब ६ वर्ष भएछ, घमीमा पढाउन थालेको । उनी पर्वत निवासी रहेछन् । उनी चौध वर्ष जाजरकोट पढाएर यहाँ आएका रहेछन् । कस्तो त्याग, कस्तो समर्पण । 

 

पहिला–पहिला पैदलै हिँड्नेले घमीको उकालोको कुरा गर्थे । हामीले त्यो बाइरोडे उकालो पार गर्‍यौँ । अब चराङ आउन लागेको बताउँदा हामी खुसी भयौँ । पाखापखेरीभरि भेंडा च्याङ्ग्राका बथानहरू देखिए । दसैँमा च्याङ्ग्रा यतैबाट पो जाने रहेछन् कि जस्तो लाग्यो । अलि तल ओरालो झरेपछि बाटो मोडियो । परैबाट देखियो चराङ । त्यस दिन हामी चराङमै बस्ने भयौँ । 

 

कैलाश होटेलमा बास पाइयो । मोटरको पछाडि बस्ने भाइहरू भने चिन्नै नसक्ने भएका थिए धुलोले । होटेल साहुनी पेमा विष्ट अमेरिका जाने तरखरमा रहिछन् । पुलिस रिपोर्ट बनाउन के गर्नुपर्ला सर भनेर सोधिन् । पेमाका ससुराले पुराना कुरा गरे । पहिला बोर्डरमा आवतजावत, व्यापार व्यवसायमा धेरै सहज भएको, यतैबाट मानसरोवर जान सकिने, आफन्तहरू भेटघाट हुने तर अहिले आएर सबै बन्द भएकाले समस्या परेको दुखेसो गरे । देश, सीमा, राजनीति भन्ने पनि कसैका लागि कति निर्दयी बनिदिन्छ भन्ने लाग्यो । हामी एघारजनाले नै सँगै बसेर खाना खायौँ । घरबेटी दिदी, खाना पकाउने भाइ, काम गर्ने बहिनीले बडो मजाले थपी–थपी खुवाए खाना । 

 

भोलिपल्ट सबेरै बाटो लागियो । समथर पठारजस्तो ठाउँ आयो । नाउरका बथान चरिरहेको दृश्य मनोरम देखियो । अब, हामी लोमान्थाङछेउमै पुग्यौँ । केही तल खाल्डोजस्तोमा देखियो घमाइलो लोमान्थाङ, सपनाको लोमान्थाङ । लाग्नु खुसी लाग्यो । बजारमा छिर्नेबित्तिकै पहिला भेटिए प्रहरी । देशभरि पहिला भेटिने यिनै हुन् । प्रहरीको मिहिनेत खोलो बनाएर बगाइदिने हो भने एक कालिगण्डकी पसिना बगिसकेको छ । यिनीहरूले गरेको निःस्वार्थ परिश्रमको पसिनाले धर्ती निथु्रक्क भिजेको छ । तर, साँच्चै भन्ने हो भने प्रहरीको मुहारमा उन्मुक्त हाँसो आउन सकेको छैन । द्वन्द्व त द्वन्द्धै भइहाल्यो, शान्तिकालमा पनि यिनीहरूको जीवन निर्वाह सहज रूपमा चलिरहेको छैन । यो कुराले मनभित्र निरन्तर अन्तरद्वन्द्वको हुन्डरी चलिरहन्छ । त्यही प्यारो प्रहरीसँग कता हो कताको स्थानमा जम्काभेट भयो फेरि । हिमालपारिको जिल्लाको पनि अझ धेरै उत्तरतर्फ रहेको ऐतिहासिक स्थलमा थियौँ हामी । हामीलाई स्वागत गरे, अन्नपूर्ण कन्सरभेसनका प्रमुख सन्तोष शेरचन र स्थानीय समाजसेवी इन्द्रधारा विष्ट र असइ ठाकुर शर्मालगायतले । 

 

अब हामी सबैजना नेपाल चीन बोर्डरतर्फ जाने भयौँ । सबैजना नअटाउने भएकाले थप एक बोलेरो भाडामा लियौँ । ठूलो स्कुल पनि रहेछ छोसेरमा । हामी नेचुंग पुग्यौँ । प्रहरी थाना रहेछ । राधेश्याम सिंह सैठवारसहित प्रहरी भाइहरूले स्वागत गरे । खुसी भए । सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिने गरी आउँदै छ भन्ने जानकारी रहेछ सबैमा । क्वारेन्टाइनको भवन नै सशस्त्रको लागि भनेर छुट्याइएको रहेछ । हामी केही उकालो कटेर फराकिलो पठारमा प्रवेश गर्‍यौँ । ठूलो विमानस्थल नै बनाउन मिल्नेभन्दा पनि फराकिलो । हामी सीमास्तम्भ नम्बर २४ मा पुग्यौँ । चिनियाँ पक्षले दायाँबायाँ सबैतिर तारबार लगाएको रहेछ । उनीहरू त्यहाँ नजिकै उपस्थिति नभए पनि विभिन्न स्थानहरूमा क्यामेराहरूमार्फत निगरानी गर्ने र सुरक्षा क्याम्प केहीभित्र रहेको जानकारी भयो । हाम्रो तर्फ न कुनै पोस्ट छ, न कुनै कार्यालयको नामोनिसान । प्रहरी पोस्ट निकै तल छ । तर, त्यहाँ न मोटर, न बाइक, न घोडा नै । अनि कसरी गर्ने गस्ती ? बरु नागरिकहरू मोटर, बाइक चढेका छन् । यस्तो बिजोग तरिकाले तैनाथी गराउन पाइन्छ राज्यले ? हामीले फोटोहरू खिच्यौँ । इन्द्रधाराजीले धेरै कुराहरू बताउनुभयो सीमा, त्यहाँको बसोवास, समस्या, विकास र सरकारी उदासीनता आदि बारेमा । 

 

देशको सीमालाई नमन गरेर फर्कियौँ । मनमनै लाग्यो, कुनैवेला यहाँ सीमा नाकामा चाहिने कार्यालय बन्लान्, प्रहरीहरू बस्लान्, व्यापार व्यवसायको कारण गुल्जार होलान् । कोरोलाको पनि दिन फिर्ला । छोसेरमा गुफा हेरियो । भित्तामा, अझ पहरामै बनेका घरहरू देखिए । हाम्रै नेपाल हो यो । तर पनि राज्यको पर्याप्त ध्यान पुगेको छैन । त्यहीकारण दुःखी छन् नागरिक  सदियौँदेखि । 

 

लोमान्थाङको एक्याप अफिसमै सन्तोष शेरचनजीले आतिथ्यता प्रदान गरी खाना खुवाए । त्यसपछि हामी लोमान्थाङको दरबार गयौँ । इन्द्रधारा विष्टजीका कारण पूर्व मुस्ताङ्गे राजा जिग्मे दोर्जे पलवरज्यूसँगको भेट जुर्‍यो । शाहवंशीय राजाहरू एघारौँ पुस्ताले शासन गरे भने मुस्ताङ्गे राजाको पुस्ता पच्चीसौँ रहेछ । अठारौँ शताब्दीमा मात्र नेपालमा गाभिएको थियो । हामीले राजासमक्ष रीतिअनुसार परिचय दिने क्रमसँगै पवित्र खाँदा चढायौँ । त्यही खादा हामीलाई लगाइदिए । विश्वमा बेग्लै अलौकिक सांस्कृतिक पहिचानका लागि पनि यी राजा राखिराख्न पाएको भए ? सशस्त्र प्रहरी बलको टुकडी आगामी दिनमा सीमावर्ती क्षेत्रको सुरक्षाका लागि बस्ने जानकारी राजासमक्ष गराएँ । सामूहिक तस्बिर लियौँ । पुराना गुम्बा, प्रहरी चौकी घुम्यौँ । बेलुका सबैजनाले सँगै खाना खायौँ । 

 

बिहानै, टाठो पुलिसका असइ ठाकुरले ढोका ढकढक गरेर उठाए । हुन पनि यस्तै टाठो पुलिस भएरै त यो देश चलेको छ । हामी लोमान्थाङबाट बिदा भयौँ । हामी हिजो आएकै बाटो फर्कियौँ । चालक भाइ पनि अब अनुभवी बने । चराङ, घमी, जैते, घिलिङ, छुन्कर सहजै पार गरियो । स्याङबोचेमा रोकियौँ । होटेल धवलागिरिमा चिया पियौँ । हेर्दाहेर्दै भेना पो आइपुग्यौँ । हैन कसले राखिदियो होला यो ठाउँको नाम भेना हँ ? तर एक्लो रहेछ यहाँको भेना विचरो । दिदीले छाडिदिइन् जस्तो । दिदी समरतिरै पो झरिन् कि ? या घिलिङतिर उक्लिन् कि ? विचरा भेना कसरी बस्ने होला ए....क्लै यो सुनसान दुनियाँमा ?

 

समर तिमीलाई टाढैबाट नमस्कार छ है ! मेरो जय नेपाल पनि छ, सलाम पनि छ धेरै धेरै । हिजो डराउँदै आत्तिँदै गएको मान्छे आज सकुशल फर्केको छ तिम्रो काखमा । सरिना, तिम्रो हिम्मतलाई, आमाप्रतिको ममतालाई उच्च सम्मान छ है काली । हैन हाम्रातिरका मान्छे त रोजगारीका लागि भारत, मलेसिया या अरबतर्फ भासिन्थे, तर यो हिमालपारिको जिल्लाले धेरैलाई रोजगार दिएको रहेछ बरु । खुसी लाग्यो, कमसेकम् मुग्लान नभासिएर यतै गुजारा गर्न सकेका छन्, हाम्रा दाजुभाइ दिदीबहिनीहरूले । केही न केही काम गरेका छन् । कोही गाइड भनेका छन्, कोही भरिया बनेका छन् । आखिर बाँच्नु र बचाउनु न हो जिन्दगी, नढलुन्जेलसम्म म्याद थप्दै–थप्दै ।