• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनिल यादव
२०७९ चैत १८ शनिबार १०:४५:००
फिल्म

प्रेमको माध्यमबाट समुदायको कथा भन्न चाहन्छु

२०७९ चैत १८ शनिबार १०:४५:००
अनिल यादव

 

उपेन्द्र सुब्बाका अनेक परिचय छन्, कवि, गीतकार, कथाकार र फिल्म लेखक । नयाँ वर्षसँगै उनको नयाँ परिचय थपिँदै छ, फिल्म निर्देशक । पहिचानको विषयमा निरन्तर कलम चलाउँदै आएका सुब्बाले ‘कबड्डी’ सिरिज लेखेपछि आफ्नै समुदायको कथामा फिल्म निर्देशन गरेका छन्, ‘जारी’ । तर, उपेन्द्रलाई बजारले दिने यी परिचयसँग मतलब छैन । भन्छन्, ‘म परिचयविहीन हुन रुचाउँछु । जसले जसरी चिने पनि हुन्छ ।’ समीक्षकहरू भन्ने गर्छन्, ‘सीधैँ पहिचान नमाग्नु, तर पढ्दै जाँदा पहिचान हुनुपर्छ भन्ने महसुस गराउनु उपेन्द्र सुब्बाको लेखकीय विशेषता हो ।’ सुब्बाको लेखन हुँदै निर्देशनतिर मोडिएको यात्राबारे अनिल यादवले गरेको कुराकानी :

 

तपाईंले कविता, गीत, कथा र फिल्मको स्क्रिप्टसमेत लेख्नुभयो । हुँदाहुँदा अहिले फिल्म निर्देशनमै होमिनुभयो । एउटा कविलाई फिल्म निर्देशनमै होमिन खास केले झकझक्यायो ?
भनिन्छ, सिक्न छाडेपछि मान्छे बूढो हुन्छ । मेरो स्वभाव पनि त्यस्तै भएर होला कि ! अथवा मलाई बूढो हुन मन नलागेर होला कि । नयाँ–नयाँ कुरा सिकिरहन मन लाग्छ । अलिअलि कविता बुझेजस्तो लागेपछि साथीहरूजत्ति म लेख्न सक्दिनँ भन्ने भयो । सुन्दर कविता के हो भन्ने चिनेपछि कविता कम लेख्न थालेँ । त्यसपछि आख्यानतिर मोडिएँ । साथ र संगतले फिल्मको स्क्रिप्ट लेख्दै थिएँ । मूलधारदेखि सुदूर ठाउँमा रहेको लिम्बूवानको कथामाथि फिल्महरू खासै नबनेको पाएँ । त्यसपछि फिल्म लेखेँ । तर, मेरो स्क्रिप्टमा फिल्म निर्देशन गरिदिने मान्छे नै पाइनँ । जसले लिम्बूको कथामाथि फिल्म बनाउँछ, उसले त्यहाँको संस्कृति त बुझ्नुपर्‍यो । जस्तो, लिम्बू बिहेको दृश्य राख्दा त्यहाँ के–के प्रब्स प्रयोग हुन्छ, त्यसबारे अरूलाई थाहा नहुने ! म स्वयंले ‘जारी’ बनाउँदै गर्दा साह्रै दुःख पाएको छु । एउटा कुरा लिन पठायो, अर्कै लिएर आइदिन्थे । बटुका लिएर आइज भन्दा सिल्भर र स्टिलको लिएर आउँथे, जुन हामी प्रयोग नै गर्दैनौँ । हामी बस्छौँ कसरी पनि थाहा नहुने ! पात्रको मनोविज्ञान थाहा नहुने, स्वभाव थाहा नहुने । त्यसकारण यो कथा मेरो आफ्नो समुदायको भएकाले म आफैँले भन्नुपर्छ भन्ने लाग्यो । यो कथामा राम्रो फिल्म बन्न सक्छ भन्ने आफैँलाई महसुस भएपछि ‘जारी’ बनेको छ । खासगरी निर्देशनमा हात हालेर मैले एउटा खतरै मोलेको हो ।

 

‘जारी’पछि फिल्म निर्देशनमै निरन्तरता दिनुहुन्छ कि ? 
सम्भवतः म फिल्म निर्देशनमै व्यस्त हुन्छु होला । फिल्ममा सिक्नुपर्ने कुरा धेरै रहेछ । ‘जारी’ गर्दा मैले धेरै कुरा सिकेँ । सुटिङमा जानुअघिसम्म मलाई लाग्थ्यो, मैले फिल्म मेकिङमा भयंकर जानिसकेँ । सेटमा काम गरेको थिएँ । साथीभाइको काम पनि देखेको थिएँ । किताब पनि पढेको छु । राम्रा मुभीहरू हेरेको छु । ह्या फाँडिहाल्छु नि भनेजस्तो हुन्थ्यो । तर, सिक्न धेरै रहेछ । यसअघि म फिल्मको स्क्रिप्ट त लेख्दै थिएँ, तर यो फिल्म निर्देशन गरेपछि थाहा भयो, मलाई स्क्रिन प्लेको कम जानकारी रहेछ । स्वभावै सिक्ने भएर होला, म केही फिल्म अझै गर्छु ।

 

त्यसोभए तपाईंका नयाँ कविता र कथा पाठकले पढ्न पाउनेछैनन् ।
किन नपाउनु ! पाउनुहुनेछ । कथासंग्रह त प्रकाशनको चरणमै छ । ‘जारी’ फिल्म रिलिज नभएसम्म मेरो दिमाग नै खाली भएन । फिल्मको प्रिमियरमै कथासंग्रह पनि रिलिज गरौँ कि भन्ने पनि भएको थियो, तर सकिएन । पुस्तक तयार नै छ, फिल्मपछि आउँछ । कवितासंग्रह पनि ल्याउँछु । अलि फरक ढंगले लेख्छु भनेरै मैले लामो समय कविता नलेखेको हुँ । जस्तो कविता लेखिरहेको थिएँ, त्यो ढाँचाबाट मलाई नै मोनोटोनस लाग्यो । राम्रो भनौँ या नराम्रो, अलि फरक गरौँ भन्ने लागिरहेको छ । उस्तैउस्तै कविताको निरन्तरता मलाई नै मन परेन । पहिलेपहिले मनपरेको–नपरेको सबै कविता राखेर जबर्जस्ती किताब निकालिन्थ्यो । अब त्यसोचाहिँ नगर्ने । 

 

तर, तपाईंको कवितासंग्रह ‘खोलाको गीत’ पाठकले निकै रुचाएका थिए । त्यसवेला प्रकाशकले पनि निकै बिक्री भएको कवितासंग्रह भनेका थिए । होइन र ?
बिक्री त भयो कि, तर खासै उपलब्धिमूलक पुस्तकचाहिँ होइन त्यो । मिल्थ्यो भने त्यहाँभित्रका चार–पाँचवटा कविता म अहिले च्यात्थेँ होला (हाँस्दै) । तर, के गर्नु किताब निस्किसक्यो । यद्यपि, ती चार–पाँचवटा कविता म कतै गएर वाचन पनि गर्दिनँ, आफैँलाई लाज लाग्छ अहिले (हाँस्दै) । 

 

‘लाटो पहाड’ कथासंग्रहमा जुन किसिमको लिम्बू मिठास, माटो, हावा, वातावरण, संस्कृति र त्यहाँको जनजीवन पाइन्थ्यो, ‘जारी’ले दर्शकलाई त्यस्तै दुनियाँमा पुर्‍याउन सक्ला ?
त्यो त पुर्‍याउनुपर्ने हो । लिम्बूवानको जनजीवन देख्न सकिन्छ । लिम्बूहरू के सोच्थे, के गर्थे, एउटा समाज कुन विश्वासमा बाँचेको थियो, कसरी चलेको थियो र अनि उसको आस्था के थियो त्यो देखाउन खोजेको छु । साथमा प्रेम के हो, लिम्बू समुदायमा महिलाहरूलाई कत्तिको सम्मान गरिन्छ, त्यो पनि फिल्मले भन्छ भन्ने लाग्छ । पात्र निर्माणमा मैले राम्रै मिहिनेत गरेको छु । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा दयाहाङको भूमिका हेरेपछि एकजना पत्रकारले सोध्नुभयो, ‘यो त ‘काजी’कै रुपान्तरणजस्तो छ । यसलाई कबड्डी ५ किन नभनेको ?’ खासमा त्यतिवेला मलाई साह्रै चित्त दुख्यो । किनभने मैले पात्र निर्माणमा साह्रै मिहिनेत गरेको छु भन्ने लाग्छ । 

 

अघि तपाईंले लिम्बूको कथा भन्न खतरा मोलेँ भन्नुभयो । तर, अधिकांश फिल्ममा तपाईसँग रामबाबु गुरुङ, दयाहाङ राई छुट्दैनन् । ‘जारी’को ट्रेलरमा ‘कबड्डी ४’ कै कलाकार देखिएका कारण पनि यसमा ‘कबड्डी ५’ को आरोप लागेको हो कि ? 
फिल्म मार्केटिङका लागि पनि ट्रेलरमा चिनिएकै कलाकार राखौँ भन्ने हुँदोरहेछ । नत्र ‘जारी’मा धेरै ‘नन्–एक्टर’हरू छन् । नन्–एक्टरसँग काम गर्न साह्रै गाह्रो हुनेरहेछ । अर्को कुरा, मैले आफ्नै समुदायको कलाकारहरू नखोजेको पनि होइन । भेटे जतिलाई गुहारेँ । तर, कतिले नपत्याइदिने, कतिले नभ्याइदिने । त्यसैले दुःखसाथ अरूलाई नै जोडेँ । कथा लेख्दा या बनाउँदा आफूले बाँचेको समयमै ‘कम्फर्ट’ हुनेरहेछ । दोस्रो समुदायमाथि कथा बनाउनुभन्दा आफ्नो समुदायकै कथा भन्न सजिलो हुनेरहेछ । त्यसमाथि आफूले भागेको र बाँचेको समयकै कथा लेख्न सहज हुन्छ । कसैले मलाई अहिलेका बच्चाहरूको कथा लेख्नु भन्यो भने गाह्रो हुन्छ । कारण, त्यहाँ धेरै अध्ययन–अनुसन्धान चाहिन्छ । मेरा फिल्ममा दयाहाङ राई बढी देखिनुको कारणचाहिँ मैले लेख्ने कथाहरूमा मूल पात्र जनजाति भएर पनि हो । सँगसँगै फिल्म चलोस् भन्ने चाहना पनि छँदैछ । 

 

भनेपछि दयाहाङ राईको बजार भ्यालु पनि अर्को कारण ? 
त्यो त हो । अरू कलाकार भेट्न पनि गाह्रै छ । फेरि नयाँ अनुहारमाथि दुई करोडको जोखिम मोलेर फिल्म कसले बनाउने ? सुरक्षित मार्गको खोजी पनि अर्को कारण हुन सक्छ । हलमा सो पाउन पनि चलेको कलाकार चाहिनेरहेछ । नत्र यहाँ नचिनिएको कलाकारलाई हल दिन गाह्रो हुनेरहेछ । कि त म रामबाबु गुरुङजस्तै बजारमा चलेको निर्देशक हुनुपर्‍यो । तर, मसँग त्यस्तो सुविधा थिएन । यद्यपि, ‘जारी’मा मैले ५०–६० भन्दा बढी नन्–एक्टरलाई अभिनय गराएको छु । धेरैजसो मेरो गाउँघरका छन् । 

 

फिल्मको सुटिङ आफ्नै गाउँमा गर्नुभएको हो ?
हो । पाँचथरस्थित मेरै गाउँ आङसारङमा सुटिङ गरेको छु । फिल्ममा देखिने प्रमुख पात्र दयाहाङको घर मेरै घर हो । अरूको गाउँमा गएर सुटिङ गर्दा समस्या हुनेरहेछ । धेरै समय मूल पात्रको घरमा सुटिङ गर्नुपर्ने हुन्छ । महिनौँसम्म त्यसरी सुटिङका लागि घर कसले दिने ? अझ ५०–६० जना उफ्रिएर धुलो उड्दा त घर नै जाला भन्ने पिर ! एक दिन पो देला, महिनौँसम्म कसले देला ? 

 

ट्रेलरमा देखिने मेलाका दृश्यहरू पनि रियल नै हुन् ?
हो नि । त्यत्रो मान्छे भेला पारेर सेट त कहाँ बनाउन सक्नु ? फिल्ममा देख्न पाइने मेला, हामीकहाँ देख्न पाइने पुरानो मेला हो ।

 

लेखनमा तपाईंको छवि पहिचानवादीको छ, चाहे त्यो ‘लाटो पहाड’मा होस् या ‘खोलाको गीत’मा । ती सिर्जनाहरूले पहिचानको मुद्दालाई छाडेको छैन । यो फिल्म पनि पहिचानकै पक्षमा छ भनेर दर्शकले बुझ्दा हुन्छ ?
खोइ के भनौँ ? फिल्मले सीधैँ लिम्बूवान देऊ त भन्दैन तर पहिचान चाहिन्छ भन्ने महसुसचाहिँ हुनुपर्ने हो । जसरी ढाकाटोपी र दौरासुरुवाल लगाएर युरोपमा घुम्दै गरेको कोही नेपालीलाई ‘म नेपाली हुँ’ भनेर चिनाइरहनुपर्दैन, त्यसरी नै फिल्मले चुपचाप केही न केही भन्छजस्तो लाग्छ ।

 

तपाईंको लेखन या फिल्ममा प्रेम सधैँ केन्द्रमा देखिन्छ नि । ‘कबड्डी’ सिरिजदेखि ‘जारी’सम्म आइपुग्दा प्रेम छुटेको छैन । यसको खास कारण छ ?
प्रेम सुन्दर लाग्ने भएर हो या प्रेम गर्न नपाएर हो, सिर्जनामा प्रेम नै खोजिरहेको छु । सार्वभौम विषय भएर पनि होला, खासमा म प्रेमको माध्यमबाट आफ्नो समुदायको कथा भन्न चाहन्छु । 

 

‘जारी’को कथा र त्यसको प्रमुख पात्र तपाईंको आफ्नै जीवनसँग कति नजिक छ ?
त्यत्ति नजिक त होइन होला । तर, चिनेको, जानेको र बुझेको पात्र हो भन्ने लाग्छ । यद्यपि, म आफैँचाहिँ होइन । त्यति सुन्दर त थिइनँ होला म । अलि कुरूप नै हो मेरो आफ्नो प्रेम कथा !