• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
टोपलाल अर्याल
२०७९ चैत १८ शनिबार १०:५३:००
समाज

भोट लिनेले चोट देखेनन्

२०७९ चैत १८ शनिबार १०:५३:००
टोपलाल अर्याल

गुल्मीका ६ परिवारले अपांगता भएका आफ्ना सन्तानको उपचार हुने आश्वासनमा कैयौँपटक स्थानीयदेखि प्रदेश र संघको निर्वाचनमा भोट दिए, तर सत्तामा पुगेपछि नेताले फर्किएर पनि हेरेनन् 

 

‘पिरले ज्यान गल्छ’

 

छत्रकोट गाउँपालिका–३ हर्दिनेटा नरमकी ७२ वर्षीया केशरी थामीका अपांगता भएका तीन सन्तान ।


गुल्मीको छत्रकोट गाउँपालिका– ३ हर्दिनेटा नरमकी ७२ वर्षीया केशरी थामीले पछिल्लो एक वर्षदेखि आँखा देख्न छाडिन् । उनको जिम्मेवारीमा तीन अपांग सन्तान छन्– ४५ वर्षीय भूपाल थामी, ४० वर्षीय बलबहादुर थामी र ३३ वर्षीया देवीमाया थामी । उनका तीन छोरा र दुई छोरी गरेर पाँच सन्तान छन् । चार सन्तान अपांगै जन्मिए । उनीहरूमध्ये ३० वर्षीय रामबहादुर थामीको दुई वर्षअघि ज्यान गयो । एक छोरी शान्ति थामी मात्रै सपांग थिइन् । उनको पनि घरनजिकै बिहे भयो ।

 

तीन सन्तान कसैको पनि कम्मर तलको भाग चल्दैन । रामबहादुरले कान पनि सुन्दैनन् । उनीहरूले घस्रेर सकसपूर्ण जीवन बिताएका छन् । मोतिबिन्दुबाट पीडित केशरीको श्रीमान् यज्ञवीरको ब्लड क्यान्सरले ज्यान लग्यो । अहिले केशरीलाई बुढेसकालमा पीडामाथि झनै पीडा थपिएको छ । ‘जीवन रोएरै बित्यो । श्रीमान् र छोरा पनि गुमाएँ,’ केशरीले भनिन्,‘म मरेपछि यी छोराछोरीको बिजोग हुने पिरले ज्यान गल्छ ।’

 

‘छोरीसँगै मर्न पाऊँ’

 

मुसिकोट नगरपालिका–१ की रिमा घिमिरेकी १८ वर्षीया छोरी मेनुका घिमिरे, उनको कम्मरदेखि तलको भाग चल्दैन ।


गुल्मी मुसिकोट नगरपालिका– १ अरेबाकी १८ वर्षीया मेनुका घिमिरेको पनि कम्मर तलको भाग चल्दैन । आमा रीमा घिमिरे छोरीको अवस्थादेखि निकै चिन्तित छिन् । रीमाका श्रीमान्ले घरमा कुटपिट र हेला गर्न थालेपछि सानो छोरा र अपांग छोरी लिएर घर छोडेको वर्षौँ भयो । रीमाले ओत लाग्ने ठाउँ र माया त पाइनन् नै, घर छोड्दा गुद्रीसम्म दिएनन् । छोरीको उपचारसमेत गर्न सकिनन् । अर्कैको घरमा बस्दै आएकी घिमिरेलाई गाससँगै छोरीको भविष्यले पोल्छ । ‘छोरीको अवस्था र श्रीमान्को व्यवहारका कारण रुँदै जीवन बिताउँदै छु,’ भन्छिन्,‘भगवान्सँग प्रार्थना गर्छु, छोरीसँगै मर्न पाऊँ ।’ 

 

सुरेन्द्रका सकसपूर्ण २८ वर्ष

 

जन्मजात अपांगता भएका धुर्कोट गाउँपालिका–६ का २८ वर्षीय सुरेन्द्र थापाका हातगोडा चल्दैनन् ।


धुर्कोट गाउँपालिका– ६ का सुरेन्द्र थापा २८ वर्षका भए । सुन्छन्, बुझ्छन् तर बोल्न सक्दैनन् । हात र खुट्टा सुकेका छन् । न टेक्न सक्छन्, न समाउन । आफ्नै घरमा दरिलो गरी उभिन पाएनन्, सुरेन्द्रले । आमा ५८ वर्षीया राधाले जेठा छोरासँग कहिल्यै दुःख साट्न पाइनन् । दैनिक आँखा जुधे पनि मनका कुरा भन्न सक्दिनन्, छोरालाई । सुरेन्द्र जन्मजात अपांग छन् । उनलाई २४सै घन्टा परिवारले हेरचाह गर्नुपर्छ । असजिलो जीवन, त्यहीमाथि लडेर खुट्टा भाँचियो । सुरेन्द्रले पीडामाथि पीडा खेपे । परिवारलाई डेढ–दुई लाखको ऋण थपियो । उनको पालनपोषणमा परिवारले २८ वर्ष बिताए । ‘पीडा पर्नेलाई मात्रै थाहा हुन्छ । छोराकै हेरचाहमा बैँस गुम्यो, बुढेसकालमा के गर्ने सोच्न सकिरहेकी छैन,’ आमाले भनिन्,‘देखेको पाइएन । लेखेको भोग्दै छौ ।’ 

 

साङ्लाले बाँधिएको जीवन

 

मानसिक सन्तुलन गुमेपछि साङ्लोमा बाँधिएका बडिगाड गाउँपालिका–२ का ३५ वर्षीय रेशम राना ।


बडीगाड गाउँपालिका– २ का ३५ वर्षीय युवा हुन् रेशम राना । उनी अर्धचेत भएर साङ्लोमा बाँधिएको धेरै भयो । उदास चेहेरा, लामो कपाल र झुत्रे पहिरन । साङ्लो कहिले हातमा बाँधिन्छ कहिले खुट्टामा । उनी वेलाबखत पीडा र बिमारले चिच्याउँछन् । धेरैपटक साङ्लोबाट फुत्किएर स्वतन्त्र बन्न बल गर्छन् । तर, साङ्लो चुँडाउने बलै पुग्दैन । फलाम रगडिएर हात र खुट्टाबाट रगत बग्छ । उनी १८ वर्षदेखि मानसिक समस्याले पीडित छन् । परिवारसँग उपचार गर्ने पैसा छैन । ५४ वर्षीय उनकी आमा निमी रानाले उपचार गर्न नसकेर चार वर्षदेखि छोरालाई साङलोमा बाँधेर राखेको बताइन् । 

 

रेशम १२ वर्षको हुँदा बुबासँगै भारत पसेका थिए । सानै उमेरमा पनि राम्रो कमाउँथे । रेशम दुईपटक छुट्टिमा घर आए । तेस्रोपटकमा भने रेशम मानसिक सन्तुलन गुमाएर घर फर्किए । परिवारले पाटन, टिचिङ र भैरहवा लगेर उपचार पनि गरे । रेखबहादुरले भारतमा कमाएको पैसा छोराको उपचारमा सके । तर, पूर्णतः निको पार्न सकेनन् । अहिले रेशमले औषधि छोडेको एक वर्षभन्दा बढी भयो । ‘साङ्लाको डाम र घाउ देखेर देख्नेहरूले कठै भन्छन् । आमाको मन कति दुख्छ होला झन् । के गर्नु बाध्यता यस्तै छ,’ रेशमकी आमा निमीले भनिन्,‘खै छोरालाई कसरी निको पार्ने होला !’ 

 

ऋषिरामका सपना

 

आमाबुबाका साथमा छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेल, उनका हातगोडा चल्दैनन् । 


गुल्मीको छत्रकोट गाउँपालिका– ४ का १९ वर्षीय ऋषिराम कँडेल जन्मजात अपांग हुन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैन । तर, त्यही दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । ऋषिरामका हातखुट्टा कमजोर छन् । तर, उनको बौद्धिक क्षमता अब्बल छ । उनी शृंगा जनता माविका उत्कृष्ट विद्यार्थी हुन् । बर्सेनि कक्षामा प्रथम र विद्यालयमै द्वितीय हुन्छन् । उनले कक्षा चारसम्म घरनजिकैको शारदा माविमा पढे । अहिले शृंगा जनता माविमा पढ्दै छन् । ऋषिराम ‘क’ वर्गको अपांग हुन् । उनी अरूको सहाराविना केही गर्न सक्दैनन् । ‘जन्मिएकोमा पछुतो छैन । भविष्य हेरेर वर्तमानमा संघर्ष गरिरहेको छु,’ उनले भने,‘जीवन कठिन भए पनि असम्भव केही छैन ।’ कँडेल परिवार उदाहरणीय छ । ऋषिराम परिवारको एक्लो सन्तान हुन् । पहिलो सन्तानै पूर्ण अपांग जन्मिएपछि कँडेलदम्पती पाँच वर्षसम्म छोराको उपचारमै दौडधुप गरे । तर, अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहारसुसार र अध्ययनमै परिवारको ध्यान गयो । छोराको अपांगतासँग परिवारलाई कुनै पछुतो छैन । छोराले पनि कहिल्यै ग्लानि महसुस गरेका छैनन् । 

 

बाँधिएका अबोध बालक

 

मानसिक सन्तुलन गुमेपछि साङ्लोमा बाँधिएका सत्यवती गाउँपालिका–५ हसराका ११ वर्षीय रामु बुढाथोकी ।


कच्ची घरको बलेनीमा हातखुट्टा बाँधेर सधैँ झुन्डिन्छन्, ११ वर्षीय बालक रामु बुढाथोकी । उनी सत्यवती गाउँपालिका– ५ हंसराकी देउकुमारी बुढाथोकीका छोरा हुन् । हातखुट्टा र कम्मरमा बाँधेर पछ्यौराको झोलुंगोमा झुन्डिन थालेको वर्षौँ भयो । टाउकोमा चोट नभएको ठाउँ छैन । शरीरभरि नीलडाम छन् । परिवारको थोरै ध्यान नपुगे टाउको भुइँमा ठोक्किएर रक्ताम्य हुन्छ । उनी आफ्नै शरीर चिथोर्ने र कोपर्ने गर्छन् । यो समस्या उनले सात–आठ वर्षदेखि झेलिरहेका छन् । उनले घरनजिकैको विद्यालयमा अहिलेसम्म टेकेका छैनन् । उनी हिँडडुल पनि गर्छन् । पूरै होसमा हुँदैनन् । अरूलाई खासै केही गर्दैनन् । तर, आफैँले आफैँलाई निकै चोट दिइरहेका छन् । देउकुमारीका श्रीमान् भारतमा १७ वर्षदेखि काम गर्थे । घरमा श्रीमती देउकुमारीले छोरा सम्हाल्न नसकेपछि कमल गाउँ फर्के । बुटवलको आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पुर्‍याएर उपचारको प्रयास गरे पनि छोरालाई सन्चो भएन । 

 

महिनावारीको पीडा
छत्रकोट गाउँपालिका– ३ की देवीमाया थामी ३३ वर्षकी भइन् । उनको कम्मरदेखि तलको भाग चल्दैन । उमेरसँगै महिनावारी सुरु भयो । अपांगताका बीच महिनामारी हुँदा धेरै रगत बगेर देविमायाले ठुलो समस्या भोगिन् । यो बेला धेरै स्याहार र सरसफाई चाहिन्छ । महिनावारीका बेला अझै टाउको र पेट दुख्छ । ‘गाउँमा महिनावारीको रगत देखाउन हुँदैन भन्ने अन्धविश्वास छ । मैले रगत छोप्थेँ खुट्टा दुख्यो भनेर टार्थेँ,’ उनले भनिन्,‘अहिले आफैँ समस्याको समाधान गर्छु ।’ 

 

मुसिकोट नगरपालिका– १ अरेबाकी १८ वर्षीया मेनुका घिमिरे चार हातपाउ टेकेर हिँड्छिन् । उनलाई दिसापिसाबकै राम्रोसँग अड्कल हुँदैन । आमा रीमा घिमिरेका अनुसार महिनावारी हुँदा अवस्था बिजोग हुन्छ । ‘कतै छोड्न सकिँदैन । ख्याल नहुँदा कहिलेकाहीँ रगतमा लतपतिन्छे,’ उनले भनिन्,‘राम्रो लगाउने र मीठो खाने त  कर्ममै रहेनछ ।’

 

सत्ता फेरियो, अवस्था फेरिएन
गत निर्वाचनमा छत्रकोट गाउँपालिका– ३ का तीन अपांग दाजुबहिनीले घिस्रिएर मतदानस्थलमा पुगी भोट दिए । भोटका लागि नेताले बिहानै उनीहरूलाई घरबाट उठाएर लगे । भूपाल र बलबहादुर थामीले परिवर्तनका लागि घिस्रिँदै पुगी भोट दिए । तर, सत्तामा पुगेपछि भोट माग्नेले चोट देखेनन् । धुर्कोट गाउँपालिका– ६ की ५८ वर्षीया राधा थापाले घरघरमा भोट माग्न आउने स्थानीयदेखि केन्द्रीय नेतालाई ओछ्यानमा लडेको छोरा देखाइन् । भोटले नेता र सत्ता फेरिए । बहुदल, लोकतन्त्र र गणतन्त्र आयो । तर, अपांगता भएका परिवारको अवस्था फेरिएन । बडीगाड गाउँपालिका– २ का ६३ वर्षीय रेखबहादुर कुमाललाई भोट माग्ने नेताले छोराको उपचारका लागि आश्वासन दिए । छोरा उपचार अभावमा साङ्लोमा बाँधिए पनि सबै परिवार मतदानस्थल पुगेर भोट दिए । भोट पाउने सत्तामा पुगे, तर रेशमले साङ्लोबाट मुक्ति पाएनन् ।