• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सञ्जित परियार
२०७९ चैत २५ शनिबार ०६:३०:००
रिपाेर्ट

लिगलिगकोटमा साइकल दौड

२०७९ चैत २५ शनिबार ०६:३०:००
सञ्जित परियार

अघिल्ला वर्षजस्तै यस वर्ष पनि ‘लिगलिगे साइकल दौड’ गोरखाको पालुङटारमा आयोजना गरिएको छ । साइकल दौडमा दुई विदेशीसहित ३९ जना सहभागी थिए । करिब ५३ किलोमिटर लामो साइकल दौडमा व्यावसायिक साइकल रेस खेलाडीसमेत सहभागी थिए ।


सहभागीहरू पालुङटारकै आँपपिपल भञ्ज्याङ, हर्मी भञ्ज्याङ, बायाँपानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल हुँदै पाथिभरा, गुन्टार, मूर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गमरबेसी, घर्तीगाउँ, ठूलो बगैंचा, चेपघाट तरेर लमजुङको बेसीसहरसम्म पुगेका थिए । पालुङटार हवाई अड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बाह्रपिर्के र वधडाँडा हुँदै फेरि लिगलिगकोट डाँडामा उनीहरू पुगेका थिए । आयोजक ‘लिगलिग भिलेज स्पोर्टस्’का अनुसार लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रूपमा विकास गर्न २०७७ देखि हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको छ । 


इतिहासकारका अनुसार १६औँ शताब्दीमा घले राजाहरूले शासन गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरूले हरेक वर्ष नयाँ शासक चुन्न दौड आयोजना गर्थे । सोही दौडमा द्रव्य शाह पनि सहभागी भई चलाखीपूर्ण तरिकाले राजा भएको बताइन्छ । अहिले पनि यस क्षेत्रमा हरेक वर्ष दसैँका वेला दौड आयोजना गरिन्छ । लिगलिगकोट दौडजस्तै साइकल रेस पनि आयोजना गरी यहाँको पर्यटन प्रवद्र्धनमा टेवा दिन खोजिएको आयोजक टोलीका सदस्य सञ्जीव रानामगरले जानकारी दिए ।


गतसाताको शनिबार भएको साइकल दौडमा भने तीन विधामा प्रतिस्पर्धा गरिएको थियो । ‘मेन्स इलाइट’ र ‘मेन्स मास्टर’का लागि सहभागीले प्रतिस्पर्धा गरे । मेन्स इलाइटतर्फ प्रथम हुने त्रिभुवन आर्मी क्लबका हिमाल टमटाले ५३ किलोमिटर दूरी दुई घन्टा २४ मिनेट २७ सेकेन्डमा पूरा गर्दै ७५ हजार पुरस्कार जिते । दोस्रो हुने अचुतकृष्ण खरेलले दुई घन्टा २४ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै ५० हजार र तेस्रो हुने कुमार तामाङले दुई घन्टा २५ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै ३० हजार नगद र मेडल पाए । चौथो र पाँचौँ स्थान हासिल गर्नेले १५ हजार र सात हजार पाँच सय पाए । मेन मास्टरतर्फ प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार पाए । 


रेसमा स्थानीय पनि सहभागी भए । स्थानीयका लागि चाहिँ छुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो । रेसमा पालुङटार नगरपालिकाका सहभागी प्रथम भएका थिए । राइनस नगरपालिकाका सहभागी दोस्रो भएका थिए भने सिरानचोक गाउँपालिकाका सहभागी तेस्रो भएका थिए । प्रथम हुनेले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजार पुरस्कार पाए ।