• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
प्रेम गौतम
२०८० बैशाख १६ शनिबार ०९:३३:००
सम्झना

अशोक र पृथ्वीसुब्बा न सहयोग, न प्रतिस्पर्धा

२०८० बैशाख १६ शनिबार ०९:३३:००
प्रेम गौतम

डेढ दशकअघि आदिवासी जनजाति आन्दोलन उत्कर्षमा पुगेको वेला अशोक राई (हालका जसपा संघीय परिषद् अध्यक्ष एवं शिक्षामन्त्री) र पृथ्वीसुब्बा गुरुङ (हाल एमाले उपमहासचिव) सँगै थिए । नेकपा (एमाले) भित्र यी दुई नेताहरू आआफ्नो भूमिकामा सक्रिय थिए । जनजातिहरू आफ्नो समुदायको मुद्दा यी दुई नेताले जोडले उठाउनेछन् भन्नेमा विश्वस्त थिए । तर, समय सधैँ एउटै रहेन । यी दुईको दशकौँ लामो संगत अन्ततः टुट्यो । 


लमजुङबाट निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजाति सभासद्हरूको समूह (ककस)को संयोजक भएर संविधानसभाभित्र र सार्वजनिक मञ्चमा तत्काल परिणाम ल्याउने हिसाबले पहिचानको आन्दोलनलाई सशक्त बनाए । उनको प्रस्तुति खरो हुन्थ्यो । गुरुङले पहिचानको विषय खुलस्त रूपमा उठान गरेका थिए । तर, उदयपुरबाट संविधानसभा सदस्यमा पराजित अशोकलाई संविधानसभाको मञ्च थिएन । त्यसैले पनि सार्वजनिक रूपमा उनी मौनजस्तै थिए । भित्री रूपमा भने उनी पनि सक्रिय नै थिए । सार्वजनिक रूपमा मात्र होइन, एमाले पंक्तिमा पनि राईले ‘शालीन’ र ‘भद्र’ तथा गुरुङले ‘छुद्र’ नेताको पहिचान बनाएका थिए । जनजाति आन्दोलनका वेला पृथ्वीसुब्बा खरो रूपमा उत्रिए भने अशोक लामै समय मौन बसे ।


‘एक्सनको हिसाबले पृथ्वीसुब्बा पूर्वको राई–लिम्बूजस्तो र अशोक पश्चिमको गुरुङ–मगरजस्तो देखिनुभयो’ डेढ दशकअघिदेखि आदिवासी आन्दोलनमा सक्रिय एमालेको तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष र पार्टी केन्द्रीय सदस्य अजम्बर राई काङमाङ स्मरण गर्छन् । एमालेका तत्कालीन उपाध्यक्ष अशोकले गठन गरेको संघीय समाजवादी पार्टीमा उपमहासचिव रहेका काङमाङ हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । बलियो राजनीतिक पृष्ठभूमिका भएका नेताहरूले अशोकलाई साथ दिएका थिए । तर, सार्वजनिक रूपमा पहिचानको पक्षमा खरो उत्रिएका पृथ्वीसुब्बा भने पार्टी विभाजनको पक्षमा गएनन् । ‘पृथ्वीसुब्बाले पहिला उचालेर पछि नयाँ पार्टीमा नगएको हल्ला धेरै चल्यो । तर, नयाँ पार्टी बनाउन पृथ्वीसुब्बाले उचालेको वास्तविकता होइन,’ काङमाङ सम्झन्छन् ।

 

पटक–पटकका ती छलफल
पहिलो संविधानसभाको उत्तरार्धतिर जनजाति नेताहरूको बैठक धेरै बस्यो । विभिन्न घर र पार्टी प्यालेसमा समेत बाक्लै छलफल चल्थ्यो । ती छलफलको अगुवाइ अशोकले गर्थे । पृथ्वीसुब्बा थोरै छलफलमा मात्रै सहभागी हुन्थे । छलफलमा सहभागी भए पनि आफ्ना कुरा खुलेर राख्दैनथे । उनको जोड पार्टी विभाजन गर्नु हुँदैन, एमालेमै बसेर मुद्दा स्थापित गर्नुपर्छ भन्नेमा हुन्थ्यो । ‘नयाँ पार्टी खोल्नुपर्छ भन्ने पृथ्वीसुब्बाको दृष्टिकोण थिएन । उहाँ फुकीफुकी कदम चाल्नुपर्छ भन्नुहुन्थ्यो । सार्वजनिक अभिव्यक्ति दिँँदा पनि बहुअर्थी रूपमा दिनुपर्छ भन्ने खालको मत उहाँको हुन्थ्यो । अहिले पार्टीभित्र आन्तरिक संघर्ष गरेर जाऔँ, जनजातिको पहिचान, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको एजेन्डामा अन्तरपार्टी संघर्ष गरेर जाऔँ । तर, नयाँ पार्टी नै निर्माण गर्ने कुरा नसोचौँ भन्ने उहाँको मत थियो ।’ एमालेमा रहँदा जनजाति अभियानमा सक्रिय अजम्बर स्मरण गर्छन् । अशोकले निर्माण गरेको पार्टीमा अजम्बर उपमहासचिव थिए । 

अशोक र पृथ्वीसुब्बाबीच भनाभनको स्थिति भने कहिल्यै बनेन । पार्टी विभाजनको तहमा छलफल पुगेपछि पृथ्वीसुब्बा बहसमा धेरै भाग नै लिँदैनथे । केही बैठकमा सहभागी भए पनि आफ्नो कुरा प्रकट नै नगरी निस्किन्थे । पार्टी विभाजनअघि गुरुङले भनेका थिए– अशोकलाई नेता मान्न सकिन्न, उहाँ मलाई नेता मान्नुहुन्न ।


एमालेमा रहन नसक्ने निष्कर्षमा पुगेको र नयाँ पार्टी पनि बनिनसकेको अवस्थामा विद्रोही आदिवासी जनजाति नेताहरूले छुट्टै संयन्त्र खडा गरेका थिए । कुनै महत्वपूर्ण गतिविधि वा भ्रमण गर्दा त्यो संयन्त्रलाई सूचित गर्नुपथ्र्यो । तर, पृथ्वीसुब्बा सूचनाविनै विदेश गएपछि हल्लीखल्ली मच्चिएको थियो । उक्त भ्रमणले अविश्वाससमेत पैदा गरेको नेताहरू सम्झन्छन् ।
अशोक र पृथ्वीसुब्बाबीच भनाभनको स्थिति भने कहिल्यै बनेन । पार्टी विभाजनको तहमा छलफल पुगेपछि पृथ्वीसुब्बा बहसमा धेरै भाग नै लिँदैनथे ।

 

केही बैठकमा सहभागी भए पनि आफ्नो कुरा प्रकट नै नगरी निस्किन्थे । पार्टी विभाजनअघि गुरुङले भनेका थिए– अशोकलाई नेता मान्न सकिन्न, उहाँ मलाई नेता मान्नुहुन्न । ‘सोल्टी अशोकलाई नेता मान्न सकिँदैन, तपाईंहरू मलाई नेता मान्नुहुन्न । कसरी सहकार्य हुन्छ त ?’ काङमाङ स्मरण गर्छन्, ‘जस्तोसुकै अवसर, चुनौती वा संघर्षका कुरा भए पनि अशोकसँग पृथ्वीसुब्बा आउनुहुन्नथ्यो ।’ विगतको अनुभवले पनि अशोक र पृथ्वीसुब्बाको सहयात्रा नयाँ पार्टीसम्म नभएको बुझाइ धेरैको छ । सम्भवतः अशोकले नयाँ पार्टीको नेतृत्व गर्न सक्दैनन् भन्ने निष्कर्ष पृथ्वीसुब्बाले निकालेका थिए ।


यद्यपि, पृथ्वीसुब्बा भने अशोकले आफूलाई नेतृत्व लिनसमेत प्रस्ताव गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘उहाँले मलाई नयाँ पार्टीको अध्यक्ष बन्न पनि प्रस्ताव गर्नुभएको थियो । तर, मैले त्यो बाटो रोजिनँ ।’ आफूले समाजवादमै पहिचान देखेको पृथ्वीसुब्बा बताउँछन् । उनी भन्छन्, ‘एमालेमा हुँदा उहाँ मेरो नेता हो । उहाँप्रति मेरो सम्मान छ । व्यक्तिगत रूपमा हाम्रो सम्बन्ध राम्रै छ । राजनीतिक रूपमा उहाँले पहिचानको बाटो रोज्नुभयो, मैले समाजवादको बाटो रोजेँ । समाजवादमै पहिचान देखेँ ।’


जबकि, पृथ्वीसुब्बाको नेतृत्वमा नयाँ पार्टी गठन गरे देशभर माहोल बन्ने भन्दै जनजाति नेताहरूले उक्साइरहेका थिए । एमालेमा रहँदा दुई नेताको सम्बन्ध बढी औपचारिक रहेको काङमाङ बताउँछन् । ‘एमालेमा रहँदा अशोक र पृथ्वीसुब्बाको सम्बन्ध बढी औपचारिक थियो । हार्दिक र निकट थिएन । कारण थियो– कार्यक्षेत्र र सांकेतिक प्रतिनिधित्व । अशोकको कार्यक्षेत्र पूर्व र पृथ्वीसुब्बाको पश्चिम । त्यहीकारण एकआपसमा सहयोग र प्रतिस्पर्धाको स्थिति नै बनेन । समुदायको हिसाबले पार्टीले प्रतिनिधित्व गराउन खोज्थ्यो । राई–लिम्बूको अशोकले र गुरुङ–मगरको पृथ्वीसुब्बाले प्रतिनिधित्व गर्ने स्थिति थियो । त्यही कारण एमालेमा रहँदा दुई नेताको सम्बन्ध निश्चित दूरीको थियो । वरीयताको हिसाबले सुरुदेखि नै अशोक अगाडि हुनुहुन्थ्यो,’ काङमाङ भन्छन् ।


अशोकले १८ असोज २०६८ मा काठमाडौंमा ‘अग्रगामी शक्ति निर्माणका लागि एमाले परित्याग कार्यक्रम’ राखे । जहाँ खचाखच उपस्थित थियो । तर, त्यो कार्यक्रममा पृथ्वीसुब्बा थिएनन् । जुन कार्यक्रममा अशोकले घोषणा गरेका थिए, ‘हामी वैकल्पिक शक्ति बनाउँछौँ ।’ 


अशोकको नेतृत्वमा ०६९ मा जनजाति बाहुल्य संघीय समाजवादी पार्टी गठन भयो । ०७० को संविधानसभा निर्वाचनमा अशोकको पार्टीले ६८ जिल्लामा उम्मेदवार उठायो । अशोकसहित पार्टी पदाधिकारीले निर्वाचन लड्ने जोखिम मोलेनन् । एउटै उम्मेदवारले पनि प्रत्यक्ष निर्वाचन जितेनन् । समानुपातिकतर्फ प्राप्त मतले अशोकसहित पाँच नेता सभासद् बने । अशोक नेतृत्वको पार्टी लामो समय टिक्न सकेन । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग एकता गरी अशोक संघीय फोरमका वरिष्ठ नेता बने । अशोक हाल जसपाका संघीय परिषद् अध्यक्ष छन् । 

 

एमालेमा रहँदा अशोक र पृथ्वी सुब्बाको सम्बन्ध बढी औपचारिक थियो । हार्दिक र निकट थिएन । कारण थियो– कार्यक्षेत्र र सांकेतिक प्रतिनिधित्व । अशोकको कार्यक्षेत्र पूर्व र पृथ्वीसुब्बाको पश्चिम । त्यही कारण एक–आपसमा सहयोग र प्रतिस्पर्धाको स्थिति नै बनेन ।


स्वभावगत समानता र भिन्नता 
अशोक र पृथ्वीसुब्बा दुवै विज्ञानका विद्यार्थी हुन् । त्यसैले उनीहरूको विचारमा तथ्यले स्थान पाउँछ । तुलनात्मक रूपमा अशोकको अध्ययन संगठित देखिन्छ । तर, अभिव्यक्तिमा शालीनता र विषय प्रस्तुतिमा कूटनीतिक तबर अपनाउँछन्, अशोक । पृथ्वीसुब्बा आफ्ना कुरा स्पष्ट रूपमा निर्धक्क राख्छन् ।


अशोक विचारमा अडान राख्छन् । तर, जोखिम मोल्न रुचाउँदैनन् । जनजाति नेताहरूको जोडबलमा नयाँ पार्टी गठनको निष्कर्षमा राई पुगेको उनका निकटस्थहरू बताउँछन् । कार्यकर्ता संरक्षणको मामिलामा अशोकभन्दा पृथ्वीसुब्बा अलि बढी व्यावहारिक देखिन्छन् । ‘अशोकले आफू समान नआइन्जेल संरक्षण गरेजस्तो गर्ने र आफू समान आएपछि निमोठ्ने गर्छन्,’ काङमाङ भन्छन्, ‘सांकेतिक प्रतिनिधित्वको सवाल आएपछि त्यसको संकेत दुवै नेतामा देखिन्छ । एकले अर्कालाई प्रतिस्पर्धी देख्ने स्वभाव दुवैमा देखिन्छ ।’


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि गुरुङ केपी ओलीसँग नजिकिए । मालेबाट एमालेमा फर्किएपछि अशोकले नेताहरूबीच सन्तुलन कायम राख्न खोजेका थिए । धेरैले उनलाई मध्यमार्गी नेताको रूपमा चिन्थे । वरीयताका हिसाबले सिनियर भएकाले अशोकलाई मान्नैपर्ने बाध्यता पृथ्वीसुब्बालाई थियो । ‘ककस’को नेतृत्वमा रहेको हुनाले सार्वजनिक रूपमा पृथ्वीसुब्बा चर्चित थिए । पहिचानसहितको संघीयता निर्माणका लागि ‘ककस’को देखिने खालको भूमिका थियो । जतिवेला एमालेमा अशोक उपाध्यक्ष र पृथ्वीसुब्बा पोलिटब्युरो सदस्य थिए । 

 

भूमिगतमा अशोक, मासमा पृथ्वीसुब्बा अब्बल
अशोकले तत्कालीन मालेको संगठन निर्माण र विस्तारमा ठूलो भूमिका खेलेका छन् । भूमिगत कालमा जिम्मेवारी अशोकले कुशलतापूर्वक पूरा गरेका छन् । जननेता मदन भण्डारीले पनि अशोकलाई विश्वास गरेका थिए । नेतृत्वले विश्वास गर्दा पनि अशोक भण्डारीको जनताको बहुदलीय जनवादको विपक्षमा उभिएका थिए ।


०४६ सालअघिका कम्युनिस्ट बढी अध्ययनशील, राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्थे । र, आफ्नो दृष्टिकोण बनाउँथे । प्रमुख प्रतिपक्ष दल भएको, भर्खरै उदाएर आएको नेकपा एमालेमा मदनको आकर्षण थियो । मदनको वैयक्तिक क्षमताले काम गरेको थियो । जनताको बहुदलीय जनवाद तत्कालीन अवस्थामा राजनीतिक कार्यक्रम बन्न सक्दैन भनेर भिन्न टिममा अशोक उभिएका थिए । 


खुला राजनीतिमा आएपछि अशोकको भूमिगत सांगठनिक कौशल देखिएन । सीमित मान्छेसँग जाने खालको परिस्थिति बन्यो । मास परिचालनमा चुकेकै कारण राईको नेतृत्वको संघीय समाजवादी पार्टीले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ एक सिट पनि जितेन । राई आफैँ समानुपातिक सूचीमा बसे र सभासद् बने ।


पृथ्वीसुब्बा निडर छन् । तर, गणितीय राजनीतिमा अशोक अगाडि छन् । उनी घाटा–नाफाको हिसाब गरेर अगाडि बढ्न रुचाउँछन् । स्वभाव र शैलीगत हिसाबले एमाले सचिव, उपमहासचिव, गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री, गठबन्धनका उम्मेदवारलाई हराएर प्रतिनिधिसभामा निर्वाचित हुन पृथ्वीसुब्बा सफल भएका छन् । अशोक एमाले छाडेको लामो समयपछि स्वयं एमालेको भोटले यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् । एमाले प्रतिपक्षमा छ, अशोक शिक्षामन्त्री छन् । 

ककसमा भूमिका : संस्थापनलाई चुनौती
पहिलो संविधानसभामा पहिचानको मुद्दा ह्वात्तै उठ्यो । तर, कांग्रेस र एमालेको संस्थापन पक्ष यसमा सहमत थिएन । राज्य पुनर्संरचना आयोगले पहिचानका पाँच र सामथ्र्यका चार आधारलाई मानेर राज्य पुनर्संरचना गर्नुपर्ने प्रस्ताव गरेको थियो । आदिवासी जनजातिले पहिचानको आधारलाई जोड दिएका थिए । सडकदेखि संविधानसभासम्मै पहिचानको विषय सशक्त रूपमा उठेको थियो । 

 

लो दल माओवादी संस्थागत रूपमै पहिचानको पक्षमा उभिएको थियो । कांग्रेस र एमालेका जनजाति सभासद् पहिचानको पक्षमा थिए । एमाले सांसद पृथ्वीसुब्बाको नेतृत्वमा आदिवासी जनजाति सभासद समूह (ककस) बनाएरै जनजाति सभासदले दबाब दिएका थिए । पहिलो संविधानसभामा ‘ककस’ निर्णायक देखिएको थियो । तत्कालीन संविधानसभाका ६०१ मध्ये कांग्रेस, एमालेसहितका चार सय २० सभासदले पहिचानसहितको संघीयताको पक्षमा हस्ताक्षर नै संकलन गरेका थिए । 


दोस्रो संविधानसभाअघि नै अशोकले एमाले परित्याग गरे । अशोकले पार्टी छाड्दा पृथ्वीसुब्बा एमालेमै बसे । दोस्रो संविधानसभा निर्वाचनमा गुरुङ पराजित भए । उनले ‘ककस’ निर्माणमा संविधानसभाबाहिरबाट पनि भूमिका खेलेनन् । पहिलो संविधानसभा निर्वाचनमा ‘ककस’ बनाउँदा मुख्य भूमिका खेलेका एमालेका पृथ्वीसुब्बासहितका सभासद दोस्रो संविधानसभामा थिएनन् ।

 

संगठनमा अशोक र पृथ्वीसुब्बा
अशोकले झन्डै चार दशक वाम राजनीतिमा बिताए । एमालेसँगै कम्युनिस्ट राजनीति छोडेको घोषणा अशोकले गरे । भूमिगत कालमा पूर्वी पहाडमा को–अर्डिनेसन केन्द्र र मालेको संगठन विस्तारमा अशोकको ठूलो योगदान छ । उनले ०३३ सालमा पार्टी सदस्यता लिएका हुन् । माले र एमालेको संस्थापक केन्दीय नेता अशोक आठौँ महाधिवेशनमा सर्वाधिक लोकप्रिय मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए । 


पृथ्वीसुब्बा अनेरास्ववियुबाट राजनीतिमा होमिएका हुन् । उनले ०३५ सालमा संगठित सदस्यता लिएका थिए । छैटौँ महाधिवेशनबाट पृथ्वीसुब्बा एमालेको केन्द्रीय कमिटीको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पृथ्वीसुब्बा २०६० मा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका थिए । पोलिटब्युरो, सचिव हुँदा उनी हाल उपमहासचिव छन् ।

 

संसदीय यात्रामा अशोक र पृथ्वीसुब्बा
०४८ को निर्वाचनमा ओखलढुंगा र सोलुखुम्बुबाहेक अन्यत्र एमालेले जितेको थियो । अशोकको कामबाट एमालेका तत्कालीन महासचिव मदन पनि प्रभावित भएका थिए । ०४८ र ०५१ सालमा खोटाङबाट निर्वाचित अशोक ०५६ को निर्वाचनमा उदयपुर झरेपछि निर्वाचन जित्न सकेनन् । ०७९ को निर्वाचनमा सुनसरीबाट अशोक निर्वाचित भए ।मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा अशोक यातायातराज्यमन्त्री बने । २०५३ मा लोकेन्द्रबहादुर चन्द सरकारको पालामा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बने । 


२०६४ सालको संविधानसभाको निर्वाचनमा पृथ्वीसुब्बा लमजुङबाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए । २०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ ‘ख’ बाट निर्वाचित उनी गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट निर्वाचित भए ।