• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टोपलाल अर्याल
२०८० बैशाख २३ शनिबार ०६:२८:००
समाज

जाऊँ हिँडौँ रेसुंगा

२०८० बैशाख २३ शनिबार ०६:२८:००
टोपलाल अर्याल

काखमा सुन्दर तम्घास बजार । नजिकै उभिएको अर्जुनडाँडा । पहिलोपटक गुल्मी घुम्न आउनेहरू लोभिएर फर्किन्छन् । रेसुंगा गुल्मीको पहिचान हो । सदरमुकाम तम्घासबाट उक्लिएपछि १० मिनेटमा गर्जुरा पुगिन्छ । गर्जुरा पार्क आफैँमा रमणीय स्थल हो । नजिकै देखिने तम्घास बजार, उत्तरको हिमशृंखला र दक्षिणको अर्जुनडाँडासहितका मनमोहक दृश्य जोकोही स्मृतिमा कैद गर्न लालायित हुन्छन् ।


गर्जुराबाट १० मिनेटमा रेसुंगा पोखरी पुगिन्छ । महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताको सहयोगमा यो ठूलो पोखरी रेसुंगामा बनाएको बताइन्छ । विभिन्न तीर्थस्थलहरूबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुंगाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रूपमा रहेको छ । आकर्षक सिँढी हुँदै यज्ञशाला उक्लिँदा मन झन् आनन्दित र प्रफुल्लित हुन्छ । यदुकानन्दले वि.सं. १९८३ मा यो यज्ञशाला रेसुंगामा बनाएको मानिन्छ । 


सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुंगाकै सबैभन्दा ठूलो मन्दिर हो । यो आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु रहेको छ । यज्ञशालाभित्र भएको हवनकुण्डमा अखण्ड धुनी प्रज्ज्वलित छ । त्यस्तै सबैभन्दा पुरानो सिद्धको मन्दिर पनि रेसुंगामा छ । त्यस्तै स्वामी शशीधरको समाधिस्थल, विष्णु पादुका र लक्ष्मीनारायणको समाधिस्थल पनि रेसुंगामा छ । 


सिद्ध मन्दिरको दक्षिणतिर पर्खालले घेरिएको झाँक्रीस्थान छ । यसको बीचमा मौलो छ । मौलोमा साउनमा पाठाहरू बलि दिने चलन छ । त्यहाँ बस्नेतहरूको कुलपूजा हुने गर्छ । तम्घासदेखि करिब एक किमि उकालो हिँडेपछि मैराक्षेत्रमा पुगिन्छ । रेसुंगाको शिरमै रहेको भ्यू टावरबाट गुल्मीसहित छिमेकी जिल्ला र उत्तरका मनमोहक हिमशृंखला देख्न सकिन्छ ।

 

रेसुंगासँग आम्नेसाम्ने उभिएको अर्जुनडाँडाले पनि तम्घास पहिलोपटक आउने अचम्मित हुन्छन् । यो डाँडा अत्यन्तै रमणीय छ । पाण्डवहरू महाभारतको युद्धपछि स्वर्गद्वारी जाने क्रममा एक भाइ अर्जुन माथि डाँडामा गई बसेकाले डाँडाको नाम अर्जुनडाँडा रहन गएको किंवदन्ती छ । त्यहाँ अर्जुन भगवतीको विशाल मन्दिर छ । मन्दिरमा बडादसैँ, चैतेदसैँ, हरेक आइतबार र मंगलबार पूजा गरिन्छ । अर्जुनडाँडाको दक्षिण पाखामा एउटा रमणीय गुफा पनि छ । 

सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुंगाकै सबैभन्दा ठूलो मन्दिर हो । यो आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र रहेको छ । यज्ञशालाभित्र भएको हवनकुण्डमा अखण्ड धुनी प्रज्ज्वलित छ । त्यस्तै सबैभन्दा पुरानो सिद्धको मन्दिर पनि रेसुंगामा छ ।


रेसुंगामा विशेषगरी दुई ठूला एकादशी र साउनभर ठूलो मेला लाग्ने गर्छ । रेसुंगा पोखरीमा नुहाउने तथा मैरीमा पूजा गर्नका लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ र प्युठानका श्रद्धालु भक्तजनको उपस्थिति हुने गर्छ । पोखरीमा नेपालका चार धामको पानी मिसिएकाले एकादशी र साउनमा नुहाउनेहरूको ठूलो घुइँचो हुने गर्छ । रेसुंगा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्यू टावरलगायत धार्मिक तथा पर्यटकीय स्थल भएकाले पनि युवायुवतीको घुइँचो नै लाग्ने गरेको छ । ऋष्यशृंग ऋषिसँग जोडिएको पाँच हजार वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व भएकाले पनि रेसुंगामा भक्तजनको घुइँचो बढ्ने गरेको छ । 


रेसुंगा क्षेत्र सिद्ध, तपो, अमृत, देवभूमि र ऋष्यशृंग ऋषिदेखि दशरथ राजा र महाभारतसम्म जोडिए पनि यसको प्रचार हुन सकेन । जसका कारण रेसुंगाको ऐतिहासिकता गुम्राहामा पर्‍यो । अहिले रेसुंगा–अयोध्या सम्बन्ध विस्तारका लागि रेसुंगामा सन्त सम्मेलन आयोजना गरिएको छ । अयोध्यादेखि रेसुंगासम्मको सम्बन्ध विस्तारका लागि २३ वैशाखदेखि २९ सम्म धार्मिक सन्त सम्मेलन हुने रेसुंगा संरक्षण समितिले जनाएको छ ।

 

रेसुंगाको सम्बन्ध त्रेतायुगदेखि अयोध्यासँग जोडिएको बताइन्छ । तर, रेसुंगा र अयोध्याबीच धार्मिक सम्बन्ध प्रगाढ बन्न सकिरहेको छैन । भारतको राम अयोध्या धामबाट स्वामी राजेन्द्रनन्दजी महाराज र राजस्थानबाट योगी शम्भुनाथजी महाराजले दुई पवित्र तपोभूमिबीचको सम्बन्ध विस्तारको पहल गरिरहेका छन् । उनीहरूले जिल्लाका सबै सरोकारवालासँग सन्त सम्मेलन र उद्देश्यबारे छलफल गरिसकेको आयोजकले बताएको छ । 


रेसुंगा नगरपालिकाले पनि रेसुंगा क्षेत्रको विकासका लागि ‘जाऊँ हिडौँ रेसुंगा’ अभियान सञ्चालनको योजना बनाएको छ । रेसुंगा नगरप्रमुख खिलध्वज पन्थीले नीति तथा कार्यक्रममै रेसुंगाको पर्यटकीय विकासलाई समेटिएकाले केही दिनमा अभियान शुभारम्भ गरिने बताए । पहिले रेसुंगाको सोचेअनुसारको विकास भएको थिएन । बल्लबल्ल यातायातको सुविधा जोडिएको छ । संरचना निर्माणको कामले गति लिएको थिएन । भएकै संरचना जोगाउन रेसुंगा संरक्षण समितिलाई मुस्किल परेको थियो । सुविधा सम्पन्न होटेल नभएका कारण सदरमुकाम आएका पर्यटक पनि रेसुंगा पुग्दैनथे । तर, सडकको स्तरवृद्धि, होटेल सञ्चालन साथै रेसुंगामा भएको भौतिक विकासले रेसुंगावासीमा नयाँ आशा जागेको छ । 


सुरुबाटै रेसुंगा क्षेत्रको विकासमा जिल्लाका नेता र नेतृत्वले सोचेको भए जिल्लाको प्रमुख आम्दानीको स्रोत रेसुंगा बन्थ्यो । त्यसैले अझै पनि तिनै तहका सरकारको ध्यान रेसुंगाको धार्मिक तथा ऐतिहासिक विकासमा पर्याप्त हुनुपर्नेमा सरोकारवालाको जोड छ । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगा पछिल्लो समय थप आकर्षणको केन्द्र बन्दै गएको छ । त्यत्तिकै पनि रेसुंगा प्राकृतिक रूपले सुन्दर र रमणीय छ । त्यसमाथि निर्माण भइरहेका भौतिक संरचनाले रेसुंगा क्षेत्रको आकर्षण बढ्दै गएको छ । रेसुंगा क्षेत्रमा पोखरीदेखि यज्ञशाला हुँदै भ्यू टावरसम्म निर्माण भएका छन् । आकर्षक पैदलमार्गले पनि रेसुंगाको गरिमा बढाउनुको साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।