• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काङमाङ नरेश राई
२०८० बैशाख २३ शनिबार ०६:४५:००
इतिहास

समान पेन्सनको आसैआसमा अस्ताए भिसी रामबहादुर

२०८० बैशाख २३ शनिबार ०६:४५:००
काङमाङ नरेश राई

१९९६ असारमा पाँचथरको च्याङथापुमा जन्मिएका रामबहादुर लिम्बू २०१४ कात्तिकमा ब्रिटिस गोर्खामा भर्ती भए । दशौँ गोर्खा राइफल्सको दोस्रो बटालियनमा कार्यरत रहँदा उनी आर्मी नम्बर २११४८७८६ ले चिनिए । २१ नोभेम्बर १९६२ मा बोर्नियाको सारावाकमा इन्डोनेसियासँग भएको युद्धमा उनले प्रदर्शन गरेको उच्च साहसको कदर गर्दै ब्रिटिस सरकारले उनलाई भिक्टोरिया क्रसले सम्मान गर्‍यो । भिसी रामबहादुरको २०८० वैशाख ९ गते ८४ वर्षको उमेरमा निधन भयो । भिसी रामबहादुरसँग ८ वर्षअघि लेखक तथा कवि काङमाङ नरेश राईले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ।

 

हामी त्यसवेला १० दिनको रासनपानी बोकेर लडाइँमा गएका थियौँ । पाँच दिनसम्म ‘पेट्रोलिङ’ र ‘रेक्खी’ गर्‍यौँ । त्यो ठाउँलाई गुलुङ टिप्पाइ भन्थ्यो । मलेसियन भाषामा गुलुङ भनेको डाँडा र टिप्पाइ भनेको टुप्पा हो । चारपाँच दिन रेक्खी गरी इन्डोनेसियन आर्मीको ‘डिफेन्स’ पत्ता लगायौँ । प्लाटुन कमान्डरले तिनीहरूलाई हमला गर्ने भनेपछि हामी सबै तयारी भयौँ । 

 

२१ नोभेम्बर बिहानै ४ बजे उठ्यौँ । सबै सरसामान प्याकअप गर्‍यौँ । हिँड्न नसक्ने एक–दुईजनालाई चाहिँ पछाडि राख्यौँ । हामीचाहिँ गोलीगट्ठा र अलिअलि बिस्कुट बोकेर हिँड्यौँ । पाँच बजे चिया पियौँ । सबैसँग झार काट्ने कैँची थियो । दुस्मनले चाल नपाओस् भनेर दुस्मनको पछाडिपट्टिबाट, बिस्तारै मसिना बोटबिरुवा काट्दै अघि बढ्न थाल्यौँ । 


खुकुरीको धारजस्तो डाँडाको पल्लोपट्टि दुस्मनको ट्रेनिङ गर्ने ठाउँ थियो । सजिलैसँग अगाडि बढ्ने स्थिति थिएन । एउटा प्लाटुन हामीभन्दा अगाडि थियो । त्यसको पछिपछि हाम्रो प्लाटुन अघि बढ्दै थियो । क्रोलिङ गर्दै जाँदा आखिरी पुग्ने वेलामा डाँडाको फेदमा सबै जाम भयौँ । मान्छेमाथि मान्छे क्रोलिङ गर्दै जाँदा दुस्मनको बेसक्याममा नै छिरिहाल्यौँ । 


त्यसवेला मेरो सेक्सन सबैभन्दा अगाडि पर्‍यो । नाइन प्लाटुनले कभरिङ फायर दिने, सेभेन र एट प्लाटुनले दुस्मनको पोजिसनलाई हमला गर्नु भनेर ओ ग्रुपमा अर्डर दिएको थियो । अर्डरमा भनेको थियो,‘एचहावसमा पुगेर तीन मिनेटसम्म सुतेर बस्ने ।’ त्यो समयमा आर्टलरीले बमबार्ड गर्छ । हामी एचहावसमा पुग्यौँ र तीन मिनेट बस्यौँ । तर, बमबार्ड भएन, त्यसपछि हामी अगाडि बढ्यौँ । दुस्मनको एक सय गजनजिकै पुग्याैँ । त्यहाँ दुस्मनले वरिपरि फायर ट्रेन्च बनाइसकेको रहेछ । दुईजना दुस्मन काँधमा राइफल बोकेर सेन्ट्री बसेका रहेछन् । एकजना देब्रेबाट र अर्को दाहिनेबाट घुमेर आउने बीचमा भेट हुने, त्यसपछि जताबाट आएको उतै जाने । यसरी वरिपरि घुम्दै सेन्ट्री गरिरहेको थियो । हामी त्यसलाई छाडेर क्रोलिङ गर्दै पहिलोपट्टिबाट गर्‍यौँ । 


बिस्तारै दुस्मनको नजिकै पुग्यौँ । त्यसवेलासम्म दुस्मनलाई थाहा थिएन । दुस्मनको एउटा सेन्ट्री दायाँ घुमेर आयो, अर्को बायाँपट्टिबाट घुमेर आयो अनि कानेखुसी गर्‍यो । एकजना जताबाट आएको उतै फर्किएर गयो । एकजनाचाहिँ एकछिन उभियो । हामी त्यहाँ पुगेको चाल पायो कि क्या हो ? काँधमा राखेको उसको हतियार तल हातले झार्दाझार्दै मैले फायर... भनेँ । साथीहरूले फायर खोलिहाले । फायर गरेपछि हामी अगाडि बढ्यौँ । दुस्मन हाम्रो गोलीले त्यहीँ ढलेछ । ओपी (सबैतिर राम्ररी देख्न सकिने उच्च ठाउँ) रूखमाथि बनाएको रहेछ । ओपीमा बसेको एकजना दुस्मनले हामीलाई फायर गर्न तयार हुँदै थियो । त्यसले गोली हान्नुअघि नै हाम्रोपट्टिबाट त्यसलाई राइफलले हान्दा चरा झरेजस्तो भुइँमा झर्‍यो ।

टुम्लेटबाट पानी निकालेर दिन खोजेको, तर गोली लागेकालाई पानी दिनुहुँदैन भन्ने सम्झिएँ । पानी नदिई क्रोलिङ गर्दै फेरि अगाडि बढेँ । फायर ट्रेन्चभित्र प्लाटुन कमान्डर र अर्को एकजना बसेको रहेछ । कराएर भनेँ, ‘गन टु मरिसक्यो । गन वानलाई गोली लागेर कराउँदै छ ।’

 

अगाडि बढ्दै जाँदा दुस्मनहरू ट्रेन्चमा हामी ट्रेन्चभन्दा केही तल भयौँ । अब के गर्ने ? त्यसपछि रूखको फेदमा बसेर फायर गर्न थाल्यौँ । मेरो बायाँपट्टि गन वान, दायाँपट्टि गन ‘टु’ र दुईजना साथी थिए । त्यहाँ हामी जम्मा पाँचजना मात्र पुगेका थियौँ । दुस्मनसँग दोहोरो गोली हानाहान गर्दागर्दै गन वानको भुँडीमा गोली लागेछ । ‘आइया... करपोल’ भनेर कराउन थाल्यो । गन टुलाई भनेँ, ‘तँ उसको गन टिपेर फायर गर्’ । उसले गन तानेर फायर गर्न थाल्यो, तर गन ‘अप्ट्रक्सन’ भयो । अप्ट्रक्सन क्लियर गर्दै थियो, उसले टाउको अलिअलि उठाएको देखेँ । मैले भनेँ, ‘टाउको नउठा । दुस्मनको गोलीको निशान हुन्छ । म्याग्जिन फेरेर कक् गर्दै थियो, टाउको अलिकति माथि उठाएछ । दुस्मनले गन टुको टाउकोमा गोली ठोकिहाल्यो ।


गन टुले ‘आइया ओस्ताज...’ मात्र भन्न पायो । थरररर... कामेर ऊ त्यहीँ ढल्यो...बिचरा ! उसको नाम बिजुलीप्रसाद लिम्बू हो । गन वानको नाम खड्काबहादुर लिम्बू हो, उसले पनि त्यही वीरगति पायो । उनीहरू दुईजनाले ट्रेन्चको मुखमै वीरगति पाए । त्यसपछि के गर्ने ? मास्तिर हेरेको त दुस्मनको हतियार चलेको देखेँ । एकछिनपछि टाउको पनि देखेँ, मैले पनि ग्रिनेडको पिन थुतेर हानेँ । त्यो ग्रिनेड हाम्रो अगाडि नै झर्‍यो । मनमा लाग्यो अब बाँचिएन । ग्रिनेड त्यहीँ पड्केको भए हामी त्यहीँ खत्तम हुन्थ्यौं । ग्रिनेट दुस्मनतिरै फालेँ । ग्रिनेड दुस्मनको ट्रेन्चभित्र पड्कियो । 


त्यसपछि दुस्मनहरू आइया, आत्था भन्दै बाहिर निस्किए । त्यही मौका छोपेर साथीहरू भएको ठाउँमा गएँ । तर, त्यहाँ त कोही पनि थिएनन् । मसिना बुट्टा मात्रै हल्लिरहेको देखिए । दुस्मनहरू छलफल गरेजस्तो देख्छु । त्यहीँ गन वानको फिल्ड ड्रेसिङ गरिदिनुपर्‍यो भनेर छाम्दा त उसको आन्द्राभुँडी निस्किएको रहेछ । बिचराले पानी माग्यो । 


टुम्लेटबाट पानी निकालेर दिनखोजेको, तर गोली लागेकोलाई पानी दिनुहुँदैन भन्ने सम्झिएँ । पानी नदिई क्रोलिङ गर्दै फेरि अगाडि बढेँ । फायर ट्रेन्चभित्र प्लाटुन कमान्डर र अर्को एकजना बसेका रहेछन् । कराएर भनेँ, ‘गन टु मरिसक्यो । गन वानलाई गोली लागेर कराउँदै छ ।’ प्लाटुन कमान्डर पनि कराएको त सुनेँ, तर के भन्यो राम्रो बुझिनँ । फेरि क्रोलिङ गर्दै गन वान र गन टु भएको ठाउँमा पुगेँ । गन वानको हात मेरो काँधमा राखेर घिसार्दै झन्डै पचास फिटजति ल्याएर सेफ ठाउँमा राखेँ ।

 

अहिले पनि उसले भनेको सम्झिँदा मन नरमाइलो हुन्छ । (भिसीले आँखाभरि आँसु बनाए ।) उसले भन्यो, ‘गुरुजी मलाई गोली हानेर मारिदेऊ । म बाँच्दिनँ ।’ उसलाई केही भन्न सकिनँ । फर्केर गन टु भएको ठाउँमा गएँ र उसलाई पनि तान्दैतान्दै गन वान भएको ठाउँमा ल्याएँ । यता गन वान त मरिसकेछ । के गर्नु र ? मनै नमीठो भयो नि हाउ । बिचराले पानी पिउने इच्छा हुँदा हुँदै वीरगति पायो । मलाई साह्रै नराम्रो लाग्यो । पानी दिएको भए पनि हुनेरहेछ भन्ने सोचेँ । यसो दायाँबायाँ हेरेँ, अरू मान्छेहरू पनि आको रहेछ । डाँडाबाट ओरालो झर्नुपर्ने भयो । दुईजना साथीको मायाले त्यो वेला पो मलाई निकै छोयो । मरेका साथीहरूलाई अलि गहिरो सेफ ठाउँमा ल्याएर राखेँ । 

उसले भन्यो, ‘गुरुजी मलाई गोली हानेर मारिदेऊ । म बाँच्दिनँ ।’ उसलाई केही भन्न सकिनँ । फर्केर गन टु भएको ठाउँमा गएँ र उसलाई पनि तान्दैतान्दै गन वान भएको ठाउँमा ल्याएँ । यता गन वान त मरिसकेछ । के गर्नु र ? मनै नमीठो भयो नि हाऊ ।


निकै थाकेजस्तो लाग्यो । गन वानलाई भुइँमा एकछिन राखेँ अनि उचालेर मुढामाथिबाट लडाई झारेँ । गन टुको लासलाई पनि त्यसरी नै ल्याए र उचालेर मुढामाथिबाट लडाई झारे । ‘एइ राम तेरो हतियार खोइ भनेको सुनेँ ?’ त्यसवेला पो कम्पनी कमान्डर गोरा त्यहाँ आइपुगेछ । एक्लै लास उचाल्दै गरेको उसले देखेछ । अलिक तल झरेर, सेफ ठाउँमा सबैजना भेला भयाैँ ।


मोतीलाल भन्ने साथीलाई त जाँदाजाँदै गोली लागेछ । ऊ पनि त्यही खतम भएछ । त्यस दिन हामीले तीनजना साथी गुमायौँ । पन्चुकेप (ब्रिटिस आर्मीले जंगल वा एक्सरसाइजमा जाँदा बस्न बनाउने छाना)को स्ट्रेचर बनाएर सबै वीरगति पाएकाहरूको लास र घाइतेहरूलाई बोकेर सेफ ठाउँमा झार्‍यौँ । अटेक गर्न जाँदाजाँदै करपोल मनबहादुरलाई गोली लागेको थाहा पाएको थिएँ । ऊ चिच्याउँदै उफ्रिँदै थियो । ऊ अर्कै सेक्सनमा थियो । भाग्यले गर्दा नै होला, बाहिरको छाला र थोरै मासु मात्र गोलीले उधारी लगेकाले ऊ बाँच्यो । त्यस ठाउँबाट हामी अर्को डाँडामा गयौँ र अलिअलि बाँकी रहेको चिया र बिस्कुट साथीहरूले बाँडेर खाए । मैलेचाहिँ केही पनि खाइनँ । 


वीरगति पाएका साथीहरूको लास कुहिन्छ भनेर खाल्डो खनेर राख्यौँ । करपोल मनबहादुर र उसकै सेक्सनको गन वान घाइते भएको थियो । राति भइसकेकाले हेलिकोप्टर आउन सकेन । हाम्रो कमान्डरले एकछिन सोचेर भन्यो, ‘यहाँबाट एउटा टिमले बोकेर सेरिकिन क्याम्पतिर लाने । उताबाट एउटा टिमले टर्चलाइट बालेर यता आयो र बीचमा भेट भयो, त्यसपछि यताबाट जानेहरू फर्केर यतै आउने उताबाट आउनेहरूले घाइतेहरूलाई बोकेर लगे ।’ एउटा टिमले उनीहरूलाई राति नै लग्यो । त्यो रात हामी त्यही डाँडामा बस्यौँ । मेरो ज्यानमा रगत गन्हाएको साथीहरूले चाल पाएछन् ।

 

मसँग गफ गर्छ, बोल्छ तर मेरो नजिक आउँदैन । यसो आफ्नो लुगा हेर्छु त सबै रगतैरगत भएको रहेछ । पोचेस (गोली हालेर बोक्ने सामान) पनि रगतले भरिएछ । रगत गन्हाएकाले मेरोछेउमा नआएको रहेछ, साथीहरू । त्यसपछि फोहोर लुगाले पोच पुछेँ अनि अर्को सफा लुगा लगाएँ । दुई दिन हामी त्यहीँ बस्यौँ । लडाइँमा मैले त्यो काम गरेकाले भिसी पाएको हो । धेरै दुःख गरियो, सारावक (ब्रोनियोको एउटा ठाउँ)को लडाइँमा । जीवन–मरणको लडाइँ लडियो । सन् १९६२–१९६६ सम्म लड्दा कति गोर्खाली मरे त्योचाहिँ मलाई त्यति थाहा भएन । 


०००
सन् १९३९ मा पाँचथर जिल्लाको च्याङथापु गाविसमा जन्मिएको मान्छे कसको देशमा गएर लडेँ अचम्म लाग्छ । मेरो बुबा पनि फस्र्ट वल्र्ड वारमा भर्ती भएको रहेछन् । विवाह नभई भर्ती हुन गएको रहेछ । चार वर्षपछि छुट्टीमा आउँदा बोजुले पल्टन फर्कन नदिएकोरहेछ । भर्ती भएर आएकाले, मेरो बाउलाई गाउँघरमा सबैले भर्तेले भनी बोलाउँथे । उहाँको दाहिने गालामा यति लामो खत थियो । उनको खत मैले अहिलेसम्म पनि याद गरिरहेको छु । के भएको बाउ भनेर सोध्दा बाउ भन्नुहुन्थो, ‘लडाइँमा गोली लागेको ।’ बाउको कुन पल्टन कति नम्बर कहिले भर्ती भाको मलाई केहि थाहा छैन । बाउको नामचाहिँ टेकवीर लिम्बू हो । म आठ वर्षको हुँदा विसं. २००० सालमा बुबा खस्नुभयो । 


हाम्रो परिवारको तीन पुस्ता, बाउ, म र मेरा दुइ छोराले बेलायतमा महारानीको घरमा नोकरी गरेको हो । पेन्सन पकाएर नेपाल फर्किएको १५ वर्षपछि म फेरि बु्रनाई गएँ । त्यो वेलामा मेरो जेठो छोरो दुई आरजिआरमा थिए । पहिले बसेको क्याम्पमा पनि गएँ । त्यहाँ स्कुल बनाएछन् । बाटोहरू राम्रो बनेछन् । पहिलाभन्दा कता हो कता फरक भएछ । मैले भिसी पाउँदा एक्सन भएको ठाउँमा चाहि जान पाइनँ । 


हामी इमानदार र धेरै सस्तो भएकाले उनीहरूले भर्ती गराएको हो । हामी लाटो १५–१६ बर्षमा भर्ती भई ३०–३५ वर्षमै नेपाल वापस भयौँ । धेरैजसो हामीले दुःख गरेको, बगाएको रगत–पसिना बेलायततिरै छ । अझै पनि पेन्सनचाहिँ हामीलाई सर्भिसअनुसारको (तत्कालीन गोरा ब्रिटिस सोसरह) दिनुपर्ने, तर उनीहरूले दिएनन् । बाध्यताले गर्दा बेलायतमा धेरै लाहुरेहरू बसिरहेका छन् । एउटा साँचो कुराचाहिँ हामीलाई पेन्सनचाहिँ सर्भिसबराबरको दिनुपर्छ । बेलायती सेनालाई जत्ति नै बराबर सहुलियत हामीलाई पनि दिनुपथ्र्यो, तर दिएन । लडाइँमा त्यत्रो दुःख गरी लडेको गोर्खालीहरू कतिलाई त विनापेन्सन नै नेपाल फर्कायो । यसरी पठाउँदा कसको चित्त बुझ्छ त ?