• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शुरोजंग पाण्डे
२०८० बैशाख २३ शनिबार ०८:०७:००
सम्झना

छैटौँ प्रयासमा सुरुङ खनेर जेलबाट भाग्यौँ

२०८० बैशाख २३ शनिबार ०८:०७:००
शुरोजंग पाण्डे

नेपालको कम्युनिस्ट आन्दोलनको चर्चा गर्दा झापा आन्दोलनलाई छुटाउनै मिल्दैन । कोअर्डिनेसन केन्द्र, माले हुँदै झापा आन्दोलनको विरासत अहिले एमालेले बोकेको छ । नरेश खरेल ०२८ सालमा वर्ग शत्रु खत्तम अभियानका रूपमा कम्युनिस्टहरूले सुरु गरेको झापा आन्दोलनमा सहभागी भएका थिए । झापा आन्दोलनकै क्रममा गिरफ्तार हुँदा उनी १५–१६ वर्षका मात्रै थिए । १७ वर्ष जेल जीवन व्यतीत गरेका खरेल, सिपी मैनाली, प्रदीप नेपालसहितका १५ जनाले नख्खु जेल ब्रेक गरेका थिए । १२ चैत, २०३३ मा झापाली युवाहरूको नख्खु जेल ब्रेकले पञ्चायतविरोधी जनमत तयार गर्न निकै ठूलो ऊर्जा भरेको थियो । खरेलले नख्खु जेल ब्रेकका सम्झना नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डेलाई यसरी सुनाएका छन् 

 

०२५ सालतिर विद्यार्थी आन्दोलनमा संलग्न हुँदै २०२७ सालको अन्त्यतिर झापा आन्दोलन उठाउन घर छाडेर भूमिगत भएँ । आरके मैनाली त्यतिवेला झापा जिल्ला कोअर्डिनेसन केन्द्रको सचिव हुनुहुन्थ्यो । केपी ओली, सिपी मैनालीसहितको १३ सदस्यीय त्यस कमिटीबाट मैले पार्टीमा संगठित राजनीतिक यात्रा आरम्भ गरेँ । नेतृत्व सम्हालेको केही समयमै आरके कमरेड बिरामी पर्नुभयो । उहाँको स्वास्थ्य अवस्थाले नदिएपछि कसले नेतृत्व लिने विषयमा पार्टीभित्र विमर्श भयो । आरके कमरेडले बिदा लिनुभयो । धेरैले सिपी कमरेडको नाम लिए । तर, सिपीसहित केही साथीहरूले भने आपसी सल्लाह र समझदारीमा केपी कमरेडलाई सचिव बनाउने निर्णय लिनुभयो । 


केपी कमरेड नेतृत्वमा आएपछि पञ्चायतको दमन, धरपकड बढ्न थाल्यो, कतिपय साथीहरू प्रवासतिर पलायन हुनुभयो । तर, हामी विचलित भएनौँ । विभाजित कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने, निरंकुश पञ्चायत अन्त्य गरी गणतन्त्र स्थापना गर्ने र प्रवास नगईकन जनताकै बीचबाट आन्दोलन उठाउने निष्कर्षका साथ अघि बढ्यौँ । दमन बढ्दै जाँदा भूमिगत हुने साथीहरूको संख्या घट्दै गयो । नेत्र घिमिरे, कृष्ण कुइँकेल नारायण श्रेष्ठलगायतका साथीहरू पक्राउ पर्नुभो । २१ फागुन ०२९ मा पाँचजना साथीहरूलाई प्रहरीले पक्राउ गरी सुखानीको जंगलमा नृशंस हत्या गरेपछि पार्टीभित्र झन् ठूलो संकट देखियो । मृत्युको डरले धेरै साथीहरू पलायन हुनुभयो । हामी चार–पाँचजना बाँकी रह्यौँ । आन्दोलन छाड्न घरपरिवारको व्यापक दबाबका बाबजुद हामीले भने साथीहरूको बलिदान खेर जान नदिने संकल्पसहित क्रान्ति र आमूल परिवर्तनको बाटो रोज्यौँ । 


०००
प्रतिकूल परिस्थितिमा पार्टीमा आउनेजाने क्रम चलिरह्यो । हामी आन्दोलन विस्तारमा लाग्यौँ । आरके मैनाली र म सीता खड्कालाई फरक क्षेत्रमा पुर्‍याउन जाँदै थियौँ । बीचबाटोमा सीताले घर जाने र लामो समय भेट नभएकी आमा भेटेपछि मात्र कार्यक्षेत्रतिर जाने जिद्दी गर्नुभो । तर दुर्भाग्य, सीताजीको घर जाँदै गर्दा झापाको नरियाबढीमा पक्राउ पर्‍यौँ । पक्राउ परेका सातमध्ये चन्द्र डाँगीको हत्या भयो । २१ साउन, २०३० को घटना थियो त्यो । सयभन्दा बढी प्रहरीको घेराबन्दी तोडेर हामी भाग्ने प्रयासमा थियौँ । घेरा तोड्ने क्रममा प्रहरीको गोली लागेपछि ‘क्रान्ति जिन्दावाद’ भन्दै उहाँ ढल्नुभो । हामी पक्राउ पर्‍यौँ । कुनै पनि वेला मारिन सक्छौँ भन्ने हाम्रो मनमा थियो । ‘एकबारको जुनीमा मरे मरिन्छ, बाँचे क्रान्तिलाई अगाडि बढाइन्छ’ भन्नेमा हामी दृढ अठोट गरिरहेका थियौँ । 


०००
हामीलाई चन्द्रगढी जेल लगियो । त्यतिवेला फिलिपिन्सलगायतका धेरै ठाउँमा जेल ब्रेक गरेर क्रान्तिकारी भागेको चर्चा सुनिन्थ्यो । भारतीय क्रान्तिकारीहरूले जेल ब्रेक गरेको अनुभव पनि सुन्थ्यौँ । तिनै प्रभावले होला, पक्राउ परेकै दिनदेखि जेल ब्रेक गर्ने उपायको खोजीमा लाग्यौँ । भाग्ने प्रयास पनि गर्‍यौँ । तुरुङमा राखिएको थियो हामीलाई । दुवै खुट्टा तुरुङको प्वालमा राखेपछि हथकडी लगाएर बाहिरबाट ताला लगाइन्थ्यो । कमरेड सीता कहिलेकाहीँ बाहिर सफाइ गर्न निस्किनुहुन्थ्यो । त्यही क्रममा भाग्ने योजनामाथि विमर्श भयो । सीता कमरेडले गार्डसँग रहेको तुरुङको चाबी लिनुभयो । तर, तालमेल मिलेन । चाबी खोल्ने जिम्मा लिएका साथी अशक्त भएकाले उहाँले समयमै ताला खोल्न सक्नुभएन ।केहीबेरमै चाबी हराएको गार्डले थाहा पाएपछि योजना असफल भयो । 

३२ दिनमा सुरुङ खन्ने काम सकियो । १२ चैतको अघिल्लो दिन अलिअलि रूखका जरा देखिए । सुरुङ छिचोलिन पाँच–सात फुट बाँकी छँदा भित्र हावा छिरेको आभास भयो । जुन ठाउँमा रूखका जरा भेटिए, त्यसले हामी निस्किन लागेको अनुभूति भयो र कसरी निस्किने, के गर्ने सबै योजना बनाउन थाल्यौँ ।


२८ दिनको चन्द्रगढीको कस्टडीपछि हामीलाई झापा जेल पठाइयो । त्यहाँ पनि हामी भाग्ने सोचमै थियौँ । जेलमा सामूहिक रूपमा आफैँ खाना बनाउने र खाने गर्न थाल्यौँ । आरकेको घरबाट बढी पैसा आउँथ्यो, मेरो घरबाट अलिअलि । पैसालाई सामूहिकीकरण गरेर बिरामी हुने साथीको उपचार गथ्र्यौँ । हामी जसरी हुन्छ भाग्ने योजना मै थियौँ । बाहिरका साथीहरूसँग चिठीपत्र आदानप्रदान हुन्थ्यो । हामीले लौकाभित्र राखेर ह्याक्सो ब्लेट मगायौँ, त्यसकै सहयोगमा रडको डन्डी काटेर भाग्ने कोसिस गर्दै थियौँ । तर, एक दिनअघि डकैती केसमा पक्राउ परेका एकजना मान्छे डन्डी काटेर भागेको घटनाले हाम्रो योजना फेरि असफल भयो । हामीमाथि निगरानी बढ्यो । 


हाम्रो मुद्दा हेर्न त्रैलोक्यविक्रम राणाको नेतृत्वमा विशेष अदालत गठन भयो । बयानका लागि लैजाने क्रममा पनि तेस्रोपटक बाटैबाट भाग्ने योजना बनायौँ । नेल सिक्री खोलेर भाग्ने योजना बनेको थियो, तर हामीमध्येकै लीला कट्टेलले साडी लगाएका कारण ‘म कुद्न सक्दिनँ, तपाईं भागेपछि मेरो ज्यानमाथि खतरा हुन्छ’ भन्दै अनुरोध गरेपछि रोकियो । भाग्ने योजनामै थिएँ, तर परिस्थितिले साथ दिएन । जेल ब्रेकका लागि हामी बारम्बार आरके कमरेडलाई दबाब दिन्थ्यौँ । यतिसम्म भन्थ्यौँ कि, तपाईं अग्लो मान्छे उभिनुस्, काँधमा चढेर भाग्छौँ । उहाँको जवाफ परिपक्व हुन्थ्यो– पहिलो कुरा तपार्इंहरू त्यसरी भाग्नै सक्नुहुन्न, भागिहाल्नुभयो भने मलाई मार्छ । तर, हामीचाहिँ क्रान्तिका लागि जसले पनि बलिदान गर्नुपर्छ भन्ने इमोसनल जवाफ दिन्थ्यौँ । १० महिनापछि मुद्दा फैसला भयो । त्यसपछि सर्वस्वहरणसहितको जन्मकैद मुद्दामा ३५ जनालाई वीरगन्ज जेल चलान गरियो । 


झापा जेलको तुलनामा वीरगन्जमा हामी अलिक स्वतन्त्र भयौँ । सबै बन्दीसँग घुलमिल भइयो । त्यहाँ शान्ति सुरक्षा मुद्दामा पक्राउ पर्नुभएका बाराका सोहन चौधरीसँग भेट भयो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभावका कारण चीनको इन्जिनियरिङ अध्ययनलाई बीचैमा छाडेर उहाँ नेपाल फर्किनुभएको रहेछ । एक–दुई दिनको भेटपछि उहाँसँग हामीले सल्लाह गर्दै भन्यौँ,‘सर्वस्वसहित जन्मकैद गरेको छ । हामी भाग्न चाहन्छौँ, सहयोग गर्नुस् । कि भाग्ने क्रममा मर्छौँ, कि बाहिर जान्छौँ ।’ उहाँले सहयोगको वचन दिँदै त्यहाँको स्थानीय बाटाघाटा, वातावरण र भाग्ने उपाय बताउनुभो । तर, १५्र दिन मात्रै त्यहाँ राखिएकाले वीरगन्ज जेलबाट भाग्ने योजना पनि सफल भएन । यो हाम्रो चौथो प्रयास थियो । त्यसपछि हामीलाई काठमाडौं लगियो । 


सुरुमा सबैलाई सेन्ट्रल जेलमा राख्यो र पछि बन्दीहरूलाई तीनवटा जेलमा बाँडियो । केही साथीहरू भद्रगोल जेल, केही साथी नख्खु र हामीलाई सेन्ट्रल जेलमै राखियो । म, आरके, घनेन्द्र बस्नेत, ठुलु दुर्गाप्रसाद अधिकारी, मोहन उप्रेतीलगायतका साथीहरू सेन्ट्रल जेलमा थियौँ । झापा र वीरगन्जमा हामी सामूहिक खाना खान्थ्यौँ, तर त्यहाँचाहिँ संगठित हुन्छन् भनेर या अरू कारण एकैठाउँ खाना खान दिइएन । लामो संघर्ष गरेर हामीले बल्लतल्ल एकैठाउँ खाना खाने वातावरण बनायौँ । त्यहाँ पनि हामीले भाग्ने योजना बनायौँ । एकजना चन्द्र भन्ने पूर्वप्रहरीसँग राजनीतिक विषयमा कुराकानी गर्‍यौँ र लक्ष्मी भनिने वन मुद्दामा जेल परेका साथीलाई पनि राजनीतिक रूपमा सचेत बनाउँदै उनीहरूकै सहयोगमा पाँचौँपटक भाग्ने योजना बनायौँ । उनीहरूले हामीलाई कारखानाबाट भाग्न सकिने बताएका थिए । धेरै कोसिस गर्‍यौँ र पछि ती साथीहरू पनि छुटे ।

 
अरूलाईभन्दा कम्युनिस्टहरूलाई बढी नै दमन र निगरानी गरिन्थ्यो । ०३२ सालको विद्यार्थी आन्दोलनमा पक्राउ पर्नुभएका राजेन्द्र पाण्डे, माधव पौडेललगायतका साथीहरूलाई पनि हामी भएकै ठाउँमा राखियो । त्यतिवेला केपी ओली गोलघर हुनुहुन्थ्यो ।राजेन्द्र र माधवजीसँग पनि जेलबाट भाग्ने विषयमै कुराकानी भयो । हामीले उपाय निकाल्यौँ, क्लोरोफर्म प्रयोग गरेर बेहोस बनाउने । तर, त्यो योजना पनि त्यत्तिकै स्थगित भयो । पछि आरके मैनाली, म, मोहनचन्द्र अधिकारी र मोहन उप्रेतीलाई नख्खु जेल सारियो । केपी र मोहनचन्द्रसँग पनि कुराकानी भयो । केपी कमरेडप्रति मोहनचन्द्रका केही गुनासा र आशंका थिए । तर, हामीलाई त्यस कुराप्रति त्यति विश्वास थिएन । 


नख्खु जेलको बीचमा बार राखेर महिला र पुरुषलाई अलगअलग राखिएको थियो । हामीले नीतिमा परिवर्तन गरेर गतिविधि गर्न थाल्यौँ । अरू बन्दीहरूसँग निकट हुन थाल्यौँ । जेलभित्र कांग्रेसका बन्दीहरूले अरू बन्दीलाई तँ शब्दमा बोलाउँथे जब कि हामी उनीहरूलाई सम्मानपूर्वक तपाईं सम्बोधन गथ्र्यौँ । साथीहरू बिरामी पर्दा उपचार गर्न सामूहिक कोष बनाएका थियौँ । यी सबै गतिविधिले प्रशासन र भित्रका आमबन्दीसँग राम्रो सम्बन्ध बन्यो । अर्कोतिर, कांग्रेसका साथीहरूसँग पनि राम्रै सम्बन्ध स्थापित भयो । 


०००
निर्मल लामा र बाबुकाजी बासुकला पनि त्यही जेलमा हुनुहुन्थ्यो । निर्मल कमरेडसँग भेटेपछि हामीलाई ऊर्जा थपियो । उहाँबाट भद्रपुर जेल ब्रेक प्रयासको अनुभव सुनियो । हरेक शनिबार साहित्यिक, सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने गथ्र्यौँ । प्रत्येक बन्दीबाट केही न केही अनिवार्य प्रस्तुति हुन्थ्यो । एक दिन निर्मलजीसँग जेलबाट बाहिरिने चाहनाबारे कुरा ग¥यौँ । हामीले भन्यौँ– बाहिर थोरै साथीहरू हुनुहुन्छ, निस्कनु छ, के गर्ने होला ? तर, उहाँको जवाफले निराश बनायो ।

 

उहाँले भन्नुभो, ‘सम्भव छैन, आत्मदाह गरेजस्तै हुन्छ । बिजुली बल्दा कमिला हिँडेको त देखिन्छ, प्रहरी हतियारसहित तैनाथ छन् । मेरो पालामा लालटिन बालिन्थ्यो, बन्दुक थिएन, लाठीको भरमा प्रहरी हिँड्थे, त्यसैले तुलना हुँदैन । तपाईंहरू कथम निस्किहाल्नुभयो भने कहाँ पुग्नुहुन्छ ?’ यो सुनेर हामी हिस्स भयौँ । उहाँको जवाफले पनि हामी थाकेनौँ, भाग्ने योजनातिरै लाग्यौँ । कसरी–कसरी पछि हाम्रो योजना किसुनजीले थाहा पाउनुभएछ । एकदिन बोलाएर भन्नुभयो, ‘बाहिर जाँदै हुनुहुन्छ भन्ने सुनेँ, होसियार हुनुस् है, ज्यान जान्छ । जाने नै हो भने हाम्रो दलसिंहलाई पनि लैजानुहोला ।’ राजालाई बम हान्ने दलसिंह पनि पक्राउ परेर त्यहीँ थिए । हामीले योजना छैन भन्यौँ । उहाँले सचेत गराउँदै भन्नुभयो, ‘किन ढाँट्नुहुन्छ ? म कहीँ भन्दिनँ । तर, होसियार हुनुहोला ।’ 

हाम्रो योजना किसुनजीले थाहा पाउनुभएछ । एक दिन बोलाएर भन्नुभो, ‘बाहिर जाँदै हुनुहुन्छ भन्ने सुनँे, होसियार हुनुस् है, ज्यान जान्छ । जाने नै हो भने हाम्रो दलसिंहलाई पनि लैजानुहोला ।’ राजालाई बम हान्ने दलसिंह पनि पक्राउ परेर त्यहीँ थिए । हामीले योजना छैन भन्यौँ । उहाँले सचेत गराउँदै भन्नुभयो, ‘किन ढाँट्नुहुन्छ ? म कहीँ भन्दिनँ । तर, होसियार हुनुहोला ।’


हामी बस्ने कोठाअगाडिको बीचमा पर्खाल र बुर्जा थियो । प्रहरी नबस्ने भएकाले त्यही पर्खाल नाघेर भाग्ने योजना बन्यो । १८–२० फिटको पर्खाल नाघेर सबै बाहिरिन सम्भव नभए इच्छुक मात्र बाहिरिने कि भन्ने छलफल चल्दै थियो । पर्खालमा नांगातारहरू पनि थिए । तर, योजना सफल पार्न नारदजी र मैले डोरीमा भित्तो नाघ्ने कोसिस गथ्र्यौँ । धेरै कोसिस गर्‍यौँ, तर सम्भव नहुने देखेपछि कसरी जाने भन्नेबारेमा थप छलफल अगाडि बढ्दै गयो । 


साहित्यिक कार्यक्रम गर्ने सिलसिलामा बेलुका बाबुकाजी बासुकलाले सुरुङ वारको अंग्रेजी पुस्तक नेपालीमा अनुवाद गरेर सुनाउनुभयो । त्यसले हामीलाई सुरुङ योजनाका लागि प्रेरित गर्‍यो । हामी गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विमर्शकै क्रममा सुरुङ खनेर बाहिरिने मनस्थितिमा पुग्यौँ । 


केही दिनपछि निर्मल लामा र बाबुकाजी बासुकला जेलबाट छुट्ने निर्णय भएछ । छुट्नुअघि हामीलाई भेट्न आउँदा उहाँहरूले एउटा पत्रिका देखाउँदै एउटा नराम्रो खबर सुनाउनुभो । सिपी कमरेड पक्राउ परेको दुःखद खबर रहेछ पत्रिकामा । त्यसपछि हामीले सल्लाह गर्‍यौँ । तत्काल बाहिरिने कदम स्थगित गर्ने समझदारी भयो । हाम्रो निष्कर्ष थियो– कि उहाँलाई मारिहाल्छ, कथम मारेन भने सेन्ट्रल जेल या हामी भएकै नख्खु जेलमा ल्याउन सक्छ । हामीले सोचेजस्तै सिपी, केपी, घनेन्द्र बस्नेतलगायतका साथीहरूलाई गोलघर राखेर केही समयपछि नख्खु जेलमा ल्यायो । एक वर्षपछि केपी र मोहनचन्द्रलाई नख्खुबाट फेरि भद्रगोल सेन्ट्रल जेलमा सारियो । 


सिपीलाई नख्खु ल्याइएपछि जेल ब्रेकबारे निर्णायक विमर्श सुरु भयो । सिपीले के गर्न सकिन्छ विमर्श सुरु गर्नुभो, मैले तीनवटा उपायबारे ब्रिफिङ गरेँ । पहिलो विकल्प– मुख्य गेटबाट बाहिरिने । दोस्रो, वाल नाघेर जाने । तेस्रो, सुरुङ खनेर निस्कने । यद्यपि, उपयुक्त ठाउँमा सुरुङ खनेर उपयुक्त ठाउँमा मुख निकाल्न सक्यौँ भने लामो समय लागे पनि सुरक्षित ढंगले बाहिरिन सक्ने ब्रिफिङ उहाँलाई जानकारी गराइयो । सिपीले सुरुङ उपयुक्त विकल्प सुझाउँदै सम्भाव्यता अध्ययनका लागि निर्देशन दिनुभयो । 


जेल प्रशासनलाई हामीले झापाली धेरै इमान्दार छन्, यिनीहरूले भाग्नेबारे सोच्दा पनि सोच्दैनन् भन्ने पारिसकेका थियौँ । प्रशासनसँग मेरो र घनेन्द्रजीको राम्रो सम्बन्ध थियो । चौकीदारसँग राम्रो सम्बन्ध थियो । अरूसँग पनि सम्बन्ध बढाएका थियौँ । त्यसबीचमै हामीले जेल कमिटी पुनर्गठन गर्‍यौँ र सिपीलाई नै सचिव बनायौँ । जेल कमिटीले राजनीतिक रूपमा प्रशिक्षित गर्ने र मर्नका लागि समेत तयार हुने गरी प्रशिक्षित गर्दै गयो । त्यतिवेला १७ जनाको मेसमा सँगै खाना खाने मोहन उप्रेती, सूर्य कन्दङ्वा र अशोक नेपाललाई चाहिँ योजना बाहिरिन सक्ने आशंकाले बताएनौँ । तीमध्ये कन्दङ्वा शान्ति सुरक्षाको मुद्दामा पक्राउ परेका थिए । पछि उनलाई योजना सुनायौँ तर उनी सहजै छुट्न सक्ने भएकाले सँगै बाहिर नलैजाने समझदारी भयो । हामी सबै मारियौँ भने उहाँले भन्नुहोला भनेर छोड्यौँ, त्यस कुरामा उहाँ सहमत नै हुनुभयो । 


बीचमा धेरै संकटहरू आए । कांग्रेससँग प्रतिस्पर्धा गर्न बाटो बनाउने, फूल रोप्ने काम गर्‍यौँ । त्यो कामले धेरै मान्छे अलमलिए । दोहोरो चरित्रसहित काम गरेका थियौँ । देखाउनका लागि बाटो बनाउन थाले पनि मूल उद्देश्य बाहिर निस्कनुथियो । भित्र सुरुङका लागि खनेको माटो लुकाउने मूल उद्देश्य थियो । कालोमाटो बाहिर देखिँदा ज्यान जोखिम हुन्थ्यो । त्यसकारण, हामीले त्यो काम गरेका थियौँ । 


९ फागुन ०३३ सालबाट सुरुङ खन्न सुरु गर्‍यौँ । मिसन पूरा गर्न ३२ दिन लाग्यो । त्यति समय लाग्छ भन्ने थिएन, खासमा २१ फागुनमै बाहिरिने योजना थियौँ । वीरबहादुर लामा, माधव पौडेल, भीष्म धिमाल, नारद वाग्ले, जीवन मगरलगायतका साथीहरूले सिपी कमरेडको समर्थनमा सुरुङ खन्न थाल्नुभएको थियो । हामीभित्रको मतभेद टुंगिएको थिएन, खन्दै जाँदा बाटो भासिएपछि गलत गरिएछ कि भन्ने पनि भयो, तर त्यसले खासै ठूलो फरक पारेन । अन्ततः ३२ दिनमा सुरुङ खन्ने काम सकियो । 


एक दिनको कुरा हो, जेलका कर्मचारी नरबहादुर लिम्बूले सुरुङ खनेको आवाजले वाल थर्किँदा सुनेर रिपोर्ट गरेछन् । त्यसपछि मलाई चौकीदार र भाइ चौकीदारले बोलाएर तपाईंहरू भाग्दै हुनुहुन्छ रे, अब तपाईंहरूलाई मार्छ भदै तर्सायो । मैले त्यस्तो गरेको छैन भनेर ढाँटेँ । साथीहरूलाई मैले यसबारे सूचित गरेँ । त्यसपछि हामीले माटो सबै लुकायौँ । सुरुङको मुखमा जस्तो छ त्यस्तै बनाएर माथि काठ राखेर ३०–४० वटा खरायो पालेका थियौँ । राति निकाल्यो, भित्र पसेर खन्यो, बिहान त्यही ठाउँमा काठमाथि खरायो राख्ने गथ्र्यौँ । केही दिनमा १०–११ बजेतिर प्रहरीले घेराउ गरेर सबैतिर खोजे । तर, भेटेनन् । सुरुङ खनेकै कोठमा पनि आए । सबैतिर हेरे, हेर्दा खरायो देखिन्छ । खोक्रो आवाज सुनिन्छ कि भनेर भित्तामा ढकढक गरे । एउटा राम्रो खरायो थियो, मन पराएर हेरे, खानतलासी गर्न आएको कमान्डरलाई खरायो लैजाने हो भनेर सिपीजीले सोध्नुभयो, ऊ त्यसमा लोभियो र खरायो दिएर छिटो बिदाई गर्‍यौँ । त्यसदिन ठूलो संकटबाट जोगियौँ । 


अन्तिम दिन सबै माटो लुकायौँ । छाताको डन्डीले खनेका थियौँ । पहिला त्यहाँ बन्दुक कारखाना रहेछ । पुराना बन्दुकका रड भाँचेर आगोमा हाली कुटेर चेप्टो बनाएर खन्न प्रयोग गरेका थियौँ । ३२ दिनमा सुरुङ खन्ने काम सकियो । १२ चैतको अघिल्लो दिन अलिअलि रूखका जरा देखिए । सुरुङ छिचोलिन पाँच–सात फुट बाँकी छँदा भित्र हावा छिरेको आभास भयो । जुन ठाउँमा रूखको जरा भेटिए, त्यसले हामी निस्किन लागेको अनुभूति भयो र कसरी निस्किने, के गर्ने सबै योजना बनाउन थाल्यौँ ।

 

भरसक नख्खु खोला भेट्ने नभए बागमती दोभानमा भेट्ने सल्लाह गर्‍यौँ । राति सात बजेतिरै सुरुमा माधवजी निस्किनुभयो । सबैसँगै निस्किन खोजेका थियौँ, तर बिजुलीबत्ती बलेपछि कसरी निभाउने कोसिस गर्‍यौँ । नारदजी, अशोक न्यौपाने र म तीनजनाले लाइट मार्न कोसिस गर्‍यौँ । अन्तिममा सफल भयौँ । करिब १० बजेपछि सबै १५ जना पालैपालो निस्कियौँ । तर, निस्किसकेपछि सबैसँग भेट हुन पाएन । गोपाल शाक्य र नारद वाग्लेसँग भेट नभएपछि धेरैबेर खोज्ने प्रयास गरियो, सफल नभएपछि सबै आ–आफ्नो बाटो लाग्यौँ ।