• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पवन बराइली
२०८० बैशाख ३० शनिबार ०६:२१:००
रिपाेर्ट

क्यान्सर जितेर मेची–महाकाली साइकल यात्रा

२०८० बैशाख ३० शनिबार ०६:२१:००
पवन बराइली

हिजोआज धुवप्रसाद हुमागाईंलाई एउटै प्रश्नले दिक्क बनाउँछ । यो प्रश्न हो, ‘ओहो ! तपाईं त बाँच्नुभएछ है ! उपचारमा पैसाचाहिँ कति खर्च भयो ?’ उनका आफन्त र शुभचिन्तकले भेट्दा सोधिने प्रश्न यही हो । उनी भन्छन्, ‘साथीभाइ र आफन्तसँग फोनमा कुरा गर्दा, भेट्दा अझै बाँचिरहेको छ जस्तो गरेर अचम्म मान्छन् । तर, मलाई खुसी लाग्छ, उनीहरूको अगाडि स्वस्थ्य छु ।’


तीन वर्षअघिसम्म आमनागरिकजस्तै परिचय थियो, उनको । तर, अहिले उनको नामको अघि अर्काे परिचय थपिएको छ, ‘क्यान्सर जितेको मान्छे ।’ झन्डै साढे तीन वर्ष क्यान्सरको लडाइँ जितेर उनी पुरानै जीवनशैलीमा फर्किरहेका छन् । उनलाई भेट्ने साथीहरूलाई पनि विश्वास लाग्दैन, कुनै वेला क्यान्सरबाट प्रताडित थिए भन्ने । क्यान्सर भएपछि मृत्यु मात्रै विकल्प हो, यसको उपचार सम्भव छैन भन्ने मानसिकता नेपाली समाजमा अझै मेटिन सकेको छैन । अब उनको अभियान छ, क्यान्सर भएपछि मरिन्छ भन्ने मानसिकता भत्काउने र उपचार सम्भव छ भन्ने जागरण फैलाउँने । भन्छन्, ‘क्यान्सरभन्दा अर्काे ठूलो रोग सोचाइ रहेछ । सोचाइलाई शक्तिमा परिणत गरिसकेको छु । तर, एकदिन सबैजना मर्नै पर्छ, यो धर्तीमा बाँचुन्जेल क्यान्सरका बिरामीलाई सहयोग गर्ने प्रण गरेको छु ।’ 


०७७ साल चैत महिनाको एकरात । ध्रुवको दायाँपट्टिको पाता बेस्सरी दुख्यो । उनलाई लाग्यो, सुत्न अप्ठ्यारो भएर होला । राति दुखाइ सहन नसकेपछि सिटामोल खाए । तर, दुखाइ कम नभएपछि भोलिपल्ट श्रीमतीसँग ओम हस्पिटल गए । उनको मनमा लाग्यो– सामान्य चेकजाँचपछि औषधि सेवन गर्दा ठिक भइहाल्छ । हस्पिटलमा एक्सरे र रगत परीक्षण गरेर घर फर्किए । तर, छातीमा पनि पुनः ‘एमआरआई’ गरेर हेर्नुपर्ने भयो । छातीमा गम्भीर समस्या देखिएपछि बायोप्सी गर्नुपर्‍यो । रिपोर्टमा चौथो चरणको क्यान्सर पुष्टि भयो । त्यसपछि धुव्रको परिवारमा ठूलो बज्रपात आइलाग्यो । ‘मलाई केही भएको छैन भन्ने परिवारमा पनि महसुस गराएँ । क्यान्सर भएको थाहा पाउनासाथ भक्तपुर क्यान्सर अस्पतालमा उपचार सुरु गरेँ । त्यतिवेला कोराना महामारीले संक्रमण तीव्र थियो । अस्पतालमा बेड खाली थिएन । मैले त्यो वेला धेरै दुःखदायी जीवन बिताएँ । झन् अस्पतालको बसाइ कहालीलाग्दो नै थियो । तर,  हिम्मत हारिनँ, आफूमा आत्मबल बलियो राखेँ,’ उनी भन्छन् । 

२०७७ सालमा डाक्टरले धु्रवलाई ६ महिना मात्रै बाँच्ने बताएका थिए । तर, उनले क्यान्सर जितेर  मेची–महाकाली साइकल यात्रा पूरा गरे । भन्छन्, ‘सकारात्मक भावनाले मन बलियो बनाएँ । अब बाँचुन्जेल क्यान्सरपीडितलाई सहयोग गर्छु । मेरो कारणले अरूको ज्यान बाँच्यो भने त्यो नै मेरा लागि आशीर्वाद हुनेछ ।’


क्यान्सरसँग लडिरहेका दिनमा पनि उनले आफ्नो दैनिकी सामान्य बनाए । दुईपटक किमो गरेपछि अस्पतालबाट डिस्चार्ज भए  । फेरि २१ दिनपछि दोस्रोपटक किमो दिन भक्तपुर जानुपथ्र्याे । त्यसवेला भक्तपुर क्यान्सर अस्पतालमा ‘किमो’ दिन उनी एक्लै बाइक चलाएर पुग्थे । उनी भन्छन्, ‘म नौवटा किमो लगाउन एक्लै बाइक चढेर हस्पिटल र घर ओहोरदोहोर गरेँ । त्यसपछि छाती र ब्रेनमा २० वटा रेडियोथेरापी गर्नुपर्‍यो । त्यतिवेला पनि एक्लै बाइक चलाएर अस्पताल पुगेँ । तर, डाक्टरलाई आफूले गरेका काम भन्दिनथेँ ।’ 


क्यान्सरको औषधि आत्मबल
भक्तपुर क्यान्सर अस्पतालमा डा. रोशन प्रजापतिको निगरानीमा थिए ध्रुव । भारतको राजीव गान्धी अस्पतालमा अध्ययन गरेर फर्किएका प्रजापति राम्रो डाक्टर मानिन्छन् । एक दिन ध्रुवलाई डा. रोशनले भने, ‘तपार्इं एकपल्ट दिल्ली जानुस्, त्यहाँ पैसा खर्च भए पनि उपचार छिटो हुन्छ ।’ 


त्यसपछि ध्रुव उपचारको लागि श्रीमतीसँगै भोलिपल्ट नै दिल्ली गए । भारतको हस्पिटल पुग्नासाथ त्यहाँको वातावरण देखेर आस र विश्वास जाग्यो । अस्पतालमा परीक्षण सुरु भयो । क्यान्सर चौथो चरणमा पुगिसकेको पत्ता लाग्यो । ‘नेपालमा डाक्टरहरूले मेरो ६ महिना मात्रै आयु तोकिदिए । तीन महिना पूरा दिल्लीमा बिताएँ । निको भएर फर्किएँ,’ उनी भन्छन्, ‘डाक्टरलाई अब १५ वर्ष बाँच्छु भनेको छु ।’ 


बिरामी भएपछि धु्रवको मनमा अनेक कुरा खेलेको उनी सम्झिन्छन् । तर पनि सकारात्मक र राम्रा कुराहरू मात्रै लिई मन बलियो बनाएर तीनवटा क्यान्सर जितेको उनी बताउँछन् । भावुक मनस्थितिले मानिसलाई कमजोर बनाउँदो रहेछ । त्यसैले उनले भावनालाई शक्तिमा परिणत गर्न सिके । भन्छन्, ‘क्यान्सर भएपछि मेरो परिवार मप्रति चिन्तित हुन थाल्यो । खासगरी मेरा श्रीमती, छोरा–बुहारीलाई सबैभन्दा बढी चिन्ता थियो । उनीहरूले माया गर्ने व्यवहारले आफूलाई भाग्यमानी ठान्छु । मलाई थाहा भयो, परिवारभन्दा संसारमा ठूलो कोही पनि नहुँदो रहेछ । अरू फगत सम्बन्ध मात्रै रहेछ ।’


उनको जीवनशैली फेरिएको छ । जीवनलाई हेर्ने दृष्टिकोण बदलिएको छ । नेपाली समाजमा क्यान्सर निको नहुने र उपचारमा सम्पत्ति सिध्याउनुपर्ने मानसिकता व्याप्त छ । त्यसैले क्यान्सर भएको थाहा पाएपछि बिरामी र परिवारले हिम्मत हार्छन् । तर, क्यान्सर भएर पनि सक्रिय जीवनयापन गर्न सकिन्छ । त्यसैले उनले गत वर्ष चितवनको भरतपुर क्यान्सर अस्पतालमा साइकल यात्रा गरे ।


उनी निरन्तर क्यान्सर भएका मान्छेहरूलाई परामर्श दिँदै हिँडिरहेका छन् । ‘मलाई क्यान्सर भएपछि मैले र मेरो परिवारले कति दुःख र कष्ट झेले, कसरी कहाँ गएर उपचार गरेँ, उपचारका लागि अस्पतालमा मैले कति दिन कसरी बिताए ? यस्ता अनुभवका साथै आत्मविश्वास र साहस उनीहरूलाई सुनाउँदै हिँडेको छु,’ उनले भने । 


धु्रवले एक महिनाअघि मात्रै मेची–महाकाली साइकल यात्रा पूरा गरे । त्यो साइकल यात्राको मुख्य सन्देश थियो– क्यान्सरबाट बच्न सकिन्छ । भन्छन्, ‘बाचुन्जेल सहयोग गर्छु । मेरो कारणले अरूको ज्यान बाँच्यो भने त्यो नै मेरा लागि आशीर्वाद हुनेछ ।’


क्यान्सर भएका बिरामी भेट्न पाउँदा, उनीहरूको आफन्तलाई सहयोग गर्न पाउँदा आनन्द मिल्छ उनलाई । ‘बिरामीलाई भेटेर साहानुभूति प्रकट गर्छु,’  उनी भन्छन्, ‘आफूले  भोगेको अनुभव अरूलाई पनि सुनाउन पाउँदा खुसी लाग्छ । मैले जस्तै दुःख भोकेका मानिसको पीडामा मलमपट्टी लगाउन निरन्तर खटिरहनेछु ।’