• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विजयराज पोखरेल
२०८० बैशाख ३० शनिबार ०७:०७:००
सम्झना

क्यानबेराबाट काठमाडौंलाई नियाल्दा

२०८० बैशाख ३० शनिबार ०७:०७:००
विजयराज पोखरेल

अस्ट्रेलियाको राजधानी क्यानबेराको सडकमा बाटो काट्ने क्रममा जेब्राक्रसिङमा अडिएँ । सडक पार गर्नैलाग्दा दायाँबायाँ मुन्टो बटारेर आँखा ओछ्याएँ । अलिपर एउटा कार हुइँकिँदै आएको देखियो । सोचेँ, कार जाओस् त्यसपछि बाटो काटौँला । कार जेब्राक्रसिङभन्दा केही पर झ्याप्प रोकियो । कुनै भवितव्य परेछ कि क्या हो भनेर झस्किएँ, एकछिन त । कारधनीले मलाई जान इसारा गरे । आफ्नो नेपाली बानी अर्थात्, सडकमा जेब्राक्रसिङको संकेत भए पनि गाडीकै अग्राधिकार हुन्छ भन्ने मान्यता मैले प्रस्तुत गर्दै उनलाई नै पहिले जान इसारा दिएँ । उनले हलचल नगरेपछि मैले मुन्टो निहु¥याएर उनलाई धन्यवाद टक्र्याएँ अनि जेब्राक्रसिङमा पाइला लम्काएँ । 


क्यानबेरामा इज्जतका साथ सडक छिछोल्दै गर्दा आफ्नै देशको राजधानीलाई सम्झन पुगियो । काठमाडाैंमा पनि सडक पार गर्दा जेब्राक्रसिङ त पैदलयात्रीकै हो भन्ने मान्यता राखिन्थ्यो । तर, त्यो मान्यताले कहिले पनि काम गरेन । एकपटक जेब्राक्रसिङबाटै सडक पार गर्दै थिएँ । दायाँबायाँनजिकै कुनै सवारी थिएन । आधी बाटो नकाट्दै मोटरसाइकल एकोहोरो हर्न बजाउँदै रकेट रफ्तारमा मेरो अगाडि आइलाग्यो । शरीरका सबै रौँहरू ठाडा भए । होसहवास उड्यो । रौँबराबर दूरीमा मेरो अगाडिबाट उक्त साधन हुइँकिएकोे थाहा पाएँ । ‘सालाऽऽऽ, मर्न मन छ कि क्या हो ?’ कसैले न्वारनदेखिको बल लगाएर कराएकोे आवाज सुनेपछि मात्र मेरो आँखा खुल्यो । म सहीसलामत रहेछु । 


मैले आवाज आएतिर नजर लगाएर भनेँ, ‘मर्ने रहर कसलाई पो हुन्छ र भाइ ?’मोटरसाइकलचालक भरखरका युवा थिए । उनले आफ्नो युवा जोस पोखे,‘साला, हर्न बजाएको सुनिनस्ऽऽऽ !’ उनले बलपूर्वक ब्रेक लाउँदाको घर्षणको टाटो सडकमा स्पष्ट देखिन्थ्यो । धन्न उनले पनि मोटरसाइकल सम्हाल्न भ्याएछन् । 


‘म जेब्राक्रसिङबाट बाटो काट्दै छु । हाँक्नेले पनि विचार गर्नुपर्छ ।’ मैले यति मात्र के भनेको थिएँ, उनले उल्टै दाह्रा किट्न थाले, ‘सालाऽऽऽ... आँखा छैन तेरो ???’ मैले थप प्रतिरक्षामा ओर्लिन उचित ठानिनँ । चुप लागेर फटाफट आफ्नो 
बाटो तेर्सिएँ । 


लामो सास फेर्दै आफ्नो ध्यानलाई क्यानबेरातर्फ मोडेँ । सहरमा लम्कँदै गर्दा दायाँबायाँ सबैतिर नियालेँ । फराकिला पेटी र सडक । चारैतिर सफा र चिटिक्क । त्यसमाथि फूलवृक्षले सजिएका । ठाउँठाउँमा फराकिला पार्क । पर्याप्त खुला क्षेत्र । सर्वत्र हरियाली । स्वच्छ वायु । सार्वजनिकस्थलमा निःशुल्क खानेपानी एवं शौचालयको सुविधा । स्पष्ट कोरिएका आवासीय, व्यापारिक र औद्योगिक क्षेत्र । स्वचालित ट्राफिक व्यवस्थापन । भरपर्दो र सुविधाजनक सार्वजनिक यातायात ।

‘स्वच्छ, सफा, हराभरा र स्वस्थ काठमाडौं’ र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’जस्ता आकर्षक नारा घन्काइए । तर, न राजधानी गतिलो हुन सक्यो, न गौरव गर्नलायकको बन्न सक्यो ।
 

 

आवश्यकताअनुसारको पार्किङ सुविधा । नागरिक सभ्य, संयमित र अनुशासित । तँछाड–मछाडको प्रवृति देखिन्न । आवश्यक परेको स्थानमा लामबद्ध हुन्छन् । तनाव र आक्रोश कसैले पोखेको पाइँदैन । मनमनै सोचेँ– सबै कुरो थितिले चल्दा मान्छेमा तनाव र आक्रोश पनि कम हुनेरैछ । आफ्नै देशमा त जेब्राक्रसिङमा बाटो काट्दा पनि हप्कीदप्की खानुपर्छ । सायद अविकसित देश हुनुको नियति यस्तै हुन्छ ।


इतिहास खोतल्दै जाँदा तत्कालीन शासकको दूरदृष्टिका कारण नै क्यानबेराले विश्वकै योजनाबद्ध र सुन्दरतम सहरको सूचीमा पर्ने मौका पाएको रहेछ । सन् १९०१ मा ब्रिटेन शासित ६ वटा अलगअलग औपनिवेशिक राज्य मिलेर अस्ट्रेलियाली राष्ट्रमण्डलको रूप ग्रहण गरेपछि राजधानी सिड्नी वा मेलबर्न भन्ने छलफल चल्यो । विकल्पमा मेलबर्न अस्थायी राजधानी हुने गरी सिड्नीभन्दा १६० किमि दक्षिण–पश्चिममा अवस्थित एक ग्रामीण इलाकामा नयाँ राजधानी निर्माण गर्ने निधो गरियो ।

 

नयाँ राजधानीलाई उत्कृष्ट तवरले निर्माण गर्न ३० अप्रिल १९११ मा एक अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको आह्वान गरियो । प्राप्त डिजाइनमध्ये अमेरिकी वास्तुशास्त्रीदम्पती वाल्टर बर्ली ग्रिफिन र मारिओन महोनी ग्रिफिनलाई विजेता घोषणा गरियो । पछि अन्य सुझावसमेत समावेश गर्दै १० जनवरी १९१३ मा अस्ट्रेलियन संसद्ले अनुमोदन गरेसँगै संघीय राजधानी निर्माणका लागि औपचारिक स्वीकृति प्रदान गरियो । वृत्त, त्रिभुज र षट्कोणजस्ता ज्यामितीय आकृति नयाँ राजधानीको प्रमुख विशेषता बन्न पुग्यो । त्यसैगरी, राजधानीको नाम तोक्ने सवालमा पनि सार्वजनिक आह्वान गरिएको थियो । नामांकनका लागि संकलित सुझावबाट १२ मार्च १९१३ मा अस्ट्रेलियाका तत्कालीन गवर्नर–जनरल लार्ड डेनमैनकी पत्नी लेडी डेनमैनले एक समारोहबीच नयाँ राजधानीको नाम ‘क्यानबेरा’ घोषणा गरेकी थिइन् ।

 


क्यानबेरा सहरमा टहल्दै गर्दा ससाना पहाडले घेरिएको प्राकृतिक बनोटले गर्दा क्यानबेरामा काठमाडौंकै झझल्को पाएँ । मन चसक्क भयो । मेरो देशको राजधानीलाई पनि हाम्रा शासकहरूले दीर्घकालीन सोचका साथ योजनाबद्ध तवरले विकास गरिदिएका भए आज क्यानबेराभन्दा कैयौँ गुणा सुन्दर र भव्य देखिन पाइन्थ्यो होला । प्रकृतिको अनुपम काखमा अवस्थित काठमाडाैंप्रति यिनले अलिकति पनि विवेक पुर्‍याइदिएका भए आज कुरूप र अव्यवस्थित सहरमा दरिन पुग्ने थिएन होला । हेर्दाहेर्दै काठमाडाैंं खाल्डो कंक्रिटले भरियो । यहाँको जिन्दगी दुई–चारआना जग्गाभित्र कैद हुन पुग्यो । मठमन्दिर, पाटीपौवा, सत्तल, ढुंगेधाराजस्ता संरचनावरपरका खुलाक्षेत्र साँघुरिए । ऐतिहासिक र प्राचीन सम्पदालाई अग्ला भवनभित्र लुकाइयो । 

सडक विस्तारका नाममा पुराना शैलीका बचेखुचेका घर पनि हराए । भृकुटीमण्डप र टुँडीखेल अतिक्रमणमा परेका छन् । पछिल्लो समय भद्दा संरचना थपेर सिंहदरबारको इज्जत लुटिँदै छ । काठमाडाैंको भित्री भागलाई झन् अस्तव्यस्त बनाइँदै छ ।


सर्वत्र व्यापारिक स्वार्थ मौलाउँदा काठमाडाैंका सदियौँ पुराना बस्तीहरूको मौलिकतामा प्रहार गर्दै परम्परागत शैलीका घरहरू नासेर भीमकाय संरचना थपिँदै छन् । सडक विस्तारका नाममा पुराना शैलीका बचेखुचेका घरहरू पनि हराए । भृकुटीमण्डप र टुँडीखेल अतिक्रमणमा परेको छ । पछिल्लो समय सिंहदरबारमा भद्दा संरचना थपेर यो दरबारको इज्जत लुटिँदै छ । काठमाडाैंको भित्री भागलाई झन् अस्तव्यस्त बनाइँदै छ ।


संसद् भवनलाई सहरबाहिर खुला स्थानमा आकर्षक तवरले बनाउन सकिन्थ्यो । तर, यसलाई पनि सिंहदरबारभित्रै कोच्ने धृष्टता गरियो । क्यानबेराको संसद् भवनमा एउटा नेपालीले सहज प्रवेश पाउँछ, तर हाम्रो संसद् भवनलाई बिरालोले ‘आचि’ लुकाएजस्तो लुकाइँदै छ । क्यापिटल हिलमा अवस्थित अस्ट्रेलियाको संसद् भवनमा सर्वसाधारणले संसद् चलेको वेलामा पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाएर संसद्लाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ । हाम्रामा पनि सिंहदरबारलगायतका ऐतिहासिक भवनहरूलाई चाँजोपाँजो मिलाएर कम्तीमा बिदाको दिन पर्यटकीय गन्तव्य बनाउन सकिन्थ्यो होला । पर्यटनको अपार सम्भावना भएको देश भन्दै हामीले गर्व गरिरह्यौँ, तर सबैजसो सहर 
कुरूप बनाइरह्यौँ । 


अस्ट्रेलियातर्फ यात्राको क्रममा काठमाडाैं–बैंकक उडानमा रहँदा सँगै बसेका डेनिस नागरिकसँग मेरो भलाकुसारी हुनपुग्यो । प्रत्येक वर्ष नेपाल नआई उनलाई चित्तै नबुझ्नेरहेछ । मैले बर्सेनि काठमाडाैं आउने कारणबारे जिज्ञासा राख्दा उनले नाक खुम्चाउँदै भने, ‘म सम्भव भएसम्म काठमाडाैंमा बस्दिनँ ।’ विशेषगरी हिमाली भेगका मनोरम दृश्यले उनलाई नेपाल तान्ने गरेकोमा एकातिर मलाई गर्व लाग्यो, तर अर्कोतिर मेरो राजधानीप्रति नाक खुम्चाएकोमा मन चसक्क भयो । उनीसँगको संवादले हाम्रो राजधानी पर्याप्त पर्यटकमैत्री छैन भन्ने संकेत दियो ।


वायुप्रदूषण, फोहोर, खाल्डाखुल्डी, सार्वजनिक यातायातको बेथिति, पेटीको अभावजस्ता अनेकौँ समस्याले सधैँ पिरोल्छ राजधानीमा । सौच जानुपरेमा त झनै महाभारत नै पर्छ । काम गर्न खोजिन्छ ढंग पुग्दैन । सडकमा हरियाली कायम गर्ने भनिन्छ, तर दोहोरो हिँड्न पनि नमिल्ने पेटीमै बाक्लो गरी वृक्ष रोपिइन्छ । विद्युतीय तारलाई भूमिगत गर्ने भनिन्छ, तर यसको अतिक्रमणमा पेटी नै पर्दै छ । यो र त्यो बहानामा एउटै कामलाई बारम्बार भत्काउने र बनाउने खेल चलिरहन्छ यहाँ । कतै टहल्न र साथीभाइ भेटेर गफिन पार्क र खुला ठाउँनजिक भेटिँदैन । कामविशेषले घरबाट निस्किएर नफर्किएसम्म अनेक तनाव व्यहोर्नुपर्छ ।


विदेश सयर नगरेका नेतागण कमै होलान् । तर, अन्यत्रको देखेर सुन्दर सहर बसाल्ने सोच नै पैदा भएन हाम्रा नेतृत्वमा । सहर भनेको राजनीति गर्ने र आर्थिक उपार्जनको थलो मात्र हो भन्ने मान्यताले प्रश्रय पायो । व्यवस्थित, प्रकृतिमैत्री, स्वस्थ्यकर र जीवन गुणस्तरीय हुनुपर्छ भन्ने दृष्टिकोणले मूर्तरूप लिन सकेन । ‘स्वच्छ, सफा, हराभरा र स्वस्थ काठमाडौं’ र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडाैं ’जस्ता आकर्षक नारा घन्काइए । तर, न राजधानी गतिलो हुन सक्यो, न गौरव गर्नलायकको बन्न सक्यो । 


बरु हाम्रा पुर्खाहरू विवेकी र दूरदर्शी रहेछन् । मानवबस्ती व्यवस्थित हुनुपर्छ भन्ने मान्यता राख्थे । संरचना निर्माण गर्दा खुलाक्षेत्र र हरियालीका लागि पर्याप्त ठाउँ छाडिन्थे । विद्यालय फराकिला थिए । बालबालिकाका लागि पर्याप्त खेलमैदान थिए । 


पछिल्लो समय काठमाडाैंका मेयर बालेन्द्र साह नै सिंहदरबारले काठमाडाैं नगरलाई आवश्यक सहयोग नगरेको गुनासो गर्दै छन् । केन्द्र सरकारसँग तिक्तता पोख्ने क्रममा सिंहदरबारभित्रको फोहोर नउठ्नेसम्मको हर्कत हुन पुगेपछि ५०० मिटरको दूरीमा रहेको महानगर र सिंहदरबारबीचको दूरी झन् बढ्न पुग्यो । मेयर साहले नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने स्टाटस ट्विटरमा लेख्न पुगे । अर्कोतिर, सिंहदरबारले उनको कदमलाई अराजक गतिविधिको रूपमा लियो । यसले भौतिक फोहोरभन्दा पनि देशको राजनीतिक फोहोर झन्झन् दुर्गन्धित हुन पुगेको इंगित गर्छ । सधैँ आरोप–प्रत्यारोप र फोहोरी राजनीतिमा रमाउने प्रवृत्तिलाई हाम्रा नेताहरूले तिलाञ्जली दिन थप ढिलाइ गर्ने हो भने देशलाई सुन्दर बनाउने जिम्मा लिन बाँकी रहेका युवा पनि कतार, मलेसिया, अमेरिका र अस्ट्रेलियातिरै लखेटिनेछन् ।