• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजकुमार दिक्पाल
२०८० बैशाख ३० शनिबार ०७:३८:००
इतिहास

कीर्तिपुरलाई त्यसपछि भनियो ‘नकटापुर’

२०८० बैशाख ३० शनिबार ०७:३८:००
राजकुमार दिक्पाल

जब पृथ्वीनारायण शाहको सेनाले कीर्तिपुरेको नाक काटेको सन्दर्भ कोट्याइन्छ, तब नेपालमा नाम चलेका कतिपय इतिहासकारहरू पृथ्वीनारायण शाहको प्रतिरक्षामा कुर्लन थालिहाल्छन् । उनीहरू विदेशी र त्यसमा पनि इसाई पादरीहरूले पृथ्वीनारायण शाहको बेइज्जत गर्न यस्तो हल्ला मच्चाइदिएको आरोप लगाउँछन् । उनीहरूले ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक काटेको कुरा सत्य होइन, यो विदेशीहरूले प्रचार गरेको झुट हो’ भन्ने गरेका छन् । पृथ्वीनारायण शाहको जीवनी अध्ययन गर्दा उनी एक साहसी महत्वाकांक्षी राजा भएकोमा दुई मत छैन । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर रणनीति चाल्न सक्ने राजा थिए, उनी ।


वि.सं. १८०१ असोज १५ गते उनले कान्तिपुर अधिनस्थ नुवाकोट दखल गरेर आफ्नो विजययात्रा प्रारम्भ गरे । उनी आफैँ अघिसरा भई लडेको नुवाकोट युद्धमा महामण्डलमा छोरा शंखमणि राना बेलकोटमा जयन्त राना पक्राउ परे । नरभूपाल शाहका समयका गोरखाली काजी ग्यामी रानामगर थरका जयन्तपछि गोरखाली भारदार महेश्वर पन्तले नरभूपाल शाहलाई चुक्ली लगाइदिँदा गोरखाबाट पलायन भई कान्तिपुरका राजा जयप्रकाश मल्लको आश्रयमा बसेका थिए (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग – २०४१ः२६२–६३) ।


उनी नुवाकोटको रक्षार्थ त्यहाँको उमराउ भएर बसेका थिए । पृथ्वीनारायण शाहले आफूले बोलाउँदा पनि नआएका जयन्तलाई रिसले त्यहीँ युद्धबन्दी अवस्थामै जिउँदै छाला काढेर उनको अमानवीय किसिमले हत्या गर्न लगाएका थिए । युद्धबन्दीको जिउँदै छाला काढेर हत्या गर्नेले कीर्तिपुरेको नाक काटेनन् भनी विश्वास कसरी गर्ने ? त्यसमा पनि कीर्तिपुरसँग दुई–दुईपटक हारेको पीडा छँदै थियो । 


वि.सं. १८१४ को युद्धमा आफ्ना विश्वासिला सेनापति कालु पाँडे मारिएको र आफैँ पनि मृत्युको मुखबाट बल्लतल्ल बाँचेर पुतुवारहरूको पिठ्युँमा चढी दहचोक पुगेर दम लिएको पृथ्वीनारायण शाहले बिर्सने कुरै भएन । यस्तै वि.सं. १८२१ मा दोस्रोपटक कीर्तिपुर आक्रमण गर्दा पृथ्वीनारायण शाहका कान्छा भाइ सुरप्रताप शाहको देब्रे आँखा फुटेको थियो भने अर्का भाइ दलजित शाह सख्त घाइते भएपछि कीर्तिपुरसँग नराम्ररी हार खाएर गोरखालीहरू दहचोक फर्केका थिए । यी हार पृथ्वीनारायण शाहका लागि भुलिनसक्नुको पीडा छँदै थियो ।


कीर्तिपुर आक्रमणमा रणनीति परिवर्तन
आफ्ना बहादुर सैनिकहरू पटक–पटक कीर्तिपुरेबाट पराजित भई फर्कनुपर्दा महत्वाकांक्षी राजा पृथ्वीनारायण शाहको मनमा असामान्य चोट लाग्नु स्वाभाविकै थियो । पहिलोपटकको युद्धमा कान्तिपुर, ललितपुर र भक्तपुर तीनै राज्य एकजुट भएर कीर्तिपुरको रक्षार्थ मैदानमा आइपुगेका थिए । तर, दोस्रो युद्धमा कीर्तिपुरेलाई कतैबाट सहयोग प्राप्त थिएन, उनीहरू आफ्नै बलबुतामा लडेका थिए । 


पृथ्वीनारायण शाहले निर्णायक युद्ध लड्नका लागि रणनीति परिवर्तन गरे । त्यो रणनीति थियो, कीर्तिपुरमाथि कडा नाकाबन्दी । नाकाबन्दीका साथै कीर्तिपुरका जिम्मेवार व्यक्ति काजी धनवन्तका छोरा वीरनरसिंहलाई गोरखालीहरूले अपहरण गरी नुवाकोट पु¥याइएका थिए । वीरनरसिंहलाई यातना दिँदै उनीमार्फत पत्र पठाएर धनवन्तलाई आफ्नो शरणमा आउन पृथ्वीनारायण शाहले बारम्बार दबाब पनि दिइरहेका थिए ।

कीर्तिपुरमा दोस्रोपटक हार खाएर फर्केको १३ महिनापछि नै पहिलो युद्धमा मारिएका कालु पाँडेका छोरा काजी वंशराज पाँडेको नेतृत्वमा कीर्तिपुरलाई चारैतिरबाट नाकाबन्दीमा राख्न थालियो । नाकाबन्दी यतिसम्म कडा गरियो कि यदि कसैले केही पनि प्रतिबन्धित वस्तु कीर्तिपुर लगेको थाहा भएमा त्यस्ता व्यक्तिको हत्या गरी मूलबाटोमा फालिन्थ्यो ।


कीर्तिपुरमा दोस्रोपटक हार खाएर फर्केको १३ महिनापछि नै पहिलो युद्धमा मारिएका कालु पाँडेका छोरा काजी वंशराज पाँडेको नेतृत्वमा कीर्तिपुरलाई चारैतिरबाट नाकाबन्दीमा राख्न थालियो । नाकाबन्दी यतिसम्म कडा गरियो कि यदि कसैले केही पनि प्रतिबन्धित वस्तु कीर्तिपुर लगेको थाहा भएमा त्यस्ता व्यक्तिको हत्या गरी मूलबाटोमा फालिन्थ्यो । कीर्तिपुरलाई ६ महिनासम्म घेरेर राख्दा कीर्तिपुरको घरका अन्नका भकारी रित्तिसकेका थिए । त्यसवेला कीर्तिपुर पाटनअन्तर्गत रहेको थियो । तर, केन्द्र पाटनमा वैधानिक राजा नहुँदा त्यहाँबाट कुनै किसिमको सहयोग कीर्तिपुरलाई प्राप्त भइरहेको थिएन (शुक्रसागर श्रेष्ठ, ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास’ – २०५७ः१९) ।


अर्कातिर, गोरखालीहरूले भगिडु ठानामा प्रवेश गरी काजी धनवन्तका छोरा वीरनरसिंह र अर्का एकजना सरदारका छोरालाई अपहरण गरी नुवाकोट पुर्‍याएका थिए । ती दुवैलाई तादी नदीमा डुबाएर सास्ती दिँदा एकजना सरदारका छोराको मृत्यु भएको थियो । वीरनरसिंहलाई नेल ठोकेर पहराका साथ त्रिशूलीको साँघुमा राखिँदा उनी एकपटक त्यहाँबाट मर्न वा उम्कन फालसमेत हानेका थिए । तर, गोरखालीहरूले उनलाई बचाए । पृथ्वीनारायण शाहले वीरनरसिंहलाई ‘तेरा बाबुलाई झिकाउन म चिठी लेख्छु, तँ पनि चिठी पठाउँदै गर् । तेरा बाबु हाम्रा हजुरमा हाजिर भएपछि तेरा बाबु र तँलाइ बक्सिस दिउँला’ भनेपछि वीरनरसिंहले आफ्ना बाबु धनवन्तलाई गोरखालीको शरणमा आउन बारम्बार चिठी लेखे । अपहरित छोराबाट बारम्बार यस्तो चिठी आएपछि दबाबमा परेका काजी धनवन्त पृथ्वीनारायण शाहको शरणमा परे (नेपाल देशको इतिहास, ‘प्राचीन नेपाल’ संख्या २२–माघ २०२९ः१८) ।


उनै धनवन्तले ढोका खोलिदिँदा गोरखालीहरूले तेस्रोपटकको प्रयासमा कीर्तिपुर सहजै दखल गरे । स्रोतहरूका अनुसार गोरखालीहरूले पुरानो रिस फेर्न १२ वर्षदेखि माथिका पुरुष कीर्तिपुरेहरूको नाक काटिदिए, कतिपयको त ओठ पनि काटिदिए ।


विदेशीले देखेको र लेखेको
जतिखेर गोरखालीहरूले कीर्तिपुर दखल गरे, त्यसवेला त्यहाँ इसाई पादरीहरू पनि थिए । पादरीहरूमध्ये फादर माइकल एन्जलोले त नाक काटिएर घाइते हुन पुगेका कीर्तिपुरेहरूको उपचार पनि गरिदिएका थिए । कीर्तिपुरको दोस्रो युद्धमा देब्रे आँखा गुमाएका सुरप्रताप शाहको उपचार पनि उनैले गरिदिएका थिए । 


आफ्ना दाजु प्रतापसिंह शाहबाट धपाइँदा पृथ्वीनारायण शाहका माहिला छोरा बहादुर शाह उनै इसाई पादरीको बेतियास्थित घरमा शरण लिएर बसेका थिए (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’–२०७५ः४) ।बेतियामै रहँदा माइकल एन्जोलोले राजा प्रतापसिंह शाहलाई दाजुभाइबीच मेलमिलाप गर्न आग्रह गर्दै पत्रसमेत पठाएका थिए । तीमध्ये वि.सं. १८३४ असोज सुदी ६ रोज ३ मा उनले प्रतापसिंह शाहलाई लेखेको पत्रमा ‘...श्रीबाहादुरर्साहा बट्यामाहो आइ पौंचा था. सो साहेवका हजुर्मु षवर्भेदिया है. सो आदितेवार्मु वेतियामा दाषिल हुवा है. हाम्सो मुलाकात् किया है. वहुत् वातचित् हुवा है. हामसे वचन दिया है कि श्रीमाहाराजके वर्सै उसका वात वनाया जायेगा.... ऊ आफ्ना भाइकों आफ्ना हजुर्मु वोलवाना चाहिये. दउलथ ञांहा भेजिदिना कि कासिमु उसकों भेजिदिना सो वन्दिसका वात न हि है. उनन हामको भि छोडिदेगा. अवर्आप पट्ना कि कलकता कि जांहा उसका दिल होगा तांहां जायेग लेकिं जो हजुर्मु बोलावने होगा. उस्का दि तयार्है उनले भाईमाफिक् सेवा करैगा...’ भन्ने परेको छ (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णांक ५५–मंसिर २०४०ः३४–३५) ।
त्यतिखेर माइकल एन्जोलोका साथ नेपालमै रहेको अर्का इसाई पादरी जोसेप्पीले कीर्तिपुरेको नाक काटेको विषय ‘जर्नल अफ् एसियाटिक सोसाइटी’ (भोलम २ पृ. ३१९) मा लेख लेखेर प्रचार गरिदिए । 


जेसेपीले कीर्तिपुरेको नाक काटिएको विषयमा लेखेको व्यहोरा यस्तो छः
एक्कासि पाटनका धनवन्त गोर्खालीहरूसँग मिल्न गई गोर्खाली सैनिक कीर्तिपुरमा हुले । यहाँका जनताले अझै पनि आफ्नो देश रक्षा गर्न सक्दथे, तर गोर्खालीले आत्मसमर्पण गरेमा आममाफी दिने घोषणा गर्दै प्रचार गरे । धेरै लामो नाकाबन्दीले थाकेका कीर्तिपुरेले गोरखाको छलकपट बुझेनन् र आममाफी दिने घोषणाको विश्वासमा परी आत्मसमर्पण गरे । आत्मसमर्पणपछि नुवाकोटमा बसेका पृथ्वीनारायणको आदेशमा शूरप रत्न (शूरप्रताप शाह)ले मुख्य मुख्यको ज्यान लिए । अरूको नाकओठ काटे । केवल आमाको दूध खाने (बालक) मात्र बचे । काटेका नाक ओठ सबै जम्मा गरी राख्न आदेश भयो । जसले गर्दा कति रैती रहेछन् गन्न सकियोस् । अनि देशको नाम नै नष्कटपुर राखे । आदेश हरतरहले पालना गरियो । जतिसुकै दानवीय किन नहोस् ? केवल मुखल बाजा बजाउने मात्र बच्न सके । फादर माइकले एंगेले कीर्तिपुरका जनताका लागि दयाको भीख त मागिदिएका थिए, तर भीख पाएनन् । धेरैले त्यस यातनाको कारण आत्महत्या पनि गरे । अरू धेरैले हामीकहाँ औषधिमुलो खोज्दै आए (श्रेष्ठ, २०५७ः२१–२२)

कर्कप्याट्रिक नेपाल आउँदै गर्दा उनले केही नेपाली अनुहार अनौठो किसिमका देखे । ती अनौठा मानिसले उनको भारी बोकेका थिए । ती भरियाको नाक थिएन । यसबारे सोधखोज गर्दा कीर्तिपुर सहरमाथि गोरखालीले विजय हासिल गरिसकेपछि यहाँका बासिन्दाको नाक काटिदिएको जवाफ कर्कप्याट्रिकले पाए ।


कीर्तिपुरमा यसप्रकारको घटना भएको २६ वर्षपछि अर्थात् वि.सं. १८४९ मा कर्कप्याट्रिक अंग्रेज दूत बनेर नेपाल आएका थिए । उनलाई नुवाकोटमा राखिएको थियो । छोटो समय नेपाल बस्दा उनले जेजति सुने वा टिप्न बटुल्न भ्याए त्यही आधारमा ‘एन एकाउन्ट अफ द किङ्डम अफ नेपाउल’ पनि लेखे । सन् १८११ मा प्रकाशित नेपालबारे लेखिएको पहिलो इतिहाससम्बन्धी यो पुस्तकलाई एक महत्वपूर्ण स्रोत सामग्रीका रूपमा लिन सकिन्छ (डा. राजेश गौतम, ‘इतिहास लेखनको इतिहास’–२०५१ः३४०) ।


कर्कप्याट्रिकले पुस्तकमा आफ्नै अनुभव पनि लेखेका छन् । उनी नेपाल आउँदै गर्दा उनले केही नेपाली अनुहार अनौठो किसिमको देखे । ती अनौठा मानिसहरूले भरियाका रूपमा उनको भारी बोकेका थिए । ती भरियाहरूको नाक थिएन । यसबारेमा सोधखोज गर्दा कीर्तिपुर सहरमाथि गोरखालीहरूले विजय हासिल गरिसकेपछि यहाँका बासिन्दाहरूको नाक काटिदिएको जवाफ कर्कप्याट्रिकले पाए । उनले आफ्नो पुस्तकमा कीर्तिपुर सहरमाथि विजय हासिल गर्न गोरखालीहरूले धेरै श्रम, सीप, धन र जन खर्च गर्नुपरेको साथै धेरै कष्ट पनि सहनुपरेकाले त्यसको प्रतिशोधस्वरूप कीर्तिपुर विजय हासिल गरिसकेपछि त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले तिनीहरूको नाक काटिएको उल्लेख गरेका छन् (विलियम कर्कप्याट्रिक, ‘एन एकाउन्ट अफ किङडम अफ नेपाउल’–सन् १८११ः१६४) । यो त भयो, कीर्तिपुरेको नाक काटिएको घटना देखिजान्ने र सुनिजान्ने विदेशीहरूले उल्लेख गरेको कुरा ।


नेपाली स्रोत के भन्छ ?
कीर्तिपुरेको नाक काटिएकोबारे विदेशीहरूले मात्र बोलेका छैनन्, प्रशस्तै स्वदेशी सामग्रीमा पनि यो घटनाका बारेमा उल्लेख छ । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २२ (माघ २०२९ः१८)मा प्रकाशित ‘नेपाल देशको इतिहास’मा कीर्तिपुरेको नाक काटिएको विषयमा प्रकाशित व्यहोरा यस्तो छ– 


शाके १६८७ नष्ट चैत्र शुक्ल ९ का रात्रीमा कोटमा रहनेहरूले गोरखालीतर्फ मिल्न गई गोरखाका लश्करलाई कीर्तिपुरका प्रजाहरू जम्मा भई चिराक बालेर कोटघरमा प्रवेश गराए । त्यसपछि नेपालको ठूलो आड भएको कीर्तिपुर सर भयो । त्यहाँका प्रजाहरूमा सामान्य देखापर्ने सबैलाई मारे । पछिबाट कालु पांडेप्रभृत्ति सरदारलाई मारेका र काजी सुरप्रताप शाहका आंखामा प्रहार गरेका रिसले कीर्तिपुरका प्रजाहरूमा बाह्र वर्षदेखि उँभोका सबैको नाक काटे ।

काटेको नाक तौलदा धार्नी १७।१।६ भयो । यस कीर्तिपुरमा लडाइँ हुँदा छ महीनासम्म थामे पनि पछिल्लो लडाइँमा कीर्तिपुरेले व्यर्थै ज्यान गुमाउनुपर्‍यो । तैपनि खुब लडाइँ गरेपछि काजी गोरखातिर मिल्दा केही सीप नलागेर मात्र हार खानु पर्‍यो । यसरी कीर्तिपुर सर भयो । त्यहाँका तमाम जनताकै नाक काटेको हुनाले अब कीर्तिपुरलाई नकटापुर भन्नू भनी सबैले ‘नकटापुर’ भन्न लागे । पाटनमा पनि पश्चिमतर्फबाट आधार सहर घेरी ठाना हाल्दा त्यहाँका प्रधानहरूले पनि कीर्तिपुरेले झैँ नाक काटिमाग्नुपर्ला भन्ने डरले उस्तो लडाइँ नगरी सहर छोड्न तयार भएका थिए ।


‘भाषा वंशावली’लाई पनि नेपालको एक महत्वपूर्ण इतिहासको स्रोतका रूपमा लिने गरिएको छ । देवीप्रसाद लम्सालको सम्पादनमा पुरातत्व विभागले नै प्रकाशित गरेको ‘भाषा वंशावली’ भाग २ २०२३ः११७) मा कीर्तिपुरेको नाक काटिएको प्रकरणमा उल्लेख गरिएको व्यहोरा यस्तो छ–


कीर्तिपुरमा ललितपतनका काजि टौधि श्रेष्ठ काजिहरू जाई कोटमा बस्याका थिया । तिनीहरूसित लडाई गरी कीर्तिपुरलाई घेरा दी ढोका बाहिर बाट मद्दत आउन र निस्कन नदिराखदा संवत् ८८६ नष्ट चैत्र शुक्लका रात्रिकोटमा रहन्याहरू मध्ये कोही गोर्खा तर्फ मिल्नजाई गोर्खाली कन कीर्तिपुरमा प्रवेश गराउँदा ती गोर्खालीहरू देश भित्र गै प्रजाहरू सामने देखा पर्‍याका धेरै लाई मार्‍या । १२ वर्ष देषी उभाका मानिस हरू सबैको अघि शूर प्रताप शाहकन तीरले हानी एकाक्षी गरीरह्याको रिसले नाक काटिदिया । उस हुलमा लुकीरहन्या र मागि जान्याहरूको मात्र नाक बाँच्यो ।


यस लेखकलाई काठमाडौंका स्थानीय बासिन्दा भागवतनरसिंह प्रधानबाट प्राप्त भएको एक लिखतमा कीर्तिपुरेको नाक काटिएको विषयमा अधिकांश प्रसंग माथि उल्लेख गरिएको वंशावलीहरूसँग मेल खान्छ । तर, त्यहाँ अर्को फरक र विशेष प्रसंगसमेत परेको छ । लिखतमा कीर्तिपुरेको नाक काट्न तामाङहरूलाई लगिएको र उनीहरूले नाकका साथै ओठ पनि काटिदिएकाले उनीहरूलाई पनि त्यहीँ गोरखालीहरूले मारिदिएको अर्को हृदयविदारक प्रसंग पनि यो लिखतमा रहेको छ । लिखतमा ‘...१२ वर्ष देषि उभोका प्रजाहरू सबैले राजाका सलाम गर्नु आउनु भनि छलकाल गरि बोलाइ कोतमा थुनिदिएपछि सबै प्रजाहरूका नाष कातिदियो र नाष तौलाइ हेर्दा १२ धार्नी १ सेर ६ तोला छ । प्रजाहरू जमा आठ सय पयसथि ८६५ जना फेरी इन ।। दिनपछि नाष काटन्या भोत्याहरूलाई नाष मात्र कात भन्याका ओठ समेत कातिदियो भनि भोत्याहरू सबै जमा जमलोक पथाइया’ भन्ने उल्लेख छ ।


शरणमा परिसकेका जनतालाई यातना दिन काठमाडौं वरिपरिका तामाङहरूलाई पृथ्वीनारायण शाहले निकृष्ट काम गर्न प्रयोग गरेको र उल्टै उनीहरूलाई कीर्तिपुरमा मारिएको भन्ने हालसम्म चर्चा नभएको पाटो यो लिखतले उजागर गरेको छ ।


परको कुरा छाडौँ । कीर्तिपुरेको नाक काटिएको विषयमा पृथ्वीनारायण शाहकै दरबारका ‘कवि’ ललिताबल्लभले लेखेको काव्य ‘पृथ्वीन्द्रवर्णोदय’लाई एक गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः५२८) मा उल्लेख गरेअनुसार वि.सं. १८२६ कात्तिकमा गोरखालीले भक्तपुर दखल गरेकै समय ललितावल्लभले उक्त काव्य रचना गरेका हुन् । काव्यमा कीर्तिपुर विजयबारे उनले यस्तो लेखेका छन्–


सर्वान् दुर्गवरान् समूपतिवरो जित्वाचतुर्दिकास्थिलान् ।
रम्यं कीर्तिपुरोति विश्रृतपुरं जगाह भरिश्रवा ।।
हत्वा शत्रु मनाश्विन ः कति पुनः प्रच्छिद्य नासादिकं ।
कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्ति स्वरूपं द्विष ।। 


यो संस्कृत पद्यलाई नयराज पन्त र अरूले ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ (२०२५ः४४५)मा नेपालीमा उल्था गर्दा ‘चारै दिशामा रहेका असल असल किल्ला फोडी, बलियो मन भएका केही शत्रु मारी, केहीका नाक आदि काटी, शत्रुका केही घटिया मानिसलाई विरूप पारी राजाहरूमा श्रेष्ठ, धेरै कीर्ति भएका उहाँबाट शत्रुको कीर्तिस्वरूप भएको, कीर्तिपुर भनी प्रख्यात, राम्रो शहर लिइबक्स्यो’ भनी लेखेका छन् (डा. महेशराज पन्त, ‘राजधानी दैनिक’, वर्ष १३ अंक ७५–२०७० भदौ २ः७) ।


इतिहास शिरोमणि आचार्य (२०६१ः५३४) स्वयंले पनि पोइल जाने जनानाका नाक काटेझैँ गरी नाकका टुप्पाका नथुनी काटेर कुरूप मात्र गराई ज्याला मजदुरी गरी जीवन चलाउन बाधा नदिई १५–२० जनासम्म कीर्तिपुरेलाई पृथ्वीनारायण शाहले सहरबाट हटाई राखिदिएको र यिनै नकटाहरूलाई कर्कप्याट्रिकले देखेको हुन सक्ने उल्लेख गरेका छन् ।यति तथ्य हुँदाहुँदै पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाकै काटेकै थिएनन् भन्नेहरूलाई अरू के जवाफ दिन सकिन्छ ?