• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अनिल बान्तवा
२०८० बैशाख ३० शनिबार ११:२८:००
२०८० बैशाख ३० शनिबार ११:२८:००
अनिल बान्तवा

भगतमान घरबारीको पुछार कान्लामा एक माउ भैंसी र दुब्लो पाडो चराउँदैथ्यो । उसको पाडो कति दुब्लो थियो भने त्यसको करङ बाँसका भाटाजस्ता देखिन्थे । तिनै करङ सुम्सुम्याउँदै उसले लाम्पाते सुर्तीलाई ढाल्नेको पातमा बेरेर कानमा सिउरियो । ‘बेच्ने उमेरमा अगतिले छनक देखायो ।’ चिम्सो आँखा तन्काउँदै उसले आफैसँग गफ गर्‍यो । केही महिनापछि उसको कण्ठेभैंसी ब्याउनेवाला छ, फेरि । र, यसपल्टको पाडो पनि सप्रेला भन्ने उसलाई किञ्चित विश्वास छैन ।
‘न पानी पर्छ, न घाँस नै पलाउँछ । समय निकै खराब छ, बाबै !’ भगतमानलाई चिन्ताले सतायो । 


‘भतकमान दाजु ! ओ, भतकमान दाजु !’ घरको आँगनबाट यौटा अपरिचित आवाजको पैतालाले भगतमानको कानैमा टेक्यो । उसको कान ठिंग उभियो, अनि । ‘मलाई नै डाक्दै छ कि मेरो बैरो कान उस्तो हो’ भन्दै उसले कान्लाको डिलबाट घरतिर चियायो । तर, त्यहाँबाट उसले फुसको धुरी मात्र देख्यो ।


‘भतकमान दाजु !’ त्यो अपरिचित आवाज झनै नजिक सुनियो ।


‘ज्यू.......ज्यू ! यता छु । गोठालो पो गरिहिन्छु ।’ उसले पनि त्यो अपरिचित व्यक्तिले सुनोस्, भनी मच्चिएर करायो ।

भगतमानको मोटो आवाज सुनेर त्यो अपरिचित व्यक्ति माथिल्लो कान्लामा झट्टै आइपुग्यो ।


‘तपाईं नै हो, भतकमान राई ?’ त्यो अपरिचित व्यक्ति, भगतमानलाई देख्नसाथ बोल्यो । 


‘ज्यू ! ज्यू !’ उसले हो......हो भन्न विलम्ब गरेन । र, लगत्तै भन्यो, ‘मलाई भतकमान होइन, गाउँकाले भगतमान पो भन्छ हाउ ।’


‘तपार्इंकै छोरो होइन, के रे नाम पनि....निनाम....हाङ ?’ त्यो अपरिचित व्यक्तिले सोध्यो । 


‘के भनी पठाउनु भो नि ?’ भगतमानले झट्टै सुनेन । त्यो अपिरिचित व्यक्तिले दोहोर्‍यायो, ‘निनाम क्या त !’ भगतमानले अहिले ‘ज्यू......ज्यू !’ भन्दै मुन्टो हल्लायो । त्यो अपरिचित व्यक्तिले आफ्नो अनुहारको पसिना चोर औँलाले सोहोर्दै भन्यो– ‘तपाईंको छोरो त फटाहा रैछ । त्यो प्रकाशमान श्रेष्ठ छ नि, हाम्रो स्कुल अध्यक्ष क्या त ! हो, उहाँको छोरोको खप्परै फुटायो । त्यै भएर दगुर्दै आको । झट्टै स्कुल जानुपर्ने भो, हेडसरले खबर पठाउनु भाछ ।’


एकैछिन त, भगतमानले खास कुरो बुझेन । र, त्यो अपरिचित व्याक्तिको अनुहारमा ट्वाल्ल परेर हेर्‍यो । अनि हतपत भैंसीलाई गर्धनबाट तान्दै त्यसमा दाम्ला बाँधी बोल्यो, ‘आच्या ! किन पो त्यसो गरेछ नि निनामेले ?’


त्यसपछि, दुवै चुपचाप बने ।


उनीहरू ग्वालीबाटै स्कुलतिर दगुरे । भगतमानलाई हातखुट्टा पखाल्नेसम्म होस् रहेन । उसको औँलाका कापमा गोबरका टाटाहरू सुक्दै थिए । बाटोमा त्यो अपरिचित व्यक्तिले निनामहाङले घटना कसरी घटायो भनी भगतमानलाई सुनायो ।
‘म चैँ स्कुलको पिउन हुँ है । भुजेल कान्छा । घण्टी ठोक्ने क्या !’ भुजेल कान्छा मुसुक्क हाँस्यो । भगतमान चैँ हाँसेन ।

उसले हाँस्न जानेन । न उसलाई पिउनको परिचयमा रुचि थियो । को पिउन, को मास्टर, उसले कहिले पनि थाहा पाएन । उसको निधारको भिरमा पसिनाका मुना टुसाए, बरु । भुजेल कान्छाले थप्यो, ‘अध्यक्षज्यूको छोरो पनि कम्तीको फटाहा चैँ होइन है । आफूभन्दा साना र हेप्न सक्नेलाई त्यसै छाड्दैन । लात्तैलात बजाउँछ, घरिघरि त रमितै पो लाउँछ ।’ त्यसो भनिसक्दा नसक्दै उसको दाँत चम्कियो ।


भगतमानले ‘ज्यू....ज्यू’ भन्यो ।


भुजेल कान्छा बोल्यो, ‘टिफिन टायम हुन्छ नि, हो त्यैवेला दुवैको झगडा परेछ । तपाईंको छोरोले ढुंगो टिपेर अध्यक्षज्यूको छोरोको टाउकैमा बजाएछ । त्यति सारो नहानेको भए हुने ।’


भगतमानले भुजेल कान्छाको अनुहार हेर्‍यो । र, थर्थराउँदै बोल्यो, ‘तै किन पो लाप्पा खेलेछ नि भाइ ?’


‘तपार्इंको छोरोको नाम छ नि, के रे’ भुजेल कान्छाको कुरा बीचैमा काट्दै भगतमान बोल्यो, ‘ज्यू, निनामहाङ ।’
भुजेल कान्छाले भन्यो, ‘हो......हो त्यही नाम बारे रैछ । अध्यक्षज्यूको छोरोले बेनामे....निनामे.......कि कसोकसो भन्दै जैले जिस्काउँथ्यो रे ।’


भगतमान भुजेल कान्छाको नजिकै उभियो । अनि उसले निकै गमेर बोल्यो, ‘ज्या है, त्यति सानो निहुँमा निनामेले त्यसो नगर्नुपथ्र्यो । हाम्रो निनामे सारै घमण्डी छ के ।’


त्यसपछि ।


छोरो निनामले आमा दिलसरासँग झगडा गरेको भगतमानले सम्झ्यो । उसले आफ्नो नामको विषयमा खुबै गुनासो गर्न थालेको थियो । भगतमानलाई सराप्नु सराप्थ्यो । निनामहाङ जति ठूलो कक्षा चढ्न थाल्यो, बाउसँगको उसको सम्बन्ध उस्तो मिठो रहेन । 

‘यो निनाम/बेनाम कस्तो युजलेस नेम हो ? नेम त रिदमिक पो हुनुपर्छ । यसले मान्छेको साइकोलोजीलाई डाइरेक्ट इफेक्ट पार्छ ।’ अंग्रेजी पढाउने सरले यति गहकिला शब्दहरू बताए कि भगतमानको कानमा ती अपरिचित शब्दहरूले गतिलो घन ठोके, र उसको कान डम्म फुल्यो ।


‘स्कुलका भुर्राभुर्रीसम्मले जिस्काउन थालेको छ ।’ निनामहाङले आमा दिलसरासँग गुनासो पोख्थ्यो । ‘आठ कक्षामा नाम फेर्न मिल्छ रे, म नयाँ नाम राख्छु ।’ उसले नाम फेर्ने जुक्ति निकाल्थ्यो । भगतमानले आफ्नो छोरोको नामबाट यति धेरै समस्याहरू आउलान् भनेर कहिले कल्पनासम्म गरेको थिएन । उसलाई छोरोको नाम गतिलै राखेको आभास थियो, बरु ।

 
०००  
स्कुलको अफिसमा बाउछोरा अपराधीजस्तै ठिंग उभिए । वरिपरि शिक्षकहरू थिए । भगतमानले छोरोलाई नियाल्यो । छोरोको गालामा आँसुको सुकिसकेका धर्काहरू मज्जाले देखिए । हत्केला र नाडीमा लट्ठीका नीला तर पुक्क उठेका डोबहरू थिए । बाउले आफूलाई चियाएको ठानेर, उसले आफ्ना दुवै हात ढाडतिर मोड्यो । त्यसवेला भगतमानको हिक्का घाँटीमा आएर अड्कियो । 


‘तपाईंको छोरो त खुब उपद्रो निस्क्यो । आज झन्डै अध्यक्षज्यूको छोरोको ज्यान लियो । के गर्ने हो अब, लु भन्नोस् ।’ हेडसरको तिखो आँखा देखेर भगतमान डरायो । उसको छातीले ढोल पिट्न थाल्यो । उसको आँखाको डिलमा आँसु देखियो । उसले लगलग काम्दै भन्यो, ‘कोन्त सर, आबो छोरोले बिराएछ नै, तपैंहरू जान्नेबुझ्ने हुनुहुन्छ । सजाय तोक्नुहोला, गल्तीअन्सारको सयाज यस्ले भोग्छ ।’ 


अनि भगतमानको आँखा छोरोको अनुहारतिर खस्यो । छोरो रत्तिभर खुसी देखिएन । हेडसरले थपे, ‘अध्यक्षज्यूले उहाँको छोरोलाई स्वास्थ्यचौकी लानु भाछ । चोट निकै गहिरो छ । थुप्रै टाँका हान्नुपर्ला । जे–जति खर्च लाग्छ, त्यो तपाईंले बेहोर्नुपर्छ ।’


भगतमानले हेडसरलाई हेर्दै ‘ज्यू...ज्यू’ भन्यो ।


नेपाली पढाउने सरले भगतमानलाई नियाल्दै हठात् प्रश्न सोधे, ‘तपाईंलाई मेरो नाम थाहा छ ?’


‘छैन पो ।’ उसले सहज उत्तर दियो ।


‘मेरो नाम नगेन्द्र हो । नगेन्द्र संस्कृत शब्द हो । जसको अर्थ हुन्छ, महापर्वत । अर्थात् हिमालय । हरमान्छेको नाम यसरी नै अर्थपूर्ण हुनुपर्छ । बुझ्नु भो ।’ नेपाली शिक्षकले बतायो । तर, भगतमानले बुझेँ भनेर, टाउको हल्लाएन । 


लगत्तै विज्ञान पढाउने सरले भने, ‘नामको प्रसंगमा यौटा वैज्ञानिक तथ्य बाहिर आएको छ । जसको नाम कमन हुन्छ, उसले अरूभन्दा थप प्रगति गर्छ । यो कुरोको हामीले ख्याल गर्नुपर्छ ।’


भगतमानले टाउको हल्लायो । नबुझेर ।


‘यो निनाम/बेनाम कस्तो युजलेस नेम हो ? नेम त रिदमिक पो हुनुपर्छ । यसले मान्छेको साइकोलोजीलाई डाइरेक्ट इफेक्ट पार्छ ।’ अंग्रेजी पढाउने सरले यति गहकिला शब्दहरू बताए कि भगतमानको कानमा ती अपरिचित शब्दहरूले गतिलो घन ठोके, र उसको कान डम्म फुल्यो । भगतमानले अंग्रेजी पढाउने सरको मुख चलेको मात्र देख्यो, शब्दहरू ठम्याउन सकेन ।


‘यो के नाम राख्दिनुभको दाइ ? हेर्नुस् त यो नामले तपाईंको छोरोलाई कति बदमास बनायो ।’ रंग उडेको थोत्रो मार्करले निनामहाङलाई औँल्याउँदै हेडसर बोल्यो ।


‘ज्यू, मैले आफ्नै किराँती भाषामा पो यसको नाउ राखिपठाएँ ।’ छोरोको टाउकोमा हात थप्थपाउँदै भगतमान बोल्यो । बोलिसकेर पो गम्यो, ‘यति बोल्न चैँ कसरी सकेँ होला !’


‘कुरो कसो भने नि दाइ, हाम्रै वरिपरि शिव/कृष्ण/गणेश र हरिजस्ता सजिला नामहरू पनि थिए । यी नामहरू अति सुन्दर छन् ।’ हेडसरले भगतमानलाई नामका महत्वपूर्ण विकल्पहरू सुझाए । भगतमानलाई लाग्यो, ‘यिनै नामहरूमध्ये कुनै एक नाम राखेको भए यो अफिसमा सास फेर्न यति गाह्रो त हुने थिएन ।’


बरु निनामहाङ सरहरूको कुराले खुसी देखियो । सरहरूको सुझावबाट उसले राम्रा–राम्रा नामहरू राख्न सकिने रैछ भन्ने बुझ्यो । अनि लगत्तै बाउको अनुहारतिर उसको आँखा चढ्यो । बाउको हालत कम्ता खराब देखिएन । कपाल फुङ्ग उडेर कागको गुँडजस्तो देखियो । अनुहार बर्खाको धमिलो दहजस्तो थियो । र, आँखा कति चाँडै दबेछ । चिम्सो आँखा त गहिरो पो देखियो ।

 
निनामहाङले सोच्यो, ‘आपालाई अहिले जत्तिको नराम्रो त मैले कहिल्यै देखेको थिइनँ ।’


भुजेल कान्छाले ब्रेक टाइम सकिएको जनाउन बेस्सरी घण्टी ठोक्यो । त्यो घण्टीको ध्वनिले त्यहाँको मौनता बिथोल्यो । तर, भगतमानको आँखा हेडसरको अनुहारबाट अझै हटेको थिएन । 

‘यो के नाम राख्दिनुभको दाइ ? हेर्नुस् त यो नामले तपाईंको  छोरोलाई कति बदमास बनायो ।’ रंग उडेको थोत्रो मार्करले निनामहाङलाई औँल्याउँदै हेडसर बोल्यो ।


‘यसो गर्नुस्, अहिले यो केटोलाई घर लिएर जानुस् । तर, आइन्दा, यसरी अफिस आउन नपरोस् ।’ हेडसरको आवाज खरो सुनियो ।


‘ज्यू ।’ भन्दै भगतमानले थर्थराएका आफ्ना दुई हत्केला जोड्यो । त्यसपछि छोरोको नाडी समात्दै ऊ अफिसबाट बाहिरियो । बाउछोरोले अफिसको ढोका नाघ्दा–ननाघ्दै सामाजिक पढाउने सर भन्दै थिए, ‘हैन आजकलका बाउआमा आफ्ना सन्तानलाई के शिक्षा दिन्छन् हो ?’


०००
भगतमानले साँझको खाना खाएन । न त उसलाई गाभिनो भैंसीको चिन्ता लाग्यो । भान्सा कोठामा निनामहाङ र उसको आमा गुनगुन गुनगुन गर्दै थिए । सिकुवामा सखुवाको खाटमाथि गुन्द्री ओछ्याएर भगतमान ढ्याङ्ग उत्तानो पल्टियो । अनि आफ्नो दुवै हात मोडेर हातकै सिरानी हाल्यो । र, सोच्न थाल्यो, ‘हना आज मलाई स्कुलमा के–के पो भनिपठायो ! के–के पो गरिपठायो ! अझै पो खुट्याउन सकिनँ तौ ।’ रात घना झन् घना बन्दै थियो । कुहिरोले तारा र जूनलाई आफ्नो खल्तीभित्र हालेको थियो । 


‘छोराको नाम चैँ यत्रैसिती फेर्दिन । मेरो रगतले खिपेको नाम पो हो त ।’ अँध्यारोमा चर्को निकै चर्को सुनियो, भगतमानले बिस्तारै बर्बराएको आवाज ।