• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राधा पौडेल
२०८० बैशाख ३० शनिबार ११:४६:००
संगीत

नेपाली संगीत ‘कनेक्टर’ बन्दै छ कि ‘डिभाइडर’ ?

२०८० बैशाख ३० शनिबार ११:४६:००
राधा पौडेल

यो लेख गीतको समीक्षाभन्दा पनि अनुभवको आधारमा नेपाली साहित्याकाशमा गीतको भूमिका कस्तो हुनुपर्नेछ भन्ने सेरोफेरोमा केन्द्रित हुनेछ । कसैको गीतबारे नभए पनि वर्तमानमा चर्चा भइरहेका गीतहरूको अहिलेसम्म पक्ष र विपक्षमा आइरहेका मतहरूले छुटाएका वा स्पस्ट पार्न बाँकी भएका सन्दर्भ यसमा उल्लेख गरिएको छ । 


गीतको लेखनकै प्रक्रियामा खास उद्देश्य हुन्छ अनि निश्चित समुदाय हुन्छ । तर, त्यो आममानिसलाई थाहा हुनुपर्छ भन्ने जरुरी छैन । किनभने राजनीतिक, सामाजिक, भौगोलिक आदि परिवेशका कारणले गर्दा रचनाकार–गायकले सोचेभन्दा सुन्दा–सुनाउँदा गीतले अर्कै आकार लिएको हुन्छ, हुन सक्छ । गीत संसारभर नै ‘कनेक्टर’ (जोड्ने) र ‘डिभाइडर’ (फुटाउने) दुवै दृष्टिकोणबाट प्रयोग भएका हुन्छन् ।

 

माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा मैले दुवैतर्फ (पक्ष र विपक्ष) गीतको प्रयोग भएको देखेको थिएँ । युद्ध वा आन्दोलन भन्नेबित्तिकै जसरी पनि शक्ति वा समुदाय आफ्नो पक्षमा ल्याउनु हो । कतिपय राजनीतिक–सामाजिक सचेतनाका लागि गाइएका ‘सिमली छायामा ...’ जस्ता गीत सबै किसिमका राजनीतिक चेत भएकाहरूका लागि प्रिय गीत हो, थियो । किनभने गीतले जुनसुकै विचारधाराको वा परिवेशको व्यक्ति–समुदायले जिएको ‘परिवेश’लाई इंगित गरेको थियो, छ । तसर्थ परिवेशले गीतको अर्थ–अनर्थ लाग्न निर्णायक भूमिका खेल्छ । परिवेशले नै गीतको (अ)सान्दर्भिकता खोज्ने गर्छ । 

सेलेब्रिटी कहलिएकाहरूले पनि लैंगिक विभेदका गीत गाउँदा समाज किन चुप बस्छ होला ? किन चुप बस्छ भने हामी गीत मात्रै सुन्दैनौँ, त्योभन्दा पहिले गीत बनाउने–गाउने को रहेछ, त्यसको लिंग, वर्ग, क्षेत्र, जात सबै हेर्छौं । त्यसको अघि–पछि को–को छन् ? स्पोन्सर को छ ? आदि सबै पहिले हेर्छौं अनि हाम्रो पक्ष र विपक्षको विचार निर्माण गर्छौं ।


सामाजिक प्रयोजनका गीतहरू भने सधैँ कनेक्टरका रूपमा प्रयोग हुन्छन् । तीजमा सासूले दिएको पीडा वा माइतीले गरेको हेला, रत्यौलीमा गाइने गीत, गाइने दाइको लाहुरेको गीतले समुदायमा गीत एउटा सञ्चार माध्यमको रूपमा प्रयोग हुँदै आएको छ, हुन्छ । यही तथ्यलाई ध्यानमा राखेर कुनै पनि सामाजिक चेतनाका कुरा जनमानसमा घुसाउन गीतको प्रयोग हुन्छ, हुँदै आएका छन् । चाहे सुत्केरीलाई अस्पताल जाऊ भन्न होस् वा क्षयरोगको औषधि खाऊ भन्न होस्, परिवार नियोजनको साधनको प्रचार गर भन्न होस् वा सवारी साधन राम्रोसँग चलाउन भन्न होस्, अधिकांश गीतको एउटा साझा कुरा हुन्छ, गीत आवाज बन्नेबित्तिकै हावामा मिल्छ र असीमित आकाशसँग मितेरी गाँस्छ ।

 

कतै न कतै, कुनै न कुनै स्वरूपमा यसले समुदायमा राम्रो वा नराम्रो प्रभाव पार्छ । यसको प्रभाव यति धेरै हुन्छ कि रेडियो वा टेलिभिजनको वर्ष दिनको कार्यक्रमको भन्दा बढी प्रभाव गीतले छोड्छ । प्रभाव मापनका प्रकृति धेरै हुन्छन् । तथापि आफू्रले मन पराएको वा विश्वास गरेको पात्रबाट यो गीत आयो भने समाजले विनातर्क स्विकार्छ वा स्विकार्न सक्छ । सय प्रतिशत नै मन पराइने वा राम्रो भन्ने गीत कानुनको नौ मुख भनेझैँ नौतिर फर्किएको समाजमा त्यो सम्भव छैन, हुन्न पनि । फेरि नेपाली समाज अझै पनि पारम्परिक छ । भिडमा रमाइलो मान्छ । केहीबेर कुरेर बस्छ, जता भेल बढेको छ, उतै गएर मिसिन्छ, किनभने उसलाई जोखिम उठाउनु छैन । 


यदि ‘फूलको आँखामा ....’ भन्ने गीत अरू कसैले गाएको थियो भने यसले अहिलेको जस्तो स्वीकारोक्ति पाउँदैनथ्यो होला । कहिलेकाहीँ साथीहरूसँग आफैँले प्रश्न गरेर हेरेकी छु–खानेकुराको जोहो गर्न नसकेर भोकले बेहोस भएको बच्चा छोडेर गाउँ–जंगल छिरेकी आमाले कसरी त्यो गीत गाउन सक्लिन् ? वा दलित भएकै कारण ढुंगाले आफ्नै अगाडि कुटी–कुटी मारिएकी आमाको छोरीले कसरी आँखामा फूल फुलाउन सक्लिन् ? मिटरब्याजी पीडितहरूको मुखबाट यो गीत निस्किन सक्ला ? पक्कै पनि सक्दैन । यी केही प्रतिनिधि घटना मात्र हुन्, तर समाजले यो गीतलाई यसरी लियो कि यो शान्ति निर्माण वा समाज रुपान्तरणका लागि एक अचुक औषधि हो । 

पैसा कमाउने, भ्युज बढाउने वा प्रसिद्धि कमाउने नाममा जे पायो त्यही गाउन पाउने प्रचलनमा राज्यले निगरानी गर्नुपर्छ । मनोरञ्जन दिनकै लागि गाइएका गीत पनि विभेदमुक्त गरिनुपर्छ । कुनै लिंग, जात, वर्ग, क्षेत्र, धर्म आदिलाई होच्याएर हाँस्नु–हँसाउनु पनि अन्याय गर्नु हो । 

 

कहिलेकाहीँ सोच्छु ‘नो ब्रत प्लिज’ भन्ने गीत कुनै नाम चलेको पुरुष अझै बाहुनले गाएको भए के हुन्थ्यो होला ? अनि सोच्छु, सेलेब्रिटी कहलिएकाहरूले पनि लैंगिक विभेदका गीत गाउँदा समाज किन चुप बस्छ होला ? किन चुप बस्छ भने हामी गीत मात्रै सुन्दैनौँ, त्योभन्दा पहिले गीत बनाउने–गाउने को रहेछ त्यसको लिंग, वर्ग, क्षेत्र, जात सबै हेर्छौं । त्यसका अघि–पछि को–को छन् ? स्पोन्सर को छ ? आदि सबै पहिले हेर्छौं अनि हाम्रो पक्ष र विपक्षको विचार निर्माण गर्छौं । त्यसैले त अपवादबाहेक पश्चिम नेपाल, मधेस, महिला र दलित गायकले काठमाडौंमा स्थान पाउन जुग कुर्नुपर्छ । कोही घन्टामा नै ट्रेन्डिङमा पर्छन् ।


कहिलेकाहीँ गीत अघि हुन्छ, समाज पछि हुन्छ अनि बेमेल हुन्छ । कहिले ठिक उल्टो । अनि कहिले समाज नै गोलमटोल हुन्छ । समाज आफैँ अघि वा पछि स्पष्ट हुँदैन, डराउँछ । गीतले दिन खोजेको सन्देशभन्दा पनि लिन खोजेको श्रोताको राजनतिक–सामाजिक चेतले के भन्छ भन्ने पक्ष मुख्य हुन्छ । सोफिया थापाको गीत ‘नो ब्रत प्लिज...’ राजनीतिक, प्राविधिक आदिका दृष्टिकोणले फड्को मारिरहेको समयमा युवा, महिलाका लागि समसामयिक थियो, आवश्यक थियो ।

 

तर, सोचेजस्तो स्वीकार्यता भएन । ‘पर पर छु ...’ गीत मेरो विचारमा समाजभन्दा पछि छ । नेपालभरका र काठमाडौंकै सबैभन्दा धनी र प्रख्यात विद्यालयमा पढाइने घरका छोरीहरू नै किन नहोस् उनीहरूले देखिने र नदेखिने, धेरै र थोरै महिनावारी विभेदको अभ्यास गरिरहेका छन् । छोरीहरूले उन्मुक्ति खोजिरहेका छन् । अर्कातिर मर्यादित महिनावारीमा सरकार र गैरसरकारीतर्फबाट केही काम भइरहेका वेला महिनावारी विभेद पश्चिम नेपाल वा गाउँमा अभ्यासमा छ भनेर देखाउँदा विद्वान् मित्रहरूको समर्थन देखियो ।

 

म भएको भए यो गीत ‘वर वर छु’ वा ‘सँगसँगै छु’ भन्ने थिएँ । जसले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको छेको पारेर रिलिज गर्नुको महŒव दिन्थ्यो । ‘पर पर छु’ वा ‘फूलमाया’ गीत यही शैलीमा करिब १५ वर्षअघि आएको भए यसले आमसमुदायमा समस्या पहिचान गर्न सघाउँथ्यो होला । सम्भवतः सरोकारवालाहरू समाधानपट्टि लाग्थे होलान् । हो, समाजमा समस्याहरू थिए, छन् र भइरहनेछन् ।

 

सुधारोन्मुख समस्याहरूमा सुधारकै गीत गाउन सके समाज रुपान्तरणमा गति दिन सकिन्छ । समाजबाट बिफर रोग उन्मूलन गरेझैँ राजनीतिक–सामाजिक समस्याहरू उन्मूलन गर्नु सजिलो छैन । तसर्थ विगतमा अत्यधिक भएका वा इतिहास बनाउनुपर्ने समस्या अनुसन्धानका, इतिहासका, संकलनका किताबमा आउन दिनुपर्छ । गीतले समाजलाई सधैँ अगाडि बढ्न प्रेरित गर्नुपर्छ । राज्यलाई, सरोकारवालालाई खबरदारी गर्नुपर्छ । स्रष्टालाई अनुशासनमा बाँध्न हुँदैन भनेर बेलगाम घोडाझैँ छोड्न प्रेरित गर्नु विभेदलाई कठोर ढंगबाट स्थापित गर्न लगानी गर्नु हो । 

हरेक दिन कति गीत बजारमा आइरहेका छन् भन्ने मलाई थाहा छैन । तथापि, जबर्जस्ती हँसाउन प्रयत्न गरिएका विभेदित गीत बजारमा बग्रेल्ती छन् । फूलको, हिउँको अथवा हिमालको गीत लेख्न–गाउन जति सजिलो छ, सामाजिक–राजनीतिक गीत लेख्न, गाउन त्यति सजिलो छैन ।


हरेक दिन कति गीत बजारमा आइरहेका छन् भन्ने मलाई थाहा छैन । तथापि जबर्जस्ती हँसाउन प्रयत्न गरिएका विभेदित गीत बजारमा बग्रेल्ती छन् । फूलको वा हिउँको वा हिमालको गीत लेख्न–गाउन जति सजिलो छ, सामाजिक–राजनीतिक गीत लेख्न, गाउन त्यति सजिलो छैन । किनभने समाज गतिशील र विविध छ । गीत गाउने व्यक्ति, गाउनेबित्तिकै ऊ सामाजिक–राजनीतिक हुन्छ, उसले सामाजिक–राजनीतिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने हुन्छ । स्वर राम्रो हुन सक्छ, तर गीतको मर्म विशेष गरेर सामाजिक सबालमा सबै विषय जान्न सक्दैन । जान्न जरुरी पनि छैन । सबालगत गीत गाउने सन्दर्भमा विभिन्न विषय विज्ञहरूसँग परामर्श गरेर गाउन सकियो भने जित–जितको अवस्था सिर्जना गर्न सकिन्छ । परिवर्तनलाई सूर्यको बिहानको किरणझैँ उज्यालो दिन सकिन्छ । 


‘पोइला जान पाम...’ भन्ने गीत सुन्दा मलाई दिक्क लाग्यो । खासगरी जुम्लामा काम गर्न थालेपछि ‘पोइल’ वा ‘पोइलालाई मैले फराकिलो र सजिलो गरी बुझ्छु । तथापि ‘फेस भ्यालु’ छ भन्दैमा त्यति पनि गर्नु हुँदैनथ्यो भन्ने महसुस आज पनि हुन्छ । ‘विवाहको अधिकार’ खोज्न वा दाबी गर्न अन्य शब्दहरूबाट गाउन सकिन्थ्यो भन्ने लागिरहन्छ । त्यसो त ‘साली मनपर्‍यो ...’ लगायत थुप्रै विभेदित गीतहरू हाम्रा जनजिब्रोमा अल्झिरहेका छन् । ती गीतले त्यतिखेरको सामाजिक–राजनीतिक चेतको प्रतिनिधित्व गर्छन् । अहिले हामी बाँचेको र बाँच्न चाहेको समाजको परिकल्पना हामी कसैले पनि भुल्नु हुँदैन । भइसकेका गीतलाई हटाउने, मेटाउने भन्दा त्यो जमानामा समाज यस्तो थियो वा गायन क्षेत्रको इतिहास यस्तो थियो भनेर बुझ्न–बुझाउन सकियो र नयाँ पुस्ताले त्यसलाई परिमार्जन गरेर गाउन सक्यो भने राम्रो हुन्छ ।


पैसा कमाउने, भ्युज बढाउने वा प्रसिद्धि कमाउने नाममा जे पायो त्यही गाउन पाउने प्रचलनमा राज्यले निगरानी गर्नुपर्छ । मनोरञ्जन दिनकै लागि गाइएका गीत पनि विभेदमुक्त गरिनुपर्छ । कुनै लिंग, जात, वर्ग, क्षेत्र, धर्म आदिलाई होच्याएर हाँस्नु–हँसाउनु पनि अन्याय गर्नु हो । समाज रुपान्तरणमा संविधानका धारा, उपधाराभन्दा पनि हामीले गाउने–सुन्ने गीतको प्रभाव धेरै हुन्छ, तसर्थ गीत लेख्ने, गाउने, मोडलिङ गर्ने सबै गम्भीर हुन जरुरी छ ।