• वि.सं २०८० जेठ १४ आइतबार
  • Sunday, 28 May, 2023
निरज थापा
२०८० बैशाख ३० शनिबार १२:०३:००
साहित्य

गाउँमा यतिवेला हल्ला छ

२०८० बैशाख ३० शनिबार १२:०३:००
निरज थापा

गाउँमा यतिवेला हल्ला छ
सुर्ताहरूको ।

धारामा पानी छैन
भुल्डुङहरू उभिबसेका छन्
पानीका पाइपहरू लिंगेपिङ खेल्दै छन्
भाँच्चिएका रुखका हाँगाहरूमा
गाईहरू हेरिबसेका छन् 
गोठको करङ
कुखुराहरू ठिम्याउँदै छन्
उल्टा पृथिवी ।

 

कटेराहरू डाँडाभाटाबाट
मुन्टो छिराएर चियाइरहेछ 
क्षितिज,
लुङ्दरहरू सुतेका छन्
भोटका खबरदारहरू लुरुक्क परेका छन्
मकैका बोटहरू रातभरि युद्ध गरेर 
ढलेका छन् खेतभरि
सटकले अँटी–नअँटी मुखमा 
चट्टानहरू ठोसेका छन्

 

आज 
नेभाराको रुखमा रुप्पीहरूको सभा छैन

गाउँभरि हल्ला छ 
विस्वादहरूको ।

 

टाउकामा पुस्तकका केही ठेली उभ्याएकाहरू
जात सोध्दै छन्
धर्म खोज्दै छन्
उसको परिचय खोज्दै छन् ।

 

किनकि
हिजो बेनाम ठाउँबाट आएको अनाम हुरीले 
गाउँभरिका सिमेभुमे
धाम, गिर्जा, मन्दिर
देउराली 
सप्पैलाई मारुनी नचाएर गएको छ ।
दार्जिलिङ, भारत