• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मणिराज सिंह
२०८० बैशाख ३० शनिबार १२:०७:००
साहित्य

यतिखेर मन रित्तो छ

२०८० बैशाख ३० शनिबार १२:०७:००
मणिराज सिंह

जीवनको ओराली–उकालीमा
ससाना आवृत्तिले
च्वास्स घोच्छ, ढुकढुकी बढ्छ र अनुभूति जाग्छ
भासिँदै र उक्लिँदै तीव्र आवेगमा
गुलाफको काँडामा टेकेपछिको सौम्यता !
यही त रहेछ जीवनको शाश्वत धरातल
पानीमा पोखिएको आकाश पनि कति
घमाइलो !
तिम्रो मनको आयाम झनै रमाइलो !
तर पनि,
किन–किन
यतिखेर मन रित्तो छ !

 

थांग्रो पाए हौसिएर उभिने
नभए भुइँमै पनि लहरिँदै फैलिने
बारीको लहराजस्तै मनका लहरासँगै
तिम्रो चीत्कारभित्रको मिठासमा लुकेको
मेरो रंगमञ्चीय रोमाञ्चक सार्थकता
मर्यादाको सीमामा म पिल्सिँदै गइरहेको छु ।

 

मर्नु न बाँच्नुको दोसाँधमा अल्झिँदै
तिम्रो मधुरो सिमसारे अनुरागमा चोप्लिएर
तन्किँदै, खुम्चिँदै राराको छचल्काइजस्तै
मिर्मिरे बिहानको आभा खोपेर
तिम्रो मुहारमा टाँसिएका मुस्कानसँगै
खुसीका चञ्चल छायासित लतपतिएर
सुनौलो नक्सा लेखेको छु आफ्नै छातीमा
तर पनि,
किन–किन
यतिखेर मन रित्तो छ !