• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवहरि घिमिरे
२०८० जेठ ६ शनिबार ०६:१२:००
समाज

एक न्युरो सर्जन : जसले राजधानी छाडेर मोफसल रोजे

‘बिरामीलाई देशका कुना–कन्दराबाट काठमाडौंमै धाउनुपर्ने बाध्यता छ, यसलाई समाधान गर्न मैले मोफसल रोजेँ ।’

२०८० जेठ ६ शनिबार ०६:१२:००
शिवहरि घिमिरे

 

धेरैजसो चिकित्सक काठमाडौंमै बस्न र यहीँका ठूला अस्पतालमा काम गर्न रुचाउँछन् । उनीहरू उपत्यकाबाहिर जान आनाकानी गरिरहेका हुन्छन् । तर, वरिष्ठ न्युरो सर्जन डा. केआई सिंह केसीलाई भने काठमाडौंमा बस्न मनै परेन । तीन वर्ष वीर अस्पतालको न्युरो विभागमा काम गरेका उनी ०७१ देखि उपत्यकाबाहिरै काम गरिरहेका छन् । उपत्यकामै सीमित न्युरो सर्जन सेवालाई उनले गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही, दाङ, नवलपुरलगायत जिल्लामा पुर्‍याएका छन् । 


उपत्यकाबाहिर गतिलो न्युरोसम्बन्धी उपचार सेवा सुरु नभएको अवस्थामा उनले मोफसलमा न्युरो सेवा विस्तार गरेपछि त्यस क्षेत्रका सयौँ बिरामीले राहत महसुस गरेका छन् । ‘गुणस्तरीय तथा विशिष्टीकृत उपचार सेवा लिन देशका कुना–कन्दराबाट बिरामी काठमाडौंमै धाइरहनुपर्ने बाध्यता छ, यसलाई समाधान गर्न मैले मोफसल रोजेँ,’ डा. केसी भन्छन् ।सुरुमा उनले करिब एक वर्ष लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा न्युरो सेवा सुरु गरे । त्यहाँ बस्दा एक्लैले ९० भन्दा धेरै न्युरो सर्जरीसम्बन्धी अप्रेसन गरे । त्यहाँबाट उनी बुटवल झरे । बुटवलको चौराहा हस्पिटल, न्युरो एन्ड ट्रमा सेन्टरमा स्नायुसम्बन्धी उपचार गर्न थाले ।

तीन वर्ष वीर अस्पतालको न्युरो विभागमा काम गरेका उनी ०७१ देखि उपत्यकाबाहिरै काम गरिरहेका छन् । उपत्यकामै सीमित न्युरो सर्जन सेवालाई उनले गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही, दाङ, नवलपुरलगायत जिल्लामा पुर्‍याएका छन् । 

 

नौ वर्षको अवधिमा उनले करिब दुई हजार सात सय न्युरोसम्बन्धी बिरामीको अप्रेसन गरिसकेका छन् । डाक्टरहरू राजधानीमै केन्द्रित भइरहँदा उनी भने मोफसलमै बसेर जटिल शल्यक्रिया गरेका छन् । नारायणी नदीपारि यसरी शल्यक्रिया गर्ने चिकित्सकको अझै अभाव छ । उनी भन्छन्, ‘उपत्यकाबाहिर न्युरो सर्जन सेवा अझै प्रभावकारी छैन । सबै अस्पतालमा यो रोगसम्बन्धी उपचार नहुने भएकाले आज पनि उपत्यका बाहिरबाट बिरामी उपत्यकामै आउन बाध्य छन् ।’ 


केही निजी, प्रादेशिक र जिल्ला अस्पतालले न्युरोसम्बन्धी सामान्य उपचार सेवा दिए पनि विशिष्ट सेवा दिन सकिरहेका छैनन् । यस्तो संकटको अवस्थामा आफूले न्युरोसम्बन्धी उपचार सेवा उपत्यकाबाहिर सुरु गरेको डा. केसीको भनाइ छ । ‘न्युरोसम्बन्धी उपचार विधि निकै गाह्रो छ, सीमित अस्पतालमा मात्रै यसको उपचार हुन्छ,’ डा. केसी भन्छन्, ‘त्यसैले मैले मोफसलमा यो सेवा दिँदै आएको हुँ ।’ उनका अनुसार न्युरोसम्बन्धी उपचार सेवा निकै महँगो र खर्चिलो भएकाले सरकारले न्युरोसम्बन्धी उपचारलाई सहज बनाउन आवश्यक छ । अर्कोतिर नेपालमा न्युरोसम्बन्धी बिरामीको संख्या बढिरहेको छ भने न्युरो सर्जनको संख्या पनि निकै कम छ । यस्तो अवस्थामा उनले मोफसलमा बसेर काठमाडौंमा दिइने स्वास्थ्य सेवा दिइरहेका छन् । 


पढ्ने वेला आन्दोलनमा 
बाग्लुङ गलकोटमा जन्मिएका केसीले पढ्नकै लागि सानैदेखि अनेकन् दुःख खेप्नुप¥यो । गल्कोटबाट जिल्ला सदरमुकाम पुग्न एक दिन हिँड्नुपथ्र्यो । पढ्ने–लेख्ने त गाउँमा वातावरण नै थिएन । उनले गल्कोटकै नेपाल माविमा कक्षा ६ सम्म पढे । कक्षा ६ को पढाइ सक्नेबित्तिकै २०४६ को जनआन्दोलन सुरु भयो । उमेरले भर्खर ११ वर्ष टेकेका उनी त्यतिवेला हितमान शाक्यसँग कम्युनिस्ट बनेर हिँडे । पछि शाक्य माओवादी बने र उनले गाउँका बालबालिका बटुलेर जनयुद्ध लड्न तालिम दिन्थे ।

केही निजी, प्रादेशिक र जिल्ला अस्पतालले न्युरोसम्बन्धी सामान्य उपचार सेवा दिए पनि विशिष्ट सेवा दिन सकिरहेका छैनन् । यस्तो संकटको अवस्थामा आफूले न्युरोसम्बन्धी उपचार सेवा उपत्यकाबाहिर सुरु गरेको डा. केसीको भनाइ छ ।


स्कुल पढ्ने उमेरमा छोरा नेतासँगै हिँडिरहेको देखेपछि उनका बुबा चिन्तित भए । त्यसपछि उनका बुबाले एकजना पण्डितसँग ८० हजार पैसा सापटी लिए । किताब–कापी बोक्ने झोलामा ८० हजार पोको पारेर तीन दिन हिँडेर बाबुछोरा पोखरा आइपुगे । त्यहाँबाट काठमाडौं आउने गाडी चढे । काठमाडौं आएपछि उनलाई बुबाले जेनतेन रविभवनमा रहेको ज्ञानकुञ्ज माविमा कक्षा ६ मा भर्ना गरिदिए । यहाँ आएर पढ्न थालेपछि उनी क्रमशः तेस्रो, दोस्रो हुँदै पहिलो भए ।

 

एसएलसीपछि उनी भारतको आन्द्र प्रदेशमा गएर प्लस टु अध्ययन गरे । त्यहाँबाट पढाइ सकेर नेपाल फर्किएपछि उनी मेडिकल शिक्षा पढ्न चीन गए । नेपालमा पढ्न १८ लाख रुपैयाँ बुझाउनुपथ्र्याे । महँगो भएपछि उनले एमबिबिएस पढ्न चीन नै जाने निर्णय गरे । एमबिबिएस सकेपछि उनी नेपालमै फर्किएर वीर अस्पतालमा जागिर सुरु गरे । त्यहाँ उनी न्युरो विभागमा काम गर्थे । 


उपकरणको अभाव 
न्युरो सर्जनसम्बन्धी उपचार विधि खर्चिलो छ । यसका लागि चाहिने ल्याब तथा उपकरणमा पनि सरकारले पर्याप्त लगानी गरेको छैन । जसका कारण सरकारी अस्पतालमा न्युरोसम्बन्धी उपचार सेवा नपाएर बिरामीहरू निजीमा जान बाध्य छन् । यही उपचारका लागि चाहिने उपकरण भित्र्याउन सजिलो पनि छैन । डा. केसीले सर्जनका लागि चाहिने उपकरण ल्याउँदा निकै झन्झट पनि भोगे । संयोगवश उनका चिनियाँ शिक्षकले उनलाई करोडौँ पर्ने जर्मनी माइक्रोसकोप उपहार दिए । त्यसपछि बल्ल माइक्रो सर्जरीको सुरुवात गरेको डा. केसी बताउँछन् ।

 

उनको अनुभवमा सरकारी अस्पतालमा न्युरो वा अन्य रोगका बिरामीको अप्रेसन वा उपचार गर्न कठिन छ । भन्छन्, ‘वीर अस्पतालमा काम गर्दा त्यस्तै समस्या झेलेको थिएँ ।’ पछि उनले न्युरो सर्जन सेवालाई मोफसलमा सुरु गर्न थालेपछि माइक्रोसकोप किन्ने योजना बनाए । तर, नेपालमा किन्न निकै महँगो छ । यसको मूल्य अहिले पनि डेढ करोड पर्छ । मूल्य महँगो भएपछि डा. केसीले यो उपकरण बाहिरबाट ल्याए । यो उपकरणमा प्रयोग हुने एउटा ब्लबबाट पाँच सय घन्टासम्म अप्रेशन गर्न मिल्छ । उनले चौराह अस्पतालमा आठ वर्षमा दुई हजार सात सय न्युरोसम्बन्धी बिरामीको शल्यक्रिया गरिसकेका छन् । 


मध्यरातमा अप्रेसन
डा. केसीले जति बिरामीको चेकजाँच गरेका छन्, उनीहरू सन्तुष्ट हुन्छन् । सामान्यतया उनले ओपिडीमा दैनिक २० जना बिरामी हेर्छन् । तर, गम्भीर अवस्था र अप्रेसन नै गर्नुपर्ने बिरामी भए उनी दिनरात भनी काम गर्छन् । कहिलेकाहीँ रातिसमेत अप्रेसन गर्नुपर्ने डा. केसी बताउँछन् । बिरामीको चाप भएका वेला दैनिक तीनजनासम्म बिरामीको अप्रेसन हुन्छ । 


कस्तो जीवनशैली अपनाउने ? 
उनका अनुसार स्नायु प्रणाली मानिसको ठूलो सम्पत्ति हो । मानिसको स्नायु प्रणाली ठिक छ भने ऊ आफ्ना दैनिक कार्यकलाप सहजै गर्न सक्छ । तर, स्नायु बिग्रियो भने उसको जीवन नै नरकसरह हुन्छ । त्यसकारण स्नायु ठिक राख्न रहनसहनमा पनि ध्यान दिनु जरुरी रहेको डा. केसी बताउँछन् । मस्तिष्कमा समस्या आउन नदिन खानपान र रहनसहनकै प्रमुख भूमिका हुन्छ । उनका अनुसार शारीरिक अभ्यास पनि महत्वपूर्ण हुन्छ । मदिरा तथा धुम्रपान सेवन नगर्ने, पुग्दो मात्रामा शारीरिक अभ्यास गर्ने, समयमा सुत्ने, उठ्ने । धेरै गुलियो, पिरो, अमिलो खानेकुरा नखाने । उच्च रक्तचाप हुन नदिने हो भने न्युरोसम्बन्धी समस्याबाट जोगिन सकिन्छ ।