• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
छविरमण सिलवाल
२०८० जेठ ६ शनिबार ०६:२५:००
साहित्य

भुइँमान्छेका जीवनगाथा

२०८० जेठ ६ शनिबार ०६:२५:००
छविरमण सिलवाल

नेपालको ऐतिहासिक नगरी पनौतीमा बसोवास गर्ने सूर्यप्रसाद लाकोजू नेपाली साहित्यमा एक उत्प्रेरकका रूपमा देखिएका छन् । साहित्यमा आफू एक्लै भन्दा पनि हुलै बोकेर साहित्ययात्रामा निस्किन उनी मन पराउँछन् । नेपालको प्राचीन सहर पनौतीमा थुप्रै सर्जक छन् । सबै सर्जक तनमनले सिर्जनामा सेवारत छन् । लाकोजू अग्रपंक्तिमा साहित्यको मोर्चा सम्हाल्दै छन्, अक्षरमार्गको सहारामा । 


सूर्यप्रसाद लाकोजू साहित्यसँगै संस्कृतिमा पनि कलम दौडाउँछन्, नियात्रा, मुक्तक, कविता तथा बालसाहित्यमा पनि उनको लेखन अब्बल छ । विभिन्न विधाका करिब एक दर्जन पुस्तक प्रकाशित भइसकेका सूर्यको ‘सत्याग्रह’ कथासङ्ग्रह भने पहिलो हो । मैले यी भूमिका बाँध्नुको कारण पनि उनको कथा कृति ‘सत्याग्रह’माथि केही मनमा लागेका कुरा लेख्नका लागि नै हो । 


उनको लेखन स्वेरकल्पनाभन्दा पनि समाजका यथार्थ चित्रण बढी भेटिन्छन् । ‘सत्याग्रह’मा भएका एघारैवटा कथामा समाजसँग ठोक्किएका पात्र छन् । कतै आफ्नै जस्तो लाग्ने, कतै हामीले देखेका पात्रझैँ लाग्ने र कतै इतिहासमा सुनेका यथार्थ कहानीहरू कथारूपी शब्दका मालामा उनेका छन्, लाकोजूले । उनका कथामा असमान समाजका यथार्थ बिम्ब भेटिन्छन्, अन्याय र अत्याचारको जालोले ढाकेको हाम्रो समाजको चित्र भेटिन्छन्, हुने र नहुनेबीचको बढ्दै गएको दूरीले निम्त्याएको विकराल स्वरूप भेटिन्छन् । गणतान्त्रिक मुलुकमा पनि जनता रैती भएर बाँच्नुपरेका कैयौँ घटना–परिघटना कथामा अटाएका छन् । प्रविधिले समाजमा ल्याएको विकृतिमाथि कथाकारले धाबा बोलेका छन् । मानिस सामाजिक प्राणी भएर पनि असामाजिक बन्दै गएकोमा कथाकार चिन्तित मात्र छैनन्, यसलाई कसरी निर्मूल पार्न सकिन्छ भनेर कथामार्फत समाजमा चेतना छर्न व्यस्त छन् । 


प्रजातन्त्र ल्याउन लडेका, योगदान दिएका तथा शरीर अंगभंग पारेर जीवन चलाइरहेकाहरूका आवाज कथामार्फत लाकोजूले पोखेका छन् । स्वार्थी दुनियाँमा सत्यको लडाइँ लड्दै गर्दा सहादत भएका सहिदका परिवारका दुःखद कथा ‘सत्याग्रह’मार्फत आएका छन् । ‘सत्याग्रह’का एघार कथाले समाजमा भड्किरहेका तथा बाटो बिराएकाहरूका लागि मार्गनिर्देशन गरिरहेका छन् । लेखक आफैँ यसै समाजसँग पौँठाजोरी गरेर बसेका पात्र हुन्, समाजका हरेक घटनाका साक्षी छन् उनी । यसैलाई उनले लिपिबद्ध गरेका छन् । 


लाकोजू समकालीन चेत भएका कथाकार हुन् । उनलाई वर्तमानले जब पिरोल्छ, तब कथा लेख्छन् भन्ने प्रमाण उनको कथासङ्ग्रह ‘सत्याग्रह’ले बोलेको छ । नेपाली राजनीतिको इतिहासमा वर्तमान पुस्ताले भोगेको एउटा दर्दनाक अवस्थाका साक्षी स्वयं लेखक पनि हुन् । त्यसैले आम मान्छेभन्दा लेखकले त्यो समाजलाई राम्ररी केलाउँन र मूल्यांकन गर्न सक्छ र फेरि त्यही समाजलाई सतर्क गराउँनका लागि साहित्यका विविध विधामार्फत सजग गराइरहन्छ । त्यसमध्ये नेपाली समाजलाई सजग गराउँनका लागि लाकोजूले कथा विधा रोजेका छन् । 


लाकोजू कथाकार मात्र होइनन्, कवि, सम्पादक, संस्कृतिकर्मी तथा बाल साहित्यकार पनि हुन् । उनका कथामा व्यस्त हुँदै गएको नेपाली समाज र यसले निम्त्याएको विकृतिको यथार्थ स्वरूप पनि भेटिन्छ । एघारओटै कथाले हाम्रो समाजको सही चित्रणका साथै विगतदेखि वर्तमानसम्मकै एउटा तितो यथार्थ उजागर गरेका छन् ।


लेखक पनि यही समाजको एउटा नागरिक भएका कारण उसले समाजका हरेक घटना सामना गरिरहेको हुन्छ, आममान्छेहरू मात्र मूकदर्शक बनेर रहन्छन् भने एउटा लेखकले समाजका संगत–असंगत पक्षलाई साहित्यका विविध विधामार्फत व्यक्त गर्छन् । हो लाकोजूले पनि त्यही गरेका हुन्, ठ्याक्कै समाजका बिम्बलाई कथामार्फत व्यक्त गरेर समाजलाई मार्र्गनिर्देशन गरिरहेका छन् । ‘सत्याग्रह’का यी कथा यसैका उपज हुन् । 


संसारमा अनेक प्रकारका मान्छे बसेका छन् । कसैसँग कसैको स्वभाव मिल्दैन, अनुहार मिल्दैन, व्यवहार पनि मिल्दैन, भाषा र वेशभूषा पनि मिल्दैन, तर रगत सबैको रातो नै हुन्छ, रुने र हाँस्ने भाषा एउटै हुने गर्छ, मानवीय संवेदना एउटै हुने गर्छ । हो तिनै भूगोलका धेराबाट समग्र मानवीय चेतनाको संयुुक्त आवाज लाकोजूले यो कथासङ्ग्रहमार्फत पोखेका छन् । 
लाकोजूको ‘सत्याग्रह’ पहिलो कथा सङ्ग्रह हो, कथा सरल छन्, प्रेमिल छन् । कतिपय कथामा वर्णन पक्षको बाहुल्य छ । द्वन्द्व र उपकथा कथाका मेरुदण्ड हुन्, यी पक्ष पनि केही कमजोर देखिए पनि समग्रमा कथा प्रेमिल, पठनीय र सन्देशमूलक छन् । कथायात्रामा लाकोजूलाई शुभकामना !