• वि.सं २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
विवेक पोख्रेल
२०८० जेठ ६ शनिबार ०६:३८:००
रिपाेर्ट

चित्तौन कचेहेरी : चिन्तनको मूलधारमा निषेधित आवाज

‘कचेहेरी’मा नयाँ दृश्य देखिए– सधैँ सडकमा देखिनेहरू सेसनमा बोलिरहेका थिए, सधैँ सेसनमा देखिनेहरू प्रेक्षालयमा सुनिरहेका थिए

२०८० जेठ ६ शनिबार ०६:३८:००
विवेक पोख्रेल

 

चितवनको नारायणी कला मन्दिरमा आयोजित ‘चित्तौन कचेहेरी’को डबलीमा बसी डा. भानेश्वर पोखरेलले आफ्ना अनुभव सुनाइरहँदा प्रेक्षालयका दर्शकले एकछिन वैशाखको गर्मी भुलेका थिए । किनकि उनका अनुभव नै त्यस्तै थिए । पोखरेलले कुनै समय डेनमार्कमा मासिक आठ–दश लाख कमाउँथे । परदेशमा लाखौँ कमाइ भए पनि उनलाई चित्त बुझेन ।

युरोपको बसाइ, जीवनशैली सबथोक त्यागेर उनी नेपाल फर्किए, र सुरु गरे माडीमा प्रांगारिक कृषि फार्म तथा अनुसन्धान केन्द्र । कथित विकसित भनिएको देशमा युवाहरू भासिएपछि नफर्किने दुश्चक्रलाई पोखरेलले तोकेका थिए ।डा. पोखरेलसँगै डा. अनन्त दाहाल र डा. कृष्णप्रसाद पौडेल वक्ताका रूपमा थिए । रश्मी श्री सिंहले सहजीकरण गरेको ‘कृषिमा उद्यमशीलता ः कर्म र मर्म’ सेसनमा सबै वक्ताका अनुभव निकै गहकिला थिए । कृषिका चुनौती र कृषकका मर्ममाथि केन्द्रित यो सेसन निकै रुचाइयो । 


अर्को सेसन सुरु भयो, ‘न्यायको लामो लडाइँ ।’ यो सेसनले सबैको मन झस्कायो । आइतमाया चेपाङ र अनिता चेपाङले आफ्ना कथा सुनाउन थालेपछि हलमा सन्नाटा छायो । राप्ती नगरपालिका–२ पिप्ले मिलनचोक घर भएका राजकुमार २०७८ साउन १ मा साथीहरूसँगै माछा मार्न र निउरो टिप्न राप्ती तरेर चितवन निकुञ्ज जाँदा सेनाले गैरकानुनी रूपमा निकुञ्ज आएको भन्दै आइतमायाको छोरासहित उनका साथीहरूलाई कुटेको थियो । सेनाको कुटाइले राजकुमारको ज्यान गयो । सबैका सामु आफ्नो छोरा गुमाएको पीडा आइतमायाले पोख्न सकिनन् । उनी बोल्न नसकी स्तब्ध हुँदा धेरैका आँखा रसाएका थिए । 


माडी चौकीडाँडाकी ४६ वर्षीया अनिता चेपाङको कथा उस्तै थियो । दुई दशकअघि निकुञ्जका एक सैनिकसँग उनको प्रेम सम्बन्ध रहन गयो । सैनिकले अनितालाई बिहे गर्ने विश्वास दिलायो र गर्भवती बनाई बेपत्ता भयो । छोरी लिएर श्रीमान् खोज्दै वर्षौं हिँडिन् । न्यायको लडाइँमा उनी मात्रै थिइनन्, उनीजस्तै १८६ जना पीडित महिलाले सैनिकपीडित संघ नै खोले । अनिताले न्यायका लागि लडेको संघर्ष सुनाइरहँदा पनि हल स्तब्ध भएको थियो । उनीहरूसँगै सेसनमा सहभागी सन्तोष बोट, हिरादेवी चौधरी, रामजीवन महतो र लक्ष्मी महतोको पनि संघर्ष कम थिएनन् । उनीहरू मञ्चमा बोलिरहँदा यस्तो लाग्थ्यो, बोल्नुपर्ने खास मानिसले बोलिरहेका छन् ।


कला, साहित्य, संगीतको पुरानो धरोहरका रूपमा रहेको चितवनको नारायणी कला मन्दिरमा वैशाख अन्तिम हप्ता यस्तै–यस्तै विषयका फरक दृश्य देखिए । सधैँ गीत, संगीतमा रमाउनेको भिड देखिने यहाँ मानिसहरू विचार मन्थनको उत्सवमा सहभागी थिए । थारू समुदायकोे शब्दबाट नामकरण भएको ‘चित्तौन कचेहेरी’मार्फत किनारामा पारिएका मानिसका मुद्दालाई सामाजिक चिन्तनको मूल धारमा प्रकट गर्न आयोजकले यो उत्सव आयोजना गरेको थियो । ‘चित्तौन कचेहेरी’को अर्थ ‘चितवनको सभा’ हुन्छ । 


चितवनका विभिन्न आन्दोलनमा सडकमा देखिने, तर सधैँ राज्यले उपेक्षामा राखेको बोटे, चेपाङ, थारूलगायत आदिवासी जनजाति, दलित समुदायका व्यक्ति वक्ताका रूपमा थिए । त्यस्तै, सम्भवतः चितवनको साहित्यिक महोत्सवमा पहिलोपटक मधेसबारे चर्चा भयो । भोला पासवान, डा. रामजी राम, अञ्जु झा वक्ता रहेको सभालाई पत्रकार तथा लेखक चन्द्रकिशोरले सहजीकरण गरेका थिए । अहिलेको संघीयता मधेसी समुदायको हितमा नरहेको वक्ताहरूले बताइरहँदा भोला पासवानले वर्तमान संघीयतालाई इन्जिनविनाको गाडीको संज्ञा दिए । उनले भनेका थिए, ‘मधेसका लागि यो संघीयता इन्जिनविनाको गाडीजस्तै भएको छ ।

चितवनका विभिन्न आन्दोलनमा सडकमा देखिने, तर सधैँ राज्यले उपेक्षामा राखेको बोटे, चेपाङ, थारूलगायत आदिवासी जनजाति, दलित समुदायका व्यक्ति वक्ताका रूपमा थिए । त्यस्तै, सम्भवतः चितवनको साहित्यिक महोत्सवमा पहिलोपटक मधेसबारे चर्चा भयो ।

 

आवाजमा मात्रै समावेशी छ, व्यवहारमा छैन ।’ वक्ता अञ्जु झाले मधेसका दल र नेताहरूमा वैचारिक विचलन देखिएको बताइन् । मधेस आन्दोलनमा महिलाको भूमिकालाई राज्यले देख्न नसकेको उनको भनाइ थियो । डा. रामजी रामले मधेस आन्दोलनले मात्रै मधेसी समुदायको समस्या समाधान गर्न नसक्ने र त्यसभित्र पनि दलित तथा उत्पीडित समुदाय अझ समस्यामा रहेको बताए । ‘मधेसको आन्दोलन सकिएपछि म दलित हुन्छु । मैले त्यो आन्दोलनबाट अधिकार पाउँदिनँ । मैले फेरि दलितका लागि आन्दोलन गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा म कुनचाहिँ पहिचान बोकेर जाने भन्ने प्रश्नले सताउँछ ।’


त्यस्तै अर्को सानदार सेसन थियो, ‘जब्बर जात व्यवस्था ः समाज अघि बढ्दै छ कि पछि ? ।’ राजनीतिकर्मी रूपा सुनारले भनिन्, ‘पुस्तौँदेखि विभेद भोगिरहेको दलित समुदायले अहिले पनि विभेद भोग्दै छ । यद्यपि अहिले विभेदको प्रकृति फरक छ । यसबाटै उन्मुक्तिका लागि कम विभेदको आशामा धर्म परिवर्तन भइरहेको छ । जात व्यवस्था उन्मूलन हुन्छ भनेर धर्म परिवर्तन गर्नु तावाको माछा भुंग्रोमा पर्नु जस्तै हो ।’ उनले दलित मुक्तिका लागि सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने धारणा राखिन् । 


सामाजिक अभियानकर्मी विकास विश्वकर्माले ऐन–कानुन बने पनि विभेद हट्न नसकेको बताए । लेखक एवं अध्येता शिवहरि ज्ञवालीले परिवार र समाजले नै जातीय भेदभाव गर्न सिकाएको बताउँदै थिए । उनले दलित आन्दोलनमा चितवनको योगदानबारे सविस्तार वर्णन गरे । यो सेसनको सहजीकरण कवि मनोज लोहारले गरेका थिए । 


‘विकासमा कहाँ छुटे आदिवासी ?’ शीर्षकको सेसन पनि त्यस्तै भव्य भयो । वक्ताहरूले नेपालको वर्तमान विकास निर्माणले आदिवासी जनजातिको हक–अधिकारलाई वञ्चित गराएको बताए । वीरेन्द्र महतोले सहजीकरण गरेको सभामा अधिकारकर्मी तथा कवि इन्दु थारूले नेपालको विकास आदिवासी जनजातिको पहुँचविपरीत रहेको बताइन् । ‘गाउँमा मोटर बाटो खुल्यो, गाडी गुड्यो, तर, त्यही गाडी चढ्न सक्ने हैसियतमा त्यहाँका आदिवासी जनजाति छन् कि छैनन् भन्ने कुरा राज्यले बुझेन,’ उनले भनिन्, ‘अनि कसरी भयो आदिवासी जनजातिका लागि विकास ?’


अध्यापक सञ्जय महतोले चितवन राष्ट्रिय निकुञ्जबाट आसपासका आदिवासी जनजाति समस्यामा परेको बताए । निकुञ्जलाई मानवरहित बनाउने निकुञ्ज ऐनले पुस्तौँदेखि बस्दै आएका यहाँका आदिवासी जनजाति समुदायलाई अधिकारबाट वञ्चित गराउँदै मर्नसम्म बाध्य बनाइएको उनको भनाइ थियो । सेसनमा सहभागी सुनिमाया चेपाङले विकास र निकुञ्ज ऐन दुवैबाट चेपाङ समुदाय नराम्ररी प्रभावित भएको बताइन् । जल, जमिन र जंगलमा आश्रित हुनुपर्ने जाति र समुदायलाई नै सबै अधिकारबाट वञ्चित गराउँदा त्यसबाट पर्ने असरबारे राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । लेखक तथा पत्रकार वसन्त बस्नेतले सहजीकरण गरेको ‘नयाँ युगको राजनीति : विचार कति, व्यवहार कति ?’ विषयक सेसनमा सांसद सोविता गौतम, लेखक केशव दाहाल र गुणराज लोहनी वक्ताका रूपमा सहभागी थिए । उनीहरूले राजनीतिमा विचार र व्यवहार दुवै महत्वपूर्ण हुने बताए । 


दुई दिनसम्म चलेको कचहेरीमा ‘घर गाउँको सिंहदरबार : कति विकास, कति शासन ?’ महिलामाथिको हिंसा : यथार्थ र भाष्य’, ‘पानी र पर्यावरण : नदी र भूमिगत जलाधारको दुर्दशा’, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अस्तित्व र आत्मसम्मानको खोजी’, ‘कसरी लेखिँदै छ चितवनको आख्यान ?’, ‘रैथाने भाषाको साहित्य’, ‘चितवन : हिजो, आज र भोलि’लगायत १४ विषय थिए ।


यो उत्सवको अर्को महत्वपूर्ण पक्षलाई छुटाउने मिल्दैन । त्यो हो, महिला लेखक तथा अधिकारकर्मीको विद्वत् प्रवचन । आजसम्मको साहित्यिक महोत्सवमा प्रायः पाका उमेरका पुरुष वक्ता नै ‘कि नोट स्पिकर’का रूपमा सहभागी भएको देखिन्छ । अझ सेसनमा महिला हुनुपर्छ भन्ने आवाज उठेपछि मात्रै महिलालाई सेसनमा राखिन्छ । ‘चित्तौन कचेहेरी’मा अधिकारकर्मी तथा साहित्यकार राधा पौडेलले विद्वत् प्रवचन दिइन् । उनले साहित्य, समाज र महिला हिंसाको विषयमा प्रवचन दिइन् । निकै लामो समयदेखि मर्यादित महिनावारीबारे पैरवी गर्दै आएकी उनले आफ्ना अनुभवसँगै वैचारिक विषयबारे बोलिरहँदा सहभागी निकै उत्साहित भएर सुनिरहेका थिए ।


पहिलो दिन अन्जान प्रदीपले निर्देशन गरेको ‘थाहा ?’ नाटक पनि कचहेरीमा प्रर्दशन गरियो । सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकहरूको सम्झनामा उक्त मञ्चन गरिएको थियो । दोस्रो दिन प्रदीपकै ‘स्वप्न वयान’ नाटक मञ्चन गरियो । पहिलो दिन देशका विभिन्न स्थानबाट चितवन पुगेका २२ जना कविहरूले कविता वाचन गरेका थिए भने दोस्रो दिन ६ जना चर्चित गजलकारहरूले गजल वाचन गरी कचहेरीको समापन गरेका थिए । 


यही उत्सवमा चितवनकै लेखकले लेखेका दुइटा पुस्तक पनि सार्वजनिक भए । चेपाङ बालबालिकाका लागि शैक्षिक अभियान चलाउँदै आएका चितवन रत्ननगरका केपी किरण शर्माले लेखेको किताब ‘भुमरी’ र डा.जीवन क्षेत्रीको पुस्तक ‘नुन–तेल’को गृह विमोचन पनि भयो । 


हलबाहिर विभिन्न लेखकका पुस्तक राखिएका थिए । आएका अतिथिलाई मौलिक सेलरोटी र थारू परिकारहरू ढिक्री, चिचर, घोँगी, बेलको जुस, माछाका विभिन्न परिकारको व्यवस्था पनि आयोजकले गरेको थियो । ‘चित्तौन कचेहेरी’को संयोजक एवं उत्सव निर्देशक सरिता तिवारीले दुईदिने उत्सवले जातीय, क्षेत्रीय, लैंगिक आदि हिसाबले किनारमा परेकाहरूको मुद्दा उठाउन सकेको बताइन् । ‘देशमा अपार बौद्धिक सम्पत्ति छ, तर समाजले सबैको आवाज सुनेको छैन,’ उनले भनिन्, ‘हाम्रो प्रयास थुनिएका र चर्काे स्वरले निषेध गरेका आवाजलाई चिन्तनको मूलधारमा ल्याउनु हो । मान्छेका जीवन–मरणका विषय उठान गर्नु हो ।’ तिवारीले यो उत्सवलाई वैकल्पिक विचार केन्द्र निर्माण गर्ने थलोको रूपमा विकास गर्ने बताइन् ।


काठमाडौँभन्दा बाहिर हुने अधिकांश साहित्यिक महोत्सवमा काठमाडौंबाटै वक्ताहरू जाने र स्थानीयले सुन्नेजस्तो देखिन्थ्यो । तर, चितवन कचेहेरीमा यसको ठिक उल्टो देखियो । तिवारी भन्छिन्, ‘हामीले स्थानीय विषय र स्थानीय वक्तालाई जोड दियौँ । समुदायले बोल्ने र बाहिरबाट आएका वक्ताहरूले सुन्ने काम यसपटक भयो । सबैको साथ र सहयोगले कार्यक्रम सफल भयो ।’ 


चितौन कचेहेरीको दोस्रो संस्करण आउँदो हिउँदमा गर्ने महोत्सवका सह–निर्देशक जीवन क्षेत्रीले जानकारी दिए । त्यो संस्करणमा किनारमा पारिका अझै धेरै मानिस समेट्ने उनले सुनाए । ‘मन्थन’, ‘डबली द स्पेस’, ‘दलित युवा जागरण मञ्च नेपाल’, ‘बेटर चितवन’, ‘युथ पोलिटिकल फोरम’ र ‘नारायणी कला मन्दिर’को संयुक्त आयोजनामा ‘चित्तौन कचेहेरी’ भएको थियो ।