• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन बराइली
२०८० जेठ ६ शनिबार ०६:५२:००
समाज

अनि गाउँ पुग्यो ‘गोर्खाली तक्मा’

२०८० जेठ ६ शनिबार ०६:५२:००
पवन बराइली

सहरमा हुर्किएर संगीत पढेका–बुझेका अधिकांश युवाको सोच हुन्छ, विदेशमा कन्सर्ट गर्ने, महँगा पप–क्लबहरूमा गीत गाउँने । तर, ‘गोर्खाली तक्मा’ ग्रुपका दुई तन्नेरी अजित न्यौपाने र अतुलराज (सफिक) न्यौपानेको सपना र गन्तव्य भने फरक छ । यी सहोदर दाजुभाइ चोक र गल्लीमा गितार बनाउँदै झुमेका देखिँदैनन् । बरु देखिन्छन्, गाउँ बस्तीमा, स्कुलका चौरमा गितार बजाउँदै गीत गाइरहेको । 


काठमाडौंको धापासीमा जन्मे–हुर्केका यी दुई तन्नेरी गाउँका स्कुलमा सांगीतिक अभियान लिएर पुगिरहन्छन् । अजित दाजु हुन् भने सफिक भाइ । यी दाजुभाइ गितार बजाउँदै लोकसंगीत गाउँछन् । दाजुभाइ नै गायक, गीतकार हुन् । वाद्यवाधन पनि बजाउन निपूण छन् । उनीहरूको विशेषता भनेकै गितारमा लोकशैलीका गीत गाउनु हो । सफिक भन्छन्, ‘हामी सबै किसिमका गीत गाउँने गर्छौं । बालबालिकालाई मन पर्ने गीत विशेष गाउँछौँ । कतिपय पुराना गीतलाई पनि नयाँ शैलीमा गाउँछौँ ।’


सुरुवाती दिनमा उनीहरू तपोभूमि ब्यान्डसँग आबद्ध थिए, जहाँ दाजुभाइ नै गिटारिस्ट तथा गायकका रूपमा काम गर्थे । उनीहरू ठमेलका क्लब, बार, रेस्टुराँमा गीत गाउँथे । तर, यो ब्यान्ड लामो समय टिकेन । केही समयपछि उनीहरू त्यस ब्यान्डबाट अलग भएर ‘हिपअप’ गीत आफैँले बनाउन थाले । आफ्नै घरमा स्टुडियो खोलेर संगीत सिर्जना गर्न थाले ।

 
ब्याचलर पढ्दै गर्दा उनीहरू लाइभ म्युजिकतिर आकर्षित भए । त्यसपछि साथीहरूसँग मिलेर ब्यान्ड स्थापना गरे । बुबाले ब्यान्डको नाम जुराइदिए ‘गोर्खाली तक्मा ब्यान्ड’ । त्यसपछि उनीहरू ठमेलका रेस्टुराँमा गीत गाउन थाले । करिब ६ महिना ठमेलको रेस्टुँरामा गीत गाएपछि उनीहरूले ठमेललाई नै आधार बनाएर गीत सिर्जना गरे, ‘वाकिङ फिरिरी...’ । लोक–लयमा आधारित ‘वाकिङ फिरिरी’ले निकै चर्चा पायो । उक्त गीतले करिब ६० लाख भ्युअर्स पाएपछि दाजुभाइ झनै उत्साहित भए । 

उनीहरू राजधानीका महँगा क्लब र बारमा गीत गाउँथे । तर, गीत गाएको चित्तबुझ्दो पारिश्रमिक पाउँदैनथे । ठमेलका गल्लीहरूमा हातमा गितार बोकेर मध्यराति विनापैसा पनि हिँड्थे । उनीहरू सहरको रमझममा थिए, तर मन खुसी थिएनन् । जब बालबालिकालाई संगीत सुनाउँदै गाउँगाउँ पुगे, उनीहरूले पैसा त पाएनन्, तर मनभरि खुसी 
भने पाए । 


भूकम्पले सिकाएको पाठ 
‘वाकिङ फिरिरी...’मा ठमेलदेखि पोखराको लेकसाइटसम्मको सुख–दुःखलाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अजित भन्छन्, ‘गीतको भिडियो बनाउन निकै कठिन भयो । साथीहरूसँग पनि पैसा उठाएर करिब साढे दुई लाख लगानीमा भिडियो बनायौँ । त्यही क्रममा ब्यान्ड ‘गोर्खाली तक्मा’ स्थापना गरेका हौँ ।’ 


ब्याचलर अफ सोसल वर्क पढ्दै गर्दा उनीहरू थुप्रै संघसंस्थामा आबद्ध भए । त्यहाँ उनीहरूले सामाजिक कार्यमा सक्रिय हुने मौका पाए । त्यही क्रममा उनीहरूले काठमाडौंका अनाथालयमा पुगी बालबालिकालाई संगीत पनि सिकाए । गाउँमा जाँदा बालबालिकालाई गीत सुनाउँने, अनुशासनका कुरा सिकाउने, संगीतबारे बुझाउने गर्छन् । यति मात्रै होइन, उनीहरूले स्कुलमा बिरुवा पनि रोप्ने गरेका छन् । अजित भन्छन्, ‘०७२ को भूकम्प आएका वेला राहत वितरणको काममा पनि खटियौँ । त्यसवेला काठमाडौंको बौद्धमा क्याम्प बनाएर सयौँ बालबालिका राखिएको रहेछ । त्यहाँ हामीले सांगीतिक प्रस्तुति दियौँ । भूकम्पले त्रसित भएका वेला हामीले गीत गाउँदा बालबालिक निकै खुसी भए ।’


उनीहरू महँगा क्लब र बारमा गीत गाउँथे । तर, गीत गाएको पारिश्रमिक नपाउँने । ठमेलका गल्लीमा हातमा गितार बोकेर मध्यराति खाली हात हिँड्थे । विनापैसा थुप्रै गीत गाए । उनीहरू सहरको रमझममा थिए, तर मन खुसी थिएन । जब बालबालिकालाई संगीत सुनाउँदै गाउँगाउँमा पुगे, उनीहरूले पैसा त पाएनन्, तर मनभरि खुसी भने पाए । 


स्कुलमा पढिरहेका विद्यार्थीलाई यी दाजुभाइले संगीतमार्फत नयाँ ऊर्जा थपिदिए । विद्यार्थीहरू उनीहरूको गीत सुन्दै नाचे, सँगसँगै गाए । विद्यार्थी उत्साहित भएपछि उनीहरूले भूकम्प प्रभावित जिल्लामा जाने योजना बनाए । सफिक थप्छन्, ‘हामीले काठमाडौं मात्रै होइन, भूकम्पले क्षति भएका गाउँमा पनि जानुपर्छ भन्ने सोच बनायौँ । भूकम्पले दुःखी भएका मानिसलाई खुसी बनाउने र बालबालिकालाई देश प्रेम र समाजप्रति उत्तरदायी बनाउने लक्ष्य लिएर यो अभियान सुरु ग¥यौँ ।’


सांगीतिक अभियानकै क्रममा गोरखा, मुस्ताङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, लमजुङ, नुवाकोटलगायत २० भन्दा बढी सामुदायिक विद्यालयमा पुगेर उनीहरूले सांगीतिक प्रस्तुति दिइसकेका छन् । काभे्रपलान्चोक र रसुवाको विद्यालयमा महिना दिन बिताएको सफिक सुनाउँछन् । अजित थप्छन्, ‘सांगीतिक माहोलले कक्षामा सधैँ उस्तै, उही विषय पढिरहेका विद्यार्थीलाई नयाँ ढंगले सोच्न प्रेरित गर्दाे रहेछ । तपाईंहरू फेरि हाम्रो स्कुलमा आउनुपर्‍यो भनिरहेका छन् ।’ गाउँमा पढेलेखेका जति प्रायः वैदेशिक रोजगारीमा छन् ।


सांगीतिक प्रस्तुतिले बालबालिकालाई संगीतसँगै अनुशासनका कुरा सिकाएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘ठमेलमा रक्सी खाएका मान्छेलाई मनोरञ्जन दिनुभन्दा गाउँका बालबालिकालाई संगीतको ज्ञान बाँड्छौँ । बालबालिकालाई शिक्षामा अग्रसर गराउन संगीत नै माध्यम बनाएका हौँ ।’


सफिकले अहिले पनि काठमाडौंका विभिन्न बालगृहका बालबालिकालाई बाँसुरी, मादल, धिमे, सारंगीलगायत नेपाली बाजा निःशुल्क सिकाउँदै आइरहेका छन् । उनी भन्छन्, ‘चाँडै नै गाउँ–गाउँसम्म संगीत सिकाउन जाने योजना छ । त्यहाँका विद्यालयमा जनचेतना तथा प्रेरणात्मक संगीत पस्किने प्रयास हुनेछ ।’