• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दीपा दाहाल
२०८० जेठ ६ शनिबार ०७:१४:००
समाज

तपाईंको घर कहाँ हो ? तपाईं कहाँ बस्नुहुन्छ ?

२०८० जेठ ६ शनिबार ०७:१४:००
दीपा दाहाल

 

यो प्रणाली भनिरहन्छ– स्वास्नीमान्छेका दुइटा घर छन् । दुइटा थर छन् । तर, पितृसत्ताको यो राजनीति बुझ्न सूक्ष्म विश्लेषण आवश्यक पर्छ ।

 

सोध्नेलाई सोधिदिए पुग्छ । सोधिनेसँग जवाफ होस् नहोस् बालै भएन । कहिलेकाहीँ सरल प्रश्नको जवाफ पनि अक्करे भिरभन्दा जटिल हुन सक्छ । छोटो उत्तर लेख, भन्ने प्रश्नमै लामो समय खर्च हुन सक्छ । मेरा लागि त्यस्तै एउटा दुरुह प्रश्न हो– तपाईंको घर कहाँ हो ? बाटोमा, पसलमा, चोकमा, बजारमा, कार्यस्थलमा अथवा जहाँकहीँ होस्, जोसुकैले होस् नाम र कामसँगै सोध्ने अनिवार्य प्रश्न हो यो ।


भर्खरै जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । तथ्यांक भन्छ– आफ्नै घरमा बस्ने जनसंख्या ८६ प्रतिशत रहेको छ । त्यो प्रतिशतमा मेरो गणना घर हुनेहरूमा भएको छ । जुन सरासर गलत छ । कारण, म बेघर छु ।सुन्दा अथवा सोध्दा सामान्य लाग्ने यो प्रश्न मजस्ता बेघर मान्छेलाई सोधिँदा भने बडो सकसपूर्ण लाग्दो रहेछ । लाग्दो रहेछ यसर्थ कि केही समयअघिसम्म मलाई बेघर भएको महसुस थिएन । अचेल (विवाहपश्चात्) जब कसैले घर सोध्छ, दिमाग काँकडभिट्टा विराटनगरको ननस्टप बसझैँ हुइँकिन्छ घर खोज्न । सवारीका लागि खाली गरिएकोे सडकझैँ रित्तो–रित्तो हुन्छ हृदय । आफूले बनाएको घर छैन । अरूले यो तेरो हो भनिदिएको घरलाई घर मान्न मन तयार हुँदै हुँदैन । अरूले यो अबदेखि तेरो होइन भनेको घरलाई मेरै हो भनेर जबर्जस्ती गर्न पनि अहंले दिँदैन । तब लाग्छ, बिलाइदिऊँ त्यहीँ, भागौँ प्रश्नहरूले नभेट्ने बाटो ।


घर नभेटे पनि जवाफ नभेटी सुख छैन । चलाखीपूर्वक भनिदिन्छु, फलानो ठाउँमा बस्छु । तपाईंको घर कहाँ हो को सट्टा तपाईं कहाँ बस्नुहुन्छ ? भनेर सोधिदिए सोध्नेको के जान्थ्यो ?घर छैन भन्दा हीनताबोध हुने अथवा सम्भावित उपेक्षाको सिकार भइने डरले होइन, त्यसपछि झेल्नुपर्ने तर्कवितर्क, स्पष्टीकरणका लम्बेतान विवेचनासँग भाग्न यस्तो जवाफ दिन्छु । लाग्छ, सोध्नेहरूलाई थाहा छ मेरो घर छैन । उनीहरू र्‍याखर्‍याख्ती पार्छन्, फलानोकोदेखि कता, ढिस्कानोकोदेखि कता? तब सविस्तार वर्णन गर्नुको विकल्प रहँदैन ।


घर नहुनु मेरो छनोट वा बाध्यता हुन सक्छ । समाज र कानुनले भनिदिएको घरलाई घर मान्न नसक्नु नितान्त मेरो अनुभूति, चेतना वा विद्रोह हुन सक्छ । घर सोध्नेहरूले जवाफ सुन्ने धैर्यता राख्दैनन् । बरु लोग्नेको हिंसा सहन नसकेर आमाबाबुको शरणमा पुगेकी छोरीलाई जसरी माइतीले कोसेलीसहित लोग्नेकै घर फिर्ता पठाउँछन्, उसैगरी तर्कद्वारा मलाई घर दिलाइदिन लागि पर्छन् ।


मलाई घर चाहिएको छैन, तिम्रा प्रश्नबाट छुटकारा मात्रै चाहिएको हो । यो कुरा बुझाउँदा–बुझाउँदै थाहै नपाई मेरो शक्ति भने अनावश्यक खर्च भइरहेको छ ।मान्छे विविध कारणले घरविहीन भएको हुन सक्छ । हामीले आर्थिक पाटोलाई मात्रै महत्व दियौँ । बेघर हुनुलाई गरिबीसँग मात्र जोडेर हेर्‍यौँ । यसका धार्मिक, सामाजिक, राजनीतिक पक्ष सधैँ ओझेल पारिरह्यौँ । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलालाई सधैँ बेघर बनाएर औंलो ठड्याइरह्यौँ– तेरो घर यही हो । शताब्दीऔँ अघि सिमोन दि बोउवारले भनेकी थिइन्, ‘महिलासँग गुमाउनलाई केही छैन, न घर न थर ।’ महिला आन्दोलनको लामो यात्रा छिचोलिसके पनि महिलाको अवस्था अहिले पनि सिमोनले भनेभन्दा फरक छैन । कानुनले पतिको घरलाई ‘वासस्थान त्यही हो तेरो’ भनिदिएको छ ।

घर र वासस्थानमा के फरक छ ?
घर र वासस्थानमा के समान छ ? मेरो विचारमा लिंग र लैंगिकताबीच जस्तो अन्तर छ, ठिक त्यस्तै अन्तर वासस्थान र घरबीचमा छ । घर समाजले निर्माण गरेको अतिशय भावुकता हो । संसारका हरेक प्राणीको वासस्थान हुन्छ, जसरी हरेकको लिंग हुन्छ । तर, मान्छेबाहेक कुनै प्राणीको घर हुँदैन, जसरी तिनको लैंगिकता हुँदैन । 

मान्छे विविध कारणले घरविहीन भएको हुन सक्छ । हामीले आर्थिक पाटोलाई मात्रै महत्व दियौँ । बेघर हुनुलाई गरिबीसँग मात्र जोडेर हे¥यौँ । यसका धार्मिक, सामाजिक, राजनीतिक पक्षलाई सधैँ ओझेल पारिरह्यौँ । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलालाई सधैँ बेघर बनाएर औँलो ठड्याइरह्यौँ– तेरो घर यही हो ।
 

जन्मजात घर नभएकाहरू, बालखैमा घर छाडेकाहरू, कारणवश घर गुमाएकाहरू, रुचि वा बाध्यताले घरविहीन बसेकाहरू अथवा घर भएर पनि घरको आभास नभएकाहरू, घरभित्रै पनि बेघर महसुस गर्नेहरू सबको अनुभूति समान हुँदैन । आर्थिक अभावले घरविहीन हुनुपरेको पीडाको उपचार स्वेच्छाले घरमा नबसेका व्यक्ति वा घर भएर पनि घरको महसुस गर्न नपाएका व्यक्तिका लागि उपयोगी नहुन सक्छ । जसरी एउटै रोगको पनि व्यक्तिको जैविक, रासायनिक तत्वअनुरूप फरक औषधि र उपचार आवश्यक पर्छ, उसैगरी घर नहुनुको पनि भिन्न कारण, लक्षण र उपचार पद्धति हुन्छ, हुनुपर्छ (यदि घरै चाहिने हो भने) । होइन भने घरको लैंगिकतालाई नांगेझार पारिनुपर्छ ।


हाम्रो समाजमा जन्म, विवाह, मृत्युजस्तै घर बनाउनुलाई पनि मानवजीवनको अनिवार्य कर्म मानिन्छ । तसर्थ घर नहुनेहरू घर बनाउन र घर हुनेहरू अझ राम्रो घर बनाउन जीवनको महत्वपूर्ण समय खर्च गर्ने गर्छन् । आजको पुँजीबजारमा जग्गा किनेर घर बनाउन एउटा भुइँमान्छेलाई सिंगो जीवन लाग्न सक्छ । हिसाब गरिल्याउँदा यसको तुलनामा डेरामा बस्नु धेरै सस्तो पर्न जान्छ । तर, हामीभित्र घरको लैंगिकता यस्तरी टाँस्सिएको छ कि सम्पूर्ण ऊर्जाशील समय खर्च गर्नुपरे पनि हामी खुसी–खुसी तयार हुन्छौँ । मानौँ घर नहुनु भनेको नांगो हुनु हो ।

 

डेरावाललाई घरबेटीले मात्र नभएर समाज तथा आफ्नै नातेदारले समेत विभेदको स्वाद चखाउन भ्याउँछन् । दिनभरि काम गरेर साँझ साथीभाइसँग अलिबेर गफिँदा अथवा फिल्म हेर्न जाँदा ढिलो भए घरबेटीले गेट नखोल्देलान् वा झर्को मान्लान् भनेर एकखाले तनाव सधैँ भइबस्छ ।


केही वर्षअघि पहिलोपटक कवि सीमा आभासको डेरामा पुग्दा दिदी घर बनाउन भुटभुटिनुभएको सम्झिन्छु, ‘छिमेकमा पुराण लागेको छ, बालख छोराले जाऊँ भनेर हत्ते हाल्छन् । नबोलाई जान हुँदैन भनेर सम्झाउने उमेर छैन छोराको, के भनेर फकाउने ?’ दिदी गुनासिनुहुन्छ, ‘डेरा बस्ने भनेर छिमेकीले हेपे ।’ त्यसको एक वर्षपछि सीमा आभासको घर बन्यो । 
दमकमा डेरा गरी बस्ने मेरी दिदीलाई हुर्किंदै गरेका छोराछोरीले सोध्न थाले, ‘ममी हामी गरिब मान्छे हो ?’ यो कुरा अबोध बालबालिकालाई तिनका साथीले भनेका थिए, ‘तिमेरको घर छैन, तिमेरु गरिब हौ ।’ अहिले एक वर्ष भयो उनीहरू आफ्नै घरमा बस्न थालेको ।


समस्या सहरका डेरामा मात्रै छैन । आजभोलि गाउँमा पनि डेराजसरी बस्ने मानिसहरू निकै बढेका छन् । पहाडबाट मधेस, गाउँबाट सहर, सानो सहरबाट ठूलो सहर, ठूलो सहरबाट विदेश बसाइँ सर्नु नेपाली समाजको विशेषताजस्तै भएको छ । यस्तोमा पहाडको आफ्नो पाखो, बारी, फराकिलो घर छाडेर मधेस झरेकाहरू, सहर पसेकाले छाडेको रित्तो घरमा बस्दै आएका छन् । लामो समय एउटै मोहीलाई घरजग्गामा बस्न दिँदा राज्यको नियमानुसार अंश दिनुपर्ने डरले त्यस्ता मोहीलाई घरवालाले एकाध वर्षमा निकालिदिन्छन् । उनीहरू एक घरबाट अर्को घर, एक गाउँबाट अर्को गाउँ सरिरहन विवश छन् । 

सन्तानको मनोविज्ञानमा थप नकारात्मक असर पर्न नदिन पनि घर बनाउनैपर्ने अवस्था आयो । यस्तै अवस्था आएका कैयौँ अभिभावक होलान्, जोसँग घर बनाउन सक्ने हैसियत छैन । हामीले घरलाई दिइरहेको अत्यधिक महत्वले घर नभएका आमाबाबु र तिनका बच्चाको मानसिकतामा कस्तो प्रभाव छाडिरहेका छौँ ? यसको लेखाजोखा कसले गर्ने ?
 


घरको विकल्प डेरा, होटेल, होस्टेल, आश्रम आदि विविध हुन सक्छ । घरको फाइदा वा बेफाइदाबारे व्यापक बहस हुन सक्छ । यो लेखको आशय घरलाई दिइएको अधिक महत्वले घर नभएका १४ प्रतिशत जनता र घर भएको भनिएका तर बेघर महसुस गर्ने मजस्ताले भोगिरहेको मानसिक समस्याको उठान गर्नु हो । 


आमबुझाइको घर जुन एउटा परिवारको निजी स्वामित्वको आश्रयस्थल हो, यसको पहुँचबाट भावनात्मक, संवेगात्मक हिसाबले कति मानिस जोडिन बाँकी होलान् ? मेरो चासो त्यतातिर हो ।किशोरावस्था पार गरेपछि बिहे गर्न, बिहे गरेपछि छोराछोरी जन्माउन, घर बनाउन दबाब दिइरहनु, मानौँ समाजको कर्तव्य हो । ऊ आफ्नो कर्तव्यमा खरो उत्रिन कुनै कसर बाँकी राख्दैन । तर, उसले जान–अन्जानमा गरेका यस्ता हर्कतले आममानिसको धारणा निर्माणमा कसरी प्रभुत्व जमाइराखेको छ भन्ने कुराको हेक्का रत्तिभर गर्दैन ।

 

जान–अन्जानमै हामी आफ्ना कृत्यद्वारा अर्को व्यक्तिको मानसिक क्षयीकरण गर्ने ढाल बनिरहेका छौँ । यो सत्य स्विकार्न अबेर भइसकेको छ । यो गल्ती सच्याउन ढिला भइसकेको छ ।मेरी दिदी र कवि सीमा आभासले सन्तानको मनोविज्ञानमा थप नकारात्मक असर पर्न नदिन पनि घर बनाउनैपर्ने अवस्था आयो । यस्तै अवस्था आएका कैयौँ अभिभावक होलान्, जोसँग घर बनाउन सक्ने हैसियत छैन । हामीले घरलाई दिइरहेको अत्यधिक महत्वले  घर नभएका आमाबाबु र तिनका बच्चाहरूको मानसिकतामा कस्तो प्रभाव छाडिरहेका छौँ ? यसको लेखाजोखा कसले गर्ने ?


मधेसमा बर्सेनि बसाइँ सर्दै हिँड्ने मोही बाबुआमाका कठिनाइ र तिनका सन्तानले भोग्नुपरेको अस्थिर बालापनको जिम्मेवारी कसले लिने ? ‘जसको जोत उसको पोत’ भनेर मोहीको हितमा राज्यले ल्याएको नीतिले अन्ततः मोहीलाई नै कष्ट दिइरहेको जानकारी उसलाई किन छैन ?


बस्नलाई त वासस्थान भए पुग्छ, तर समाजमा बाँच्नलाई घर नभई नहुने रहेछ । घर मुख्यतः अरू धेरै कुरा सँगै प्रसंग बेप्रसंग सोध्नेलाई दिने जवाफ रहेछ । बेघर भएपछि महसुस भयो, घर नहुनु भनेको निरुत्तर हुनु रहेछ । केहीबेर अकमकिनु, थकथकिनु, धकाउँदै, भकभकाउँदै अमूर्त जवाफ दिनु रहेछ ।


गत वर्षको चैत्र २२ गते गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर भनिदियो, पितृत्वको ठेगाना नभएको वा विवाहअघि जन्मिएको बच्चाले मावलीको थरबाट जन्मदर्ता पाउनेछ– (हाल सच्याएको) । सन्तान जन्म दिने आमाको हैसियत मामा वा मावलीभन्दा पर देख्ने राज्यका लागि मजस्ता बेघर महिलाको समस्या जहाजबाट भुइँका मान्छे नदेखिनुबराबर हो ।यो प्रणाली हाम्रा आँखामा छारो हाल्न हरदिन पण्डित्याइँ छाँट्दै भनिरहन्छ– स्वास्नीमान्छेका दुइटा घर छन् । दुइटा थर छन् । सतहमै बसेर सोचिल्याउँदा हो जस्तै लाग्ने पितृसत्ताको यो राजनीति बुझ्न विभेदको गहिरो अनुभूति र सूक्ष्म विश्लेषण आवश्यक पर्छ ।


सत्य प्रायः कुरूप देखिने गर्छ । किनकि हाम्रा आँखा झुटलाई हेर्न अभ्यस्त छन् । तसर्थ हामीलाई सत्यको आँखा तिरमिराउने उज्यालोभन्दा भ्रमको रिमरिम अँध्यारो प्रिय लाग्छ । धेरै महिला आफ्नो घर, थर, नाम, पहिचान नहुनुको दुसत्यलाई स्विकार्नभन्दा दुइटा घर, दुइटा थर भएको सुखद् झुटलाई स्विकार्न तयार हुन्छन् । किनकि यसलाई स्विकार्न 
मिहिनेत गर्नुपर्दैन । यो हाम्रो स्वभावजन्य छ ।


कहिलेकाहीँ उनीहरू यसलाई मौन स्वीकार मात्रै गर्दैनन्, खुलेयाम समर्थन र हस्तक्षेप गर्न पनि तम्सिन्छन् । यसैलाई भजाएर धर्म, संस्कार, राजनीतिका ठेकेदार टुक्का भर्छन्, ‘आइमाईका शत्रु आइमाई नै हुन् ।’राज्यले महिलाको नाममा सम्पत्ति दर्ता गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । जसकारण पछिल्लो समय महिलाका नाममा सम्पत्ति दर्ता हुने गरेको देखिन्छ । महिलालाई सम्पत्तिमा पहुँच दिलाउने राज्यको नीति कागजी रूपमा भए पनि थोरै सफल भएको मान्नुपर्छ ।


घर वा जग्गा वा दुवैको स्वामित्व भएका महिला २३.८ प्रतिशत रहेको जनगणना २०७८ को नतिजाले बताउँछ । जुन २०६८ सालको जनगणनाभन्दा १.१ प्रतिशतले बढी हो । तर, प्रायजसो आफ्नै नाममा भएको घर, निर्माणदेखि बेचबिखनसम्ममा भने महिलाको अधिकार र उपस्थिति शून्यबराबर हुने गर्छ । 


घरलाई जति विशेष र भव्य बनायो, उति नै यो धेरैबाट अलग्गिँदै जाने रहेछ । जो जहाँ बस्छ, त्यहीँ नै उसको घर हो । यति सामान्य कुरा बुझे घर नभएकै कारण भोग्नुपर्ने सामाजिक विभेदको अन्त्य हुनेछ । सरकारले निकालेको आँकडालाई सत्य मान्ने हो भने पनि लाखौँ मान्छेले एक किसिमको विभेदबाट मुक्ति पाउनेछन् ।


मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद २ को बुँदा नम्बर ८७ भन्छ, ‘पति र पत्नीले आपसी समझदारीमा छुट्टै वासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।’कानुनले बुझेको रहेछ, घरस्थान सबैको नभए पनि वासस्थान हरकोहीको हुन्छ । हामीले कहिले बुझ्ने ? जनजिब्रोले कहिले बोल्ने ? आउनुस्, हामी आफैँले पहल गरौँ । एउटा प्रश्न बदलौँ ।तपाईं कहाँ बस्नुहुन्छ ?