• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर
२०८० जेठ १३ शनिबार ०६:१४:००
सम्झना

मकिन्द्र घर फर्किंदाको खुसी

२०८० जेठ १३ शनिबार ०६:१४:००
मुना कुँवर

दुई दिन अघि मेसेन्जरमा निर शाहीको मेसेज आयो । लेखिएको थियो– ‘मुना मेडम तपाईंलाई धन्यवाद ! मकिन्द्र शाही नेपाल पुग्यो । तपाईंको समाचार नै उसको उद्धारको प्रारम्भिक आधार हो ।’मेसेज पढेपछि लामो सास फेरेँ । मन हल्का भयो । वरपरको वातावरण रमाइलो लाग्यो । नजिकै छोरी थिइन्, उनलाई गएर अँगालो हालेँ । उचालेर घुमेँ । म यसरी खुसी भएँ कि मैले कुनै युद्ध नै जितेको छु वा मलाई चिठ्ठा परेको छ ।


घटना गत चैतको हो । रिपोर्टिङको सिलसिलामा फागुनको अन्तिमतिर मलेसिया पुगेकी थिएँ । वैदेशिक रोजगारीको विषयमा समाचार लेख्ने हुँदा मलेसिया भ्रमण मेरो लागि महत्वपूर्ण थियो । नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये मलेसिया एक हो । रोजगारीमा गएका कामदारको पीडाका घटना त धेरै लेखेँ । तर, प्रत्यक्ष अवलोकन गरौँ भन्ने सोचले मलेसिया जाने योजना बनाएकी थिएँ । 


मलेसियामा पुग्ने हरेक नेपालीका लागि कोतराया चिरपरिचत स्थान हो । कोतराया नेपाली बजारले चिनिन्छ । यहाँ धेरै नेपालीले मोबाइल पसल, फेन्सी र रेस्टुरेन्ट सञ्चालन गरेका छन् । त्यसैले म खाना खानका लागि कोतराया नै जान्थेँ । मलेसिया हुँदा मलाई प्रवासी नेपाली मञ्चका मलेसिया प्रतिनिधि पूर्ण सुब्बाले रिपोर्टिङका लागि धेरै सहयोग गर्नुभएको थियो । 


त्यो दिन पनि पूर्ण सरले खाना खुवाउन कोतराया लग्नुभयो । उहाँसँगै जीवन तामाङ पनि हुनुहुन्थ्यो । जीवन र पूर्ण सरबीच घनिष्टता छ । त्यसैले उहाँहरू धेरैजसो सँगै देखिनुहुन्छ । हामी कोतरायाको घन्टाघरनजिकै कार पार्किङ गरेर नेपाली होटलमा खाना खान जाँदै थियौँ । नजिकै एउटा व्यावसायिक भवन पनि थियो । भवनको विपरीत सवारी साधन पार्किङ गर्ने स्थान थियो । बीचमा पैदलयात्रुका लागि बाटो थियो । बाटोभन्दा अलि छेउ भवनको पेटीमा एकजना पुरुष उत्तानो परेर सुतिरहेका थिए । हामी तीनजना आफ्नै सुरमा थियौँ । 


अचेत अवस्थामा सुतिरहेको देखेर म छक्क परेँ । मलेसियामा पनि यस्ता बेवारिसे हुँदा रहेछन् भन्ने मनमनै सोचेँ । यो त कानुन भएको विकसित मुलुक हो । प्रहरी प्रशासनले त उठाउनुपर्ने मनमनै गमेँ । 


कालो पाइन्ट, खैरो नेपाली आर्मीको ड्र्रेसजस्तो टिसर्ट लगाएको, पातलो तर अग्लो, खैरो खालको टिसर्ट देखेपछि मलाई यो मानिस नेपाली हो जस्तो लाग्यो । अनि मैले भनेँ, ‘पूर्ण सर यो मान्छे त नेपालीजस्तो पो छ ।’‘म्याम यो मान्छे भारतीय पनि हुन सक्छ । बंगाली पनि नेपालीजस्तै देखिन्छन्,’ उहाँले भन्नुभयो । 


अनि मैले नजिकै गएर हेरेँ । 


तर, पूर्ण सरले नजिक जान दिनुभएन । 


‘यो मानिस रक्सी खाएर मातेको पनि हुन सक्छ । यस्तो मानिसको नजिक गयो भने झम्टन पनि बेर लगाउँदैन,’ पूर्ण सरले भन्नुभयो । उहाँ यस्ता घटनाबाट गुज्रिनुभएको रहेछ । 


त्यसपछि म हच्किएँ । 


तर, मैले अटेरी गर्दै बिस्तारै नेपालीमा बोलाएँ । ‘दाइ तपाईंलाई के भयो ?’ मैले सोचेँ, नेपाली हो भने नेपाली भाषा सुनेपछि कुनै प्रतिक्रिया पक्कै आउँछ । 


नभन्दै उनले आँखा उघारे । टाउको हल्लाएर केही भएको छैन भने । तर, उनको नजिक गएर कुरा गर्ने आँट आएन । अनि हामी खाना खान गयौँ । 


जाँदाजाँदै मैले उनको एक–दुईवटा फोटो खिचेँ ।


खाना खाइरहँदा मलाई उनकै याद आइरह्यो । को होला ? कहाँबाट आएको होला ? के भएको होला ? आदि–इत्यादि ।
खाना खाएपछि जीवन र म कार पार्किङ गरेकै ठाउँमा फर्कियौँ । अघि पेटीमा सुतिरहेका ती पुरुष भने गाडी पार्किङ गरेनजिकै रुखको छहारीमा पलेटी कसेर बसिरहेका थिए । उनीसँगै अर्का एक मानिस पनि थिए । दुवैजना कुरा गर्दै थिए ।
उनलाई देखेपछि मेरो मनलाई सन्तुष्टि भयो । अनि हामी उनी नजिकै गयौँ । मैले सोधेँ, ‘तपाईं नेपाली हो ?’ उनले हो भने । उनीसँगै भएको मानिस बंगाली रहेछ । नेपालीसँग कुरा गर्न थालेँ । 

मैले अटेरी गर्दै बिस्तारै नेपालीमा बोलाएँ । ‘दाइ तपाईंलाई के भयो ?’ मैले सोचेँ, नेपाली हो भने आफ्नो भाषा सुनेपछि कुनै प्रतिक्रिया पक्कै आउँछ । नभन्दै उनले आँखा उघारे । टाउको हल्लाएर केही भएको छैन भने । तर, उनको नजिक गएर कुरा गर्ने आँट आएन । 


‘तपाईंको घर कहाँ हो,’ मैले सोधेँ । 


‘बाजुरा’ उनको जवाफ थियो । 


‘नाम के हो नि ?’ फेरि सोधेँ । 


‘मकिन्द्र शाही’ उनले भने । 


मैले फेरि प्रश्न गरेँ, ‘कुन कम्पनीमा काम गर्नुहुन्छ ?,’ उनले बताएनन् । 


मलाई लाग्यो, उनलाई बताउन अप्ठेरो लाग्यो होला । त्यसैले मैले पनि आफ्ना बारेमा उनलाई बताएँ । अनि मैले फेरि सोधेँ, ‘यहाँ किन बस्नुभएको ? आज छुट्टी हो र ?’ उनले भने, ‘मेरो यहाँ तालिम चलिरहेको छ । म तालिममा आको ।’ 


मैले उनकोे पासपोर्ट खोइ भनेर सोधेँ । उनले केही भनेनन् । अनि फेरि सोधेँ, ‘तपाईँ नेपाल कहिले जाने ?’ 


‘अब जाने हो । मेरो लागि हेलिकोप्टर लिन आउँदै छ । म भगवान् हो, म अल्लाह पनि हो, म नै जिसस हो । म नेपालको राजा हो । मलाई हेलिकोप्टर लिन आउँदै छ,’ उनले भने । उनको कुराले हामी असमञ्जसमा पर्‍यौँ । 


फेरि सोधेँ, ‘घरमा को–को हुनुहुन्छ ? घरमा कुरा हुन्छ कि नाइँ ? पछिल्लोपटक कहिले कुरा भयो ?,’ उनले भने, ‘हो गर्छु । घरमा कुरा भइरहन्छ । मेरो मनमा टेलिफोन छ । त्यही फोनबाट मेरो कुरा हुन्छ ।’ 

आप्रवासी कामदारका लागि मलेसिया उत्कृष्ट गन्तव्य भए पनि हावापानी, खानपान, कामको प्रेसर, एक्लोपनलगायतका कारण धेरै कामदारमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । मकिन्द्र शाही मानसिक स्वास्थ्य समस्याका कारण मलेसियामा अलपत्र अवस्था थिए । उनी अहिले नेपाल आइसकेका छन् । 


कुराकानीको शैलीले उनको मानसिक स्वास्थ्य ठिक नभएको स्पष्ट भयो । उनले मादकपदार्थ पनि सेवन गरेका थिएनन् । त्यसैले हामीलाई लाग्यो–उनको नाम, ठेगाना पनि सत्य नहुन सक्छ । 


मैले भनेँ, ‘तपाईलाई घरको नम्बर थाहा छ ? म फोन लगाइदिऊँ ?’ 


‘नम्बर नै याद छैन,’ खल्तीबाट फुटेको मोबाइल देखाउँदै भने, ‘यो बिग्रिएको छ । यसमा केही आउँदैन ।’ 


त्यसपछि उनले पछाडिको खल्तीबाट नागरिकता निकाले र देखाए । त्यसपछि भने निश्चित भयो उनको नाम र ठेगाना । नागरिकताअनुसार उनको नाम मकिन्द्र शाही रहेछ । उनका घर बाजुरा नै रहेछ । 


हामी नरिवल–पानी खाँदै थियौँ । जीवनले सोध्नुभयो, ‘पानी पिउनुहुन्छ ?’ उनले पिउँछु भने । अनि जीवनले आफ्नो भागको नरिवल पानी उनलाई दिनुभयो । 


जीवनले सोध्नुभयो, ‘खाना खानुभयो ? उनले भने, ‘धेरै दिन भयो खाना नखाएको ।’ त्यसपछि जीवनले होटेलबाट खाना मगाइदिनुभयो । उनलाई खाना खान दियौँ । 


उनीसँग एकछिन कुराकानी गरेपछि उनको मानसिक स्वास्थ्य ठिक नभएकाले अलपत्र परेको हामीले अनुमान ग¥यौँ । 
जीवनले सोध्नुभयो, ‘तपाईंलाई के समस्या छ ? पैसा चाहिन्छ ? हामीले केही गर्नुपर्छ ?’ जीवन तामाङ मलेसियामा नै व्यापार गर्नुहुन्छ । तर, आपत्मा परेका नेपालीलाई उहाँले धेरै सहयोग गर्नुभएको छ ।

 
तर, उनले कुनै समस्या नभएको र आफू आराम गरिरहेको बताए । त्यसपछि हामी त्यहाँबाट हिँड्यौँ । 


त्यस दिन मैले क्वालालम्पुरमा रहेको होस्टेलमा गएर रिपोर्टिङ गर्नु थियो । बेलुका होटेल फर्किंदा ढिलो भइसकेको थियो । त्यसैले सुतेँ । तर, मकिन्द्र कहाँ के गर्दै होला भन्ने मनमा कुरा खेलिरह्यो । एक मनले सोचेँ, ‘यो राति उनी कतै सडकमा नै त छैनन् !’ फेरि अर्को मनले सोचेँ, ‘उनलाई बेलुकी साथीभाइले लिएर गए होलान् । अहिले उनी साथीभाइसँग कोठामै होलान् ।’ 


भोलिपल्ट मैले काठमाडौंस्थित अफिसमा जानकारी गराएँ र मोबाइलमा समाचार लेखेर पठाएँ । त्यसपछि म पेनाङ गएँ । पेनाङमा नेपाली कामदारसँग भेटघाट गर्ने योजना थियो । तर, योजना अचानक बनेको कारण कामदारको समय मिलाउन सकिएन । तर, मनमा भने मकिन्द्रको मात्रै ख्याल आयो । 


नयाँ पत्रिकाले पनि मकिन्द्रबारे प्राथमिकताका साथ पहिलो पृष्ठमा नै समाचार छाप्यो । सो समाचारलाई मैले फेसबुकमा पनि सेयर गरेँ । त्यसपछि मलाई पत्रकार रमा खड्काले मसेन्जरमा कल गरिन् । खड्काले मैले सेयर गरेको समाचारबारे सोधपुछ गरिन् । उनले भनिन्, ‘ती मान्छे हाम्रै जिल्लाका रहेछन् । उनलाई उद्धार गर्नुपर्‍यो ।’ अनि मैले आफूले थाहा भएको कुरा भनेँ । उनले मकिन्द्रको उद्धारका लागि आफ्नो ठाउँबाट प्रयास गरिरहिन् । 


दुई दिनको बसाइपछि म रात्रिबस चढेर केल जाँदै थिएँ । बसमा निद्रा नलागेपछि मोबाइल चलाउँदै थिएँ । मेसेन्जरमा दुई–तीनजना नयाँ व्यक्तिबाट मेसेज आएको रहेछ । मेसेज हेरेँ । मेसेजमा मकिन्द्रबारे सोधिएको थियो । मैले उनका बारेमा आफूले थाहा पाएको जानकारी गराएँ । 


म पेनाङबाट क्वालालम्पुर आउँदासम्म थुप्रैले मेसेज गरेका रहेछन् । कोही भन्छन्, ‘मकिन्द्र मेरो दाजु पर्ने हो ।’ कोही भन्छन्, ‘मकिन्द्र मेरो भतिजो पर्ने हो ।’ कोही भन्छन्, ‘मकिन्द्र मेरो अंकल हो ।’ कोही भन्छन्, ‘मकिन्द्र मेरो गाउँको मान्छे हो ।’ धेरैजनाले मकिन्द्रको बारेमा सोधपुछ गर्न थाले । मैले सबैको मेसेज हेर्न भ्याइनँ । 


एकजनाले भारतको उडिसाबाट मेसेन्जरमा कल गरे । उनले भने, ‘मकिन्द्र मेरो दाजु पर्नुहुन्छ । मकिन्द्र अहिले कहाँ हुनुहुन्छ, ? मलाई सम्पर्क गराइदिनू ।’ त्यस्तै, बाजुराबाट पुनिन्द्र शाहीले फोन गरे । उनले भने, ‘मकिन्द्र नाताले मेरो छोरा पर्छ । ऊ कहाँ छ ? उसलाई सुरक्षित राखिदनू । म मलेसियामा भएका हाम्रा मानिसलाई लिन पठाउँछु ।’


त्यसपछि बल्ल थाहा भयो, मकिन्द्र साँच्चै नै कसैको सम्पर्कमा रहेनछन् । त्यसो भए यिनी कहाँ छन् त ? मेरो मन आत्तियो । त्यसैले बिहान क्वालालम्पुर पुग्नेबित्तिकै मैले मकिन्द्रको आफन्तलाई पनि उनी भेटिएको ठाउँमा बोलाएँ । हामी ११ बजे सोही ठाउँमा पुग्यौँ । तर, मकिन्द्र भने त्यहाँ थिएनन् । वरपर खोजेँ, कहीँ देखिएनन् । त्यहीँ बसिरहेको एकजना चौकीदारलाई सोधेँ । उनले भने, ‘उनी दिउँसो १२ बजेपछि मात्रै त्यो ठाउँमा आउँछन् ।’ 


उनी नभेटिएपछि मनमनै ग्लानि महसुस भयो । त्यही दिन मैले किन उनलाई सँगै राखिनँ ? किन कतै खबर गरिनँ ? यावत् प्रश्न मनमा खेल्न थाले । तर, नयाँ ठाउँमा यो सब तत्काल गरिहाल्न पनि दिमागमा आएन । 


दिउँसो उनी त्यहीँ आइपुगे । र, उनी आफ्ना गाउँका मानिससँगै गए । त्यसैको भोलिपल्ट म नेपाल फर्किएँ । उनका आफन्तले मकिन्द्रलाई नेपाली दूतावासको जिम्मा लगाएछन् । नाताले मकिन्द्रका काका पर्ने पुनिन्द्र शाहीले मकिन्द्रकी आमा जनसरा शाहीसँग सम्पर्क गराइदिए । 


मेसेन्जरमा कुरा गर्दै जनसराले भनिन्, ‘नानी तिम्रो भलो होस् । तिम्रो जय होस् । तिमीलाई भगवान्ले सधैँ साथ दिऊन् । तिमीले मेरो छोरालाई भेट्टाइदियौ । तिमीलाई कहिल्यै दुःख नहोस् ।’ उनले दिएको आशीर्वचनले मेरो मलेसिया यात्रा सफल भएको ठानेँ । 


मलाई त्यस दिनदेखि झनै आफ्नो पेसाप्रति गर्व लाग्यो । उनको आशीर्वादलाई म कुनै भौतिक सम्पत्तिसँग तुलना नै गर्न सक्दिनँ । छोरा बेखबर हुँदा एउटी आमाको मनमा के कस्तो कुरा खेलेको थियो होला, त्यो मैले महसुस गर्न सक्थेँ । दूतावासले दुई महिना उपचार गरेपछि गत साता मकिन्द्रलाई नेपाल फर्काइयो । दूतावासले करिब दुई लाख खर्च गरेर उनलाई मलेसियाबाट नेपाल फर्काएछ । मकिन्द्रका भाइ काठमाडाैंमा नै अध्ययन गर्दै छन् । उनीसँग मेरो सम्पर्क थियो । मकिन्द्र आएको मेसेज देख्नेबित्तिकै मैले उनलाई कल गरेँ । कल मकिन्द्रले नै उठाए । 


फोनमा मैले सोधेँ, ‘मलाई चिन्नुभयो ? 


‘अहँ ।’ उनले चिनिन भने । 


फेरि मैले भनेँ, ‘हाम्रो मलेसियामा भेट भएको थियो नि ।’


‘ए ए सिस्टर, चिनेँ चिनेँ । हजुर सन्चै हुनुहुन्छ ? मलेसियामा नै हुनुहुन्छ र,’ उनले भने । 


एकछिन कुराकानीपछि कुनै दिन भेट्ने योजनासहित फोन राखेँ । 


उनीसँग कुरा गरेपछि उनी अझै ठिक नभएको भान भयो । अनि मैले फेरि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई कल गरेँ । उनलाई लामो समयको उपचारको आवश्यकता छ । तर, अस्पताल नै बस्नुपर्छ भन्ने छैन । त्यसैले मलेसिया बसेर हस्पिटलको बिल र जरिवाना बढाइरहनुभन्दा परिवारसँग नै गएर बसून् भनेर पठाएको बताए । डाक्टरको अनुमतिमा दूतावासले उनलाई नेपाल फर्काएछ । तर, मकिन्द्रलाई अझै उपचारको आवश्यकता रहेछ । 


मलेसियामा करिब चार लाख नेपाली कामदार भएको अनुमान छ । आप्रवासी कामदारका लागि मलेसिया उत्कृष्ट गन्तव्य भए पनि हावापानी, खानपान, कामको प्रेसर, एक्लोपनलगायत कारण धेरै कामदारमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको प्रवासी नेपाली मञ्चका मलेसिया प्रतिनिधि पूर्ण सुब्बाले बताए । नेपालमा हुँदा कामदारले जुन अपेक्षा गरेको हुन्छ, त्यो मलेसियामा आएपछि हुँदैन । अपेक्षाअनुसारको नहुँदा पनि कामदार मानसिक समस्याबाट गुज्रिने उनले बताए ।