• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विराट अनुपम
२०८० जेठ १३ शनिबार ०६:३७:००
साहित्य

अजित कौर : दक्षिण एसियाली साहित्य जोड्ने ‘हेभिवेट’ हस्ताक्षर

२०८० जेठ १३ शनिबार ०६:३७:००
विराट अनुपम

नेपाल, भारत, पाकिस्तान, बर्मा, भुटानलगायत देशबाट युरोप–अमेरिका गएकाहरूको पहिचान जोकोहीले सहजै खुट्याउन सक्दैनन् । पश्चिमाहरू यी सबै देशबाट आएकाहरूलाई एसियाली वा दक्षिण एसियाली भनेर बुझ्छन् । दक्षिण एसियालीमा पनि धेरैजसोले आर्यन अनुहारलाई भारतीय भनेर अनुमान लगाउँछन् । मंगोल मुहारलाई एसियन, एसियनमा पनि चिनियाँ, कोरियन वा जापानिज भन्ने उनीहरूको अनुमान हुन्छ । 


अनुमानमै सही, एसियाली र दक्षिण एसियालीलाई पश्चिमा दुनियाँले झन्डै उस्तै नजरले हेर्छ । तर, बाहिरी दुनियाँले उस्तै ठाने पनि एसियाभित्रै भने एसियालीको एकता बलियो छैन । राजनीतिक रूपमा धेरै एसियाली देशहरूको सम्बन्ध क्षत–विक्षत् अवस्थामा छ । उत्तर र दक्षिण कोरियाको लफडा, चीन र भारत तथा भारत र पाकिस्तानको तनाव यसका प्रमुख उदाहरण हुन् । भारत–पाक शत्रुताले दक्षिण एसियाका अन्य देशलाई समेत समस्यामा पार्ने गरेको छ । 


दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)को शिखर सम्मेलन केही वर्षयता नहुनुमा पनि भारत–पाकिस्तान तनाव नै प्रमुख बनेको नजिर छँदै छ । दक्षिण एसियाको व्यापारिक र पर्यटकीय साइनो पनि उति बलियो छैन । त्यसैले त नेपालबाट थिम्पुभन्दा थाइल्यान्डमा धेरै जहाज उड्छन् । भारतबाट कोलम्बोभन्दा धेरै जहाज क्यानबेरामा उड्छन् । 


एकै हिमशृंखलाको छाया र एकै सामुद्रिक लहरको किनारमा उभिएको विशाल भूगोल दक्षिण एसियाको कनेक्टिभिटीमा हुनुपर्नेजत्ति विकास नभएको तर्क विज्ञहरूको मात्रै होइन, यो क्षेत्रका राजनेताहरूको पनि हो । उनीहरूले सार्क शिखर सम्मेलनमा यस्ता विषय उठाउँदै आएका छन् । अन्य विषयमा झैँ साहित्यमा पनि दक्षिण एसियाली समाजको कनेक्टिभिटी सोचेजस्तो छैन । केही काम त भएका छन्, तर पर्याप्त भएजस्तो लाग्दैन ।


पछिल्लो समय दिल्लीमा भएको किताब जात्रा कार्यक्रमले यस सम्बन्धलाई जोड्न एउटा नयाँ पहल थालेको छ । फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरले यो कार्यक्रम गरेको हो र यसकी हर्ताकर्ता तथा नेतृत्वकर्ता अजित कौर हुन् । नब्बे वर्षको हाराहारीमा पुग्न लागेकी कौरले दक्षिण एसियालाई साहित्यमार्फत जोड्नका लागि गरेका प्रयासबारे यो लेख केन्द्रित छ । 


सार्क एक वर्ष कान्छो फोस्वाल 
संगठनात्मक स्थापनाको तुलना गर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको हो । अन्य क्षेत्रीय संगठनहरू जस्तै गिसिसी (१९८१) र आसियान (१९६७) भन्दा कान्छो थियो सार्क । तर, दक्षिण एसियाली लेखकको संस्था फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोस्वाल) भन्दा सार्क एक वर्ष जेठो हो । फोस्वालको स्थापना सन् १९८६ मा भएको हो । 

पछिल्लो समय दिल्लीमा भएको किताब जात्राले दक्षिण एसियाको सांस्कृतिक–साहित्यिक सम्बन्धलाई जोड्न एउटा नयाँ पहल थालेको छ । ‘फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर’ले यो कार्यक्रम आयोजना गरेको हो र यसकी हर्ताकर्ता तथा नेतृत्वकर्ता अजित कौर हुन् ।
 


स्थापनाको कोणमा सार्कभन्दा कान्छो भए पनि कामको कोणमा फोस्वाल जेठो छ । स्थापनाकालदेखि नै फोस्वालले दक्षिण एसियालाई आफ्ना विविध संस्कृतिमार्फत जोड्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । यस कार्यलाई ‘ट्र्याक टु डिप्लोमेसी’ भनिएको छ । जबकि, सार्कले यही विषयलाई स्विकार्न वर्षौं लाग्यो, नोभेम्बर २००५ मा बंगलादेशको राजधानी ढाकामा भएको तेह्रौँ सार्क शिखर सम्मेलनमा बल्ल संस्कृतिलाई दक्षिण एसिया जोड्ने एक सेतुका रूपमा मान्यता दिइएको थियो । 


अफगानिस्तानलाई जोड्ने मामिलामा समेत फोस्वालभन्दा सार्क एक कदम पछि छ । फोस्वालले सन् २००२ को अप्रिल महिनामा आयोजना गरेको एक साहित्य उत्सवमा दुई अफगानी कविहरूलाई आमन्त्रण गरिएको थियो । सोही वर्ष फोस्वालले सार्कको आधिकारिक संस्थाका रूपमा मान्यता पायो । रोचक कुरा, फोस्वालले अफगानी कविहरूलाई आफ्नो कार्यक्रममा सहभागी गराएको पाँच वर्षपछि अफगानिस्तान सार्कको आठौँ सदस्य बन्यो । 


कट्टर राजनीतिक दुस्मनीका बाबजुद भारत र पाकिस्तानलाई साहित्यमार्फत जोड्ने काममा अजित कौरले देखाएको सक्रियता अनुकरणीय छ । सन् १९४७ मा विभाजित बनेपछि दुई देशबीच सीमा विवादका कारण पटक–पटक युद्ध भइसक्यो । तर, साहित्यलाई जोड्ने काम रोकिएन । पाकिस्तानका लेखक तथा साहित्यकारले सन् १९८७ मा भारतीय भूमिमा पाइला राखेका थिए । त्यस्तै, सन् २००२ मा फोस्वाल क्याराभानमा भारतीय पाकिस्तान गए । 


यतिचाहिँ किटेर भन्न सकिन्छ, यदि दक्षिण एसियाको साहित्य, कला र संस्कृति जोड्ने बलियो काम कसैले गरेको छ भने त्यो फोस्वालले गरेको छ । फोस्वालले प्रकाशन, सम्पादन र संकलन गरेका दर्जनौँ पुस्तक यसका प्रमाण हुन् ।फोस्वालको आयोजनामा भएका दर्जनौँ कार्यक्रम यसका उदाहरण हुन् । सार्क साहित्य उत्सव, जफपुर सफी साहित्य उत्सवलगायत त फोस्वालका ब्रान्डेड कार्यक्रम नै हुन् । यसबाहेक धेरै अनलाइन र अफलाइन कार्यक्रमको नेतृत्वकर्ता फोस्वाल हो । फोस्वालकी हर्ताकर्ता र नेतृत्वकर्ता हुन् अजित कौर । 


घरेलु हिंसाको प्रताडना सहेकी कौर 
सन् १९३४ को नोभेम्बर १६ मा हाल पाकिस्तानमा पर्ने लाहोरमा जन्मेकी हुन् अजित कौर । १९४७ मा भारत र पाकिस्तान बेलायतको अधीनबाट मुक्त भए । त्यसपछि उनको परिवार मुस्लिम बाहुल्य पाकिस्तान छाडेर हिन्दू बाहुल्य भारततर्फ आयो । तर, परिवारको पितृसत्तात्मक पेलानबाट कौर मुक्त भइनन् । २०१८ मा भारतको स्पिकिङ टाइगर प्रकाशन गृहले पन्जाबीबाट अनुवाद गरेर छापेको आत्मकथाको पुस्तक ‘वेभिङ वाटर’मा कौरले यसबारे एक–एक केस्रा केलाएर लेखेकी छिन् । 


कौरका अनुसार उनलाई राम्रोसँग अभिभावकत्वसमेत मिलेको थिएन । उनीभन्दा तीन वर्ष कान्छा जसवीरलाई परिवारले पुल्पुल्याएर पालेका थिए । उनले सजिलोसँग विद्यालय जान पाएका थिए । कौरलाई यस्तो सुविधा थिएन । उनले परिवारको माया पाउन मरणासन्न हुने गरी विमार पर्नुपथ्र्यो । घरमा कोही विरामी हुँदा उनको स्कुल जाने बाटो बन्द हुन्थ्यो । उनले कतै कोहीसँग बोले वा खेलेमा स्कुल जान निषेध हुन्थ्यो । उनले साहित्यका पुस्तक लुकिलुकी पढ्नुपथ्र्यो । स्थानीय अखबारमा कविता र कथा छाप्दा पूरा नाम लेख्ने आँट उनमा थिएन । त्यसैले, उनी ‘पान्ज दरिया’ र ‘फातेया’ आदि म्यागजिनमा ‘अजित’ नामले कविता लेख्ने गर्थिन् । एउटा म्यागजिनमा कथा छापिएको थाहा पाएपछि बाबुले बेस्मारी कुटेका थिए । आमाले टाउकोमा हात राखेर बिलौना गरेकी थिइन् । 


१८ वर्षको उमेरमा बिहे भएपछि उनको यो तनाव आफ्ना श्रीमान् राजको घरमा पनि दोहोरियो । उनलाई श्रीमान्ले कविता लेख्न निषेध गरे । ‘कविता इज्जतदार घरका नारीले लेख्ने काम होइन’ भनिरहे । दुवै सन्तान छोरी भएकोमा श्रीमान् खुसी थिएनन्, उनले यही कुरा उठाएर थप प्रताडना दिन्थे । १३ वर्षसम्म यातना सहेपछि उनी माइती फर्किइन् । माइतीले जबर्जस्त पीडक श्रीमान्सँग जान कर गरेपछि उनले मानिनन्, बरु दुई छोरी अपर्ना (बच्चामा भनिने नाम डोली) र पायल (बच्चामा भनिने नाम क्यान्डी) लाई लिएर अलग्गै बसिन् । अजित कौरले आफू अलग भएपछि श्रीमान् मर्दा पाउने अंशसमेत लिइनन् । ‘जिउँदो हुँदा नपाएको कुरा मरेपछि लिनु गिद्धले सिनु लुछ्नुजस्तै हो भन्दै नलिएको’ कौरले आत्मकथामा उल्लेख गरेकी छिन् । 


माइती र श्रीमान्को घरमा पाएको यातनाबाट फुत्किएपछि कौरका सफलताका दिन सुरु भए । प्रेमिल मित्र ओम प्रकाशको प्रेरणाबाट उनले हिन्दी, अंग्रेजी हुँदै विभिन्न भाषामा आफ्ना पन्जाबी साहित्य खुराक अनुवाद गराइन् । १९८५ मा पाएको साहित्य अकादमी अवार्ड र २००६ मा पाएको पद्मश्री अवार्ड कौरको साहित्य सिर्जना शक्तिका प्रमाण हुन् । विभिन्न २२ पुस्तकमा आफ्नो आबद्धता जनाइसकेकी कौरका २१ पुस्तक विश्वकै विशाल लाइब्रेरीमध्येको एक अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा सुरक्षित छन् ।


उसो त दुःख झेले पनि कौरले बाल्यकालमै आफ्नो सम्भावनाको प्रस्फुटन गरिसकेकी थिइन् । उनले नौ वर्षकै उमेरमा विश्वविद्यालयको परीक्षा दिएकी थिइन् । ‘यसपछि पन्जाबमा कम्तीमा १४ वर्ष पुगेकाले मात्रै विश्वविद्यालयको परीक्षा दिन पाइने प्रावधान आयो’ उनको आत्मकथामा उल्लेख छ । 


भारतकी प्रख्यात लेखिका अमृता प्रितमका पिता गियानी कर्तार सिंह हितकरलाई आफ्नो विद्यालयमा देखेपछि साहित्यप्रति झुकाव बढेको उनले आत्मकथामा उल्लेख गरेकी छिन् । प्राध्यापक राम सिंहले सम्पादन गरेको म्यागजिन ‘नभियान किमतान’मा छापिएको कथाले आफूलाई कथाकार बन्न बलियो प्रेरणा दिएको पनि उनले बताएकी छिन् । कौर ८८ वर्षको उमेरमा पनि साहित्यमै रमिरहेकी छिन् । आफ्नी पेन्टर छोरी अर्पनासँग उनको मात्र होइन, दक्षिण एसियाको कला साहित्य र संस्कृतिको समेत लय मिल्दै आएको छ । दक्षिण एसियाली साहित्यको सम्बन्ध बलियो बन्न कौरको दीर्घायु आवश्यक छ ।