• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
टोपलाल अर्याल
२०८० जेठ १३ शनिबार ०६:५७:००
खेल

भारतका लागि पदक जितेका दीपक गाउँ फर्केर तेक्वान्दो सिकाउँदै

देशको मायाले गाउँ फर्किए, प्रतियोगिता आयोजना गर्दा ऋण बोके

२०८० जेठ १३ शनिबार ०६:५७:००
टोपलाल अर्याल

 

गुल्मी इस्माका चौरमा दैनिक खेलाडीसँगै उफ्रिरहेका हुन्छन्, दीपक घर्ती । २७ वर्षीय दीपक इस्मा–३ दर्लाचौरमा जन्मिएका हुन् । दीपक ०५६ सालमा परिवारसँगै भारत पसे । सानैदेखि भारतमा पढे । तर, परिस्थितिले कक्षा ८ भन्दा माथि पढ्न पाएनन् । १४ वर्षको उमेरमै होटेलमा काम सुरु गरे । उनलाई सानैदेखि तेक्वान्दो सिक्ने रहर थियो । कैयौँपटक परिवारमा प्रस्ताव राखे । तर, आर्थिक अभावका कारण परिवारले उनको रहर पूरा गर्न सकेन । 


त्यसपछि दीपक सानैदेखिको रहर पूरा गर्न परिवारको स्वीकृतिविनै लुकेर कभर्ड हलमा जान थाले । बिस्तारै होटेलको काम पनि बिगारेनन्, डब्लुटिएफ तेक्वान्दो पनि सिक्दै गए । उनलाई एकातिर खेल लेख्नु थियो, अर्कोतिर गरिबीका कारण होटेलमा काम गर्नैपर्ने बाध्यता थियो । दीपकलाई कामबाट फुर्सद मिलाउन र परिवारलाई ढाँट्न त्यति सजिलो थिएन । विभिन्न समस्या आए पनि उनको खेलप्रतिको समर्पण भाव घटेन । दीपकले ०७० सालमा अल इन्डिया तेक्वान्दो एकेडमीबाट ब्ल्याक बेल्ट हासिल गरिछाडे । 


ब्ल्याक बेल्टसँगै दीपकले एउटा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए ।  ‘इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप’मा जुनियरतर्फबाट सहभागी दीपकले भारतका लागि पदक जिते  ।  भारतको जुनियर र सिनियर आधा दर्जनभन्दा धेरै खेलमा उनी सहभागी भए । हरियाणा राज्यको खेलमा त उनी प्रथम नै भए । त्यसपछि भारतमा थुप्रै क्षेत्रीय र राष्ट्रियस्तरका खेलमा सहभागी भए ।

 ‘इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप’मा जुनियरतर्फबाट सहभागी दीपकले भारतका लागि पदक जिते ।  राष्ट्रिय खेलाडीको रूपमा आफ्नो परिचय बनाए । मिडियामा चर्चा कमाएपछि मात्रै दीपकले तेक्वान्दो खेल्ने रहेछ भन्ने परिवारले पत्तो पाए ।

 

राष्ट्रिय खेलाडीको रूपमा आफ्नो परिचय बनाए । मिडियामा चर्चा कमाएपछि मात्रै परिवारले दीपकले तेक्वान्दो खेल्ने रहेछ भन्ने पत्तो पाए । ‘परिवारले खेल्न नदिनेमा ढुक्क थिएँ । निकै दुःख झेलेर ब्ल्याक बेल्ट पाएँ र थुप्रै प्रतियोगितामा भिडेँ,’ उनी भन्छन्, ‘मिडियामा खबर आएपछि मात्रै परिवारले पत्तो पायो ।’ दीपकको परिवारलाई भ्रम थियो, यस्तो खेल खेल्दा नसाको रोग लाग्छ, चोट–पटक लाग्छ । तर दीपकले भ्रम तोड्दै एकपछि अर्को सफलता हासिल गरेपछि परिवार खुसी भयो । 


अहिले दीपकसँगै उनको परिवार पनि भारतबाट फर्किएर गाउँ आएको छ । दीपक अहिले गाउँ–गाउँमा तेक्वान्दो सिकाउँछन् । बुबा टंकबहादुर घर्तीले छोराको खेलबाट आफू खुसी भएको प्रतिक्रिया दिए । ‘सुरुमा यस्तो खेलले मान्छे पछि बिरामी हुन्छ भन्ने भ्रम थियो । हामीसँग पैसा पनि थिएन । तर, अहिले छोराको सफलताले खुसी दिलाएको छ । छोराछोरीको प्रतिभालाई वेलैमा चिन्नुपर्ने रहेछ,’ टंकबहादुरले भने ।


दीपकले भारतमा ब्ल्याक बेल्ट पाए । भारतमै तीन वर्ष प्रशिक्षक बनेर तेक्वान्दो सिकाए । थुप्रै खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले भारतमै कैयौँ अवसर पाएका थिए । तर, बिस्तारै जन्मभूमिमै केही गर्ने सपना देख्न थाले । त्यसपछि नेपाल फर्किएर ०७२ सालबाट नवलपरासीको अरुणखोलामा प्रशिक्षण सुरु गरे । दीपकले नवलपरासीमा करिब पाँच वर्ष डब्लुटिएफ तेक्वान्दो सिकाए । उनी पछिल्लो साढे दुई वर्षदेखि आफ्नै गृहजिल्ला गुल्मी आएका छन् । उनी आएपछि राष्ट्रिय तेक्वान्दो संघ गुल्मीको स्थापना गरे । संघको जिल्ला अध्यक्ष दीपक नै हुन् । 

इस्मामा साढे दुई सय तेक्वान्दो खेलाडी र प्रशिक्षक आए । खेल व्यवस्थापनका लागि आयोजकले सात लाख बजेटको अनुमान गरेको थियो । तर, चन्दाबाट डेढ लाख रुपैयाँ मात्रै संकलन भयो । बाँकी साढे पाँच लाख ऋण दीपकले नै व्यहोरेर प्रतियोगिता सम्पन्न गरे । 


दीपकले इस्मा गाउँपालिकाको वडा नं १, २, ३ र ४ का विद्यालयका करिब ८० जना विद्यार्थीलाई तेवान्दो सिकाउँदै आएका छन् । हप्तामा चार दिन प्रत्येक स्थानमा एकदेखि डेढ घन्टा प्रशिक्षण दिँदै आएका छन् । अहिले थुप्रै खेलाडी ब्ल्याक बेल्ड पाउने चरणमा छन् । उनले महिनामा २० हजार कमाउँछन् । त्यो कमाइ मोटरसाइलमा पेट्रोल राख्न पनि पुग्दैन । तर, आफूले लुकेर प्राप्त गरेको खेलकौशल गाउँका बालबालिकालाई सिकाउन पाउँदा दीपक खुसी छन् । ‘मैले पैसा ठूलो सोचेको भए भारतमै राम्रो थियो । खेल र गाउँको मायाले स्वदेश फर्किएँ,’ दीपक भन्छन् ।


यो खेलको कोर्स तीन वर्षको हुन्छ । एल्लो, ग्रिन, ब्लु, रेड, हाफ ब्ल्याक र फुल ब्ल्याक बेल्ड पाएपछि कोर्स पूरा हुन्छ र उक्त खेलाडीले अन्तर्राष्ट्रिय कोरियन सर्टिफिकेट प्राप्त गर्छ । यस खेलमा पैसाभन्दा समय महत्वपूर्ण मानिन्छ । वर्षमा १२–१५ हजार मात्रै पैसा खर्च हुन्छ । ब्ल्याक बेल्टसम्म करिब ५० हजार खर्च हुने दीपक सुनाउँछन् । 


दीपकले नेपालमा खेल र खेलाडीप्रति सम्मान र सुविधा नभएको गुनासो गरे । खेल क्षेत्रमा आवश्यक संरचना पनि नेपालमा छैनन् । डब्लुटिएफ तेक्वान्दो कभर्ड हलमा खेल्ने खेल हो । तर, गाउँका खुला चौरमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता रहेको दीपकले बताए । नेपालमा सहरमा भन्दा गाउँमा क्रमशः खेलप्रति ऊर्जा र सम्मान कम हुँदै गएको उनको अनुभव छ । ‘गाउँका गरिब युवा खेल्न उत्साहित छन्, तर उनीहरूसँग पैसा छैन । तर, सहरका पैसा हुनेका छोराछोरी खेल्न रहर गर्दैनन्,’ उनले भने, ‘अवस्था बदल्न राज्यकै खेलप्रतिको सोच परिवर्तन भएको छैन ।’


चन्दा संकलन गरेर प्रदेशस्तरीय तेक्वान्दो
गुल्मीमा पछिल्लो समय गाउँ–गाउँमा डब्लुटिएफ तेक्वान्दो खेल सिकाइन्छ । विभिन्न पालिका र विद्यालयका चौरबाट तेक्वान्दो खेलाडी खेल सिकिरहेको देख्न सकिन्छ । तर, स्थानीय सरकारले खेल क्षेत्रको मर्म बुझ्न सकेका छैनन् । दुई वर्षपहिले स्थापना भएको इस्मा डोजाङले २२ र २३ वैशाखमा प्रथम खुला प्रदेशस्तरीय डब्लुटिएफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता सम्पन्न गर्‍यो । तर, प्रतियोगिता सञ्चालन गर्न प्रशिक्षक र खेलाडीले घर–घरमा चन्दा संकलन गर्नुपर्‍यो ।

 

इस्मामा साढे दुई सय तेक्वान्दो खेलाडी र प्रशिक्षक आए । खेल व्यवस्थापनका लागि आयोजकले सात लाख बजेटको अनुमान गरेको थियो । तर, चन्दाबाट डेढ लाख रुपैयाँ मात्रै संकलन भयो । बाँकी साढे पाँच लाख ऋण दीपकले नै व्यहोरेर प्रतियोगिता सम्पन्न गरे । ‘इस्मा गाउँपालिकालाई अप्ठ्यारो पार्न खोजेको होइन । मातृभूमिलाई प्रदेशभर चिनाउन प्रतियोगिता आयोजना गरेको हुँ,’ उनले भने, ‘स्थानीय सरकारले ऋण तिर्न सहयोग नगरे ऋण तिर्न विदेश जान्छु ।’