• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बिएन जोशी
२०८० जेठ १३ शनिबार ०७:१५:००
सम्झना

मरुभूमिमा बिलाएको सपना

२०८० जेठ १३ शनिबार ०७:१५:००
बिएन जोशी

 

रेतको रातो हुलिया अनि मध्यसागरमा टल्किएको ब्ल्याकटपको परिधि अनन्तसम्म फैलिएको देखिन्थ्यो । सडकको किनारा भन्नु नै हावाको झोकासँगै बेपत्ता नाचिरहेका बालुवाका कण थिए । विपरीत ध्रुवमा अनकन्टारतर्फ एकतमास कुदिरहेको मिनिबसमा सवार १२ युवाहरूसँगै म पनि सामेल थिएँ । अधिकांश १८ देखि २८ वर्ष उमेरका थिए । 


एकाध स्थानका सडकबीचमा उठेको बालुवाका थुम्काले मिनिबसलाई अवरोध गरेपछि निदाइरहेका साथीहरू झस्किन्थे । म भने पटक्कै निदाउन सकिरहेको थिइनँ । बिलकुलै भिन्न भूगोलको सन्नाटायुक्त सडक आफैँमा रहस्यमय लाग्थ्यो । जन्मभूमि छोडेको मात्र २४ घन्टाको अन्तरालमा मनमा अनेक थरी कुरा खेलिरहेका थिए । 


काँचको पर्दाबाहिरको दृश्यमा त्यस्तो कुनै जादु थिएन जसले आँखालाई बहलाइरहन सकोस् । तापनि त्यही बालुवाको बैँस उफ्रिरहेको, घुमिरहेको, नाचिरहेको दृश्यले दिमागलाई दिगमिग पार्दै थियो । जीवन सोचेजस्तो सरल रहेनछ । हामीजस्ता न्यून आय भएका देशका मानिस रहरले होइन, बाध्यताले पुगेका हुन्छौँ मरुभूमिमा । तर सोही ठाउँमा धनाढ्यहरू रेतमाथि सहवास गर्न मनग्य रकम खर्चेर जाने गर्छन् । जगत्मा रकम जोहो र फुर्मासको कथा फरक रहेछ । 


केही किलोमिटरको यात्रापछि चारैतर्फ बालुवाका थुम्काहरूले घेरेका डिब्बावाला क्याबिनहरू देखिए । ओहो ! यस्तो ठाउँमा पो बस्नुपर्ने ? सबैजनामा एकप्रकारको त्रास फैलियो । त्यो मध्य मरुभूमिको खोँच थियो । त्यसैको बीचमा समथर खेत आकारको सप्का देखिए । अस्थायी प्रकारका सार्न मिल्ने कन्टेनरका चक्कारूपी घर थिए । बडेमानका टायर भएका मोटरहरू पनि उस्तै नौला । विभिन्न महादेशका मानिसहरू । 


मुख्य काम थियो, जमिनको एक्सरे गर्नु, अर्थात् जियोफिजिकल सर्भे । तेल, ग्यास र पानीको परिणाम के कति छ, पत्ता लगाउने काम । दैनिक रेतमाथिको सफारी । सत्य यही थियो, अबको हाम्रो अगाडिको कर्मक्षेत्र त्यही नै थियो, चाहेर पनि नचाहेर पनि । युएईको राजधानी अबुधाबीदेखि झन्डै ३०० किलोमिटर पश्चिम । 


लगातार चार दिनदेखि चलेको बतासको वेग अडिने सुरसार थिएन । जनावरहरू यत्रतत्र छरिएका थिए । डेजर्ट फिस पनि बालुवाभित्र बिलाए । बाटाहरू एकाएक विलीन भए । मानिसको मात्र होइन, कुनै पनि जीवजन्तुका पदचाप फटाक मेटिए । उसै मेसोमा मरूभूमिका कणको करामत, उसले पूरै काँचुली फेर्‍यो । हिजोसम्म कुरूपजस्तो लाग्ने उसको विशाल आङ आज कौमार्य देखिएको छ, नसानसाको आवरणमा । 


मरूभूमिमा मृगसमेत भेटिन्छन् । खरायो खुरुखुरु हिँडिरहेका हुन्छन् । सर्प, बिच्छी, न्याउरीलगायतका विषालु किरा बग्रेल्ती बरालिन्छन् । कतिपय आ–आफ्ना खोरको खोजीमा अलमल परिरहेका हुन्छन् । यस्तोमा मानिसको गन्धलाई पछ्याउँदै जनावरहरू समीपमा आउनु अस्वाभाविक लाग्दैन । तर, मानिसको जात, बालुवाको त के कुरा भयो र सारा आकाश–पाताल कतै सिँगौरी खेल्न छोडेको देखिँदैन । 


निरन्तरको हावाको वेगले क्षणभरमै मरुभूमिको स्वरूप नै परिवर्तन गराइदिन्छ । त्यसपछि बाटो बिराउन बेरै लाग्दैन । पानीविनाको माछा र मान्छे उस्तै हो मरुभूमिमा । दुई घडी पलामा नै मानव चोलाले विश्राम लिन सक्छ । साथीहरू कामबाट फुर्सद मिल्नासाथ मच्चिहाल्छन् । म बालुवाको थुम्कोमा बसेर तिनका चर्तिकला नियालिरहेछु । 


– समात् । समात् । समात् । 


त्यति समथर त होइन, तर मसिना थुम्काहरूको सागरमा डेजर्ट फिसको बिगबिगी हुन्छ । रेतको दाना भित्रभित्रै डुलिहिँड्ने यो प्रजातिको कुनै मूल्य हुँदैन । अरबी समाजमा यसका अनेक कहावत छन् । यसैसँग जोडिएका यौनवद्र्धक शक्ति र उत्तेजनाका किस्साहरू छन् । यसलाई पक्रन त्यति सजिलो कहाँ पो छ र, रेतको साम्राज्यमा । 


युवावयको जोस त्यति सजिलै कहाँ मत्थर हुन्छ र ? बालुवा तात्दै गएपछि नरम हुन्छ । हात घुसार्दा रेतको भित्री आत्मासम्म पुग्छ पसिनाले पूरै भिजेको काखीले अवरोध नगरेसम्म । तर, त्यतिवेलासम्म छेपारे फिसले कैयौँ थुम्का काटिसकेको हुन्छ सुरुङमार्ग मार्फत । त्यो बहुत चलाख प्रजाति हो । प्रकृतिले कुनै बखत निलेको मानव चोला हात पर्छ । चारैजना युवाहरूले मुखामुख गरे । एकमुष्ट चीत्कार छाउँछ । पलभरमै उक्त चित्कार हावाको वेगसँगै उडेर बिलायो । माछा होइन, हातमा परेको मानव पाखुरा जमिनमा फुत्त झर्न पुग्छ ।

दुवैले घरदेश जान मुदिरसामु ताकेता गरिरहेका थिए । तर, चलाख मुदिर हमेसा अनेक बहाना बनाउँदै टाथ्र्याे । रमजान आए बकर इदमा र बकर इद आए रमजानमा घरपठाउने भन्थ्यो।


एकाएक कोलाहल मच्चियो । वाकीटकी रेडियोहरू व्यस्त रहन थाले । छोटो समयमा सीमा पुलिसका वाहनहरू साइरन बजाउँदै लाइन लागे । बालुवाको ढिस्कोलाई रंगिन रिबनले घेरा हाले । सुरक्षाकर्मीहरूले बालुवालाई पन्छाउँदै गर्दा फतक्क गलिसकेका एकजोर मानव अंग आधाउधि सुकेको दुईवटा शरीरको स्वरूप देखापर्छ । मीठा मासुजति रेतका रैथानेहरूले लुछिसकेका हुँदा हुन् । बाँकी खक्रक्क परेको हाडखोरलाई गार्भेजको कालो थैलोमा जम्मा पारी गाडीमा राखेपछि म निकै दिन बिथोलिएँ । र, ती दुई आकृतिको सनाखत गर्नतिर लागेँ । को होलान् मरुभूमिमा सुकुटी बनेका ती यी दुई ? 


०००
मध्यपहाडी जिल्ला तनहुँको उत्तरी भागमा पर्ने पुरानो बजार हो, कलेस्ती । त्यसभन्दा पूर्वोत्तरतिर लगभग सयभन्दा बढी पहाडी मुस्लिम समुदायको बसोवास रहेको सम्जुर गाउँ । गाउँलेहरू पुस्तौँदेखि डोकोमा चुरा, टीका, धागो, काँटा, पोते, रिबन, झुम्काजस्ता सौन्दर्यप्रदायक सामग्री बोकेर घरआँगनमा पुर्‍याउँथे । हिन्दूहरूका चाडपर्वमा रौनक थपिदिन्थे ।


एक समय उनीहरूलाई बोलाउने थरै ‘चुरेटा’ भएको थियो । समयले सिरानी फेरिरह्यो । सडकमार्ग र बजारले विस्तारित रूप लिन थाले । चुरेटाको परम्परागत पेसाले विश्राम पाउँदै गयो । नेपालका अन्य गाउँठाउँबाट जस्तै त्यस ठाउँका मुसलमान युवाहरू पनि वैदेशिक रोजगारीमा जान थाले । उनीहरूको गन्तव्य बन्यो खाडी राष्ट्र । जात, धर्म र संस्कृतिले पनि तिनलाई अरब देशमा घुलमिल हुन सहज बनायो । 


सम्जुर गाउँका एक परिवारको आशा थियो, रिजवान मियाँ । दुःखको भारी सबैको उस्तैउस्तै भए पनि रिजवानमाथि पारिवारिक दायित्व अझ बढी थियो । चार दिदीबहिनी र आधाभन्दा बढी उमेर पार गरिसकेका आमाबाबुको दैनिक गुजारा चलाउने आधार खुम्चिँदै गएपछि उसलाई खाडीको पखेँटा नहाली सुखै भएन । एक साँझ आमा खाना पस्किँदै थिइन् ।


‘बाबु आयाई भात खानाैँ,’ ठूली दिदीले खाना खान बोलाइन् । 


धेरै दिनदेखि कुरा राख्ने उपयुक्त मौकाको खोजीमा थियो रिजवान । 


‘अब मो पनि अरब जातौँ,’ रिजवानले आमा बुबाको अगाडि अचानक आफ्नो निर्णय सुनायो ।


केहीछिन परिवारमा सन्नाटा छायो । किनकि ऊ घरको एक्लो छोरा थियो । ठूली दिदीको साथीमार्फत नाताले भिनाजु पर्ने काठमाडौं आउजाउ गर्ने एजेन्टसँग सम्पर्क भएको थियो । जसले एकाध महिनामा नै युएईको भिसा झारिदिएपछि रिजवानको विदेशयात्रा छिट्टै सम्भव भएको थियो । सुरुमा त उसले एजेन्टसँग आक्रोशसमेत पोखेको थियो– दुबई भनेर युएईको भिसा पो लाउने ? दुबई युएईमै पर्छ भन्ने उसलाई के थाहापत्तो !

चारैजना युवा मुखामुख गरे, अनि बेस्सरी चिच्याए । पलभरमै उक्त चीत्कार हावाको वेगसँगै उडेर बिलायो । हातमा माछा होइन, मानव पाखुरा परेको थियो र जमिनमा फुत्त झर्‍यो ।


रातो रेतमाथि सवार जिपमा ऊ पनि सामेल भयो, साथमा थिए अन्य तीनजना नेपाली युवा । चालकले मुदिरको आदेश मुताबिक मध्य मरुभूमिको मजरामा झार्दै गए । सबैको कर्मक्षेत्र तिनै १,२,३ नम्बरका मजरा थिए । रिजवानको भागमा ३ नम्बर मजरा पर्‍यो ।


उनका लागि सुरुका दिन केही कठिन थिए । जुन स्वाभाविक पनि थियो । अनकन्टार परिवेश । भाषिक समस्या । खानाको नौलोपन । मान्छेको जात जहाँ बस्दै गयो, त्यही ठाउँमा रमाउँदै जान्छ । मजराको हरियाली वातावरण र महिना–दुई महिनामा तारेख हेरिआउने तनखाले घरको हालत सम्झेर काम गर्नुसिवाय अरू उपाय थिएन । महिना दिनमा एकपटक सहरबाट खाद्यान्न बोकेर आइपुग्ने मुदिरको खटनपटन खासै नराम्रो थिएन । 


मजरामा खेती मनग्ये हुन्थ्यो । सिजनअनुसारका गोलभेँडा, काँक्रो, स्विट मेलन, मकैलगायतका फलफूलको उत्पादन हुन्थ्यो भने मरुभूमिको बादशाह आठवटा उँट खुला गोठमा छरिएर बस्थे । मजरामा काम गर्ने दुई बंगाली दाजुभाइ र तीन पाकिस्तानी पठानको साथले खासै न्यास्रो मान्नुपर्ने अवस्था थिएन । 


चाहेको वेला सहर सयर गर्ने इच्छा पूरा गर्न भने कठिन थियो । चाडपर्वका दिन भित्तेपात्रो हेरेरै बित्थे । खुसीको परिधिलाई उही मजराको चौघेरा र मरुभूमिको महासागरले बाँधिदिएको थियो । अरू त सबै मुदिर र अल्लाहको भरोसा थियो । 


०००
‘अस्लाम वालेकुम काका । तने मा और मेरी जहानके अच्छे से ख्याल रखना ।’ 


‘तनो कोनो चिन्ता मत करो बेटा ।’ 


जाफर अली खानले काकासँग बिदा माग्यो । दुवैमा घच्चीको काँध मिलाइ भो, ओढिरहेको बाक्लो सेढाइ सारेर । 
‘मासल्ला ।’ 


पिलपिल आँखा भिजाउँदै, रुमालमा खानेकुराको पोका बाँधेर आमाले छोराको फुलबुट्टे झोलामा घुसारिदिइन् । जाफरको जोरआँखाको परेलामाथि कुखुराको प्वाँखले कालो गाजल लाइदिइन्– किसिका नजर नलग् जाए... । 


जाफरको १२ वर्षकी जहान अलमलमै थिइन् । १५ हात परैबाट पुलुक्क हेरी पछ्यौरा मुसारी बिदाई गरिन् । जाफरले गधामाथि चढ्दै गर्दा छिर्के आँखा मिल्काए सानी श्रीमतीतिर । 


जाफर अलीको बुबा दुई दशकदेखि साउदी अरबमा थियो । काम र ठामको कुनै जानकारी थिएन । त्यसबीचमा मुस्किलले दुईचोटि छुट्टीमा घर गयो होला ।


गधामा चढेर पाँच घन्टा लाग्यो, कुमराट उपत्यकाको कलकटक पुग्न जाफरलाई । अब भोलिपल्ट बिहान अगाडिको सवारी थिएन । कलकटकमा धुपी र सल्लाका रूख लहलह थिए । हिमालबाट बगेर आएको कञ्चन खोला कतै रोकिनेवाला थिएन, कराँची पुगेर समुद्रमा समाहित नहुन्जेल । 


अधिकांश घर काठका थिए । गधा मालिकको सिफारिसमा जाफरलाई एउटा जस्ताले छाएको ठाँटीमा वास मिल्यो । पाकिस्तानको राजधानी इस्लामावाददेखि झन्डै ३७० किलोमिटरको दूरीमा रहेको कुमराट भ्याली सुन्दर पर्यटकीय क्षेत्र हो । देशको उच्च उत्तरी इलाकामा ठन्डी ज्यादै हुने हुँदा पर्यटकहरूले मौसमको अन्दाजा गरेर मात्रै पाइला नाप्ने गर्छन् । 


थोत्रो जिपको छतमा बसेर भोलिपल्ट सबेरैको सवार मिल्यो । जिपभित्र बूढापाका, केटाकेटी र बुर्का ओढेका महिलाहरू अटेसमटेस थिए । पस्तुनहरूको गन्धले गाडी मगमग गनाउँथ्यो । चुतियानसम्मको कच्ची मोटरबाटो भन्नु नाम मात्रको थियो । खोलालाई घरीवारि त घरीपारि पार्दै अघिल्तिरको काँचमा धागोका फूलले झिलिमिली सजाइएको रसियन जिप ढलपलिँदै अगाडि बढ्यो ।


जिपबाहिरको प्राकृतिक आवरण अवर्णित हुन्छ । फुर्सदले बिस्तारै बगेको दरियाको पातलो पानी । एकनासका सल्लाह र धुपीका बोटले कुमराट खोलालाई दुवैतर्फबाट पहरा दिइरहेको भान हुन्छ । नदीको मुहानतिरको निश्चल हिमाली मुहारको छटाको दर्शन पाउन सिजनमा देश–देशावरबाट पर्यटकहरूको घुइँचो लाग्छ । प्रकृतिले भरपुर साथ दिएको छ कुमराट उपत्यकालाई । गरिबीले पनि उत्तिकै पिरोलेको छ ।


खोला–किनारमा रहेको अव्यवस्थित दोहोरो हटिया हो, थाल बजार । प्रकृतिसँग पिटिक्कै मेल खाँदैन । अधिकांश घर काठले बनेको, उही ठाँटी स्वरूपका । शौचका लागि केहीबेर अडिएर जिपले उही लय समायो फेरि । जति तलतिर लाग्यो, खोलाले नदीको आकार लिँदै जान्छ । मोटर तर्नका लागि काठेपुलको इन्तजाम गरिएको हुन्छ । 


मन्जिल अझै दूर छ यात्रुहरूको । चित्राल नपुगुन्जेल पक्की सडक भेटिँदैन । त्यतिन्जेलको सफर भन्नु सास्ती मात्र हो । विकटतामा विकल्प धेरै हुँदैन । जाफरलाई आफ्नो गाउँ दरबान्डदेखि पेसावर सहर पुग्न दुई दिन पूरै लागेको थियो । काकाले दिएको चिर्कटो बोकेर एजेन्टलाई भेट्न पनि निकै सकस भयो । कुमराट नदीको जस्तो कञ्चन मन रहेनछ पेसावरवासीहरूसँग । उसले त्यहाँ ओर्लिएकै दिन महसुस गरेको थियो । 


हप्ता दिनजतिको अलमलपश्चात् उडानको मिति तय भएपछि आकाशतिर हेरी लामो श्वास फेर्‍यो । जमिनमा घोप्टियो र अल्लाहको नाम लियो । जीवनमा पहिलोचोटि आँटेको काम पूरा हुँदैगर्दा खुसी नहुने को पो हुन्छ र ? पहिलोपटक भीमकाय जहाज देख्यो पेसावरको बचाखान अन्तर्राष्ट्रिय विमानघाटमा । पिआइएको जहाज गिद्धले कुखुराको चल्ला टिपेजसरी जाफर अलीलाई पनि टिपेर उड्यो । 


०००
सजीव प्राणीहरूको हकमा जीवन भन्नु एउटा अनन्त यात्रा हो । जबसम्म श्वास रहन्छ, तबसम्म सफर चलिरहन्छ । त्यो कमिलाको पनि हुन्छ । त्यो हात्तीको पनि हुन्छ । मजराका लागि रिजवानभन्दा दुई वर्ष जेठो थियो जाफर । अरू पठान र बंगालीहरू बाबुसमानको भएकाले विचार–विमर्शमा त्यति मन मिल्थेन । रिजवान मजरामा प्रवेश गरेदेखि जाफरलाई मन मिल्ने मित्रको अभाव खड्किएको थिएन । मजराको कामधन्दा, उँटको गोठ सबैमा सँगसँगै जान रुचाउँथ्यो । रिजवानलाई पनि त जाफर भएकैले सुरुवाती दिनमा अत्यास लागेको थिएन । सम्झाइबुझाइ गर्ने उनै थिए । दौँतरी नमिल्दो नभएकाले नै दुवैमा हार्दिकता थियो । जन्मको भूगोल भिन्न भए पनि कर्मका लागि अल्लाहले सँगै पठाए भन्थे दुवैजना ।


अब त जाफरकी श्रीमतीको उमेर पनि १८ वर्ष भइसकेको हुँदो हो । उता रिजवानको दुई दिदीको घरजम भइसकेको थियो । दुवैले घरदेश जानका लागि मुदिरसामु ताकेता गरिरहेका थिए । तर, चलाख मुदिर हमेसा अनेक बहाना बनाउँदै टार्दै आउँथ्यो । रमजान आए बकर इदमा र बकर इद आए रमजानमा पठाउने भन्थ्योे । चाडबाडमा अनेक प्रलोभन देखाएर गुमराहमा पाथ्र्यो । बरु मीठामीठा खानाका परिकार हप्तादिनलाई पुग्ने गरी छोडेर आफू सहर पस्थ्यो । 


मजराका मुदिरहरूलाई के थाहा हुन्छ भने कामदारहरू घर गएपछि प्रायः फर्कँदैनन् । अपवादमा पाका उमेरका पठानहरू पर्छन् । जो जिन्दगी मजरामै गुजार्छन् । तिनका दाह्री पाकेर रातै हुन्छन् । रिजवान र जाफरलाई केमा बिस्मात हुन्थ्यो भने हरेक रमजान मजरा र मरुभूमिमै बित्यो । एउटा गतिलो मस्जिदमा गएर नमाज पढ्न पनि पाइएन । 


यी दुई युवा खजुरको सुकेको हाँगाले बारेको र त्यसैले छाएको घरभन्दा २० गज पर पुरानो टेन्टले घेरेको भुइँमा थोत्रो कार्पेट बिच्छ्याएको कामचलाउ मस्जिदमा दैनिक नमाज पढ्थे । रिजवान र जाफरको बीचमा हरेक साँझजसो पीडा साटासाट हुन्थ्यो ।  


परिवारसँग इद नमनाएको पनि वर्षौँ भइसकेकाले न्यास्रो लाग्नु अस्वाभाविक थिएन । त्यसैले यसपालि कुनै पनि हालतमा कतै राम्रो मस्जिदमा गएर शुद्ध मनले नमाज पढ्ने अठोट गरेका थिए । तर, नजदिकीमा कुनै मस्जिद थिएन । पानी बोकेर आउने पठानहरूको ट्यांकरपछि लागेर जानुपथ्र्यो । पाका पठानहरूले भनेका थिए– अल रायनको मुख्य मार्गभन्दा केही पर सेखहरूको सौखका लागि बनाइएको सानो बस्ती छ । त्यसको आडैमा सुन्दर मस्जिद छ । 


रमजानको अन्तिम दिन रिजवान र जाफरले सबेरै सल्लाह गरेबमोजिम बिहानी सत्रको नित्यकर्म सके । लक्ष्य बन्यो– सुविधासम्पन्न र व्यवस्थित मस्जिद । आज त कसैगरी नयाँ मस्जिदमा गएर यस वर्षको रमजानलाई बिट मार्नुपर्छ । गत साल अल ऐनको बजारबाट ल्याएको नयाँ कुर्ता पाइजामा पहिरिए दुवैले । दुई युवाको जोडी देखेर पाकाहरूले आँखा मारे । ‘यिनीहरू फनफनी घुमेर थाकेपछि दुई घन्टामा फर्किएर आइजान्छन्,’ वृद्ध मन्जुरले चिउँडोको लामो दाह्रीलाई काइँयोले कोर्दै भने । अल्लाहको आसमा आकाशतिर हेर्दै दुवैजना ठाँटिएर मजरादेखि टाढिए । 


जवानीको जोसमा होस हुँदैन । मरुभूमिमा मौसमको भर हुँदैन । उमेरको उमंग अनि अनुभवको कमी । एक अर्कामा मीठामीठा बात हुँदै गए । जसै मजरादेखि पर लाग्दै गए, ग्राभेल सडकको मार्ग निकै लामो हुनाले छोटो बाटोको खोजीमा बालुवाका थुम्कालाई छिचोल्दै अगाडि बढे । एकपछि अर्को थुम्का । सयौँ आए, गए । अब भने दुवैलाई लाग्यो बाटो बिराइयो । 


मध्य मरुभूमिमा बाटो बिराएपछि पुनः बाटोको लय समाउनु असम्भवजस्तै हुन्छ । विनाप्रविधि बाटोको प्रयोग खतरनाक हुन्छ । जसै सूर्यको किरण टाउकोमा ठोक्किन आइपुग्छ अनि दिमागमा झड्का हान्न थाल्छ । पाइला गल्दै जान्छन् । अघिसम्म घरपरिवारको चिन्तामा डुबिरहेका रिजवान र जाफरको वार्तालाप रोकियो । 


क्रमशः एकपछि अर्को ठूला मरुभूमिको भिर देखिन्छन् । जति भिर आउन थाल्छन्, त्यति नै ठूला ब्लु होल भेटिँदै जान्छन् । भिरलाई छिचोल्न त्यसभित्र छिर्नुपर्ने हुन्छ । त्यसबाट पार पाउनु निकै सकसको क्षण बन्छ । भिरमा बालुवा थप नरम हुन्छ । खुट्टाको चालमा घुँडासम्म बालुवाको कणले ढाक्दै गर्दा तापमानको अनुमान लगाए । 


दुवैजनाको जोसमा होस गुम्दै जान थाल्छ । मध्याह्नमा दिशा कसै गरी छुट्याउन सकिँदैन । जता हे¥यो, उता उस्तै । बालुवाका पहाडको जंगल । तिनकै साम्राज्य । तातो रेतमाथि आगोको रापको झिलमिलले आँखालाई तिरिमिरी बनाइदिन्छ । 


सामान्य पोसाकमा निस्किएका दुईजना दोस्ती दिशाभ्रम भए । खानेकुराको त के कुरा, पानीसमेत नबोक्नुको मूर्खता मरुभूमिमा प्रस्टै झल्किन्छ । रमजानको व्रतमा सूर्यले कोल्टे नफेर्दासम्म पानीको कल्पनासम्म गरिँदैन । 


मरुभूमिमाथि हिँड्दाहिँड्दै उनीहरूको शरीर शिथिल हुँदै गयो । कत्रो उमंग बोकेर रमजानको समापन गर्न हिँडेका थिए । अहिले आएर आफ्नै जीउ भारी भयो । नजिक कतै बुच्च परेका घाँस भेटिन्छन् कि भनेर उँटलेजसरी घाँटी तन्काइरहे । तर, परपरसम्म केही देखेनन् । पैतालादेखि बाँच्ने आशा निख्रन सुरु भएको प्रक्रिया कम्मर, घाँटी हुँदै टाउकोसम्म पुग्छ । आफूलाईभन्दा धेरै आफ्नो परिवारलाई अनेकौँपटक सम्झेर रुन्छन् । उनीहरूलाई आँसुले समेत सहारा दिन छाँड्छन् । 


मजराका पाकाहरूको वचन बारम्बार साँझमा कराउने झ्याउँकीरीले जसरी कानमा रइँरइँ गरे । एकजोर शरीरसँग एकजोर पाइजामासिवाय केही थिएन । छालाको चप्पलले अघि नै रेत समाधि पाइसकेको थियो । हेर्दाहेर्दै सांकेतिक रूपमा दुईजोर आँखाले पनि विश्राम लिए ।