
५.९७ बिलियन ट्रिलियन मेट्रिक टन पृथ्वीको वजनभन्दा
तेह्र सय ग्रामको मानव मस्तिष्क
किन गरुंगो छ ?
यही बुद्धिको तौलले ?
यही सिर्जनाको वजनले ?
हो, चराका टाउकाहरू ससाना छन्
कीटपतङ्का टाउका ससाना छन्
पुतलीका टाउकाहरू त झन् मसिना छन्
केही जनावरका टाउकाहरू पनि हलुका छन्
तर मानिसलाई
किन हात्तीको दाँत गरुंगो
तर टाउको
मानिसको भन्दा धेरै हलुका लाग्छ ?
किन गैंडाको खाग गरुंगो
र टाउको
मानिसको भन्दा निकै हलुका लाग्छ ?
किनभने मानिसको टाउकोसँग बम छ
विध्वंसको बम
अहंकार, स्वार्थ र आक्रोशको बम
किनभने मानिसको टाउकोसँग बम छ
शासक बम !
किनभने मानिससँग मात्र छ झुटो कथा रच्ने खुबी
कि पृथ्वीको अधिपति केवल मानिस हो ।
कि पृथ्वीको शासक केवल मानिस हो ।
पृथ्वीको सम्पूर्ण वजनभन्दा
तेह्र सय ग्रामको मानव मस्तिष्क
किन महँगो छ ?
किनभने
छयासी बिलियन न्युरोनका तारजालीहरू भएको
कुनै एक मानव मस्तिष्क सट भयो भने
पूरा पृथ्वी पड्किन्छ ।
हिटलर न्युरोनहरू सट भए
यहुदीहरू मारिए ।
स्टालिन न्युरोनहरू सट भए
रुसीहरू मारिए ।
कुनै एक अमेरिकी न्युरोन सर्ट हुन्छ
र इराक ध्वस्त हुन्छ ।
र अफगानिस्तान ध्वस्त हुन्छ ।
र सिरिया ध्वस्त हुन्छ ।
पुटिन÷जेलेनेस्की न्युरोन सट हुन्छ
युक्रेन ध्वस्त हुन्छ ।
हाम्रा बुद्धि र सिर्जना सट हुन्छन्
र हाई भोल्टेज करेन्ट लागेको मानिसझैँ
पृथ्वी पछारिन्छ र मुर्छा पर्छ ।
मेरो प्यारो सन्तान
मैले त पृथ्वीलाई हिमालको थाप्लोबाट
झरिरहेका हिमनदीहरूमा देखेँ
जो बग्दैबग्दै समुद्रसम्म पुग्थे !
मैले त पृथ्वीलाई घना जंगलमा बाँचिरहेका
रुखपातहरूको हरियालीमा भेटेँ
जनावर, कीतपतङ र चराका आँखाहरूमा देखेँ !
तिमीले पृथ्वीलाई कहाँ देख्यौ ?
माफ गर मेरो प्यारो सन्तान
मैले तिमीलाई यो प्रश्न त्यतिवेला सोधिरहेको हुनेछु
जतिवेला
पृथ्वी अस्पतालको अप्रेसन थिएटरमा हुनेछ !