• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बुद्धिनारायण श्रेष्ठ
२०८० जेठ १३ शनिबार ०७:५०:००
पर्यावरण

सगरमाथामा मानव पाइलाका ७० वर्ष

२०८० जेठ १३ शनिबार ०७:५०:००
बुद्धिनारायण श्रेष्ठ

न्युजिल्यान्डका एडमन्ड हिलारी र तत्कालीन नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा दुवैजनाले हातेमालो गर्दै एकैसाथ (एकजना पहिले र अर्काे पछि होइन) २९ मे १९५३ मा सर्वप्रथम सगरमाथाको थाप्लोमा पाइला टेकेको सत्तरी वर्ष पुग्यो । सत्तरी वर्षको अवधिभित्र सन् २०२२ सम्ममा ७,३३८ आरोहीले सफलता चुमिसकेका छन् । आरोहण पर्मिट लिएर सफलता हासिल गर्न नसकेका आरोही १,३१० जना रहेको बुझिन्छ । यस्तै, आरोहणपछि र अघि ज्यान गुमाउनेको संख्या करिब ३१० जना रहेको अनुमान छ । 


आरोहणको सिलसिलामा यत्तिका आरोहीको ज्यान गइसके तापनि विश्वका विभिन्न देशका आरोहीको सगरमाथा आरोहण गर्ने लोभ र संख्या वर्षैपिच्छे बढ्दै गएको छ । १९२३ मार्च १८ मा हर्बर्ट म्यालोरीलाई न्युयोर्क टाइम्सको पत्रकारले ‘तपाईं किन सगरमाथा चढ्न चाहनुहुन्छ ?’ भनी सोधेको प्रश्नमा उनले जवाफ दिएका थिए– ‘किनकि त्यो त्यहाँ छ ।’ सगरमाथा नेपालमा रहेकाले सगरमाथा चढ्न नेपालमै आउनुपर्छ भन्ने विश्व सन्देश पुगेको थियो । यसले सगरमाथालाई आरोहणमय बनाइरहेको छ । 


यस वर्षको मे २९ का दिन आरोहणको ७०औँ वर्षगाँठको अवसरमा नेपाल पर्वतारोहण संघले सोलुखुम्बु खुम्जुङ क्षेत्रमा ‘प्लाटिनम जुब्ली’ समारोह र काठमाडौंमा अन्तक्र्रिया गर्दै छ । अर्काे संस्थाले काठमाडौंमा जुन १ मा ‘एन इभनिङ अन एभरेष्ट’ कार्यक्रम आयोजना गर्न लागेको छ ।

 

सगरमाथाको थाप्लोमा टेक्ने होडबाजी
सगरमाथा आरोहणमा होडबाजी नै चल्ने गरेको देखिन्छ । कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोडी यही २३ मेमा २८औँपटक सफल आरोहण गरे (सातामै दुईपटक आरोहण गर्दै) । उनीलाई पछ्याउँदै पासाङदावा शेर्पाले यही मे २२ का दिन २७औँपटक सफल आरोहण गरेका छन् । ‘हिमचितुवा’ उपनामले प्रख्यात आङरिता शेर्पाले विनाअक्सिजन दशपटक सफल आरोहण गरे ।


सफल आरोहणको प्लाटिनम जुब्ली मनाउने वर्षसम्ममा विभिन्न आरोहीले अनेक प्रकारका कीर्तिमान राखेका छन् । यस्ता कीर्तिमानीमध्ये जापानको जुन्को ताबेई १६ मे १९७५ मा सगरमाथा चुचुरो पुग्ने विश्वको पहिलो महिला बनिन् भने पासाङ ल्हामु शेर्पाले २३ अप्रिल १९९३ मा पहिलो नेपाली महिलाका रूपमा आरोहण सफलता पाइन् । तर, दुर्भाग्यवश फर्किने क्रममा हिमचट्टानमा चिप्लेर उनको मृत्यु भयो । उनका पति लाक्पा सोनाम शेर्पाले चाहिँ यही १७ मेमा सगरमाथा विजयारोहण गरेका छन् ।


सन् २०२१ मा बहराइनका राजकुमार सेख मोहमद हमाद मोहमद–अल खालिफाले सफल आरोहण गरे । १६ वर्षीय सोनाम शेर्पा र उनका बाबु पूर्णकुमार (पिके) बाबुछोराले त्यसै वर्ष २३ मेका दिन एकैसाथ चुचुरो पुगेको रेकर्ड कायम गरे । आङदावा शेर्पा र उनका पत्नी पासाङफुटी शेर्पाले २०१९ मा ‘फास्ट कपल समिटर्स’ को रेकर्डमा नाम लेखाए ।

प्रत्येक आरोहण मौसम सुरु हुनुअघि जिपिएस प्रविधिबाट आरोहीको अनुगमन ट्र्याकिङ गर्ने चर्चा चल्ने गर्छ । तर, कार्यान्वयन हुँदैन । जिपिएसबाट सफल आरोहण गरेको हो–होइन यकिन गर्न मद्दत पुग्छ । दुर्घटनामा मृत्यु भएमा तत्काल थाहा पाउन पनि सजिलो हुन्छ । 

२०१८ मे मा १६ वर्षीया भारतीय सिवांगी पाठक सगरमाथा टुप्पोमा पुगेर त्यस वर्ष सबभन्दा कम उमेरकी महिला कीर्तिमानीमा परिन् । सबैभन्दा बेसी उमेरका ७९ वर्षीया जापानी महिला फुनाहासी यइको पनि सफल भइन् । बूढा पुरुष आरोहीको कुरा गर्नुपर्दा नेपालको ७६ वर्ष १० महिना उमेर पुगेका मीनबहादुर शेरचनले ५ मे २००८ मा सगरमाथा चुमेरै छाडे । भारतका पूर्वमिस इन्डिया संगीता सिन्धि बहीले पनि सगरमाथा चुमिन् । ३ सय ७७ घन्टा ब्रह्माण्डमा बिताएका इटालियन अन्तरिक्षयात्री मौरिजिओ चेउलीले पनि सगरमाथा चुमे । पाँचपटक स्पेस सटलमा यात्रा गरेका अमेरिकी अन्तरिक्षयात्री स्कट पराजिन्स्की सगरमाथा थाप्लोमा सन् २००९ मा पुगेका थिए । 


हुँदाहुँदै कीर्तिमान कायम राख्ने होडमा दुवै गोडा नभएका ६९ वर्षीय चिनियाँ नागरिक सिया बोयुले सन् २०१८ मेमा सफलता प्राप्त गरेका थिए । अमेरिकी दृष्टिविहीन आरोही एरिक विहेनमायर २५ मे २००१ मा सगरमाथा चढे । पेम्बा दोर्जी शेर्पा आधार शिविरबाट ८ घन्टा १० मिनेटमा २१ मे २००४ मा चुचुरोमा पुग्न भ्याई सबभन्दा छोटो समयमा आरोहण गर्ने व्यक्तिमा कीर्तिमान कायम गरे ।

 

सामान्य आरोहीलाई चुचुरोमा आधा घन्टा बस्न हम्मे पर्छ । तर, बाबुछिरी शेर्पाले अक्सिजन प्रयोग नगरी २१ घन्टा शिखरमा बासै बसे । होडबाजीकै लहडमा होला २५ वर्षे लाक्पा थार्के शेर्पाले २४ मे २००६ मा सगरमाथा शिखरमा शरीरको माथिल्लो भाग अर्धनग्न अवस्थामा तीन मिनेट बिताए । फुर्वातासी शेर्पा र सुश्री छुदिन शेर्पाले एक हप्तामा दुई–दुईपटक सगरमाथा टेक्न पुगेका थिए ।

 

भावना बोकेका व्यक्ति पनि सगरमाथा आरोहण गर्दा रहेछन् भन्ने चरितार्थ गर्दै सुश्री मोनी मुलेपती र प्रेम दोर्जीले सगरमाथाको टुप्पोमा ३० मे २००५ मा सिन्दुरपोते लगाएर बिहे गर्नै भ्याइदिए । यही मेको १९ मा घँुडासम्म दुवै खुट्टा गुमाएका हरि बुढा मगरले पनि सर्वाेच्च शिखरको सफल आरोहण गरे । सन् २०२३ को मे १७ मा एकै दिन १७५ आरोही चुचुरोमा पुगे । सन् २०१५ को मे २३ मा एकै दिन ३५४ आरोहीले सगरमाथा थाप्लोमा टेकेको रेकर्ड रहेको छ । 

 

सगरमाथाको उचाइ
सगरमाथाको उचाइ विश्वका विभिन्न संस्थाले फरक–फरक भन्ने गरेकोलाई समाधान गर्न नेपाल र चीन दुवैतर्फबाट मापन गरी नेपालको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर भएको घोषणा संयुक्त रूपमा १२ डिसेम्बर २०२० मा गरे । यसबाट विश्वको सर्वाेच्च शिखर साबिकभन्दा ८६ सेन्टिमिटर अग्लिएको पाइएको छ । सगरमाथाको शिरमा ५ मिटर चौडा र ७ मिटर चौडाइको हिउँको ‘स्लोपिङ टेरेस’ ढिस्को छ ।

वास्तवमा नेपाली आइसफल डाक्टरले बाटो नबनाइदिए, लजिस्टिक सहयोगीका रूपमा शेर्पाले काम नगरिदिए विदेशी आरोहीले कुनै पनि हालतमा चुचुरो चुम्न नसक्ने तथ्य छर्लंगै छ ।

नेपालको सीमारेखाभित्र पर्ने त्यही ढिस्कोमाथि पाइला राखेपछि मात्र सगरमाथामाथि विजयी भइन्छ । शिखरमा प्रतिघन्टा ३२० किलोमिटरको गतिमा हावा चल्छ । सरदर चिसोपन माइनस ६७ देखि ७२ डिग्री सेल्सियससम्म रहेको हुन्छ । सन् २०२१ को मे ३ मा चीनले झोमोलुङमा/ सगरमाथाको चुचुरोमा नेपाल र चीनततर्फबाट शिखरमा उक्लने आरोहीहरूलाई चुचुरोमा मिसिन नदिई कोरोना भाइरसबाट बचाउने अभिप्रायका निम्ति ‘लाइन अफ सेपरेसन’ खिच्ने योजना बनाएको थियो । तर, चीनले तिब्बततर्पmबाट चोमोलुङमा आरोहण गर्ने कार्य मे १५ मा रद्द गर्‍यो ।


भारतीय जी न्युजले सगरमाथामाथि भारतीय दाबी गरी प्रसारण गरेको थियो । तर, नयाँ पत्रिका दैनिकले १३ जनवरी २०२१ मा प्रथम पृष्ठमै ‘जी न्युजको आपत्तिजनक अभियान’ शीर्षकमा समाचार प्रकाशित गरेपछि त्यसको भोलिपल्टै सुधीर चौधरीले माफी मागे । 

 

सन् २०२३ को आरोहण
आरोहण गर्ने दल र आरोहीका संख्या वर्षैपिच्छे बढिरहेको पाइन्छ । २०२३ को वसन्त ऋतुमा ४४ टोलीका ४७८ आरोहीले पर्मिट लिएका छन् । यसमध्ये १०२ जना महिला रहेका छन् । सबभन्दा बढी अमेरिकी १६३ जना, चिनियाँ ११३, भारतीय ४०, अस्ट्रेलियन ३१, क्यानडेली २१, रुसी २०, युएई १८, अस्ट्रियाली १६, नेपाली १६ जना तथा बाँकी विभिन्न देशका रहेका छन् । 


सगरमाथा आधारशिविरबाट उकालो लाग्न आइसफल डाक्टरहरूले चुचुरोसम्म डोरी टाँगी मे १३ का दिन आठजना शेर्पा र एकजना फोटोग्राफर चुचुरोमा पुगे । यसबाट अरू आरोहीहरूलाई पथप्रदर्शन मार्ग खुल्न गयो । फलस्वरूप मे १४ मा यस वसन्त ऋतुको पहिलो टोलीका रूपमा विदेशी आरोहीमध्ये पाकिस्तानी महिला नैला कियानी तथा पाठेघर क्यान्सर भएकी अमेरिकी महिला आरोही जेसिकारे वेदेलसहित ११ जनाले सफल आरोहण गरे ।

 

युक्रेनका पूर्वमन्त्री ५१ वर्षे इमार किस्निर र उनका श्रीमती ४६ वर्षीया ओकसानाले पनि १७ मेमा सफलता प्राप्त गरे । यी हरफ लेख्दासम्म ४०२ जना चुचुरोमा पुगिसकेका छन् । बाँकी लर्को लागेर शिखरतिर लम्कँदै छन् । यस वसन्त सिजनमा अहिलेसम्म नौजनाले ज्यान गुमाएका छन् । वास्तवमा नेपाली आइसफल डाक्टरले बाटो नबनाइदिए, लजिस्टिक सहयोगीका रूपमा शेर्पाले काम नगरिदिए विदेशी आरोहीहरूले कुनै पनि हालतमा चुचुरो चुम्न नसक्ने तथ्य छर्लंगै छ । यद्यपि, उनीहरूले आफ्नो पेसाको पारिश्रमिकका लागि काम गरेको भन्ने भनाइ पनि छ । विदेशी आरोही नआए नेपाली शेर्पा समुदायको रोजीरोटी पुग्दैन भन्ने अर्काे पाटो रहेको छ ।


सगरमाथाबाट सरकारलाई रोयल्टी यस वर्ष सबैभन्दा धेरै रकम रु. ६६ करोड प्राप्त भएको छ । प्राप्त राजस्व रोयल्टीमध्ये स्थानीय निकाय तथा प्रदेश सरकारलाई २५–२५ प्रतिशत र संघीय सरकारलाई बाँकी ५० प्रतिशत राख्ने व्यवस्था रहेको छ ।

 

अन्त्यमा
सगरमाथाको थाप्लोमा उक्लन विश्वभरका आरोही लालायित छन् । तर, आरोहीहरूले आरोहणका क्रममा जताततै फालेका फोहोरले हिमालबाट उत्पत्ति भएका हिमनदीलाई प्रदूषित तुल्याएको छ । यस्ता नदीले बगाएर ल्याउने फोहोर सामग्रीले तल्लो तटीय क्षेत्रका नदीलाई समेत प्रदूषित बनाउने गरेको छ । स्वच्छ पानीको स्रोतलाई प्रतिकूल असर पारेको छ । अर्काेतर्पm, हिमालमा थुप्रेको फोहोरले हिमचुलीको तापक्रम बढाई हिउँ पग्लेर हिमाल नांगो चट्टानमा परिणत हुने क्रम बढेको छ । यसप्रति सरकार बेलैमा सजग भई आवश्यक कदम चाल्नुपर्छ ।


प्रत्येक आरोहण मौसम सुरु हुनुअघि जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिबाट आरोहीको अनुगमन ट्र्याकिङ गर्ने चर्चा चल्ने गर्छ । तर, यो कुरा चर्चामै सीमित रहने गरेको छ । आगामी सिजनमा जिपिएस ट्र्याकिङको व्यवस्था गरिनुपर्छ । यसबाट सफल आरोहण गरेको हो होइन भन्ने कुरा यकिन गर्न मद्दत पुग्छ । दुर्घटनामा परी मृत्यु भएमा पनि तत्काल थाहा पाउन सजिलो हुन्छ । 


(श्रेष्ठ सीमा अन्वेषक तथा नेपाल  पर्वतारोहण संघका सल्लाहकार हुन् ।)