कविता
हरेक साल
जसरी वनमारा फुलेर
सेताम्मे भएको छ
यतिवेला म उनलाई सम्झिन्छु
हरेक साल नै उनी
मेरो कल्पनाको दुनियाँमा
उसैगरी आउँछिन्
फुत्त मेरो घरअगाडिको वनमाराको झाङबाट ।
गोल्डस्टार जुत्ता अनि कम्ब्याक्ट लगाएकी
उनका गाजलविनाका आँखाहरू आगो बोल्दथे
हातमा हतियार बोकेर हिँडेकी उनको मनमा
गुराँस फुल्दथ्यो ।
यस्तो लाग्थ्यो,
कलम समाउँदा झुक्किएर बन्दुक समाउन पुगिन् ।
उनको बेदाग अनुहारमा
उमेरका रहरलाग्दा रहर भेटिँदैनथे
भेटिन्थे केवल
टाढा कतै हेरिरहने चिम्सा आँखा ।
यौवनको पहिलो खुड्किलामा
यो कस्तो जिन्दगी खोज्दै हिँडेकी छिन् उनी ?
के उनी जान्दछिन् क्रान्ति के हो ?
के उनी जान्दथिन् यो हतियारले के गर्छ ?
उनको यो ख्याउटे शरीरले
कसरी थेग्छ माइलको यात्रा ?
बेदाग छ अनुहार र निरस छन् आँखाहरू
त्यहाँ केवल आगो बलिरहेछ
यो दनदनी आगो केका लागि ?
राज्यसत्ताको निराशा हो ?
या हो व्यक्तिगत आवेग र प्रतिशोध ?
मैरामा बसिरहेकी उनको छेउमा
जब पुरुष कमरेड सुस्तरी गए
उनी किन तर्सिइन बेस्सरी ?
किन हेरिरहन्छिन् उनी
आबैले मलाई कपाल बाटिदिएको ?
किन हेरिरहन्छिन्
भित्तामा टाँसिएको स–परिवारको तस्बिरमा ?
उनी मौन थिइन्
तर उनको मौनता धेरैथोक बोल्थ्यो ।
एक रातपछिको अर्को दिन
छपक्कै छोप्ने गरी बाँधेर
आफ्नो सानो निधारमा रातो फेटा
उनी उकाली लागिन् कमरेडहरूसँगै ।
उसैगरी– जसरी आएकी थिइन् ।
वर्षौँ बितिसक्यो
थाहा छैन मलाई
उनी कहाँ होलिन् ?
उनका आँखाहरूमा
आजभोलि गाजल होला कि आगो ?