• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
क्रिस्टोफर वुडी/ली फेर्रान/डेभ फिलिप्स
२०८० जेठ २० शनिबार ०७:४१:००
इतिहास

स्पेनमा खसेका ती अमेरिकी आणविक बम

२०८० जेठ २० शनिबार ०७:४१:००
क्रिस्टोफर वुडी/ली फेर्रान/डेभ फिलिप्स

इतिहास

 

५७ वर्षअघि स्पेनिस तटमा चार अमेरिकी आणविक बम खसेका थिए, जसको असर दशकौँ देखियो

 

सन् १९६६ जनवरी १६ को एकाबिहानै अमेरिकाको नर्थ क्यारोलिनास्थित ‘सेमोर जोन्सन एयर फोर्स बेस’बाट बी–५२ स्ट्र्याटोफोट्रेस बमवर्षक विमान युरोपका लागि उड्यो । विमान ‘अप्रेसन क्रोम डोम’अन्तर्गत चारवटा बी२८ हाइड्रोजन बम बोकेर सोभियत संघको सिमानानजिकको युरोपेली आकाशमा गस्ती गर्न जाँदै थियो । सन् १९६१ मा बर्लिनको पर्खाल खडा भएपछि अमेरिका र सोभियत संघबीचको प्रतिद्वन्द्विता चुलिएको थियो । दुई मुलुकबीच जुनसुकै वेला युद्ध भड्किने डर थियो । अमेरिकी सेनाले यसैलाई मध्यनजर गर्दै अकस्मात युद्ध भड्किएको अवस्थामा प्रयोग गर्न सकिने गरी आकाशमा आणविक बम हरसमय तैनाथ राख्ने अप्रेसन क्रोम डोम कार्यक्रम ल्याएको थियो । मुख्यतः युद्धको सुरुमै अमेरिकाका मुख्य आणविक केन्द्र सोभियत मिसाइल निसानामा पर्दा युद्धमा प्रयोग गर्न मिल्ने हतियारको जोगाड थियो, त्यो । यस परियोजनाअन्तर्गत सोभियत सीमानजिक युरोपेली आकाशमा आणविक हतियार बोकेका बमवर्षक विमान तैनाथ राखिन्थे । जनवरी १६ मा उडेको बी–५२ स्ट्र्याटोफोट्रेस यसै अभियानअन्तर्गत आफ्नो पालो दिन उडेको थियो । 

 

भोलिपल्ट अमेरिका फर्किंदा विमानले स्पेनको आकाशमा इन्धन भर्ने विशेष विमान केसी–१३५ ट्यांकरबाट इन्धन भर्ने कार्यसूची थियो । अमेरिकी सरकारले स्पेनसँग यस प्रयोजनको लागि उसको आकाश प्रयोग गर्ने अनुमति दिन छुट्टै सम्झौता पनि गरेको थियो । त्यस दिन सो बमवर्षकको कमान्ड सम्हालिरहेका वायुसेनाका २९ वर्षीय पाइलट क्याप्टेन चाल्र्स वेन्डोर्फले इन्धन भर्ने समयका लागि आफ्ना स्टाफ पाइलट मेजर ल्यारी मेसिंगरलाई विमानको नेतृत्व हस्तान्तरण गरे । १७ जनवरीको बिहान १० बजेको समयतिर दक्षिणपूर्व स्पेनको आकाशमा ३१ हजार फिटको उचाइमा बमवर्षक विमान इन्धन भर्ने जहाजको नजिक पुग्दै थियो । तर, बमवर्षक विमान र इन्धन जहाज नजिकिरहँदा मेसिंगरले केही गडबड महसुस गरे । 

 

‘हामी इन्धन भर्ने ट्यांकरको पछाडितर्फ थियौँ । हाम्रो जहाजको गति इन्धन जहाजको भन्दा बढी भएछ, जसले गर्दा इन्धन भर्ने विमानतर्फ हुत्तियौँ,’ पछि अमेरिकी हेरिटेज पत्रिकासँगको कुरा गर्ने क्रममा मेसिन्जरले सम्झिए । ‘इन्धन भर्दा निश्चित प्रक्रिया अपनाइन्छ, यदि बुम अपरेटरलाई दुई विमान धेरै नजिक पुगेको लाग्यो भने उनीहरूले खतरनाक संकेत गर्दै टाढिन भन्छन् तर त्यो दिन त्यस्तो केही संकेत आएन । त्यसैले विमानहरू टक्कर नखाएसम्म कसैले पनि खतराको महसुस गरेन,’ मेसिंगरले भने । बी–५२ इन्धन भर्ने जहाजसँग ठक्कर खाएपछि केसी–१३५ मा रहेको इन्धन छचल्किँदा ठूलो आगलागी भयो । दुवै हवाईवाहन विस्फोट भयो, इन्धन ट्यांकर–विमान जलेर पूरै खरानी भयो, र त्यसमा सवार सबै चारजनाको तत्कालै ज्यान गयो । बमवर्षक विमानका पछाडि भागमा रहेका तीनजना मानिस मारिए भने चालक दलका चारजना भने विमानमा जडित विशेष प्रविधिमार्फत विस्फोटअघि नै उम्किए । 

स्पेनमा दुर्घटना भएको अमेरिकी बमवर्षक जहाजको भग्नावशेष ।

 

दुर्घटना नटर्ने अवस्थाका लागि लडाकु विमानमा, पाइलट बस्ने प्यारासुटजडित सिट नै उछिट्टिने प्रविधि राखिएको हुन्छ । यही प्रविधिको प्रयोग गरेर बमवर्षक विमानका पाइलट दलका सदस्यहरू, क्याप्टेन इभेन्स बुकानन, वेन्डोर्फ र लेफ्टिनेन्ट रिचर्ड र मेसिंगर विस्फोटअघि नै उम्किन सफल भए । उनीहरू प्यारासुटको सहारामा समुद्र तटछेउको स्पेनी भूमिमा झरे । आकाशमा ठूलो विस्फोट र आगोका लप्का झरेको केही माइल पर माछा मारिरहेका स्पेनिस माझीले पनि देखेका थिए । एकजना माझीले जलेको भग्नावशेषसँगै पाँँचवटा प्यारासुट पनि देखेका थिए । उनले पछि सुरक्षाकर्मीलाई जानकारी गराएअनुसार पाँचमध्ये तीनवटा प्यारासुटका मानिस जिउँदाजस्ता देखिएका र अरू दुई प्यारासुटमा भने ‘मरेका शव’ थिए । 

 

हतारमा सरसफाइ टोली

 

दुर्घटनाको केही समयपछि, स्पेनमा पहिलेदेखि रहेको अमेरिकी हवाई फौजको आधार शिविरमा साइरन बज्न थाल्यो । सेनाका शीर्ष अधिकारी त्यस समय आधार क्षेत्रमा रहेका भेट्न सकिने जति सबै तल्लो तहका फौजी जम्मा गरेर घटनास्थलमा जाने तयारी गर्न थाले । त्यस क्रममा आधार क्षेत्रमा भेटिएको मान्छे, क्लर्क र संगीतकारसमेत प्रारम्भिक उद्धार र सरसफाइ अभियानका लागि सहभागी गराइएका थिए । उनीहरू केही समयभित्रै दक्षिणपूर्वी स्पेनको तटीय कृषि गाउँ पालोमेरेस पुर्‍याइए । सुरुमा सरसफाइ टोलीको संख्या केही दर्जन भएकोमा पछि यो संख्या ६ सयसम्म पुगेको थियो । तिनको बसोवासका लागि टेन्टको बस्ती नै बनाइएको थियो ।

 

‘हामी सुरुमा पुग्दा सबै भद्रगोल थियो । भग्नावशेष यत्रतत्र पालोमेरेसको गाउँभरि नै छरिएको थियो । बमवर्षकको ठूलो हिस्सा गाउँको विद्यालयको आँगनमा खसेको थियो,’ त्यस दिन दुर्घटनास्थलको अवस्था सम्झिँदै तत्कालीन सैन्य प्रहरी जोन गार्मनले भने । जनवरी १७ को साँझसम्म भग्नावशेष कहाँ–कहाँ खसे भन्ने लगभग पहिचान भइसकेको थियो । कुनै पनि गाउँलेलाई चोटपटक नलागेको पनि खुल्यो । तर, भग्नावशेष खसेको स्थानको पहिचान मात्र तिनको उद्देश्य थिएन । दुर्घटनाग्रस्त बमवर्षकमा चार शक्तिशाली आणविक बम थिए, तिनको खोज अमेरिकी अधिकारीको पहिलो प्राथमिकता थियो । 

 

लामो खोज 

 

चारवटा आणविक बम । प्रत्येक १.४५ मेगाटन विस्फोटक क्षमताका थिए, जुन हिरोसिमामा खसालिएको बमभन्दा ७० गुणा बढी शक्तिशाली हो । तथापि तिनमा राखिएका सुरक्षा व्यवस्थाले आणविक विस्फोटलाई रोक्न सफल भएको थियो । अर्थात् बममा जडित सुरक्षा प्रणालीले प्लुटोनियमको परमाणु विस्फोटलाई रोक्न सफल भएकाले ठूलो विपत्ति टरेको थियो । यदि त्यसो हुन नसकेको भए एकपछि अर्को आणविक विस्फोटको प्रलय सामना गर्नुपर्ने थियो । ‘ठूलो भाग्यले त्यो दिन पालोमारेस क्षेत्रका जनसंख्या महाप्रलयबाट बचेका थिए,’ घटनाको रिपोर्ट गर्ने एक सोभियत अधिकारीले त्यस वेला बताएका थिए । आणविक बमको विस्फोटन दुई चरणमा हुने गर्छ । बममा राखिएको ठूलो परिमााणका परम्परागत बारुद विस्फोट भएर उत्सर्जित हुने उच्च तापले बमको केन्द्रमा राखिएको रेडियोधर्मी पदार्थमा आणविक प्रतिक्रिया सुरु गराएपछि मुख्य आणविक विस्फोट हुन्छ । 

 

सुरुमा भेटिएको बम जस्ताको त्यस्तै भेटिएको थियो । बाँकी दुई बम भने तिनमा राखिएको परम्परागत विस्फोटक पदार्थ भने पड्किएको अवस्थामा फेला परे । रेडियोधर्मी सामग्री बाली र खेतबारीमा छरिएका थिए । तीबाट रेडियोधर्मी विषाक्तता फैलिने सम्भावना उच्च थियो । कैयौँ दिनको खोजीपछि पनि चौथो बम फेला पर्न सकिरहेको थिएन, जुन अमेरिकाका लागि अन्तर्राष्ट्रिय लज्जाको विषय बनिरहेको थियो । त्यस्तै त्यस क्षेत्रका मानिसका लागि सम्भावित खतरा थियो । चौथो बम हराएको स्थानको विश्लेषण गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले न्यू मेक्सिकोको सान्डिया नेसनल ल्याबोरेटरिजका इन्जिनियरलाई बोलायो । तिनले हराएको बम झरेको सम्भावित स्थान निर्धारण गर्न उपलब्ध सबै सम्भावनाबारे विचार–विमर्श गरे । दुर्घटनाको परिस्थिति र बमको खसाइमा प्रभाव पार्ने हावाको गतिदेखि अन्य चरहरूको विश्लेषणपछि चौथो बम समुद्रमा खसेको हुन सक्ने देखियो । तर, समुद्रको कुन भागमा खसेको भन्ने पहिचान गर्न कठिनाइ भइरहेको थियो । 

 

यस्तोमा बमवर्षकका चालक दलका पाँच सदस्यलाई समुद्रमा अवतरण गरेको देख्ने माझीको कुरामा फेरि सैनिक विश्लेषकको ध्यान गयो । उसले देखेको ‘मृत मानिस’ खासमा चौथो बम थियो । त्यो जानकारीलाई ध्यानमा दिएर चौथो बमको खोजीका लागि ल्याइएका इन्जिनियरले समुद्री भेगमा नयाँ खोज क्षेत्र सिफारिस गरे । नौसेनाले समुद्री पिँधमा बम खोज्न सयजनाको गोताखोर समूह तयार पार्‍यो । खोजीकै लागि फेब्रुअरी ११ मा नौसेनाले १३ टन वजनको २२ फिट लामो, आठ फिट चौँडा पनडुब्बीसमेत प्रयोगमा ल्याएको थियो । समुद्रमुनिको खोजमा यसअघि कहिल्यै पनि यो स्तरको प्रयास भएको थिएन । हुन पनि अमेरिकाका लागि जोखिम उच्च थियो । बम हराएको समुद्री क्षेत्र वरपर अमेरिकाको प्रतिद्वन्द्वी सोभियत जहाज देखिन थालेका थिए । पछि जारी गोप्य कागजातअनुसार सोभियत दल बम खोजेर भेटिएमा आफ्नो देश लाने गोप्य योजनाअनुसार त्यहाँ थिए । त्यसैले अमेरिका निकै तनावमा थियो । 

 

खोजमा तैनाथ पनडुब्बीमा एक पाइलट र दुई पर्यवेक्षक बस्न मिल्थ्यो । त्यसअतिरिक्त खोजमा सघाउन त्यसमा धेरै क्यामेरा र एक पानीभित्र भेटिएको सामान च्याप्ने उपकरण पनि थियो । ६ हजार फिटको गहिराइसम्म जान सक्ने यस पनडुब्बी पुरानो प्रविधिको थियो, जसले गर्दा खोज निकै सुस्त गतिमा भइरहेको थियो । मार्च १ सम्म बमको संकेतसमेत फेला परेन । तर, सो दिन पर्यवेक्षकले समुद्र पिँधमा केही धर्सोजस्तो देखे । सो क्षेत्रवरपर थप दुई हप्ताको खोजपछि बम फेला पर्‍यो । माझीले जुन ठाउँमा मरेको मानिस खसेको भनेका थिए, लगभग त्यही समुद्री भागको दुई हजार ५५० फिटमुनि बाँकी तीन बम खसेको समुद्र तटबाट करिब पाँच माइल बम सकुसल भेटिए । तर, सुरु (अप्रिल २)मा बम निकाल्ने प्रयास सफल भएन । बमनजिक पुगेको उपकरण त्यसको प्यारासुटमा अड्कियो । पछि अप्रिल ७ मा बल्ल कठिन मिहिनेतले बम समुद्र पिँधबाट निकालिएपछि ८१ दिनका खोज सकिएको थियो । समुद्री खोजमा संलग्न पर्यवेक्षक एकाएक अन्तर्राष्ट्रिय नायक बने, तर घटनाको प्रभाव भने त्यही दिन समाप्त भएन । 

 

दुर्घटनापछि उच्च विकिरण प्रदूषण

 

घटनापछि सो क्षेत्रमा पुगेका आणविक विज्ञहरूले परम्परागत विस्फोटक पदार्थ पड्केपछि उछिट्टिएका प्लुटोनियमको खेतबारी र गाउँका केही भागमा पत्र लागेको बताएका थिए । यस समस्यामा अमेरिकी सरकारले भौतिक रूपमा जग्गा खाली गर्ने र ती जग्गाधनीलाई क्षतिपूर्ति दिने कदम मात्र उठायो । रेडियो विकिरण फैलिएको आशंकामा अमेरिकी सैनिकले पालोमेरेस क्षेत्रका करिब ६०० एकड क्षेत्रमा लगाइएका बाली किनेका थिए । ‘हामीले त्यहाँ लगाइएका धेरै टमाटर खेत किन्नुपरेको थियो,’ पूर्व वायुसेना अधिकारी माल्कम स्ट्रिंगरले सान्डियापछि राष्ट्रिय प्रयोगशालाद्वारा निर्मित भिडियोमा भनेका थिए । जमिनमा खसेका तीनवटा बम भेटिएको केही हप्ताभित्रै अमेरिकी सेनाले वरपरका विकिरणले दूषित वनस्पतिहरू ट्रकका ट्रक खनेर तिनको क्याम्पमा लगे । जहाँ ती सामग्री जलाइएका थिए । 

 

विषाक्त माटोसमेत खनेर ड्रममा राखी नौसेनाको जहाजबाट अमेरिकाको जर्जियास्थित आणविक विकार भण्डारणमा लगिएको अमेरिकी सेनाको सन् १९७५ को रिपोर्टमा उल्लेख छ । सोही प्रतिवेदनमा अविश्वसनीय रूपमा स्थानीय वा अमेरिकी खोजकर्तामध्ये कसैले पनि विकिरणको नकारात्मक स्वास्थ्य प्रभाव भोग्नु नपरेको उल्लेख छ । यद्यपि एक स्थानीय युवकलाई घटनाको ६ वर्षपछि ‘रक्त क्यान्सर’बाट बितेको लेखेको छ । तर, अमेरिकी सेनाको आधिकारिक रिपोर्टविपरीत पालोमेरेस क्षेत्रमा सबै ठिक भइसकेको थिएन । पचास वर्षपछि गरिएको अनुसन्धानमा समेत केही भाग विकिरणयुक्त पाइएका थिए । यो कुरा अमेरिका र स्पेनबीचका सन्धि–सम्झौताले पनि स्पष्ट गर्छ ।

 

दुर्घटनापछि सकुशल भेटिएका यी बम हाल प्रदर्शनीमा राखिएका छन् ।

 

यसैकारण सन् २०११ मा तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पालोमेरेसलाई ‘दीर्घकालीन विरासत मुद्दा’का रूपमा उल्लेख गरेकी थिइन् । सन् २००६ मा विकिलिक्सले लिक गरेको अमेरिकी विदेश मन्त्रालयका दस्ताबेजअनुसार अमेरिकाले यस घटनाका लागि हरेक वर्ष लगभग तीन लाख डलर खर्चिने गरेको र त्यस बिन्दुसम्म जम्मा १.२ करोड डलर लागेको खुलासा गरेको थियो । यीमध्य ठूलो खर्च त्यस क्षेत्रको अनुगमनका लागि स्पेनी सरकारलाई अनुदान र स्थानीयको ‘स्वास्थ्य निगरानी’मा खर्च भएको पनि उल्लेख छ । विकिलिक्सको लिकको एक दशकपछिसमेत पालोमेरेसको घटना अमेरिका र स्पेनका सम्बन्धमा मुद्दा रहेको देखिएको थियो । जब सन् २०१५ मा तत्कालीन विदेशमन्त्री जोन केरी र उनका स्पेनिस समकक्षी जोसे म्यानुयल गार्सिया–मार्गेल्लोले अमेरिका र स्पेनबीचको ५० वर्षदेखि पालोमेरेस सफाइलाई टुंगोमा पुर्‍याउने योजनामा ‘जति सक्दो चाँडो छलफल गर्ने’ सहमतिपत्रमा हस्ताक्षर भयो । 

 

स्वास्थ्यमाथि चरम लापरबाही

 

यस घटनाबाट सबैभन्दा नराम्ररी प्रभावित दुर्घटनापछि बमको खोजी र खोजीमा सरिक अमेरिकी सैनिक र घटनास्थल वरपर बस्ने स्पेनी नागरिक भए । उनीहरू दुर्घटना भएको यति लामो समयपछि त्यसको असर बोकेर बसिरहेका छन् । दुर्घटनापछि पालोेमेरेका खेतका माटो खनेर अमेरिका लगिएको भए पनि पूर्णस्तरको सरसफाइ नगरिएको पाइएको छ । सन् १९९० को दशकमा भएको परीक्षणहरूले गाउँमा त्यस समय आणविक विकिरण निकै उच्च रहेको पाइएको थियो । थप परीक्षणले त्यहाँको ५० हजार घनमिटर माटो रेडियोधर्मी रहेको पाइयो । स्पेन सरकारको दबाबबीच सन् २०१५ मा अमेरिकाले गाउँमा बाँकी रहेको प्रदूषणलाई सफा गर्न सहमत जनायो । यता खोजमा संलग्न अमेरिकी कैयौँ पूर्वसैनिकहरूले प्लुटोनियम विषाक्तताका कयौं समस्यासँग जुधिरहेका छन् । हुन त विकिरणमा एक पटककै साक्षात्कारलाई क्यान्सरसँग जोड्न असम्भव छ, तर त्यस समय खोजमा सरिक धेरैमा क्यान्सर हुनुको कारणमा कुनै अध्ययन भएको छैन । 

 

सन् २०१६ मा द न्युयोर्क टाइम्सले यस विषयमा रिपोर्ट तयार गर्ने क्रममा पालोमेरेस सरसफाइमा संलग्न ४० जना पूर्वसैनिक वा तिनको परिवारलाई भेटेको थियो । तीमध्ये २१ जनालाई क्यान्सर लागेको थियो । नौजनाको क्यान्सरकै कारण मृत्यु भइसकेको थियो । धेरैले आफूहरूको समस्याका लागि वायुसेनालाई जिम्मेवार ठहर्‍याए । विशेषतः उच्च रेडियो विकिरण रहेको आफूहरूलाई जानकारी नदिइएको र जानकारी भएका अधिकारीले आवश्यक सुरक्षा पहिरन र उपकरण नदिएको तिनको आरोप छ । एक सैन्य प्रहरी अधिकारीका अनुसार उनीहरूलाई भग्नावशेषका टुक्राटाक्री जम्मा गर्न साधारण प्लास्टिकको झोला दिइएको थियो । तिनले खुला हातले ती रेडियोधर्मी टुक्रा उठाएका थिए ।

 

‘मेरो क्यान्सर त्यो समयको सरसफाइका कारण भएको महसुस गर्नै मलाई धेरै समय लाग्यो,’ पालोमेरेस सरसफाइमा सहभागी पूर्वसैनिक आर्थर किन्डलरले भने । सरसफाइको क्रममा उनको शरीर नै प्लुटोनियमका कणले ढाकिएले सैनिक अधिकारीले उनलाई समुद्रमा धोई–पखाली गर्न भनेका थिए । त्यसको चार वर्षपछि उनलाई टेस्टिकुलर(अण्डकोष) क्यान्सर र फोक्सोको दुर्लभ संक्रमण भयो । ती रोगको त जसोतसो उपचार भयो, तर फेरि उनमा लिम्फ नोड्समा क्यान्सर देखियो । यो तेस्रोपटक बल्झिसकेको छ । ‘हामीलाई विकिरणबारे केही थाहा थिएन र उनीहरूले हामीलाई सबै कुरा सुरक्षित रहेको बताएका थिए । हामी भर्खरका ठिटा थियौँ । विश्वास गर्‍यौँ तर तिनले झुट बोलेका रहेछन् । आखिर तिनले किन त्यसो गरे ?,’ किन्डलरले भने । 

 

‘हामीलाई बमको खोजीमा लगिदाँ आणविक विकिरण वा प्लुटोनियम वा अरू कुनै खतराबारे केही बताइएको थिएन,’ त्यसवेला २२ वर्षका सेनाका खेलाडी रहेका फ्र्याङ्क बी थम्पसनले पछि द न्युयोर्क टाइम्ससँग भने । थम्पसन र त्यहाँ खोजमा लगिएका सुरक्षाकर्मीेले कुनै सुरक्षात्मक उपकरण वा परिहनविनै कैयौँ दिन ती विकिरणले प्रदूषित क्षेत्रमा बिताएका थिए । ‘उनीहरूले हामीलाई डराउनुपर्ने अवस्था नरहेको, सबै सुरक्षित रहेको बताएका थिए । हामीलाई केही थाहा थिएन, त्यसैले विश्वास गर्नुबाहेक अरू विकल्प थिएन,’ थम्पसनले भने । अमेरिकी हवाई आधार शिविरमा संगीतकर्मी रहेका थम्पसनसँग न्युयोर्क टाइम्सले कुराकानी गर्दा उनी ७२ वर्षका थिए । त्यस समय उनी कलेजो, फोक्सो र मिर्गौलाका क्यान्सरबाट पीडित थिए । 

 

आफूलाई लागेको रोगको उपचारका लागि थोम्पसनले मासिक २२०० डलर खर्च गरिरहेका थिए । यदि एयर फोर्सले उनलाई विकिरणपीडितको पहिचान दिएको भए यो उपचार भूपू–सैनिकसम्बन्धी अस्पतालमा निःशुल्क हुने थियो । तर, अमेरिकी सेनाले ठोस तथ्यका बाबजुद घटनास्थलका सरसफाइकर्मी कुनै रेडियो विकिरणको सिकार नभएको दाबी गर्दै आएको छ । उसले विकिरणको उपस्थिति स्विकार्दा पनि त्यसको मात्रा नगण्य रहेको बताउने गरेको छ । तर, न्युयोर्क टाइम्सका अनुसार त्यस समय विकिरणको मात्र यति उच्च थियो कि तिनको अनुगमन गर्ने उपकरणको सबै नाप्ने उपकरणको सबै अंक पार गरेको थियो । फौजीहरूले महिनौँसम्म त्यहाँको विशाक्त माटो साभेलको साहाराले पन्छाएका थिए, सामान्य पहिरनमा । सरसफाइकर्मीका परीक्षणमा डरलाग्दो गरी उच्च प्लुटोनियमको मात्रा देखिँदा सेनाले ती परिक्षण नै ‘अमान्य’ भन्ने गथ्र्थो । ‘हामी सबै छिटै मर्नेछौँ अनि उनीहरू यो सबै कुरा लुकाउन सफल हुनेछन्,’ पालोमेरेस सरसफाइमा संलग्न पूर्वसैनिक होवेलले भने । न्युयोर्क टाईम्ससँगको संवादका क्रममा ७१ वर्ष पुगेका होवेले त्यसको केही समयअघि मात्र शल्यक्रियामाथि उनको मस्तिष्कमा देखिएको ट्युमर हटाएको थियो । 

 

(बिजनेस इन्साइडरका लागि क्रिस्टोफर वुडी, एबिसी न्युजका लागि ली फेर्रान र न्युयोर्क टाइम्सका लागि डेभ फिलिप्सले तयार पारेको रिपोर्टमा आधारित यो लेख श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)