• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विभु लुइँटेल
२०८० जेठ २० शनिबार ०८:०८:००
फिल्म

महिलाका मसिहा बन्न तम्सिनेका नाममा

२०८० जेठ २० शनिबार ०८:०८:००
विभु लुइँटेल

सिनेमा

 

अहिले नेपालमा गौशाला– २६ ले आफ्ना न्यायका लागि लडिरहँदा गर्नुपरेको संघर्ष र राज्यबाट पाइरहेको थप यातनासँग मेल खाने गरी बनेको चलचित्र ‘सिर्फ एक बन्दा काफी है’ को सर्वत्र चर्चा भइरहेको छ । चलचित्रमा वकिलको भूमिका निर्वाह गरेका मनोज बाजपेयीलाई सबैले ‘अबला’ महिलाका मसिहाका रूपमा वर्णन गरिरहेका छन् । 

 

राज्यव्यवस्थाद्वारा सीमान्तकृत बनाइएका समुदायलाई बचाउन वा तिनका पक्षमा वकालत गरी आफ्नो पोर्टफोलियो बलियो बनाउन लागिपरेका यस्तै पात्रलाई समाज तथा चलचित्रले ‘मुक्तिदाता’ बनाउने प्रवृत्ति पहिलेदेखि नै देखिँदै आएको हो । ती नहुने हुन् भने महिला तथा सीमान्तकृत समुदायका लागि सामाजिक न्याय असम्भव नै हुन्छन् भनी यस्ता थुप्रै चलचित्रले गलत सन्देश प्रवाह गरिरहेका छन् । 

 

अहिले ‘सिर्फ एक बन्दा काफी है’ चलचित्र हेरेर मनोज बाजपेयीको जय मनाइरहेकालाई यो पनि हेक्का रहोस्, यी तिनै बाजपेयी हुन् जो ‘द फेमिली म्यान’ नामको शृंखलामा कस्मिरी मुसलमान र तमिल समुदायका व्यक्तिलाई आतंककारी घोषित गरी भारतमा विद्यमान साम्प्रदायिक द्वन्द्व वरपर निर्मित भाष्यलाई बढवा दिइरहेका थिए । भारतको संविधानको अनुच्छेद ३७० खारेज भएसँगै चर्किएको द्वन्द्व र उक्त शृंखला रिलिज भएको समय लगभग एकै थियो । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाका मसिहाको तक्मा भिराइदिएका बाजपेयी केही समयअघिसम्म मात्र मुस्लिमद्वेशी पात्रको भूमिकामा देखिएका थिए । 

 

सेभियर कम्प्लेक्सबाहेक यस चलचित्रलाई महिलावादी चलचित्र मान्नु नपर्ने अन्य कारण पनि छन् । उता अदालतमा नाबालिगका तर्फबाट लडिरहेका मुख्य पात्र घरमा भने आमाको वस्तुकरण गर्नसमेत पछि पर्दैनन् । बलात्कारपश्चात् १६ वर्षे सभाइबरलाई भन्दा बढी पीडा मनोज वाजपेयीलाई भएको देखाइएको छ । र त्यसैलाई सत्यका रूपमा स्थापना गर्न विभेदकारी हिन्दू प्रतीकको प्रचुर प्रयोगसमेत भएको छ । 

 

चलचित्रको अन्त्यमा छिमेकका सबै महिला भेला भएर वाजपेयीका लागि हर्षबढाइँ गर्छन्, पूmलको वर्षात् हुन्छ । उता सर्भाइबरले महसुस गरिरहेको पीडा चित्रित गर्नेतर्फ भने कसैको ध्यान जाँदैन । हामीलाई कानुनी र सामाजिक न्याय होइन, उच्चजातीय पुरुष मुक्तिदाता चाहिएको छ भन्नेजस्ता आपत्तिजनक भाष्य स्थापना गर्न यस्तै चलचित्रले सघाएका छन् ।

 

यसरी नै जुन विभेदकारी संस्थाले यस्ता अपराध गरिरहेको छ, त्यसैभित्रका केही प्रतिनिधि पात्रलाई उद्धारकर्ताका रूपमा उभ्याई समाजका केही वर्चस्वशाली समुदायले आखिरमा विभेद र हिंसालाई नै बढवा दिइरहेको हुन्छ ।

 

कथा कसको हो, भोगाइ कसको हो भन्दा पनि ठाउँ ओगटेर कसले बोल्यो भनी नियाल्ने कुरामा हामी निकै पछि परिरहेका छौँ । नभए भोग्नेको व्यथा दोस्रो व्यक्तिलाई कसरी बढी थाहा हुन्छ ? यसले नायकत्वको अपेक्षालाई दर्शकमाझ तीव्र बनाई अन्यायलाई बढवा दिइरहेको तथ्य नकार्न सकिँदैन ।

 

सन् २०१९ मा आएको बलिउड चलचित्र ‘आर्टिकल १५’ मा एक सम्पन्न उच्चजातीय परिवारबाट आएका अयान रञ्जन भारतको उत्तर प्रदेशको लालगाउँमा प्रहरी अधिकारीका रूपमा काम गर्न जान्छन् । गाउँमा काम गर्न जानुअगाडिसम्म जात–व्यवस्थाबारे केही थाहा नभएका र आफ्नो जातबारे त झनै ज्ञात नभएका रञ्जनको भूमिका आयुष्मान खुरानाले निर्वाह गरेका छन् । उत्पीडक जातका व्यक्तिलाई आफ्नो जात र त्यससँगै आएको विशेषाधिकारबारे थाहा नहुनु प्रगतिशील हुनुको मानक नभई समाजमा विद्यमान विभेदबारे अनभिज्ञ हुनु हो र त्यस्ता विभेदलाई मलजल गर्न तिनको पनि प्रत्यक्ष–अप्रत्यक्ष भूमिका रहेको छ भन्ने तथ्य बुझ्न निर्देशक अनुभव सिन्हा चुकेका छन् । एक उच्चजातीय त्याचलैंगिक पुरुषका अभावमा महिला तथा दलितको मुक्ति सम्भव नरहेको देखाउन यिनले हरसम्भव प्रयास गरेको देख्न सकिन्छ । 

 

हलिउड चलचित्रको नश्लवादी निर्माणलाई लिएर सन् २०१२ तेजु कोलले द एटलान्टिकमा लेखेको ‘द ह्वाइट सेभियर इन्डस्ट्रियल कम्प्लेक्स’मा यसलाई विशेषाधिकारप्राप्त समाजले आफूसँग भएका अधिकारबारे निकैपछि ज्ञात भएका अवस्थामा ‘भावनात्मक बोझ’ उत्पन्न हुने र त्यसैलाई चलचित्रका माध्यमबाट देखाइने कुरा लेखेका छन् । यस्तो हुँदा शक्तिसम्पन्न समुदायलाई अरूका भोगाइभन्दा आफ्ना भावनात्मक अनुभवको मूल्य बढिरहेको भान हुन्छ । ‘आर्टिकल १५’ मा पनि आयुष्मान खुरानालाई त्यही भएको हो । त्यसैले त चलचित्रमा दलित महिलाको निर्ममतापूर्वक हत्या भए पनि एक ब्राह्मण पुरुषले गरेको अनुभवको पीडा धेरै हुने देखाइएको छ । 

 

अर्को चलचित्र ‘चन्दीगढ करे आशिकी’मा आफूमा रहेको पारलैंगिक महिलाप्रतिको द्वेश कम गर्दै लगेर अन्त्यमा एक पारलैंगिक महिलासँग प्रेमसम्बन्ध कायम गर्ने आयुष्मान खुरानाका ‘संघर्ष’ देखाइएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, समान व्यवहारका लागि हरेक दिन लडिरहेका, मरिरहेका समुदायका तुलनामा सोही समुदायको कसैसँग प्रेम गरी आफूलाई प्रगतिशील देखाउने र अर्को व्यक्तिले जीवनभर भोगेको विभेद र त्यससँग लड्न गरेको संघर्षलाई भने चलचित्रले कहीँकतै समेटेको छैन । 

 

अंग्रेजीमा यस्तो प्रवृत्तिलाई ‘सेभियर कम्प्लेक्स’ भनिन्छ । आयुष्मान खुरानाका पछिल्ला केही चलचित्र हेर्ने हो भने महिला तथा दलितका सेभियरका रूपमा यिनले अभिनय गरेका छन् । सीमान्तकृत समुदायका हातबाट माइक छिनी तिनलाई चुप लगाएर आफ्ना कुरा अगाडि राख्ने यस्ता सेभियर पात्र अधिकांश ब्राह्मण पुरुष नै हुन्छन् र समाजले पनि तिनलाई हिरोका रूपमा हेर्न कहिल्यै छाड्दैन । 

 

एउटै समाजले उत्पीडक र सेभियर जन्माउँछ, त्यसैले दुवैलाई प्रश्रय दिन्छ । सन्दीप लामिछाने, पल शाह, आशाराम बापु, आयुष्मान खुराना र ‘सिर्फ एक बन्दा काफी है’का मनोज बाजपेयी यही व्यवस्थाका उपज हुन् । यी सबलाई आफू नभई समाज अघि बढ्न नसक्ने भ्रम छ । यी सबका प्रशंसक यिनका विरुद्ध आएका आलोचनात्मक प्रश्नलाई बलपूर्वक चुप लगाउन ज्यान दिएर लागिपर्छन् । 

 

सन् २०१६ मा आएको र ‘नो मिन्स नो’जस्ता प्रभावशाली वाक्यलाई धेरैमाझ पुर्‍याउन सफल भएको ‘पिंक’ नामको चलचित्र पनि यस्तै सेभियर कम्प्लेक्सले भरिपूर्ण छ । यौनिक हिंसा र त्यसपश्चात् मानसिक विचलन भोगेका तीन महिलालाई न्याय दिलाउन अमिताभ बच्चनलाई ल्याइन्छ । निर्देशकले चतुर्‍याइँपूर्ण तरिकाले ती महिलाका अनुभवभन्दा बढी महत्व अभिताभ बच्चनका यस्तै ‘वान लाइनर’लाई दिएका छन् । महिलाका यौनिकता र सहमतिलाई पुरुषका दृष्टिकोणले हेरी अदालतीय प्रक्रियाका क्रममा महिला पात्रको यौनजीवनबारे सार्वजनिक रूपमा प्रश्न गर्ने र यौनहिंसामा परेका महिलालाई समानुभूतिका साथ हेर्नुका साटो तिनको भोगाइलाई सनसनीपूर्ण तरिकाले प्रस्तुत गर्ने ध्येय यस चलचित्रको रहेको छ । वकिलका रूपमा बच्चन नआइदिएका भए ती महिलाले जीवनभर न्याय नपाउने भनी देखाउने प्रयाससमेत यस चलचित्रमा भएको छ । केही विषम लैंगिक घटकलाई अगाडि सार्दै महिलालाई न्याय दिलाउँछु भन्दै तम्सिने पुरुषले आफैँले आफैँलाई कहिले प्रश्न गर्लान् ?

 

कथा कसको हो, भोगाइ कसको हो भन्दा पनि ठाउँ ओगटेर कसले बोल्यो भनी नियाल्ने कुरामा हामी निकै पछि परिरहेका छौँ । नभए भोग्नेको व्यथा दोस्रो व्यक्तिलाई कसरी बढी थाहा हुन्छ ? यसले नायकत्वको अपेक्षालाई दर्शकमाझ तीव्र बनाई अन्यायलाई बढवा दिइरहेको तथ्य नकार्न सकिँदैन । सीमान्तकृत समुदायबाटै आएका व्यक्तिको चलचित्रका पात्रका रूपमा चित्रण हुन सक्ने सम्भाव्यताबारे छलफल चलिरहँदा चलचित्र क्षेत्रमै कार्यरत अधिकांशलाई त्यसले छुँदैन । 

 

उदाहरणका लागि नाजिर हुसेन, राजेश हमाल, अक्षय कुमार, सदाशिव अमरापुरकरजस्ता त्याचलैंगिक पुरुषलाई पारलैंगिक महिलाका भूमिकामा चित्रण गरेसँगै प्रतिनिधित्वबारे प्रश्न उब्जँदा सधैँ किन ‘जसका नाममा फिल्म बिक्छ, उसैलाई त हो हिरो बनाउने’ जस्ता जवाफ सुनिन्छन् । अनि, अन्तर्वार्तामा सुनिन्छन् पारलैंगिक महिलाका भूमिका राम्रोसँग निर्वाह गर्न यिनै पुरुषले गर्नुपरेको दुःखका गाथा । आफूलाई सामाजिक न्यायका हिमायती भनी चिनाउन लागिपरेका कलाकारले आफूले यसरी सिंगो समुदायको इतिहास र संघर्षका कथा नै गलत तरिकाले सम्प्रेषण हुने गरी गरिरहेको अन्यायलाई लिएर ग्लानिबोध गर्दा हुन् कि नगर्दा हुन् ?

 

‘प्याडम्यान’मा महिनावारीको पीडा राधिका आप्टेभन्दा बढी अक्षय कुमारलाई हुनु, देशका लागि मेडल ल्याउन प्रेरणा दिने भन्दै महिला हकी खेलाडीमाथि हात उठाउने ‘चकदे इन्डिया’का शाहरूख खानलाई महिला सशक्तीकरणको प्रतीक मान्नु, ‘लगान’मा दलित समुदायका अपांगता भएका कचरा (नेपालीमा फोहोर) नामका पात्रलाई छोएर उच्चजातीय भुवनले जात–व्यवस्थाको अन्त्य भएको घोषणा गर्नु, ‘सोलवा साल’ नामको चलचित्रमा देव आनन्दले वाहिदा रहमानलाई असहज हुने गरी पछ्याउँदै, सताउँदै गाएको गीतलाई रोमान्सको पर्याय मान्नु, धेरै चलचित्रमा श्रीमान्ले श्रीमतीमाथि हात उठाएका दृश्य देखाउँदा त्यसलाई मायाको संज्ञा दिनु, राष्ट्रवाद र धर्म जोगाउने पुरुषले गरेका यौनिक हिंसाका घटनाले माफी पाउनु, अनि उत्पीडन तथा हिंसाका घटना हुँदा सम्पूर्ण तवरले विशेषाधिकार प्राप्त पुरुषलाई मसिहाका रूपमा उभ्याउनु ! यी सब दृष्टान्तले हाम्रो सामाजिक चेतबारे के भन्छ ? शक्ति, साहस, बुद्धिमत्ता, तीक्ष्णताजस्ता गुणले भरिपूर्ण यस्ता हिरो पात्रका अभावमा समाजमा सकारात्मक फेरबदल आउन नसक्ने कुरा देखाइरहँदा त्यही हिरोकै सामाजिक पुँजीका कारण समाजमा विभेद, द्वन्द्व तथा सीमान्तकृत समुदायका जीवनमा प्रतिकूल परिस्थिति निम्तिने गरेको तथ्य सम्प्रेषण गर्ने चलचित्र कति बनेका होलान् ?

 

सहयोगी र मुक्तिदाताबीच रहेको पातलो रेखालाई ठम्याउन नसकी निर्माण भएका यस्ता भाष्य न्यायका पक्षधर त पक्कै होइनन् । महिलावादी तथा समतामूलक सिद्धान्तमा निर्मित चलचित्र, पात्रचयन, प्रतिनिधित्वको विषय अझै उठान हुन आवश्यक छ । 

 

[email protected]