• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राजिन पनेरू काठमाडाैं
२०७६ बैशाख २८ शनिबार ०७:१६:००
सम्झना

उत्तीसघोडा–बत्तीसघोडाका कन्डक्टर

२०७६ बैशाख २८ शनिबार ०७:१६:००
राजिन पनेरू काठमाडाैं

‘उत्तीसघोडा–बत्तीसघोडाहरू, सुन्नोस्, सुन्नोस् र फेरि सुन्नोस् ! यो वैकुण्ठ एक्सप्रेस मिनीबसको म चालक हुँ र कन्डक्टर पनि । यो क्याप लगाउँदा म चालक हुन्छु र क्याप फुकाल्दा कन्डक्टर ।’ यही उद्गारले मलाई मोराश अर्थात् मोहनराज शर्मासम्म पु¥यायो । सम्वत् २०६२ मा मोराशकृत नाटक ‘वैकुण्ठ एक्सप्रेस’ पढ्न बस्दा पृष्ठैपिच्छे म कुतकुतिइरहेँ ।

उनलाई भेट्ने उत्कण्ठा पछि काठमाडौं आएपछि शान्त भयो । सम्वत् २०६८ मा नेपाली केन्द्रीय विभाग कीर्तिपुर पुगेँ । चालक÷कन्डक्टरले म पुग्नुपूर्व नै आफ्नो गाडी हुइँक्याइसकेछ । मैले मोराशलाई गुरुका रूपमा कक्षाकोठामा त पाइनँ तर गुरुको सम्मानबाट उनी सम्मानित भइरहे । 

प्रिया र प्रेमको रसले अँठ्याएको मेरो पाठकी मस्तिष्क अन्ततः मोराशको ‘रुद्रतारा’ निवास पुगेर स्वतन्त्र बन्यो । म पुग्दा उनी नयाँ पुस्तक लेखनको तयारीमा थिए । चार बीस समय पार गरिसक्दा पनि ‘युवा’ थिए उनी । नेपाली नाट्यजगत्मा ‘फेन्टासी’को फेर पक्रिएर वास्तविक धरातलको बेथितिमाथि झापड हान्न सफल ‘वैकुण्ठ एक्सप्रेस’ लगायत उनका प्रयोगशील नाटक, आख्यान र वस्तुवादी समालोचनाकेन्द्री केही डिस्कोर्समा झन्डै दुई घन्टा समय बितेको पत्तै भएन ।

समलिंगी जोडी

उनले आफ्नो बाल्यकालीन स्मृति सुनाउँदै भने, ‘परिवारले मेरो कपाल बाटिदिएका थिए । म केटीको बथानमा खेल्थेँ । केही केटीहरूलाई थाहा थियो, शर्मा केटा हो । त्यसपछि केटीको बथानले मलाई कट्टु फुकाल्न लगाए । मान्दै नमानेपछि मलाई लड्डु दिएर फकाए । लड्डुको गुलियोले मैले कट्टु फुकालेको पत्तै पाइनँ । त्यसपछि मेरो लिंगभेदको रहस्य खुल्यो ।’ बाल्यकालीन स्मृति र तत्कालीन समयबोधलाई मोराशले कृतिभित्र अन्तर्घुलन गराए । उनले समलिंगी चरित्रलाई देखाउन ‘सलिजो’ रचना गरे । ्

स्त्री र पुरुष दुई सत्तालाई मात्र स्वीकार गर्ने सामाजिक रूढीले अन्यलाई ‘हिजडा’, ‘छक्का’, ‘नपुंसक’ आदि अपमानजनक शब्दबाट सम्बोधन गथ्र्यो । विपरीत लिंगीय सामाजिक रूढीका कारण आफ्नो पहिचान गुमनाम राख्न बाध्य ती समूहलाई आज तेस्रो लिंगीका नामले चिन्छौँ । लैंगिक पहिचान कायम गर्न सन् १९९० को दशकबाट समलिंगी स्त्री वा पुरुषलगायत तेस्रो लिंगी समुदायले आफ्नो जीवनपद्धति परिवर्तन गर्न र आफ्नो सम्मानजनक पहिचानका लागि ‘क्विअर’ शब्दको प्रयोग सुरु गरे । नेपालीमा मोराशले यसलाई ‘सन्दिग्धलिंगी’ भन्नु उपयुक्त ठाने । 

दुई समलिंगी रूपा र ज्वालाको समवयस्क ‘ज्वाला’मा दन्किएको अन्तरंग संगालो हो, ‘सलिजो’ । समलिंगी विवाहलाई रोक्न खोज्ने रूपाका बुबाप्रति ज्वालाले हतियार उठाएको प्रसंगमा पुगेर ‘सलिजो’ले विश्राम लिएको छ । देशले राजनीतिक रूपमा काँचुली फे-यो । सँगै पहिचानको मुद्दा पनि सक्रिय बन्यो ।

मौन रहेकालाई वाचाल बनाइदियो । बामे सर्दै गरेकालाई हिँड्ने बनायो । यही प्रयासको ज्वलन्त दृष्टान्त, ‘सलिजो’ हो । यसले तेस्रो लिंगी समुदायलाई केही हदसम्म पहिचानको हकप्रति सचेत गराएको छ । उपन्यासबारे उनी भन्थे, ‘मैले यो उपन्यासमार्फत रूपा र ज्वालाको सामाजिकीकरणलाई मूल धारमा ल्याउने यत्न मात्र गराएको छैन कयैन अदृश्य रूपा र ज्वालालाई पहिचानका निम्ति लड्न प्रेरित गराएको छु ।’  

जीवनदर्शन र साहित्य

जीवनदर्शन र साहित्य के हो भन्ने प्रश्नमा मोराश भन्थे, ‘सापेक्ष अवस्थामा ‘निरपेक्ष’ उत्तर सम्भव छैन । सारमा भन्नुपर्दा, आयुको प्रयोजनपूर्ण गतिको अर्को नाउँ जीवन हो । जन्मनु र मर्नुको अन्तराल जीवन होइन । जीवन सार्थक क्षणहरूको सुन्दर समाहार हो । सामाजिक, कलात्मक, वैचारिक, प्राज्ञिक, वैज्ञानिक इत्यादि क्रियाकलापमा बितेको समय प्रयोजनपूर्ण, सार्थक र सोद्देश्य हुन्छ, यो नै जीवन हो । अर्को शब्दमा भन्दा जीवन सकारात्मक कार्यमा बितेको समय हो ।

यही समयलाई नियाल्ने शास्त्र दर्शन हो । वास्तविकता जीवन हो भने यसको छाया साहित्य हो । जीवन प्राकृतिक हुन्छ । साहित्य विनिर्मित । जीवनले साहित्यको पोषण गर्छ । साहित्यले जीवनलाई लिपिबद्ध गर्दै त्यसको ‘नश्वरता’लाई हटाउँछ । वास्तवमा साहित्य मानव र मानवताको अमर गाथा हो ।

साहित्यमा सार्वभौम सत्य सबैभन्दा महत्वपूर्ण  कुरा हो । जुन साहित्यमा सार्वभौम सत्य हुन्छ, त्यो सर्वदेशीय र सार्वकालिक हुन्छ । परिवर्तनशील हुनु भाषिक विशेषता हो । यही गुणले साहित्यलाई सर्वदेशीय र सार्वकालिक हुनबाट रोक्छ । केही कृति मात्र आफ्नो रचनाकाललाई नाघेर अर्को युग र भूगोलमा समाहित हुन पुग्छ । उत्तरआधुनिक धारणाअनुसार सबै कुरा समय र स्थानसापेक्ष हुने हुँदा कुनै कृति सर्वदेशीय र सार्वकालिक अर्थात् कालजयी हुँदैन । ‘परिवर्तन’ एक युग र अर्को युगलाई छुट्याउने विभेदक अभिलक्षण हो । सर्जकले आफ्नो सिर्जनामा युगजीवनको सन्दर्भबाट मानवजीवनको प्रतिबिम्बन गरेको हुन्छ । जुन मानवजीवनको सांकेतिक र आंशिक अनुकृति हो ।’

उत्तरआधुनिकता र ‘सेल्फी’ मोह

मोराश बाँचेको अन्तिम प्रहर ‘सेल्फी’ मोहको हो । ‘टिकटक’को लहरले उनलाई छोएन । फेसबुक र ट्विटरका भित्ताहरूमा ‘सेल्फी’ नामले रंगिने तस्बिरलाई उनले नेपाली नामाकरण दिए, ‘स्वचित्र’ । प्रविधिमैत्री शर्मा मृत्युबोधको पूर्वक्षणसम्म सामाजिक सञ्जालमा अझ क्रियाशील थिए । सन् २०१९ जनावरी १३ का दिन ‘पुरानो सम्झना’ शीर्षकमा सेयर गरिएको ‘भैरव पुरस्कार समर्पण समारोह’को तस्बिर नै उनको जीवनकालको अन्तिम ‘पोस्ट’ बन्यो । 

रुद्रतारानिवासको प्रवेशद्वारबाट भित्र पस्दै गर्दा मोराशले भर्खर किनिएका मोटरमाथि लक्षित गर्दै भने, ‘हामी हातहातमा आइफोन र ब्रान्डेड उपकरण बोक्छौँ र भर्खर किनेको गाडी वा यन्त्रमाथि नरिवल फुटाउँछौँ । यही हो उत्तरआधुकिता ।’ मोराशलाई यन्त्रसँग अगाध स्नेह थियो । उनको निवासमा पुग्दा उनी सम्भवतः अंग्रेजी साहित्यसम्बन्धी कुनै सैद्धान्तिक पाटोलाई नेपालीकरण गर्दै थिए । उनी भन्दै थिए, ‘यो मेरो जीवनकालको महत्वपूर्ण  कृति बन्नेछ । यसले पछिल्लो समयको परिवर्तित मूल्यमान्यतालाई बोकेको छ ।’

उत्तरआधुनिकताका सम्बन्धमा आ–आफ्नै डम्फु बजाउने र आफू नै ‘डेरिडाको सगोत्रीय’ रहेको दाबी गर्ने नेपाली समालोचकको कमी छैन । यस मानेमा उनी पृथक बाँचे । उनको बुझाइ थियो, ‘उत्तरआधुनिकता वा उत्तरआधुनिकतावाद बहुलवाद हो । यसले एकत्वलाई होइन, बहुत्वलाई प्रश्रय दिन्छ ।’पछिल्लो समय उनी अभिघात अध्ययन (ट्रमा स्टडिज), पर्यावरणवादी समालोचना (इकोक्रिटिसिज्म), समलिंगी तथा सन्दिग्धतावादी समालोचना (लेज्बियन, गे एन्ड क्वियर क्रिटिसिज्म), परालैंगिक समालोचना (ट्रान्सजेन्डर क्रिटिसिज्म), परोक्ष यथार्थ (भर्चुअल रियालिटी), मायिक यथार्थ (म्याजिकल रियालिटी) आदिमाथि काम गर्दै थिए । 

नयाँ–नयाँ शब्द ‘क्वाइन’ गर्न र नेपालीकरणमा तिनलाई स्थापित गर्न सिपालु मोराश उत्तरआधुनिकताका प्रस्ट व्याख्याता हुन् । भाषाका कुशल खेलाडी हुन् । यद्यपि, उनलाई ‘ढाल’ बनाएर साहित्य र समालोचना जगत्मा ‘स्वचालित तरबार’ चलाउन पल्केका लागि उनी ‘ऐँजेरु’ बने । 

वैकुण्ठ एक्सप्रेस अर्थात् ‘फेन्टासी’
‘वैकुण्ठ एक्सप्रेस’ नाटकको दोस्रो संस्करण (साझा प्रकाशनबाट २०५८) को दुई शब्दमा मोराशले लेखेका छन्, ‘वैकुण्ठ एउटा प्रतीक हो, सुख र सुविधाको ठाउँको प्रतीक । वैकुण्ठ एउटा लोभ पनि हो, सुख र सुविधाको मानवीय लोभ ।’ 
यही लोभले लोभिएका हजारौँ–लाखौँ नेपाली युवाको त्रासद डायरी हो, ‘वैकुण्ठ एक्सप्रेस’ । 

मेरो प्रश्न थियो, ‘वैकुण्ठ एक्सप्रेस’ तपाईंको चर्चित नाटक । जसले पहिलोपटक ‘मदन पुरस्कार’ (२०४२) दिलायो । सम्भवतः आजसम्म नाटक विधामा ‘मदन पुरस्कार’ पाउने एक मात्र कृति यही हो । वैकुण्ठ एक्सप्रेसको डिजाइनिङको भित्री रहस्य के हो ?  उनको जवाफ थियो, ‘यो नाटक भित्री तहमा त्रासद छ, तर बाहिरिया तहमा चाहिँ हास्यपूर्ण र मनोरञ्जनात्मक छ । यस नाटकको मूल कुरोचाहिँ समसामयिक मानवसम्बन्ध र जीवनको व्यंग्य हो ।

नाटकमा व्यंग्यसँगै एउटा त्रासद स्थिति पनि छ । वैकुण्ठ एक्सप्रेसलाई ‘प्रवास एक्सप्रेस’, ‘अमेरिकन एक्सप्रेस’, ‘अरब एक्सप्रेस’, ‘कोरिया एक्सप्रेस’, ‘जापान एक्सप्रेस’, ‘अस्ट्रेलिया एक्सप्रेस’ इत्यादि जे नाउँ पनि दिन सकिन्छ । सुखसुविधाको खोजीमा स्वदेशबाट प्रवासित हुने हजारौँ नेपाली वा अन्य व्यक्तिको त्रासद अन्त्य वा पशुपुरको यात्रा नै यसको खास इन्जिनियरिङ हो ।

मैले यसमा जुन प्रयोग गरेको छु, त्यो प्रयोग केवल प्रयोगका निम्ति गरेको छैन । साहित्यमा प्रयोग अनौठो कुरा होइन । प्रयोगहरूबाट नै साहित्य विकसित हुन्छ भन्ने तथ्य प्रमाणित सत्यका रूपमा स्थापित छ । यस्ता प्रयोगहरू सार्थक र प्रयोजनपरक हुनुपर्छ भन्नेचाहिँ अनिवार्य छ । निरर्थक प्रयोग वा केवल प्रयोग साहित्यका निम्ति भार हो । वैकुण्ठ एक्सप्रेसको प्रयोग सार्थक र प्रयोजनपरक छ भन्ने मेरो ठम्याइ हो ।’

मोराशले नाटकमा लिएको सबैभन्दा बलियो पक्ष ‘फेन्टासी’ हो । यो उनको ‘टेक्निकल’ पक्ष हो । उनले फेन्टासीको माध्यमबाट यथार्थ धरातलको कथा बुनेका छन् र वर्तमान मान्छेले भोगेको पीडालाई देखाएका छन् । पीडालाई देखाएका मात्र छैनन्, त्यसबाट उत्पन्न परिस्थितिलाई पनि छर्लंग बनाएका छन् । जुन कुरा उनले ‘जेमन्त’ देखि ‘उताको बाघ’ सम्म प्रयोग गरेका छन् । 

‘स्वैरकल्पना’का सम्बन्धमा मोराश भन्थे, ‘कल्पना मनको व्यापार हो । चिन्तन पनि मनको व्यापार हो । कल्पनामा मानसिक परिचालन हुन्छ । चिन्तनमा मानसिक खोजी । कल्पना दुई किसिमका हुन्छन्, एउटा पुनरूत्पादन र अर्को सिर्जनात्मक । पुनरूत्पादन कल्पना बाहिरबाट निर्देशित हुन्छ भने सिर्जनात्मक कल्पना सर्जकको आफ्नै स्वतन्त्र कल्पनाद्वारा । सिर्जनात्मक कल्पनाका विभिन्न भेदमध्ये एउटा भेद तरंगात्मक कल्पना वा स्वैरकल्पना हो । जुन कुराको उत्तर ‘असम्भव’ हुन्छ, त्यस कुरालाई स्वैरकल्पनाले ‘सम्भव’ तुल्याउँछ ।’‘वैकुण्ठ एक्सप्रेस’ र अन्य थुप्रै लेखनीद्वारा मनोरञ्जन, पलायन र फरक कोणबाट सत्यको खोजी गरे । जसलाई उनले स्वैरकल्पनाको प्रयोजन ठाने ।

प्राध्यापन यात्रा र पदीय सन्दर्भ
उनले बनारस हिन्दू विश्वविद्यालयबाट इतिहास विषयमा एमएको डिग्री हातमा लिए पनि कुनै कुराको अधुरो महसुस भयो । लगत्तै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा प्राइभेट विद्यार्थीका रूपमा भर्ना भए । २०२५ सालमा त्रिविले नेपाली विषयको उपप्राध्यापक मागेपछि उनले दरखास्त दिए । 

मोराश सम्झिन्थे, ‘त्यसवेला उपप्राध्यापक बन्ने मान्छे आजको जस्तो हुँदैन थियो । पढेलेखेकालाई र केही गर्छु भनेर लागेका व्यक्तिलाई सम्मान थियो । योग्यताको कदर भो भनौँ म उपप्राध्यापक भएँ ।’उपप्राध्यापकलाई केन्द्रीय विभागमा नराख्ने हुँदा उनी अध्यापनका लागि मेची क्याम्पस हानिए । झन्डै सात वर्षको प्राध्यापनपछि उनको बढुवा भयो । उनी सम्झन्थे, ‘लेक्चरबाट रिडर भएँ । रिडर अर्थात् सहप्राध्यापकलाई कीर्तिपुर बोलाउने चलन थियो । सोहीबमोजिम म कीर्तिपुर बोलाइएँ । साढे तीन दशकको प्राध्यापन यात्रालाई सोही स्थानबाट बिट मार्दै मेरो प्राध्यापन जीवनले रिटायर्ड घोषणा ग-यो ।’

मोराश विश्वविद्यालयमा असल प्राध्यापकका रूपमा चिनिए । ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’, ‘शोधविधि’, ‘शैलीविज्ञान’ जस्ता पाठ्यपुस्तकले चर्चाको शिखरमा पु-याएको मोराशलाई प्राध्यापन पेसाबाहेक कहिल्यै विश्वविद्यालय, विभाग र नेपाल प्रज्ञा प्रतिष्ठानको पदीय जिम्मेवारी मोहले डो-याएन । उनको दाबी थियो, ‘मलाई विश्वविद्यालयले दिएको मुख्य जिम्मेवारी प्राध्यापन हो । त्यो मैले पूरा गरेँ । बाँकी कर्म मैले भाषासाहित्यको क्षेत्रमा गरिरहेको छु । ‘पद’ पाउनका लागि ‘चाकडी’ गर्नुपर्छ । अहिलेको भाषामा भन्दा ‘प्रभुभक्ति’ । त्यो मभित्र रहेन । मलाई स्वच्छ र स्वस्थ लागेको पद ‘प्राध्यापक’ हो । त्यो मैले पाएँ र त्यसलाई धेरथोर सही तरिकाले ग्रहण गरेँ कि भन्ने लाग्छ । बाँकी मेरो विषय होइन ।’

मोराश भन्थे, ‘असत्यमाथि विजय गर्न सकिन्छ, तर सत्यमाथि कदापि सकिँदैन । मृत्यु सत्य हो । मलाई यही सत्यले बारम्बार घायल बनाएको छ र पनि ‘नियमित चक्र’लाई ‘आकस्मिकता’ भन्दै चित्त बुझाएको छु ।’ 

मृत्युबोध र बाँकी गन्थन
मैनाली–कोइरालाहरूको वर्चस्व चलिरहेकै ताका सम्वत् २०१६ मा बनारसबाट प्रकाशित हुने ‘दीपक’ मासिक पत्रिकामा पहिलो कथा ‘एकको एक हात लाग्यो शून्य’ प्रकाशित भयो । त्यसपछि उनको यात्रा आख्यान, नाटक, समालोचना, भाषा, व्याकरण आदि क्षेत्रमा अगाडि बढ्न थाल्यो । ‘जेमन्त र यमा’, ‘इन्टरभ्यु स्पेसलिस्ट मिस्टर झप्पुसिं डबल एमए’, ‘वैकुण्ठ एक्सप्रेस’, ‘च्याँखेधर्ना’, ‘वैखरी’, ‘उताको बाघ’, ‘सलिजो’ आदि सिर्जना क्षेत्रका सुन्दर नाम हुन् । भाषिक खेलका अब्बल खेलाडी मोराशका कृति नामाकरण पनि अनौठा खालका छन् । 

मोराशको जीवन यात्रा झन्डै चार बीसको निकट चल्दै थियो । यस बीचमा उनको जीवनले धेरै उतार–चढाव खेप्यो । उनको जीवन बाहिरबाट जति सहज र सरल छ, पारिवारिक सन्दर्भमा उत्तिकै विरहलाग्दो । उनको पारिवारिक जीवनले कहिल्यै सुखानुभूत गर्न पाएन । उनले तीन–तीन भाइ छोराहरू (विक्रम, मणिक्रम र अनुक्रम)लाई क्रमशः भौतिक दुनियाँबाट गुमाए । नियतिको चक्रव्यूहबाट उनी कहिल्यै मुक्त भएनन् । यद्यपि, पुत्रशोकको भारी पीडाभित्र पनि उनको नेपाली भाषा, साहित्यप्रतिको शिर सदैव ठाडो भइरह्यो । यो अदम्य साहसका उनी एक प्रतिमूर्ति थिए । 

मृत्युले आघात तुल्याएको मनलाई फेरि कोट्याउँदै सोधेँ, ‘मृत्यु के हो ?’  मेरो अर्घेलो प्रश्नमाथि उनले दिव्यचक्षु लगाए र शान्त स्वभावमा बोले, ‘म नै यसको साक्ष्य हुँ । असत्यमाथि विजय गर्न सकिन्छ तर सत्यमाथि, कदापि सकिँदैन । मृत्यु सत्य हो । मलाई यही सत्यले बारम्बार घायल बनाएको छ र पनि ‘नियमित चक्र’लाई ‘आकस्मिकता’ भन्दै चित्त बुझाएको छु ।

मृत्यु के हो भन्नुपूर्व जन्म केका लागि भन्नु सान्दर्भिक हुन्छ । यसबारे ‘निरपेक्ष’ उत्तर सम्भव नहोला । म जे गरिरहेको छु, मृत्युसत्यलाई क्षणिक समय भए पनि भुल्नका लागि गरिरहेको छु । एकदिन मलाई पनि त्यो सत्य अर्थात् मृत्युले जित्नेछ ।’
‘मृत्युबोध’ सबैका लागि सुलभ चिज होइन ।

मृत्युबोध त्यस्ता व्यक्तिले मात्र गर्न सक्छन्, जोसँग जन्मका बारेमा एउटा निश्चित धारणा छ । जुन धारणालाई उसले एकातिर पन्छाएर नित्य सत्कर्मका निम्ति क्रियाशील रहन्छ । सारांशमा उनी एउटा अजीव क्यारेक्टर थिए, जसलाई सदैव मृत्युले ‘घोचिरह्यो’ र कर्मले ‘क्रियाशील’ बनायो । ‘इन्टरभ्यु स्पेसलिस्ट मिस्टर झप्पुसिं डबल एमए’ का छाया पात्र मोराशको ‘वैकुण्ठ एक्सप्रेस’ ले आज पनि उत्तिकै कुतकुत्याइरहन्छ ।