• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दिपेन्द्र ढुंगाना
२०८० जेठ २० शनिबार ०९:३३:००
रिपाेर्ट

कला उत्सव : म, मेरो देश र मेरो सिर्जना

२०८० जेठ २० शनिबार ०९:३३:००
दिपेन्द्र ढुंगाना

फोटो कथा

 

यसपटकको कला प्रदर्शनीमा सातै प्रदेशका ६ सयभन्दा धेरै कलाकार सहभागी छन् । उनीहरूका सात सय कलाकृति राजधानीका दुई स्थान (बबरमहल र नक्साल)मा हेर्न सकिनेछ । यी कलाकारहरूले देशका विभिन्न स्थानबाट आफ्ना कला प्रदर्शनीका लागि लिएर आएका हुन् ।

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा कला प्रदर्शनी जारी छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ नाम दिइएको प्रदर्शनीको मुख्य विषय रहेको छ, ‘म, मेरो देश र मेरो सिर्जना ।’ यही महिनाको जेठ १५ गते गणतन्त्र दिवसको दिनबाट सुरु भएको कला प्रदर्शनी जेठ ३० गते जारी रहने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । 

 

 

प्रदर्शनी राजधानीको दुई स्थान (नक्सालको बालमन्दिरमा रहेको प्रतिष्ठानको हलमा र बबरमहलस्थित नेपाल आर्ट काउन्सिल)मा जारी छ । प्रदर्शनी प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रदर्शनीमा लोककला, मूर्तिकला, हस्तकला, वास्तुकला, पर्फर्मेन्स आर्ट, कार्टुन, डिजिटल कला, व्यंग्य चित्रलगायतका कलाहरू हेर्न सकिन्छ ।

 

 

सदस्यसचिव थुम्केलीका अनुसार यसपटकको कला प्रदर्शनीमा सातै प्रदेशका ६ सयभन्दा धेरै कलाकार सहभागी छन् । उनीहरूका सात सय कलाकृति हेर्न सकिनेछ । यी कलाकारहरूले देशका विभिन्न स्थानबाट आफ्ना कला लिएर आएका छन् ।

 

 

थुम्केली भन्छन्,‘यो प्रदर्शनीको उद्देश्य नेपालका सीमान्तमा रहेका कला र कलाकारहरूलाई मूलधारमा जोड्नु हो ।’ यो प्रदर्शनीबाट नेपालका ललितकला विधाले फड्को मार्ने थुम्केलीको भनाइ छ ।

 

 

व्यस्त राजधानीमा कलाका पारखीहरू प्रदर्शनीस्थलसम्म पुगेर कला हेरिरहेका बाक्लै भेटिन्छन् । नयाँ–पुराना सबै पुस्ताका कलाप्रेमी प्रदर्शनी हेर्न पुगेको देख्न सकिन्छ । थुम्केली भन्छन्, ‘दुईवटै स्थानमा दैनिक १२ सयदेखि १५ सयजना भिजिट गर्न आइरहेका छन् । यो भनेको निकै राम्रो उपस्थिति हो ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेको उक्त प्रदर्शनीमा चार स्रष्टालाई सम्मान तथा पुरस्कार पनि वितरण गरिएको थियो । 

 

 

[email protected]