• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल कोइराला
२०८० जेठ २० शनिबार ०९:५०:००
सम्झना

...त्यसपछि खैलाबैला भयो– बिपीको भतिज कम्युनिस्ट बन्यो 

उता बुबा (मातृकाप्रसाद कोइराला) प्रधानमन्त्री हुनुहुन्थ्यो, यता म उहाँविरुद्धको जुलुसमा गएँ । पक्राउ परेँ, कम्युनिस्ट भएँ ।

२०८० जेठ २० शनिबार ०९:५०:००
कमल कोइराला

 

 

संस्मरण

 

१४ वर्षमा एसएलसी पास गरेँ । त्यसपछि २०११ मा सालमा त्रिचन्द्र क्याम्पसमा आइए पढ्दै थिएँ । १६ वर्षको उमेर थियो । सरकारले सभा र मिटिङहरू गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको थियो । मेरो बुबा (मातृकाप्रसाद कोइराला) प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिवेला । हामी विद्यार्थी न थियौँ, ‘थैट ! यस्तो पनि कहीँ हुन्छ ?’ भन्दै निषेधाज्ञाको विरोधमा गतिविधि थाल्यौँ । एकदिन साथी मक्बुल साह निषेधाज्ञा उल्लंघन गर्दा पक्राउ पर्‍यो । ऊ कलेजदेखि नै कम्युनिस्ट कहलिएको थियो । किलागलमा उसको घर थियो । उसलाई नख्खु जेलमा राखिएको थियो । परीक्षा फर्म खुल्यो । जेल परे पनि कमसेकम जाँच त नछुटोस् भनेर म उसको घरमा आमालाई फर्म बुझाउन गएँ । 

 

मक्बुलको भाइले ‘तीस–बत्तीसजना जति दाइका साथी चोकमा जम्मा भएका छन् । हेर्न जाने ?’ भन्यो । म पनि जाऊँ न त भनेर गएँ । जाँदा त निर्मल लामाहरू जुलुसको तयारी गर्दै रहेछन् । उहाँलाई म केटाकेटी छँदैबाट चिन्थेँ । उहाँ नेपाली कांग्रेसको अफिस सेक्रेटरी भएर वनारसमा बस्नुभएको थियो । उहाँ दार्जलिङतिरको मान्छे । त्यसवेला जहाँसुकैको नेपाली भए पनि राष्ट्रियता अरू केही चाहिँदैनथ्यो । जुलुसमा अरबिन्दनाथ रिमाल पनि हुनुहुन्थ्यो । रिमाल त अहिले पनि हुनुहुन्छ । लामा त अब हामीमाझ हुनुहुन्न । म उहाँको शवयात्रामा पनि गएँ ।

 

मलाई देखेपछि निर्मल लामाले भन्नुभयो, ‘अरे ओ बाफ्रे बाफ तिमी पनि यहाँ ? जुलुस निस्किन लागेको छ, तिमी पनि त्यही जुलुसमा जाने हो कि क्या हो ?’ उहाँले केटाकेटीदेखि नै कमल भनेर बोलाउनुहुन्थ्यो, तिमी नै भन्नुहुन्थ्यो । म त खासमा हेर्न मात्रै गएको थिएँ । उहाँले जिस्काएर सोध्नुभएको थियो । मैले पनि हाँस्दै भनेँ, ‘तपाईं भन्नुहुन्छ भने ठिक छ त जाउँला नि !’ उहाँले भन्नुभयो, ‘ल त ल आज कमल हामीसँगै जान्छ । भोलि त अखबारमा छ्यापछ्याप्ती नाम छापिन्छ । कोको जाने चारजना झन्डा बोक्न तयार होऊ । यिनले लिड गर्छन् ।’ अरविन्दरनाथ रिमालले असनको डबलीमा बोल्न को–को चढ्ने र के–के बोल्ने भनेर तयार गर्नुभयो । १६ वर्षकै उमेरमा त त्यति धेरै गम्भीर चिन्तन त हुँदैन नि । चारजना झन्डा बोकेर हिँड्यौँ । 

 

दौडिँदै पुलिस आए । च्यापचुप समाइहाले । दुईतिर काखीमुनि हात राखेर ‘जाऊँ प्रधानमन्त्रीकै अर्डर छ, निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्रन’ भनेर मलाई हनुमानढोका पुर्‍याए । जुलुसमा प्रधानमन्त्रीको छोरो पनि छ भनेर कसैले कल्पनै गरेको थिएन । जुलुसमा जान्छु, पक्राउ पर्छु भनेर मैले पनि कहाँ कल्पना गरेको थिएँ र !

 

त्यो जुलुसमा मक्बुलको भाइ पनि सँगै थियो । ऊ त भर्खर १२–१३ वर्षको मात्रै थियो । म डबलीमाथि चढेँ र सम्बोधन गर्न थालेँ । मेरो जीवनको पहिलो सार्वजनिक आमसभा त्यहीँ थियो । असनबाट हनुमानढोका टाढा थिएन । दौडिँदै पुलिस आए । च्यापचुप समाइहाले । दुईतिर काखीमुनि हात राखेर ‘जाऊँ प्रधानमन्त्रीकै अर्डर छ, निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्रन’ भनेर मलाई हनुमानढोका पुर्‍याए । जुलुसमा प्रधानमन्त्रीको छोरो पनि छ भनेर कसैले कल्पनै गरेको थिएन । जुलुसमा जान्छु, पक्राउ पर्छु भनेर मैले पनि कहाँ कल्पना गरेको थिएँ र ! 

 

पक्राउको हल्ला सुनेपछि केही घन्टामै हनुमानढोकामा सबै जम्मा भए । केटाकेटीदेखि दौँतरीसम्म मलाई भेट्न आइपुगे । त्रिचन्द्र साइन्स सेक्सनका मदन रेग्मी पनि मलाई भेट्न आए । तर, भेट्न दिएन । मदनका बुबा डिल्लीरमण रेग्मी बुबाको (मातृकाप्रसाद कोइराला) क्याबिनेटको गृहमन्त्री हुनुहुन्थ्यो । भेट्न नपाएपछि ‘म पनि आउँछु’ भनेर हात हल्लाएर गएका थिए । कहाँ पुगेर भाषण गर्न थालेछन्, उनलाई पनि पक्राउ गरेर ल्यायो । त्यस दिन तीसभन्दा धेरै मानिस पक्राउ परे । मक्बुलको भाइ पनि त्यो मेसोमा पक्राउ परेको थियो । ऊसहित केहीलाई परिवारको जिम्मा लगाएर पठाइयो । त्यसवेला नाबालक पक्राउ परे अभिभावक बोलाएर जिम्मा दिने गरिन्थ्यो । मेरो र मदनको त कोही आएर लाने भन्ने थिएन । जाडोको समय । रात पर्‍यो । हनुमानढोकाको चिसो छिँडीमा वास भयो । ओड्ने बिछ्याउने केही पनि थिएन । जाडोले लुगलुग काम्न थालेपछि हामीले ‘राजबन्दीको ज्यान मार्न पाइँदैन’ भन्दै जोडतोडले नारा लगायौँ । त्यसपछि उनीहरूले आगोको व्यवस्था गरिदिए । त्यसैको सहारामा हामीले रात काट्यौँ । 

 

भोलिपल्ट हामीलाई नख्खु कारागार चलान गरियो । नख्खुमा पुगेपछि मक्बुल, वासुदेव ढुंगाना, रमेश विकल, बटुकचन्द्र गौतमलगायतसँग भेट भयो । त्यसपछि त म दर्तावाल कम्युनिस्ट भइगएँ नि ! मदन कम्युनिस्ट पार्टीको सदस्य भएन । तर, कम्युनिस्टप्रति उनको शुभेच्छा रहिरह्यो । सारा जिन्दगी कांग्रेस बनाउन लागिपरेको मेरो परिवार । त्यसमाथि म बहालवाला प्रधानमन्त्रीको छोरो, बिपी कोइरालाको भतिज । मैँ कम्युनिस्ट बनेपछि सबैतिर खैलाबैला मच्चियो । मदन र मलाई जोडेर भनियो– प्रधानमन्त्रीको छोरो पनि कम्युनिस्ट, गृहमन्त्रीको छोरो पनि कम्युनिस्ट !

 

                                                                 ०००

 

ठूलो अभियोग थिएन, सात–आठ दिनपछि हामी छुट्यौँ । तर, बुबाको विरोधमा गएपछि घर जाने कुरा त आएन । अनि मदन र म प्युखामा रहेको ईश्वर मानन्धरको घरमा गयौँ । हामी बसेको पत्ता लगाएर आमाले बुबाको प्राइभेट सेक्रेटरी तीर्थ नेपाललाई लिन पठाउनुभयो । जाऊँ आमाले बोलाउँदै हुनुहुन्छ भन्नुभयो । मदनको त सामुन्ने नै घर थियो । तर, पनि उनी जान मानेनन् । लिन आउन पनि चासो देखाएनन् । मदनलाई पनि मैले सँगै जाऊँ भनेँ । त्यसवेला प्रधानमन्त्री निवासका लागि कान्ता भवन भाडामा लिइएको थियो । अहिलेको शिखहरू रहेको गुरुद्वार रहेको ठाउँ हो त्यो । एकै घरमा एक महिनासम्म बस्दा पनि बाबासँग मेरो आँखा जुधेन । मदनसँग चाहिँ बाबाको बोलचाल हुन्थ्यो । 

 

त्यसवेला कम्युनिस्ट थोरै थिए । एकअर्कालाई भेट्यो कि अंकमाल गर्ने, हात मिलाउने, जोसै अर्को थियो त्यसवेला । म पनि जहाँ जान्छु, मान्छेले हात मिलाउन आउँथे, बधाई दिन्थे ।राजनीतिमा लागेपछि मेरो पठाइ बिग्रियो । दोस्रो वर्षको परीक्षा दिएँ । सबै विषयमा पास तर, लजिकमा फेल । फेल भएपछि विराटनगर गएँ । विराटनगर जाँदा त झन् कम्युनिस्टहरूले मलाई देख्नै नहुने भयो । कंग्य्राचुलेसन भन्ने, नेता आयो भन्ने गर्न थाले । ०१२ सालमा कम्युनिस्ट पार्टीको मोरङ जिल्ला कमिटी सचिव हरिहरप्रसाद उपाध्याय र जिल्ला सदस्य तुलाराम विश्वकर्मा (टिआर)को सिफारिसमा मलाई १७ वर्षकै उमेरमा पार्टी सदस्यता दिइयो । त्यसवेला कम्युनिस्ट बन्न उमेर खोजिँदैनथ्यो । यसरी म हुलमुलमै कम्युनिस्ट बन्न पुगेँ । 

 

अल्लारे उमेर, त्यसवेला कम्युनिस्ट बन्छु र बन्दा के हुन्छ, कसो हुन्छ भन्ने चेत ममा थिएन । माहोलले नै कम्युनिस्ट बनेँ । यसमा बुबाले केही पनि प्रतिक्रिया जनाउनुभएन । जे हुन्थ्यो, आमाका माध्यमबाट हुन्थ्यो । पढ्ने भए पढोस्, राजनीति गर्ने भए गरोस् भनेर आमामार्फत बुबाले मलाई भन्नुभएको थियो । मलाई लाग्छ, मेरो आमाबुबा कम्युनिस्ट बन्यो भन्दा पनि कमसेकम यसले त राजनीति गर्‍यो भन्नेमा खुसी हुनुहुन्थ्यो । 

 

सारा जिन्दगी कांग्रेस बनाउन लागिपरेको मेरो परिवार । त्यसमाथि म बहालवाला प्रधानमन्त्रीको छोरो, बिपी कोइरालाको भतिज । मैँ कम्युनिस्ट बनेपछि सबैतिर खैलाबैला मच्चियो । मदन रेग्मी र मलाई जोडेर भनियो– प्रधानमन्त्रीको छोरो पनि कम्युनिस्ट, गृहमन्त्रीको छोरो पनि कम्युनिस्ट !

 

जिन्दगीभर हामी एउटै घरमा बस्यौँ । दाजुभाइ आ–आफ्नो व्यवस्था गरेर छुट्टिए । तर, आमाबुबासँग म अलग बसिनँ । त्यसपछि म राजनीतिसँगै वकालतमा लागेँ, पत्रकारिता गरेँ । ०५१ मा सांसद भएँ । राज्य व्यवस्था समितिको सभापति बनेँ र दक्षिण कोरियाको राजदूत बनेँ । पार्टीका विभिन्न जिम्मेवारीमा पनि रहेँ । मलाई कांग्रेसको राजनीतिमा किन लागिनँ भन्ने कहिल्यै सोच आएन । बुबा र काकाबाट पनि कुनै प्रश्न र दबाब आएन । कोइराला परिवारमा एउटा चलन पहिलेदेखि छ– पोलिटिकल रिलेसन र पर्सनल रिलेसनलाई कहिल्यै पनि मिक्स गरिँदैन । बिपी र मेरो बुबाकै राजनीति पनि फरक पर्‍यो । बुबा राष्ट्रिय प्रजा पार्टी खडा गरेर दोस्रोपटक पनि प्रधानमन्त्री बन्नुभयो । कहिले लाग्छ, म त कम्तीमा कम्युनिस्ट नै बनेर आजसम्म एउटै बाटोमा छु । पोलिटिक्समा दल बदलीलाई नराम्रो मानिन्छ । मैले त्यो कुरालाई सधैँ मनमा लिइरहेँ । सके आफ्नै पार्टीलाई रिफर्म गर्नुपर्छ । कि त छाडेर अर्को पार्टी ज्वाइन गरे पनि हुन्छ ।  

 

                                                                           ०००

 

एमालेले पाँचौँ महाधिवेशनबाट मदन भण्डारीले प्रस्ताव गरेको जबजलाई अँगाल्यो । बुहदलीय जनवाद भनेको निरंकुशता र सशस्त्र संघर्ष दुवैको परित्याग थियो । हामीले प्रजातन्त्रलाई स्वीकार गरेका थियौँ । त्यसमा भनिएको थियो, ‘हामी जनताको मतले सत्तामा जान्छाँै र जनताले मत दिएनन् भने सत्ताबाट बाहिरिन्छौँ ।’ त्यो कुरा त कति एसेप्टेबल कुरा थियो । यो मलाई धेरै राम्रो लाग्यो । हुन त मलाई थाहा छ कम्युनिजमको सिद्धान्त मरिसक्यो । यसको आइडोलोजिकल डेथ भइसक्यो । तर, मान्नेहरू त मान्छन् नि, कमसेकम कम्युनिस्टहरू त अझै कम्युनिस्ट नै हुँ भन्छन् । कमसेकम ब्रान्ड त बिकिरहेकै छ ! सोभियत संघको पतन भइसकेको छ । चाइनाले मार्केट इकोनोमी अपनायो । भियतनामले पनि मार्केट इकोनोमी अपनाइरहेको छ । सिद्धान्त मरे पनि, धर्म मरे पनि मान्छेले आफूलाई त्यो हुँ भन्न छाड्दैनन् नि !

 

०५१ मा सांसदका लागि मोरङ ५ बाट निर्वाचन लडेँ । कांग्रेसको गढ क्षेत्र थियो । तर, त्यसवेला कांग्रेसीहरूले भित्रभित्र भोट पनि दिए, निर्वाचनमा आर्थिक सहयोग पनि गरे । त्यसवेला श्यामलाल ताबेदार कांग्रेसका उम्मेदवार थिए । ताबेदार पहिला पनि जितेका थिए । तर, उनीसँग त्यहाँ असन्तुष्टि थियो । अर्को मान्छेलाई चुनाव लडाओस् भन्ने कांग्रेसीहरूले चाहेका थिए । तर, गिरिजाप्रसाद कोइरालाले उनैलाई टिकट दिए । कांग्रेसीहरूमा फुट आयो र दुईजना बागी उम्मेदवार उठाए । कांग्रेसको चुनाव क्षेत्रमा कांग्रेस फुट्दा फाइदा मलाई भयो । राजाको शासनकाल, कांग्रेस फुटेर शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय थियो । मन्त्री बन्न मलाई पार्टीबाटै कुरा आयो । तर, म आफैँले राजा ज्ञानेन्द्रको नियन्त्रणमा शेरबहादुर छन्, शेरबहादुरको ‘अन्डर’मा हामी सरकारमा जान हुँदैन भनेर आन्दोलन छेडेँ । 

 

                                                         ०००

 

म आफैँले राजदूतमा रहर गरेको थिएँ । मलाई चीन पठाउने कुरा पनि भएको रहेछ । तर, मैले यही देशमा भनेर भनेको थिइनँ । ०६४ मा दक्षिण कोरियाको राजदूत भएँ । कोरिया गएपछि नेपालीकै माध्ययमबाट बुद्ध भारतमा जन्मिएको भनेर पाठ्यक्रममा नै झुटो ज्ञान बाँडिएको छ भन्ने थाहा पाएँ । ०६७ तिरको कुरा हो, कोरियामा बुद्ध धर्मसँग सम्बन्धित लोटस ल्यान्टन फेस्टिभल मनाइन्छ । त्यसमा नेपालीहरूले कोरियनलाई बुझाउन छोटोमा बुद्ध–नेपाल !, बुद्ध–नेपाल ! भन्दै नारा लगाएका रहेछन् । मैले त्यसवेला मेरो प्रोटोकलले दिन्छ–दिँदैँन केही सोचिनँ । त्यो भिडमा सामेल भएर नारा लगाएँ । उनीहरूले मलाई डाइरेक्ट कोरिया सरकारलाई पत्र लेख्न सुझाव दिए । मैले आफैँले पत्रको ड्राफ्ट गरेँ । ‘लुम्बिनी भन्ने ठाउँ भारतको सीमाभन्दा २० किलोमिटर वर पर्छ । जुन सत्य तपाईंहरूलाई थाहा छ । किन भविष्यका कर्णाधारलाई तपाईंहरू गलत इतिहास पढाइरहनुभएको छ ?’ पत्रमा उल्लेख गरेको थिएँ । राष्ट्रपतिको हातमा पुग्नुअघि पत्रबारे कोरियाबाटै प्रकाशित अंग्रेजी अखबार ‘कोरिया टाइम्स’को फ्रन्टपेजमा त्यो पत्र छापियो । यसपछि राष्ट्रपति आफँैले चासो राखेर पत्रबारे सोधखोज गरेछन् ।

 

त्यसवेला एउटा राजदूतले राष्ट्रपतिलाई डाइरेक्ट पत्र लेखेर तिमीहरूको पुस्तकमा त्रुटि छ भनेर लेख्यो भनेर चर्चा पनि भएको थियो । अखबारमा आएपछि राष्ट्रपति आफैँले चासो राखेर तत्काल शिक्षा र संस्कृतिमन्त्री बोलाई रिपोर्ट मागे । रिपोर्टमा भनियो– ‘राजदूतको पत्रको व्योहोराअनुसार बुद्ध जन्मेको नेपालमा भएको सत्य हो । हजारौँ वर्षको इतिहास नेपालमा छ ।’ त्यसपछि त्यस वर्षको शैक्षिक सत्रको पाठ्यक्रम वितरण भइसकेकाले अर्को वर्ष सच्याउन राष्ट्रपतिबाट जानकारी आयो । र, त्यहीअनुसार परिवर्तन पनि भयो । मलाई लाग्छ, जिन्दगीमा मान्छे राजनीतिबाट छुट्दैन । यो त मायादयाजस्तै कुरा हो । राजदूतबाट फर्किएपछिको समयमा पनि हरेक चुनावमा विराटनगरमा भोट हाल्न जान्छु, प्रचार पनि गर्न जान्छु । त्यो पनि राजनीति नै त हो ।

 

अघिल्लो चुनावमा लालबाबु पण्डितलाई भोट दिएँ । यसपालि गठबन्धन थियो । शेखर कोइरालालाई दिएँ । सकेसम्म पार्टीका गतिविधि र सामाजिक आन्दोलनमा सहभागी हुने गरेको छु । तपाईंपार्टीको पदाधिकारी नहुनुहोला, केन्द्रीय कमिटीमा नरहनुहोला । तर, राजनीति छुट्छ भन्ने कुरा उही दालभात छाडेजस्तै हो । राजनीति नछुट्ने लत रहेछ ।

 

(केशवप्रसाद पाण्डेसँगको कुराकानीमा आधारित)