
केही दिनअघि रिपोर्टिङकै लागि रसुवाको उत्तरगया गाउँपालिकास्थित खाल्डेबगर जाने साइत जुर्यो, जहाँ ०७२ को भूकम्पमा गाउँ नै ध्वस्त भएपछि सयौँ पीडित आश्रय लिइरहेका छन् । ०७४ मा रिपोर्टिङकै सिलसिलामा त्यो ठाउँ पुग्दा त्रिशूली बगरभरि पीडित आश्रय लिइरहेका थिए । झन्डै पाँच वर्षपछि पुनः दुई साताअघि त्यही ठाउँमा पुग्दा अवस्था उही पुरानै देखियो ।
त्रिशूली नदी एकोहोरो सुसाइरहेको छ । नदीले उधिनेर ल्याएका ढुंगा बालुवाले वरपर ठूलै बगर बनेको छ । बगरको बीचमा उभिएका ससाना टहरा छन् । जस्तापाता र बासले बनेका ती टहरामुनि करिब ६ सय परिवारको बसोवास छ । हिउँदमा समेत बगाउँलाझैँ गरी उर्लने त्रिशूली नदी बस्तीनजिकनजिक आइरहेको छ । बर्सेनि नदीको बहाव बस्तीमा छिर्छ । बर्खाको वेला रातभरि स्थानीयवासी बगरमाथिको सडकमा टेन्ट राखेर जाग्राम बस्छन् । जब पानी रोकिन्छ त्यसपछि पुनः टहरामा ओत लाग्छन् । नदी–किनारमा भूकम्पपीडितले यसरी जिन्दगी गुजार्न थालेको आठ वर्ष बितिसक्यो । बगरमै जिन्दगी बिताउनुबाहेक उनीहरूको अन्यन्त्र जाने ठाउँ छैन । उनीहरूका लागि न स्थानीय सरकार आफ्नो भयो, न प्रदेश सरकार र सिंहदबार नै ।
०७२ को भूकम्पले रसुवाको उत्तरगया– १ गोगने गाउँ तहसनहस बनाएको थियो । भूकम्पले गाउँका सबैजसो घर मात्रै भत्काएन, ४५ जनाको समेत ज्यान लियो । भिरालो ठाउँको गाउँ भूकम्पले तहसनहस बनायो । घर पूरै भत्कायो, जमिन खण्डहर भयो । त्यसपछि थातथलो छाडेर चार किमि तल उत्तरगया– ५ खाल्डेमा पर्ने त्रिशूलीको किनारमा झरे । बगरछेउमा २७४ परिवारले टहरा बनाएर बसे । उनीहरूले सोचेका थिए, यो केही समयका लागि हो, सरकार आएर हाम्रो उद्धार गर्नेछ । तर वर्षाैँ बित्यो, त्रिशूली किनारबाट सयौँ मानिसले गुहार मागेको सरकारले सुनेन ।
पौने तीन सय परिवार बगरमा कष्टकर जिन्दगी बाँचिरहेका छन् । न खेतीपाती गर्ने ठाउँ छ, न दैनिक गुजारा चलाउन सहज छ । कतै गएर जागिर गरौँ भने त्यो पनि छैन । गाउँमा खेतीपाती गरेकाहरूलाई कसले जागिर दिने ? उनीहरू आपसमा कुरा गर्छन्,‘हामी त खेतीपाती गर्ने मान्छे, पढेलेखेको पनि छैन । कसले दिन्छ जागिर ?’ नजिकै विदेशी लगानीमा सञ्चालित जलविद्यत् आयोजनाले पनि पढेलेखेकालाई मात्रै रोजगार दिएका छन् । टहरामाथिमा जलविद्युत् आयोजनाहरूले हाई भोल्टेज लाइन तानेका छन् । सयौँ मानिस बसोवास गरिरहेको बगरको बस्तीबारे उनीहरूलाई मतलब छैन । उल्टो उनीहरूलाई जलविद्युत् आयोजनाले त्रास थपिरहेका छन् । जति नै त्रास थपिए पनि जाने ठाउँ कतै नभएको लाक्पा तामाङले सुनाए । उनको परिवार बगरमा आश्रय लिन थालेको आठ वर्ष बित्यो । तर, अझै कति वर्ष यहाँ बस्नुपर्ने हो उनलाई थाहा छैन । ‘राति सुतिरहेको वेला घरभित्र खोला पस्छ, कहिले हावाहुरीले जस्तापाता उडाउँछ,’ उनले सुनाए, ‘खोला किनारमा बसोवास गर्न निकै गाह्रो भइरहेको छ, साँझबिहान कसरी गुजारा चलाउने भन्ने चिन्ता छ ।’
नदी किनारमा भूकम्पपीडितले यसरी जिन्दगी गुजार्न थालेको आठ वर्ष बितिसक्यो । अन्यन्त्र जाने उनीहरूको ठाउँ पनि छैन । उनीहरूका लागि न स्थानीय सरकार आफ्नो भयो, न प्रदेश सरकार र सिंहदरबार नै ।
बगरमै आश्रय लिइरहेका दावा तामाङले पनि सरकारले आफूहरूलाई शरणार्थी बनाएको सुनाए । ‘गाउँमा जाऊँ भूकम्पले बस्ती नै छियाछिया पारेको छ, बगरमा बस्दा पानी परेको वेला निद्रा लाग्दैन, खोलाले बगाउला भनेर बाटोमा निस्किएर बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हाम्रो पीडा न त यहाँका जनप्रतिनिधिले बुझे, न त सिंहदरबारले ।’ गोगनेमा बसेर खेतीपाती गर्दै आएका उनीहरू भूकम्पपछि खाल्डेबगर सरेपछि भने ज्याला मजदुरी र माछा मार्ने काम गर्छन् । तर, जलविद्युत्का कारण माछा मार्न निषेध गरेपछि उनीहरू थप मर्कामा परेका छन् ।
खाल्डेबगर बसेकाहरूलाई सुरक्षित वास र बिहान–बेलुकी छाक टार्ने चिन्ता भइरहेको वेला राजधानीबाट मन्त्री, सचिवलगायत उच्चपदस्थ व्यक्ति पनि पुगेर आजसम्म आश्वासन मात्रै दिए । तर, उनीहरूको पीडा समाधान भएन । ‘काठमाडौंबाट सरकारमा रहेका धेरै नेता र सरकारी कर्मचारी यहाँ आउनुभयो, उहाँहरूलाई खादा र माला लगाउँदा भएको पैसा पनि सकियो,’ डोल्मा तामाङले सुनाइन्,‘कोही नेताहरू यहाँ हेलिकोप्टर चढेर पनि आउनुभएको थियो ।’
भूकम्पका कारण गाउँ नै तहसनहस र खण्डहर बनेपछि मृतकको सदगद गरी पीडितहरू त्रिशूली बगरमा झरे । यहाँ नअट्नेहरू अयन्त्र तितरबितर भए । अहिले गाउँमा कोही छैनन् । गोगनेबाट विस्थापित भएकामध्ये ८४ घर नुवाकोटको बट्टारमा, दुई सय ७४ घर खाल्डेबगरमा, ३७ घर नुवाकोटको शान्तिबजारमा र एक सय १० घरपरिवार नुवाकोटकै किस्पाङ गाउँपालिका– ५ मा बसोवास गर्छन् ।
बगरको पीडा नसुन्ने सिंहदरबार
यहाँका स्थानीयले बगरबाट अन्यन्त्रै सारिदिन प्रशासन गुहार्न थालेको वर्षौँ बित्यो । आफूहरूले कतिपटक धायौँ भन्ने रेकर्ड पनि राखेका छन् उनीहरूले । खाल्डेबगरमा बस्दै आएका स्थानीय र यहाँका अगुवाहरू बस्ती स्थानान्तरणको माग गर्दै आठ वर्षमा एक सय २७ पटक सिंहदरबार धाए । प्रधानमन्त्री, मन्त्री र रसुवाका सबै जनप्रतिनिधिलाई भेटे । तर, सिंहदबारले यहाँका पीडितको आहात सुनेन । ०७२ वैशाखको भूकम्पपछि प्राधिकरणका सिइओ गोविन्दराज पोखरेल हेलिकोप्टर चढेर खाल्डेबगर पुगेका थिए । उनले त्यतिवेला स्थानीयलाई सक्दो छिटो सुरक्षित वासको व्यवस्था गर्ने आश्वासन दिएका थिए । आश्वासनपछि उनी फर्किएर गएनन् । त्यसयता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेपाल विद्युत् प्राधिकरणका सिइओ कुलमान घिसिङ, तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनलगायत पनि खाल्डेबगर पुगे । तर, उनीहरूको उद्धार भएन ।
०७२ को भूकम्पमा उत्तरगया गाउँपालिका– १ भित्र पर्ने सबै क्षेत्र प्रभावित बनेको थियो । भूकम्पले ध्वस्त पारेपछि वडाध्यक्षसहित सबै स्थानीय बसाइँ सरेका थिए । कोही नुवाकोट शान्तिबजार, सातबिसे, कोही बट्टार र कोही त्रिशूलीको बगर क्षेत्रमा छरिएर बसोवास गर्न थाले । भूकम्पले साबिकको वडा क्षेत्रबाट उठीवास लगाएपछि वडाध्यक्षसहित सबै त्रिशूली बगर र आसपासमा सुरक्षित ठाउँतिर झरेका थिए । उत्तरगया गाउँपालिका– १ का वडाध्यक्ष मार्सिङ तामाङ हाल नुवाकोटको किस्पाङ गाउँपालिका शान्तिबजारमा बसोवास गर्छन् । रसुवाको जनप्रतिनिधि भए पनि त्यहाँ बस्ने वास नभएपछि उनी मासिक तीन हजार भाडा तिर्ने गरी शान्तिबजारको टहरोमा आश्रय लिइरहेका छन् । ‘म र वडावासी सबै अहिले छरिएर बसेका छौँ । विस्थापितलाई स्थापित गर्नेबारे सरकारले चासो नदिँदा रसुवामा पर्ने वडाको काम नुवाकोटबाट गर्नुपरेको छ,’ उनले सुनाए,‘खाल्डेबगरमा बसोवास गरेकालाई स्थानान्तरण गर्नेबारे सरकारले चासो दिएको छैन ।’
भूकम्पपीडितहरूलाई बसोवास गराउन अहिले सम्भावित ठाउँ भेटिएका छन् । तर, तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, वडा, गाउँपालिका र बस्ती स्थानान्तरण तथा निर्माण समितिले सम्भावित ठाउँ निक्र्योल गरे पनि पीडितहरूलाई सार्नेबारे सुरसारै छैन । त्यहाँ सार्न सर्वप्रथम संरचना निर्माण गर्नुपर्छ । उक्त कार्य सम्पन्न भएको छैन । बगरमा बसिरहेका स्थानीयलाई सार्नका लागि उतरगया– ५ मा पर्ने तल्लो पैरीबेँसीमा सम्भावित ठाउँ पनि खोजिएको हो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ०७४ मै ३८ रोपनी जग्गा खरिद गरेको थियो । त्यहाँ स्थानीयलाई तीन–तीन आनाका दरले जग्गा वितरण गर्ने योजना बनाइएको थियो । तीन–तीन आनाका दरले जग्गा वितरण गर्दा यहाँ एक सय २८ घरधुरी बसोवास गर्न मिल्ने अवस्था थियो, तर सरकारले डेढ वर्षअघि नै चार आनाभन्दा कम जग्गामा घर निर्माण गर्न नपाइने कानुन निर्माण गरेपछि यहाँ जग्गा वितरण प्रक्रिया रोकिएको छ । चार–चार आनाका दरले ३८ रोपनी जग्गा वितरण थोरै परिवारका लागि मात्रै पुग्ने भएकाले बगरमा बसोवास गरिरहेका सयभन्दा बढी परिवारका लागि अझै ठाउँ अपुग हुन्छ । हाल खाल्डेमा रहेका पीडितलाई सामूहिक रूपमा राख्न पैरीबेँसीमा केही संरचना पनि निर्माण हुँदै छन् । तर, त्यतिले मात्रै सबै पीडितलाई स्थानान्तरण गर्न पुग्दैन ।
हाइड्रोले माछा मार्न पनि दिएन
त्रिशूली बगर झरेका पीडितहरू यसअघि खोलाको माछा मारेर जीविका चलाइरहेका थिए । उनीहरू यहाँबाट माछा झिकेर बेच्न लैजान्थे । त्यही पैसाले परिवारको गुजारा चलाउँथे । तर, जलविद्युत् आयोजनाका कारण त्रिशूली नदीलाई ठाउँठाउँमा गायब पारिएको छ । जसका कारण माछा मरेका छन् भने हाइटेन्सन र बिजुली संरचनाको डरले खोला पस्न नसकिने अवस्था छ । ‘अहिले हाम्रो बाँच्ने उपाय भनेको मजदुरी नै हो,’ स्थानीय पूर्णबहादुर घलेले भने, ‘माछा मारेर पनि जीविका चलाउने आम्दानी भएको थियो, तर हाइड्रोले गरिखाने मेलो खोस्यो ।’ खाल्डेबगरमा झन्डै ६ सय जनाको बसोवास छ । ठाउँ सानो भए पनि यहाँ ससाना घरटहरा निर्माण गरेर उनीहरू बसोवास गर्दै आइरहेका छन् ।
बगरमा खेती ओढारमुनि वास
रसुवाको कालिका गाउँपालिका– १ गुम्चेतमा बसोवास गर्ने स्थानीयवासीको दैनिकी पनि कम्ता दुःख लाग्दो छैन । सडकबाट माथिपट्टि हेर्दा भित्तै खस्लाझैँ देखिन्छ । तर, त्यही भिरमा उनीहरू आश्रय लिइरहेका छन् । सम्म ठाउँ नपाएर भूकम्पपछि धेरै स्थानीयवासी पाखाहरूमा बसोवास गर्न बाध्य छन् । काली गाउँपालिकाको गुम्चेतमा त झन् ढुंगाकै ओढारमुनि स्थानीयवासी बसोवास गर्न बाध्य छन् ।
आफ्नो जग्गाजमिन अन्त नहुँदा भिरपाखाकै ओढारमुनि टहरो बनाएर बसोवास गर्न बाध्य हुनुपरेको गुम्चेत ओढारमा बस्दै आएकी मेन्दो याल्मोले बताइन् । यो ओढारमुनिको हटरामा उनको सात पुस्ता ट¥यो । अन्त जाने विकल्प नभएपछि उनको परिवार अहिले पनि त्यही ओढारमुनि बस्न बाध्य छ । ‘हामीलाई यहाँबाट अन्त सर्ने ठाउँ भएन, सर्न त खोजेकै हो,’ याल्मोले सुनाइन्,‘तर भूकम्पमा त्यही ओढारमुनिको घर पनि भत्किएपछि हामीलाई सरकारले बनाइदिएन ।’ याल्मोको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमान् गरी ६ जना छन् ।
उनका श्रीमान् ज्यामी काम गर्छन् । परिवारको गुजारा चलाउने अन्य आधार नभएपछि उनीहरूले बगरमा मकैलगायत खेती गर्छन् । ‘कसैले राम्रो ठाउँमा जाउँ भन्दैन, यो भिरमा बस्दा कुन दिन पाखा नै खस्ने हो भन्ने डर लाग्छ,’ याल्मोले सुनाइन्, ‘छोराछोरी पढाउन स्कुल पनि नजिक छैन, बिरामी हुँदा अस्पताल जान पनि नजिक छैन,’ उनले सुुनाइन्, ‘दुःखीको कोही त भेटिन्छ भन्छन्, तर हाम्रो त खै भेटिएन ।’ याल्मोको मात्रै होइन, गुम्चेतमा अन्य ६ परिवार पनि बस्छन् । यहाँ एउटा ठूलो ढुंगा छ त्यसको मुनि जस्तापात र ढुंगामाटोले बनेका ससाना घरहटरा छन् । त्यही हटरामा स्थानीयवासीले जीवन बिताउँदै आएका छन् । ‘यस्तो ठाउँमा कोही रहरले बस्दैन, हाम्रो अन्यन्त्रै जाने ठाउँ भएन,’ ओढारमुनि हटरामा बस्दै आएकी पसी तामाङले सुनाइन्,‘सबै आउँछन् हटरा हेर्छन्, फोटो खिच्छन् जान्छन् तर हाम्रो जीवन धरापमा रहेको देख्दैनन् ।’
जलविद्युत्को राइँदाइँ
उत्तरगया गाउँपालिका– १ का स्थानीयहरू भूकम्पको पीडाबाट निस्कन सकेकै छैनन्, त्यसपछि थपिएको छ, जलविद्युत् आयोजनाको तनाव । माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजनाका कारण उत्तरगया गापाको ठूलो हाकु, नासो हाकु, फूलबारी, हाकुबेँसी, मैलुङबेँसी, गुम्चेत, थंगु, गोगने तिरुलगायत क्षेत्र प्रभावित छन् । अझ उत्तरगया– १ को मैलुङबेँसीमा करिब २६ घर प्रत्यक्ष मारमा छन् । मानवबस्तीनजिकै हाइटेन्सन लाइन र विद्युत् संरचना निर्माणले बस्ती जोखिममा छन् । खोला नै बस्तीतर्फ फर्काउन थालेपछि बस्ती कटानको त्रास थपिएको छ । बस्तीभन्दा माथिपट्टि जलविद्युत्ले संरचना निर्माण गर्दा जमिन फोड्न ब्लास्टिङ गर्दा बस्ती नै थर्किने र चर्किने अवस्थामा पुगेको स्थानीय इनाम तामाङ बताउँछन् ।
बस्तीनजिकै रहेको जलविद्युत् आयोजनाले अव्यवस्थित ढंगले काम गर्दा पहिरो र बाढीको समेत त्रास भएको उनी गुनासो गर्छन् । ‘जनविद्युत् आयोजनाले न त हामीलाई रोजगार दिएको छ न त हाम्रा माग पूरा गरेको छ,’ उनले सुनाए, ‘खोलामा जथाभावी काम गरिरहेको छ, हाम्रो बस्ती नै खोला र पहिरोले लैजाने अवस्थामा छ ।’ भूकम्पका वेला पनि जमिन चर्किएर र हल्लिएर ढुंगा पल्टिँदा यस क्षेत्रमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । पछिल्लो समय जनविद्युत् आयोजनाले सुरुङ खन्दा सावधानी नअपनाउँदा बस्ती जोखिम अवस्थामा रहेको छ ।
त्यसो त भूकम्पअघि मैलुङको बस्ती ठूलो थियो । भूकम्पका कारण घर भत्किएपछि यहाँबाट २० घरधुरी विस्थापित भएर अन्तै गए । यहाँ रहेका करिब २६ घरको बसोवास पनि सुरक्षित छैन । बस्तीमुनि खोला र माथि जलविद्युत्ले पहरा फुटाइरहेकाले बस्ती जोखिममा परेको छ । जलविद्युत् आयोजना गाउँ पसेपछि रैथाने पहिचान नै मेटिने अवस्थामा पुगेको छ ।
परम्परागत अभ्यासमा ठेस
जलविद्युत् आयोजनाका कारण खेतीयोग्य जमिन डुबानमा पर्ने र पहिरोले लैजाने, माछा मार्न नपाइने र पशुचरण क्षेत्रमा पनि हाइड्रोले संरचना खडा गरेको छ । जलविद्युत् आयोजनाले स्थानीयलाई रोजगार नदिएको, उनीहरूको घरजग्गामा क्षति हुने गरी काम गरेको स्थानीय कान्छीमाया तामाङको गुनासो छ । ‘हाम्रै ठाउँमा आएर उनीहरू काम गरिरहेका छन्, तर हामीलाई रोजगार पनि भएन सुरक्षा पनि भएन,’ उनले सुनाइन्, ‘यसरी जथाभावी काम गर्न पाइँदैन ।’ कानुनअनुसार जलविद्युत् आयोजनाले काम सुरु गर्दा प्रभावितहरूलाई रोजगारदेखि उनीहरूको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्छ । तर, पाँच वर्ष भयो जलविद्युत्ले कानुनी रूपमा पूरा गर्नुपर्ने मापदण्ड पनि पालना नगरेको स्थानीयवासीको गुनासो छ ।
जलविद्युत् आयोजना निर्माणका क्रममा स्थानीयवासी, आदिवासी जनजाति सल्लाहकार परिषद्, जनप्रतिनिधि र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टबीच स्थानीयका माग पूरा गर्नेबारे ०७५ कात्तिकमा सम्झौता भएको थियो । तर, कम्पनीले सम्झौता पालना नगरेको स्थानीयवासीको गुनासो छ । सम्झौतामा आदिवासी तामाङ समुदायको परम्परागत अभ्यास, भाषा, संस्कृति, सांस्कृतिक अभ्यास संरक्षण गर्ने र प्रभावित क्षेत्रमा रोजगार, शिक्षा र स्वाथ्यबारे काम गर्ने उल्लेख थियो । तर, जलविद्युत् आयोजनाहरूले स्थानीयवासीसँग भएका सम्झौता पूरा गर्नेबारे नजरअन्दाज गर्दै आइरहेका छन् ।