• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन बराल काठमाडाैं
२०७६ बैशाख २८ शनिबार ०७:१८:००
रिपाेर्ट

फोहोर फेवाताल

२०७६ बैशाख २८ शनिबार ०७:१८:००
नवीन बराल काठमाडाैं

पोखरा

स्कुल पढ्दा गृहकार्यमा आफूलाई सबैभन्दा राम्रो र मनपर्ने सहरको बारेमा लेख्नुपर्दा म पोखराको बारेमा लेख्थेँ । सायद अहिले पनि धेरैले पोखराकै बारेमा लेख्छन् होला । त्यो वेला सुन्दर पोखराको बारेमा लेख्दा मैले पोखरा देखेकै थिइनँ । तर प्रकृतिको सुन्दर रचना पोखराका बारेमा नसुन्ने त कुरै भएन । किताब, टेलिभिजन, रेडियो, पत्रपत्रिका र गीतबाटै पोखराको सुन्दरता धेरै सुनियो र पढियो पनि । पढेसुनेकै भरमा पोखराको फेवाताल, पातले झरना, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, शान्ति स्तूप, माछापुच्छ्रे, सेती नदी, सराङकोटबारे गफ लगाएर एक–दुई पाना भरिन्थ्यो । 

रेडियोमा गुञ्जिने ‘फेवा तालको आँगनमा लै–लै, माछापुच्छ्रे छाया’ गीत सुनेकै भरमा फेवातालमा देखिने माछापुच्छ्रे हिमालको प्रतिबिम्बको चर्चा गरिन्थ्यो । गायकले गीतमा माछापुच्छ्रेको मात्र चर्चा गरेका थिए । पछि मात्र थाहा पाएँ, फेवातालमा पूरै अन्नपूर्ण हिमशृंखलाको प्रतिबिम्ब पनि देखिँदो रहेछ । स्कुल पढ्दा सधैँ देखिने लमजुङको हिमाल पनि ।
मैले पोखरा सहर प्रत्यक्ष देखेको एसएलसीपछि हो ।

०५६ मा पहिलोपटक पोखरा आउँदा न त माछापुच्छ्रे हिमाल नै देखियो, न त फेवातालमा त्यसको छाया । फेवातालमा काठका नाउ तैरिरहेका देखिए । त्यसपछि पोखरा कति पुगियो लेखाजोखा छैन । फेवातालमा माछापुच्छ्रे, अन्नपूर्ण हिमाल छाया बनेर मुस्कुराएको पनि कैयौँपटक देखियो ।

केही हप्ताअघि पोखरा घुम्न जाँदा मैले त्रिभुवन विमानस्थलमा बोर्डिङ पास लिँदा दाहिनेतिर झ्यालको सिट मागेँ । दाहिनेपट्टिको झ्यालबाट हिमाल देख्न पाइन्छ । काठमाडौंबाट पूर्वतिर जाँदा देब्रेतिरको झ्यालमा बसे लहरै हिमाल देखिन्छन् । मेरा लागि सस्तो माउन्टेन फ्लाइट । मौसम खराब थियो । तीन घन्टा ढिलो गरी उडेको विमान हल्लिँदै पोखरा पुग्यो । तर, हिमाल देख्न पाइएन । 

काठमाडौंबाट उड्नुअघि फेसबुकमा आफ्नो फोटो हाली ‘पोखरा एगेन’ भनेर स्ट्याटस राखेको थिएँ । त्यो फोटो इन्डोनेसियन फोटोग्राफर साथी हार्डीले पोखरा जाँदा खिचिदिएका थिए । फोटो शान्ति स्तूपनजिकैबाट लिइएको थियो । पोखराको विमानस्थलबाट बाहिरिँदै गर्दा मोबाइल ‘अन’ गरेँ, मेसेन्जर ट्रिङ ग-यो ।
‘दाइ नमस्ते’
‘पोखरा आउनुभाको हो ?’
‘भेट्न सकिन्छ दाइ, तपाईंलाई ?’
‘तपाईंको कर्णालीको फोटो प्रदर्शनीका बारेमा 
बुझ्नु थियो ।’
मैले उत्तर दिएँ, ‘सियोर, जस्ट ल्यान्डिङ ।’
फेसबुकमा साथी बनेका तनहुँका सुजन गौतमको मेसेज रहेछ । सुजन घुमन्ते फोटोग्राफर हुन्, ग्रेट हिमालयन ट्रेल पूरै हिँडेका । भर्खर लेकसाइटमा रेस्टुरेन्ट सुरु गरेका रहेछन् । पोखरा विमानस्थलबाट सुजनलाई भेट्न हिँडेरै लेकसाइटको बाराहीचोक पुगेँ । लेकसाइटसम्म हिँड्दा मनलाई साह्रै आनन्द महसुस भयो ।

पैदलयात्रीका लागि कति फराकिलो फुटपाथ ! न धुलो, न धुवाँ ! लेकसाइटका रूखहरूले छाडेको ताजा अक्सिजन लिन पाउँदा काठमाडौंको मेरो फोक्सो दंग प-यो होला । पोखराको एउटा यात्रामा पत्रकार नारायण वाग्लेसँग धेरै ठाउँ हिँडेरै घुमेको र हिँडाइको अनुभव निकै आनन्दपूर्ण रहेको पत्रकार साथी रमेश भुसालले एक वर्षअघि सुनाएका थिए । उनकै कुराले हौसिएर यसपालि पोखरामा म पनि हिँड्न तम्सिएँ । 

काठैकाठले बनेको सुजनको रेस्टुरेन्ट पुगेको मात्रै के थिएँ, मेघगर्जन र हावाहुरीसहित असिनापानीले स्वागत ग¥यो । यो हावाहुरी र असिनाले कतिको बिजोग पा-यो होला, छाताविना हिँड्न तम्सिएको मलाई न्याय नै ग-यो । साँझपख टर्किस खाना ‘चिकेन डोल्मा’को स्वाद लिएर म होटेलतिर लागेँ ।

पोखरा यति सुन्दर छ कि जतिपटक पुगे पनि धित मर्दैन । फेवातालमा हिमालको छाया पनि उत्तिकै हेरूँ–हेरूँ लाग्छ । र, क्यामेरामा कैद गर्न मन लाग्छ । हरेकपटक पोखरा पुगेका वेलामा सुन्दर दृश्यको आशा गर्छु । म फोटोग्राफीमा लागेको १२ वर्ष भयो । यो अवधिमा मलाई पोखराको मौसम खुलेको मौका तीन पटक मात्र मिलेको थियो । यो चौथोपटक हो । बिहानै सुन्दर दृश्य कैद गर्न क्यामेरा बोकी ड्यामसाइटतिर लागेँ ।

बिहानै ड्यामसाइटको क्लासिक भिउ पोइन्ट पुग्दा ५ पनि बजिसकेको थिएन । सूर्यको किरणले अन्नपूर्ण दोस्रोको चुलीलाई स्वर्णिम बनाइसकेको थियो । पूरै अन्नपूर्ण शृंखलाको प्रतिबिम्ब फेवातालमा देख्न सकिन्थ्यो, अन्नपूर्ण दक्षिणदेखि लम्जुङ हिमालसम्म ।

माछापुच्छ्रेलाई बिहानीको किरणले चुम्नै बाँकी थियो, सायद अन्नपूर्ण दोस्रोभन्दा माछापुच्छ्रे  करिब एक किलोमिटर होचो भएर पनि होला । मोबाइलमा लोभ्याउने दृश्य कैद गरी फेसबुक र इन्स्टाग्राममा ‘पोखरा नाओ’ लेखेर फोटो अपलोड गरेँ । लाइक आउन थालिहाल्यो । पोखरालाई मन नपराउने कुरै भएन ।

६ बज्नै लाग्दा सूर्यको किरणले सबैजसो चुचुरालाई स्वर्णिम बनाउँदै गयो । मेरो डिएसइलआर क्यामेरा हिमालतिर मोडियो । म रहेको क्लासिक भिउ पोइन्टभन्दा करिब २० मिटरअगाडि दाहिने कुनामा चारजना केटाहरू तालमा बल्छी हान्न पुगिसकेका रहेछन् । एउटाको बल्छीमा माछा परेछ, छिटो–छिटो धागो तान्दै थियो । बल्छीमा परेको माछा छट्पटाउँदा हिमालको छाया देखिने तालको आँगनमा वृत्ताकार तरंग पैदा भयो । अघिसम्म शान्त रहेको हिमालको 
प्रतिविम्बलाई खल्बल्याइदियो ।

दृश्य हेर्दा लाग्थ्यो, हामीले जे गल्ती बागमती र विष्णुमती नदीमा ग-यौँ, त्यही गल्ती फेवातालमा पनि दोहो-याउँदै छौँ । फेवाताल फोहोरले कुरूप बन्दै छ । तालमा देखिने माछापुच्छ्रे  छायालाई पूरै प्लास्टिकजन्य फोहोरको छायाले जितिसकेको रहेछ ।

एकछिन त बल्छी हान्ने केटाहरूसँग रिस उठ्यो । तर, म र उनीहरूमा केही फरक देखिनँ । उनीहरू बिहानै बल्छीमा माछा पार्न तल्लीन छन् । म पनि बिहानै फेवातालमा माछापुच्छ्रे  कैद गर्न तल्लीन छु । ताल पनि एउटै, ठाउँ पनि एउटै, काम पनि उस्तै कैद गर्ने । अनि सबैको कर्म उही दाल भातका लागि । 

तस्बिर लिने क्रम चलिरहेको थियो, लेन्स फेरी–फेरी । कहिले ३५ एमएमको लेन्सबाट, कहिले ८५ एमएमबाट । यत्तिकैमा एउटा प्लास्टिकको बोतल फेवातालमा देखिरहेको हिमालको छायामाथि बग्दै आइपुग्यो । मानौँ, चलचित्रमा खलनायक आइरहेको छ । यसले सुन्दर पोखराको तस्बिरमा दाग लगाइदियो ।

प्रफुल्लित मन एक्कासि खिन्न भयो । फेवाताल जथाभावी फालिएका प्लास्टिक, बोतल, झारपातलगायत फोहोरले कुरूप बनेको छ । ताल माटोले पुरिँदै छ । प्रकाश  श्रेष्ठले ०४४ सालतिर ‘फेवातालको आँगनमा लै–लै, माछापुच्छ्रे  छाया’ बोलको गीत गाउँदाताका यो ताल सुन्दर थियो होला । मानव हस्तक्षेपमा परेको थिएन होला । मोबाइलको घन्टी बज्यो, फोटोपत्रकार कृष्णमणि  बरालको रहेछ । उनले भने, ‘कता हो बन्धु ? पोखरा आएर पनि भेटघाट छैन !’ मैले भनेँ, ‘म ड्यामसाइटमा फोटो खिच्दै छु, यतै आउनुस् न !’

कृष्णमणिले ‘हस्’ भनेर फोन राखिदिए । कृष्णमणि बरालले लामो समयदेखि पोखराको प्रकृतिलाई नजिककबाट निहालिरहेका छन् । गिद्धको फोटो त उनले कति खिचे खिचे । उनी प्रकृति संरक्षणका अभियन्ता पनि हुन् । लामो समयदेखि उनले फेवातालमाथि भएको ज्यादतीको तस्बिर खिचेर प्रचार–प्रसार गरिरहेका छन् । तर, ज्यादती रोकिएको छैन । 

अघि एउटा मात्र प्लास्टिकको बोतल देखेको थिएँ । सूर्यको प्रकाश तेज हुँदै गएपछि प्लास्टिकसँगै अरू फोहोरको डंगुर पनि देखिन थाल्यो । केही पानीमा तैरिएका त केही पानीभित्रै लुकेका । कृष्णमणि बराल पनि टुप्लुक्क आइपुगे । उनले केही तस्बिर लिए । मैले उनलाई प्लास्टिकजन्य फोहोरको कुरा मात्रै के गरेको थिएँ, उनले मलाई फिर्केखोला फेवातालमा मिसिएको, गाईघाटमा फोहोरको डंगुर नै फालेको देखाइदिए । मैले फेवातालमा त्यति धेरै फोहोर देखेको पहिलोचोटि हो ।

दृश्य हेर्दा लाग्थ्यो, हामीले जे गल्ती बागमती र विष्णुमतीमा ग-यौँ, त्यही गल्ती फेवातालमा पनि दोहो¥याउँदै छौँ । तालको त्यो बेहाल मैले तस्बिरमा कैद गरेँ । फेवातालमा देखिने माछापुच्छ्रे  छायालाई पूरै प्लास्टिकजन्य फोहोरको छायाले जितिसकेको रहेछ ।

प्लास्टिकजन्य फोहोरको यो जितमा म सुन्दर फेवाताल र पोखराको हार देखिरहेको थिएँ । सँगसँगै हामी मानवको पनि । पोखरा यति सुन्दर छ कि, ‘नबिगारे पुग्छ ।’ नत्र ‘फेवातालको आँगनमा लै–लै,माछापुच्छ्रे  छाया’को सट्टा ‘फेवातालको आँगनमा लौ न प्लास्टिकको छाया’ भन्ने गीत नआउला भन्न सकिँदैन ।