
‘आपा ! आमाले भनेको यो
नीरफूल देउतालाई चल्दैन ।’
‘अबदेखि चल्छ... ।’
नीरफूल खोलामा बगाउँदै छोरी पिङ्जावतीलाई आपा चेन्जारोङले भन्छ । तामाङ भाषामा संवाद गरिएको यो दृश्य ‘नीरफूल’ चलचित्रको शक्तिशाली विम्ब र एक हरफ कथासार हो । पाङ्साङ अर्थात् धादिङ जिल्लाको उत्तरी भेग रुबि भ्याली (सरकारले स्थाननाम परिवर्तन) बहुसंख्यक तामाङ जातिको बसोवास थलो हो । त्यस भेगका बासिन्दाले कुनै पनि नीलो फूल देउतालाई चढाउँदैन, जसरी काठ क्षेत्रका बाहुन, क्षेत्रीले लहरामा फूल्ने नीलो फूल देउतालाई चढाउँदैनन् । नीलो फूलबारे फरक समुदायबीच फरक जीवनदर्शन होला, तर निर्देशक फुलमान बलले ‘नीरफूल’ चलचित्रमा फूलमार्फत बिम्बात्मक अभिव्यक्त गरेको विषय गहन र पीडादायी छ ।
१९१० को मुलुकी ऐनले तामाङ जातिको छातीमा बुट बजार्यो । त्यसपछि तामाङ मासिन्या जाति र पीपामा दरिए । जातिकै आधारमा दण्ड जरिवाना भोग्नुपर्ने कानुन बन्यो । अहिलेसम्म पनि नीरफूलजस्तै तामाङ जाति राज्यको दृष्टिकोणमा नचल्ने भयो । यो पीडालाई ‘नीरफूल’ले सशक्त रूपमा अभिव्यक्त गरेको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्प र परकम्पनले आदिवासी बहुल क्षेत्र त्यसमा पनि तामाङ जातिले अझ बढी क्षति व्यहोरेको थियो । गृह मन्त्रालयको अनुसार भूकम्पमा ज्यान गुमाएका ८ हजार ८४४ मध्ये ३ हजार १२ जना तामाङ जाति छन् । उनीहरूको थातथलो, सांस्कृतिक सम्पदा बढी क्षति पुगेको थियो । राहत वितरण र सरकारी पुनस्र्थापनामा चरम विभेद भएको सञ्चारमाध्यमले सम्प्रेषण गरेको थियो । भूकम्पले पाङ्साङ गाउँ पनि ध्वस्त हुन्छ । भग्न घरबाट छोरी पिङ्जावतीलाई सेनाको हेलिकोप्टरले उद्धार गरी याम्बु (काठमाडौं)को अस्पतालमा पुर्याउँछ । पिङ्जावतीले कहिले सहर देखेको हुँदैन । बिरानो ठाउँमा उसले एकोहोरो आफ्नै भाषामा ‘आमा निबा !’ ‘आमा निबा !’ (आमा जाने) मात्रै भनिरहन्छे । उनको बोली कसैले बुझ्दैन । त्यसरी नबुझ्नुमा मा राजा महेन्द्रको एक भाषा, एक भेष नीति जिम्मेवार छ ।
त्यस्तै, २०५६ जेठ १८ गते सर्वोच्च अदालतले गरेको अन्यायपूर्ण फैसला जसले मातृभाषाको जिब्रो थुतेको थियो त्योसमेत जिम्मेवार छ । एकल भाषाको नीतिले देश कसरी एकलकाँटे र निर्दयी भएको छ भन्ने यो घटना एउटा सबुत पनि हो ।भूकम्पले थिलथिलो पारेको जमिन, चिरा परेको सुनसान सडकमा बस नचलेपछि वेलामौकामा गाउँ आउने जिपमा चढेर छोरी पिङ्जावतीलाई खोज्न स्यरल्हामो याम्बु (काठमाडौं) जान्छिन् ।
त्यसपछि तामाङ मासिन्या जाति र पिपामा दरिए । जातिकै आधारमा दण्ड जरिवाना भोग्नुपर्ने कानुन बन्यो । अहिलेसम्म पनि नीरफूलजस्तै तामाङ जाति राज्यको दृष्टिकोणमा नचल्ने भयो । यो पीडालाई ‘नीरफूल’ले सशक्त रूपमा अभिव्यक्त गरेको छ ।
आफन्त चिनेको कोही नभएकाले ड्राइभरको दुव्र्यवहार सहँदै छोरी खोज्न अस्पताल, सरकारी कार्यालय धाउँदा पनि भेटिन्नन् । सबैभन्दा तगारो बन्छ सिंहदरबारको ढोका । छोरीको खोजीमा पीडा, भोकप्यासले विक्षिप्त महिलालाई झनै पीडा दिन्छ सहरिया मान्छेहरूले । छोरी खोज्ने क्रममा स्यरल्हामाले ठोकिन पुग्छिन्, आडम्बरी समाजसेवीहरूको चंगुलमा । बालगृह चलाएर विदेशीलाई धर्मपुत्र पुत्री आपूर्ति गर्ने गिरोहमा ठोकिन पुग्छिन् । सञ्चारमाध्यमले दैनिक बालबालिका हराइरहेको समाचार भनिरहँदा राज्य किन मौन छ ? फिल्ममार्फत राज्यलाई निर्देशक बलको पीडादायी प्रश्न हो यो । किनभने भारतको ठुल्ठूला सर्कसहरूमा अधिकांश तामाङ युवायुवतीहरूको बाहुल्य छ ।
फिल्मको कथा मौलिक छ । तर, प्रस्तुति बरालिएको अनुभूति हुन्छ । कथाअनुसारकै प्रस्तुति भइदिएको भए दर्शकले अझै धेरै अपनत्व महसुस गर्थे । पटकथाकार लेखकद्वय फूलमान बल र सचिन घिमिरे द्विविधामा परेको छर्लंग देखिन्छ । चलचित्रलाई परम्परागत नेपाली चलचित्रको संरचना र कथ्यशैलीमा प्रस्तुत गर्ने कि आदिवासी कथ्यशैली र संरचनामा ? लेखकहरू द्विविधा परेको देखिन्छ । द्विविधाकै बीच लेखकहरूबीच बाटोमा हिँडे । जसको कारण यत्ता न उत्ताजस्तो देखिएको छ । तामाङ जातिको प्रचलित लोककथा, आख्यान, मिथकमध्ये एकलाई आधार मानेर संरचना र कथ्यशैली स्थापित गरेर चलचित्र निर्माण गरेको भए यो चलचित्र तामाङ चलचित्रको मानक र आदिवासी चलचित्रको मार्गदर्शन हुने थियो । यो मौकाबाट बल र घिमिरे चुकेका छन् ।
फिल्ममा पाङ्साङ (कथित रुवी भ्याली) गाउँको दैनिकी खासै देखिँंदैन । दर्शन, परम्परा, संस्कृति विरलै देखाइएको छ । पाङ्साङ गाउँको सांस्कृतिक परम्परा, जीवनदर्शन र सहिष्णुता, सद्भाव देखाउनुपथ्र्यो । यो विषयलाई जोडेर सहरमा पिङ्जावतीले अन्य भाषा नबुझेको कारण भोगेको समस्याहरू त्यसबाट छुटकारा पाउन गरेको संघर्ष समेटेको भए धेरै राम्रो हुने थियो । यसबाट राज्यको भाषिक विभेद नीति सच्चाउन सकारात्मक पहल बढ्ने थियो ।
सम्पादनमा पनि केही कमजोरी देखिएको छ । निर्देशकले अनावश्यक दृश्यहरू लोभ गरेको कारण फितलो र दृश्य र ध्वनिमा जर्क देखिएको छ । भूकम्पको दृश्यमा भिएफएक्स स्थिर दृश्यले विश्वसनीयता घटेको छ । एउटै गाउँको तामाङ भाषा पात्रअनुसार फरक हुनु धेरै कमजोरी हो । चेन्जोरोङले खस भाषा बोल्दा पूर्वेली राई लवजमा संवाद गर्नु चरम लापरबाही हो । नेपाल बहुभाषी भएकाले लवजले जाति निर्धारण गर्न सकिन्छ । विदेशी चलचित्रमा ‘डाइलेक्टोलोजी’ पात्रको स्थानीयकरण, चरित्र संवादका लागि संवेदनशील हुन्छन् । नेपाली चलचित्रमा कम महत्व दिइन्छ । निर्देशक नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ चलचित्रमा पहिलोपटक भाषा स्थानीयकरण ‘डाइलेक्टोलोजी’को महत्वलाई बुझेर भाषाशास्त्री तारामणि राईलाई अनुबन्धगरेका थिए ।
०४६ सालपछि तामाङले इतिहासमा भोगेको कथाव्यथा दलीय आवाजको आवरणमा र कहिले द्वन्द्वको गोलीबाट त्यतिले नपुगेर साम्प्रदायिक बिल्ला भिर्दै सामुदायिक संस्थाबाट गुन्जायमन गरेका थिए । ती सबै आवाजहरू निरीहताको कारण दबाइयो । तीनै दमित आवाजलाई अहिले स्रष्टा सर्जकले साहित्य, कला र चलचित्रको माध्यमबाट राज्यले गरेको चरम जातीय विभेद, मासिन्या जाति भएर बाँचेको पीडा, जिब्रो थुतेको पीडा, सांस्कृतिक अपहेलनाको पीडा सशक्त किसिमले भन्न थालिको छ, सुनाउन थालेको छ ।
नेपाली चलचित्रमा मौलिक कथाको खडेरीलाई लिम्बू चलचित्र ‘जारी’ले गरेको आपूर्तिपछि तामाङ चलचित्र ‘नीरपूmल’ले अर्गानिक कथासहित ३० प्रतिशत तामाङ भाषामा संवाद गरेको छ । मौलिक कथामा निर्मित चलचित्रले एक दिन अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको पहिचान स्थापित गर्नेछ । त्यस दिन समुदायको मौलिक कथाहरूको इन्द्रेणी चलचित्रमा देखिनेछन् । आदिवासी चलचित्र अर्काइभ (आइफा) प्रशिक्षित निर्देशक फुलमान बलले रुढीवादी, क्लिसे नेपाली चलचित्रको बिगबिगीमा आप्mनो समुदायको मौलिक कथा र गहन विषय भन्ने आँट गरेकोमा तारिफ गर्नैपर्छ ।