• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सत्यमोहन जोशी काठमाडाैं
२०७६ बैशाख २८ शनिबार ०७:५५:००
सम्झना

हामी यसरी प्राज्ञ भयौँ

राजालाई रिझाउन प्राज्ञहरू मेरुदण्ड दोबार्दै थिए । अब त मेरै पालो भनेझैँ गरेर दौडिनेमध्ये बालकृष्ण समको म्याराथन हेर्नलायक थियो ।

२०७६ बैशाख २८ शनिबार ०७:५५:००
सत्यमोहन जोशी काठमाडाैं

राजा महेन्द्र काव्यिक भावनाका व्यक्ति थिए । ‘उसैका लागि’ र ‘फेरि उसैका लागि’ भन्ने कवितासंग्रह नै निकालेका थिए । गीत पनि लेख्थे । सत्ता सञ्चालनमा उनको महत्वाकांक्षा  जस्तो होस्, साहित्यिक क्षेत्रमा फरक छवि बनाएका थिए । विदेश भ्रमणका वेला नेपालीभाषी कुनै स्रष्टालाई भेटे भने थपक्क स्वदेश भित्र्याउँथे । पेरिसमा अध्ययन गरिरहेका लैनसिंह बाङ्देललाई नेपाल ल्याएका थिए । दार्जिलिङका सूर्यविक्रम ज्ञवालीलाई त्यसैगरी नेपाल ल्याएका थिए । पछि, दुवैजना प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म हुन पुगे । 

तिनै महेन्द्रले विसं ०१४ असार ९ गते एउटा साहित्यिक संस्था स्थापना गरे । कमलादीको ५० रोपनी जग्गामा आफ्नै निजी कोषबाट स्थापना गरेको त्यो संस्थाको नाम थियो रोयल नेपाल एकेडेमी । राजाको यो नयाँ कदमले साहित्यिक क्षेत्रमा ठूलै हलचल ल्यायो । साहित्यकारहरूले आफू पनि सम्मानित भएको अनुभूति गरे । उनी यसको संरक्षक भएर बसे । कुलपति भने पनि, संरक्षक भने पनि वा चान्सलर भने पनि । बालचन्द्र शर्मालाई उपकुलपति नियुक्त गरे । 

प्रज्ञा प्रतिष्ठान जन्मेताका मुलुकमा एकसेएक नाम चलेका साहित्यकारहरू थिए । जस्तोः महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए । कविशिरोमणि लेखनाथ पौड्याल थिए । नाट्यसम्राट् बालकृष्ण सम थिए । बालचन्द्र शर्मा, भवानी भिक्षु र भीमनिधि तिवारीजस्ता व्यक्तित्व थिए । कोहीभन्दा कोही होचा थिएनन् ।

एकसेएक अग्ला थिए । अझ त्यही वेला अरूभन्दा फरक स्वभावका, कण्ठस्थ कविता सुनाउने, क्रान्तिकारी बोली बोल्ने, कसैसँग नझुक्ने, राजालाई पनि नटेर्ने, नगन्ने, शारीरिक कद उँचो भएका एकजना कवि थिए– केदारमान व्यथित । काठमाडौंनिवासी व्यथितलाई म विद्रोही कविका रूपमा चिन्थेँ । मैले मात्र होइन, अरूले पनि त्यसै गरी चिन्थे । हाम्रो सर्जक चिनारी मध्यमखाले थियो । प्रज्ञा प्रतिष्ठानको समितिमा भने उनी थिएनन् । सडकबाटै सत्तालाई थर्काउँथे । राजाको नेतृत्वको एकेडेमी साहित्य संस्कृतिकै गतिविधिमा संलग्न थियो । माथिको आशयअनुसार तलका कार्यक्रमहरू बन्थे । 

त्यतिवेला राजा महेन्द्रका सचिव थिए मधुसूदन राजभण्डारी । उनी ज्यादै बाठा थिए । शाह राजाहरूमा महेन्द्रलाई बाठो र आँटी भनिन्थ्यो । उनका पनि सचिव भनेपछि त लरतरा थिएनन् मधुसूदन । कताकताबाट मधुसूदनले व्यथितसँग लाइन मिलाएछन् । यो काम राजा महेन्द्रकै रणनीतिअनुसार भएको थियो होला, नभए त्यत्रो कुरो हुने नै थिएन । लौ, सडकका राजाविरोधी सिंह त २०२६ सालको पुनर्गठनमा प्रज्ञा प्रतिष्ठानको कुलपति पो हुन आइपुगे । उनका लागि राजाले संरक्षकको पद नै त्यागिदिए । यता, उपकुलपति बालचन्द्र शर्मा राजदूत भएर गएपछि उपकुलपति पद खाली थियो ।

राजालाई रिझाउन प्राज्ञहरू मेरूदण्ड दोबार्दै थिए । अब त मेरै पालो भनेझैँ गरेर दौडिनेमध्ये बालकृष्ण समको म्याराथन हेर्नलायक थियो । त्यसै पनि उनी छाया कुलपति भएर काम गरिरहेका थिए । दरबारियाहरूसँगको सम्बन्ध पनि राम्रो थियो । उता, सूर्यविक्रम ज्ञवाली आफूलाई त्यत्तिकै दाबेदार ठान्थे । कसो मेरो पनि पालो नआउला भनेर भवानी भिक्षु पुलुकपुलुक चियाउँथे । तर, एकाएक ९० सालको भुइँचालो आयो प्रज्ञामा । कहाँ–कहाँबाट सोच्तैनसोचेको, कसैले अनुमानै नगरेको भुइँचालो । व्यथितको भन्दा माथिल्लो स्तरका स्रष्टाहरू उनको नियुक्तिले लल्याकलुलुक भए । 
केदारमान व्यथितलाई राजा महेन्द्रले कुर्सी खाली गरिदिनु कहाँ सोच्न सक्ने कुरा थियो त ! 

व्यथितले पदभार ग्रहण गरेपछि प्रज्ञाको कार्यशैलीले अर्कै गति लियो । उनी नयाँ सोच र शैलीका साथ आएका रहेछन् । राजालाई मनाएर पहिले त्यहाँको विधान नै संशोधन गरिदिए । हुँदै नभएको आठवटा सहायक प्राज्ञको नयाँ पद सिर्जना गरे । त्यसमा भटाभट नयाँ प्राज्ञहरू नियुक्ति गरे । उनीहरू थिए कृष्णचन्द्रसिंह प्रधान, विजय मल्ल, पोषण पाण्डे, प्रा. चूडामणि भट्टराई, रत्नध्वज जोशी, जनकविकेशरी धर्मराज थापा, श्यामदास वैष्णव र यो लेखक सत्यमोहन जोशी । 
म त भर्खर चीनबाट आएको थिएँ । व्यथितजीको कार्यशैली पनि त्यति राम्रो जानेको थिइनँ । दुईपल्ट मदन पुरस्कार भने पाइसकेको थिएँ । मेरो चिनारी र योग्यता भनेकै त्यति नै थियो । 

राजालाई रिझाउन प्राज्ञहरू मेरुदण्ड दोबार्दै थिए । अब त मेरै पालो भनेझैँ गरेर दौडिनेमध्ये बालकृष्ण समको म्याराथन हेर्नलायक थियो । 

अब कुलपतिको कोठामा दैनिकजसो मिटिङ हुन थाल्यो । उनी हामीले राजाको स्प्रिट बुझेर काम गर्नुपर्छ, यसरी हुँदैन भनेर तताउन थाले । हुँदाहुँदै नेपाली वाङ्मय, नेपाली साहित्य, नेपाली नाट्य र संगीत, नेपाली कला र संस्कृतिको उत्थान र विकास गर्ने लक्ष्यले पञ्चवर्षीय योजनाकै तर्जुमा गरे । त्यसमा संस्कृतितर्फको कामलाई अन्वेषण गर्न निम्न चारवटा विभागहरू बनाइए । 

नेपालको बृहत् इतिहास संस्कृति विभागमा विश्वकोषअन्तर्गत नेपाल खण्ड, पर्यायवाची शब्दकोश (यो कोशमा नेपाली भाषाका निमित्त, नेपालभित्र बोलिने १३ वटा अन्य भाषाहरू सम्मिलित रहने) आदि परे । प्राचीन संस्कृतिसम्बन्धी दर्शनशास्त्रका ग्रन्थहरू, बृहत् नेपाली व्याकरण आदि संस्कृति उपविभाग नं. १ मा परे । लोकसंस्कृति संस्कृति उपविभाग नं. २ मा प-यो । लोकसंस्कृति र सारंगी योजना संस्कृति उपविभाग नं. ३ मा परे ।यसरी बनेका विभागमा मचाहिँ संस्कृति उपविभाग नं. २ (ऐतिहासिक अन्वेषण) को सदस्यमा मनोनीत भएँ । 

कुलपतिले अब सबैलाई तपाईं कुन–कुन विभागमा बसेर काम गर्नुहुन्छ सोेचेर भन्नुहोस् भन्दै प्रश्न गर्न थाले । काम नगरी त सुखै थिएन । एउटा न एउटा विभागमा बसेर परिणाम आउने गरी लाग्नैपथ्र्यो । एक दिन कुलपतिले आफ्नो च्याम्बरमा हामीलाई भने– ल, प्राज्ञज्यूहरू ! म नयाँ र नवीन तरिकाले काम गर्न खोज्दै छु । यसमा के गर्दा उपयुक्त हुन्छ ? तपाईंहरूले सल्लाह र सुझाब दिनुप-यो । सबैले मुखामुख गरे । आपसमा कसले के भन्ला, कसले के गर्ला भन्ने भयो । 
व्यथित सूर्यविक्रम ज्ञवालीलाई निकै सम्मान गर्थे । उनैतिर फर्केर बोले– तपाईंबाट रचनात्मक सुझाब आए हुन्थ्यो ज्ञवालीज्यू । 

ज्ञवाली एकछिन मौन रहे । कुलपतिका मुखतिरै हेरिरहे । अनि घाँटी सफा गर्दै भने– हेर्नुस्, कुलपतिज्यू ! इतिहास भएन भने संस्कृति बन्दैन । हामीले विद्यार्थीलाई के पढाउने ? के पढ्ने ? यहाँ मल्लहरूको इतिहास छ, शाहहरूको इतिहास छ । तर, राष्ट्रको इतिहास छैन । मेची–महाकाली जोड्ने इतिहास छैन । त्यसकारण तपाईंको नेतृत्वमा सर्वप्रथम राष्ट्रको पूर्ण इतिहास लेखियोस् । म त्यो काममा तनमनले लाग्छु । 

‘उत्तम, महाउत्तम,’ कुलपतिले मुस्कुराउँदै भने । उनले प्रसन्नता व्यक्त गर्दै ताली बजाए । सबै प्राज्ञहरूले स्वर मिलाए । 
ज्ञवालीले तुरुन्तै आफ्नो काम अघि बढाए । इतिहासकारहरूलाई बोलाएर छलफल चलाए । उनीहरूबीचमा पनि कार्यविभाजन गरे । गोरखाको, पाल्पाको, गण्डक क्षेत्रको, पश्चिमतिरको, कोसीपूर्वको इतिहास क–कसले लेख्ने भनेर नाम टिपे । धमाधम काम पनि हुन थाल्यो । तर, उनको समय सकिनै लागेको थियो । बाह्य वातावरण पनि अनुकूल थिएन । परिवर्तित समयको प्रभावले कामको गतिलाई रोकिदियो । ज्ञवालीको जोस, जाँगर र मिहिनेत अलपत्रै प-यो । 
इतिहास लेखनको कामलाई त्यसपछि कसैले कोट्याएन । 

धर्मराज थापा फुर्के र रौसे थिए । बोल्दा पनि बडो हाउभाउ निकालेर बोल्थे । थापाले आफ्नै परिचित शैलीमा भने, ‘कुलपतिज्यू ! आज हाम्रो दायित्व भनेको पञ्चायती व्यवस्थालाई कसरी लोकप्रिय बनाउने भन्ने हो । महाराजाधिराजको चिन्ता पनि यसैमा देखिन्छ । त्यसैले म पञ्चायती व्यवस्थाका विशेषतालाई समेटेर गीत बनाउँछु ।’ 

अर्को दिन कुलपतिले चूडानाथ भट्टराईलाई सोधे– तपाईं के गर्नुहुन्छ भट्टराईज्यू ? चूडानाथले आफ्नै क्षेत्रलाई महत्व दिँदै भने–  हरेक कुराको अध्ययन गर्न दर्शन चाहिन्छ । नेपालमा पाशुपत सम्प्रदाय छ, योग छ, सांख्य छ । वेदान्त छ ।मीमांसा छ । जैन छ । बौद्ध छ । यी सबै दर्शनको पृष्ठभूमि खोजेर म त्यसैमा काम गर्न चाहन्छु । उनले पनि विद्वान्हरूको भेला गरे । छलफल चलाए । आफ्नो कामलाई अघि बढाए । पाशुपत दर्शनका खोजपूर्ण पुस्तकहरू निकाले । 

एवं रीतले धर्मराज थापाको पालो आयो । उनी फुर्के र रौसे थिए । रेडियो नेपालमा लोकगीत गाएर आफ्नो परिचय बनाइसकेका थिए । बोल्दा पनि बडो हाउभाउ निकालेर बोल्थे । लोकगीत संकलन गर्थे । कविता लेख्थे । बन्चरो भन्ने किताबै निकालिसकेका थिए ।

थापाले आफ्नै परिचित शैलीमा भने– कुलपतिज्यू ! आज हाम्रो दायित्व भनेको पञ्चायती व्यवस्थालाई कसरी लोकप्रिय बनाउने भन्ने हो । महाराजाधिराजको चिन्ता पनि यसैमा देखिन्छ । त्यसैले म पञ्चायती व्यवस्थाका विशेषतालाई समेटेर गीत बनाउँछु । देशभरिका गन्धर्वलाई बोलाउँछु र ती गीतलाई मुखस्थ गराउँछु । उनीहरूले मेची–महाकाली पुगेर गाउँछन् । लोकगीत पनि संकलन गरेर ल्याउँछन् । एकातिर पञ्चायती व्यवस्था बलियो हुन्छ, अर्कातिर हाम्रो लोकगीत धनी हुन्छ । 

सबैजना गलल हाँसे । राजा पनि खुसी हुने आफू पनि सफल हुने देखेर कुलपतिचाहिँ मक्ख परे । नभन्दै केही दिनपछि बाटुलेचौरका गन्धर्वहरू हुलका हुल सारंगी झुन्ड्याउँदै अफिसबाहिर कुद्न थाले । प्रतिष्ठानको प्रांगण त गन्धर्वहरूको राष्ट्रिय भेला हुने ठाउँजस्तो भयो । धर्मराज जता जान्छन्, सारंगीको हुल उतै जान्छ । धर्मराजले भित्र–बाहिर गरे कि गन्धर्वको पल्टनले सलामी ठोकिहाल्छ । 
गन्धर्वका गणपतिजस्ता भए धर्मराज त ! 

पालो आयो मेरो । अन्तिमको वक्ताका रूपमा बोल्ने विषय नै सकिएजस्तै भयो । वास्तवमा मेरो विषय धर्मराजले रोजिसकेका थिए । २०१३ सालमै ‘हाम्रो लोकसंस्कृति’ विषयमा मदन पुरस्कार पाएको मान्छे म । पश्चिमाञ्चलका लोकगीत लोकसंस्कृति क्षेत्रका घना बस्तीहरूमा डुलेर, घुमेर तिनीहरूमा डुबुल्की मारिसकेको । त्यही विषयमा काम गरौँला भनेर गुनगुनाउँदै गर्दा धर्मराजले स्वाट्टै खोसेर लगिदिए । मेरो त दिमागै शून्य भयो । 
‘हँ सत्यमोहनजी ?’ 
व्यथितले झकझकाए । 
म केही दिन सोचेर भन्छु कुलपतिज्यू ।
चिन्तित मुद्रामा जवाफ दिएँ ।
युद्ध हारेको सिपाहीझैँ हल्लिँदैहल्लिँदै घर आएँ । मनमा अनगिन्ती ज्वारभाटा दौडिए । 

(संस्कृतिविद् सत्यमोहन जोशीमाथि अनिल पौडेलद्वारा लिखित अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’को अंश )