
स्कुलको एउटा कार्यक्रममा हिरादेवी वाइबाको गीतमा नाचेर फर्किएकी नानीलाई मैले सोधेँ, ‘नानी तिमी हिरादेवी वाइबालाई चिन्छौ ?
‘को हिरादेवी वाइबा ?’ नानी अकमकाइन् । ‘हिरोइन हो ? म हनी सिंह, साकिरा, जेनिफर लोपेज सबैलाई चिन्छु, तर हिरादेवी वाइबा चिन्दिनँ । हिरादेवी वाइबा को हो अंकल ?’
नानीले मैतिर प्रश्न तेस्र्याइन् ।
‘तिमीले जुन गीतमा नृत्य ग¥यौ, हो त्यही गीत गाउन मान्छे हो हिरादेवी वाइबा ।’ मैले भनेँ ।
‘यो नाम नै पहिलोचोटि सुनिरहेछु । कस्तो अप्ठ्यारो नाम ।’ नानीले मुस्कुराउँदै भनिन् ।
नानीको उत्तरपछि सोचमग्न भएँ । हाम्रा नानीहरूले हनी सिंह, साकिरा, जेनिफर लोपेजहरूलाई चिन्ने, हिरादेवी वाइबाहरूलाई नचिन्ने यो कस्तो अवस्था सिर्जना भयो ? त्यो घटनापछि हिरादेवी वाइबाबारे केही लेख्नुपर्छ
भन्ने लाग्यो ।
०००
यो भूमण्डलीकरणको युग हो । पश्चिमाहरूले बजारवादको शक्तिशाली जालमार्फत स्थानीयतालाई बेदखल गरिरहेछन् । यो विषम परिस्थितिमा हाम्रो जोड लोकसँग जोडिएको पहिचानमा नै केन्द्रित हुनु जरुरी छ । यही कोसिसअन्तर्गत सबैभन्दा पहिला हाम्रो दृष्टि लोकसाहित्यतर्फ नै मोडिनु जरुरी छ । लोककण्ठबाट प्रस्फुटित लोकसाहित्य त्यस्तो विधा हो, जसमा लोकहृदय, लोकचेतना, लोकसंवेदना र पहिचान झल्किन्छ ।
लोकसाहित्य, लोकगीत युगको धड्कनसँगै तत्कालीन मानवीय संघर्ष र वेदनालाई बुझ्ने सहज माध्यम हो । कुनै पनि देशको लोकगीत त्यो देशको जनताको उद्गार हो । कुनै पनि देशको सभ्यता त्यो देशको लोकगीतमा उजागर हुन्छ । जनमानसका हार्दिकता, राग, विराग, हर्ष, उल्लास, रिवाज, प्रथा परम्परा आदि नदिझँै लोकगीतमा सलल बगेका हुन्छन् । लोकगीत नदीको पारदर्शी जलझैँ समाजको एउटा दर्पण पनि हो, जहाँ त्यो समाजको वास्तविक रूप छर्लंग देखिन्छ । भलै लोकगीतमा आधुनिक साहित्यमाझै भरमार बिम्ब, अलंकार, छन्द नहोला, तर यसको माधुर्यसामु सबथोक फिका हुन्छ ।
संस्कृतका कवि कालिदासले भनेका थिए, ‘वनलताले उद्यानलतालाई पछाडि पारेको हुन्छ ।’ कालिदासले भनेझैँ जुन आकृति आफैँमा मधुर छ, त्यसलाई शृंगारको आवश्यकता नै पर्दैन । लोकगीत वनलता हो, त्यसलाई उद्यानलतालाई झैँ कुनै बिम्ब, अलंकार आदिले सिँगार्नु जरुरी छैन । लोकमानसले अतीतको स्मृतिलाई सुरक्षित राख्न लोकगीत बनाएर अभिव्यक्त गर्छन् । त्यही गीत श्रुति परम्परामार्फत एक पिँढीबाट अर्को पिँढीमा पुस्तान्तरण हुँदै जान्छन् । त्यो स्वतः हुन्छ ।
त्यसलाई कुनै आडम्बरले ढाकिएको हुँदैन । लोकगीतका रचयिता कुनै सामाजिक, राजनीतिक चेतनासँग नजोडिएर सीधै मानवीय सरोकारसँग जोडिएका हुन्छन् । लोकका मनोभावनालाई लोकमा प्रचलित भाषामा नै व्यक्त गर्छन् । त्यसैले लोकगीतमा स्पष्ट रूपमा प्रकृतिको लय र भित्री धड्कन सुनिन्छ । सभ्यता र संस्कृतिको साक्षात्कार लोकभाषामै हुन्छ ।
नेपाली लोकगीतको कुरा गर्दा पुरुषको तुलनामा महिलाको विशेष योगदान रहेको पाइन्छ । एउटा युग मातृसत्तात्मक युग थियो । त्यो युगमा महिला पुरुषबीच कुनै भेदभाव थिएन । जब दास युग सुरु भयो निजी सम्पत्तिको अवधारणा जन्मियो । योसँगै विवाह संस्था पनि जन्मियो । विवाहले महिलालाई पनि सम्पत्तिकै रूपमा लिन थाल्यो । तसलिमा नसरिनले भनेझैँ कतिपय विवाह बलात्कारको लाइसेन्सझैँ भए ।
सामन्तवादी युगमा आएपछि पितृसत्तात्मकताले हाँगा हालेर फल्ने फुल्ने अवसर पायो । महिलाहरू घरको चारघेरामा बन्द हुन बाध्य भए । यस्तो जटिल परिस्थितिमा उनीहरूले मनका अभिव्यक्ति कसलाई पोखून् ? उनीहरू भित्रभित्रै गुम्सिन बाध्य भए । तब उनीहरूले आफ्ना मनका भावना मेलापात, दाउराघाँस, पानीपँधेरो जाँदा लोकगीत बनाएर पोख्न थाले । यसरी सदियौँदेखि स्त्रीमनमा गुम्सिएका अथाह पीडा, प्रेम, आशा, आकांक्षा, वेदना, बुहार्तन, हर्ष, उल्लास, शोक, प्रतिरोध छताछुल्ल भएर लोकगीतहरूमा पोखिएको पाइन्छ । हिरादेवी वाइबाका लोकगीतहरूलाई पनि त्यही कसीमा राखेर हेर्नु जरुरी छ ।
सन् १९४० मा दार्जिलिङको अम्बोटे चियाकमानमा जन्मिएकी हिरादेवी वाइबाको नेपाली लोकगीतमा अविस्मरणीय योगदान छ । उनी त्यस्ती लोकगायिका थिइन्, जो प्रवासमा जन्मिएर पनि नेपाली लोकगीतलाई आफ्नो पुर्खाको विरासत सम्झिएर औधी श्रद्धा गर्थिन् । सम्भवतः ‘चुरा त होइन, अस्तुरा...’ सेलो गीत नै रेडियोमा रेकर्ड भएको पहिलो सेलो लोकगीत थियो ।
आफ्नो ४० वर्षे गायनयात्रामा वाइबाले पूर्व–पश्चिम, मध्यमाञ्चल चारै क्षेत्रका झ्याउरे, गोठाले, टप्पा, ख्यालीजस्ता अनेकौँ लोकगीत गाइन् । मारुनी गीतसहित विशेषतः समला र विरहिणी रागका गीतहरू गाइन् । उनी आफू पनि तामाङ समुदायको हुनाले सेलोगीतमा छाप छोड्न सफल भइन् । मित्रसेन संगीत पुरस्कार, उत्तर बंगाल सरकार र तत्कालीन नेपाल सरकारबाट उनले अनेकौँ पुरस्कार पाइन् । ४० वर्षे गायनयात्रामा चार सयभन्दा बढी गीत गाइन् । हिरादेवी लोकगीतकी हिरा थिइन्, तर विडम्बना, सिलिगुढीमा शीतलहर चलेको वेला आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर असमयमै उनको निधन भयो । लोकगीतको क्षेत्रमा अपूरणीय क्षति भयो । संसारबाट बिदा भए पनि लोकगीतका खोज, अनुसन्धानकर्ताका निम्ति उनले लोकभाका छाडेर गइन् ।
पितृसत्तात्मक युगमा महिलाहरूले आफ्ना मनका कुरा सीधै आफ्ना खसमसामु राख्न सक्दैनथे । लोकगीतमार्फत मन नपरेका कुरा व्यक्त गर्थे । खसमले ल्याइदिएको घनन भन्ने सिस्नोले बनेको फरिया मन नपरेपछि यस्तो लोकगीत बन्यो, जसमा वाइबाले स्वर भरेकी थिइन् :
फरिया ल्याइदिएछन्
त्यही पनि राता घनन
त्यही पनि मन परेन
भन्देऊ न भनन ।
जब विवाह संस्था जन्मियो, बाध्य भएर महिलाहरू अरूको घर जानैपर्ने भयो । जो अविवाहित भएर माइतीघरमा बस्छन्, तिनीहरू हेय र उपेक्षाका सिकार हुन्थे । दाजु, भाउजू, भाइबुहारीका तीखो व्यंग्य खप्न बाध्य हुन्थे । पितृसत्तात्मक समाजमा अविवाहित भएर माइतीघरमा बस्दा कति पीडा खेप्नुपर्छ ? एउटी मैतालु छोरीको पीडा वाइबाको स्वरमा यसरी उजागर हुन्छ :
उकालीको भैँसी गोठ बगाले थापाको
खानु लाउनु माइतीघर वचनै मापाको
हिरादेवीको स्वरमा अविवाहित भएर माइत बस्न बाध्य छोरीको पीडा सुनकोसी र दूधकोसीसँग तुलना गरेर यसरी व्यक्त हुन्छ :
सुनकोसी, दूधकोसी एउटै छ दोभान
दर्पण छाया हेरीहेरी ढल्क्यो जोवन ।
पितृसत्तात्मक समाजको विडम्बना नै यही छ कि जुन घरमा एउटै स्त्रीको जन्म हुन्छ, ऊ त्यसलाई आफ्नो घर भन्न सक्दिन । विवाहपछि जुन घरमा जान्छे, त्यसलाई नै आफ्नो घर भन्नुपर्ने बाध्यता छ । जब घरमा सासू, नन्द,आमाजू, ससुरा, पतिले दिएका यातना, बुहार्तन खप्नुपर्छ, उसलाई त्यो यातनागृहझैँ लाग्न थाल्छ । कतिखेर माइतीमा पुगेर सबै पीडा सुनाऊँ भन्ने हुन्छ । यस्तो कष्टकर पलको चित्र वाइबाले गाएको अर्को गीतमा असह्य तवरले झल्किन्छ :
कसरी काटूँ मैले समुद्रको रात
कुन वेला उजेली होला
माइती राजैको काखैमा बसी
धुरुधुरु रोइमा रोइ
दुखै कहुँला, सबै सुखै कहुँच्ला
लाहुर जाने चलन हिजो पनि थियो, आज पनि छ । यो देशका मानिस लाहुरे नभई देशको अर्थतन्त्र चल्दैन । तर, आफ्ना पतिले छोडेर परदेश गएका विरहिणी नारीहरू सयपत्री फुल्दा, धानबाला झुल्दा पनि खुसी हुन नसकेको अर्को मारुनी गीतमा प्रस्ट झल्किन्छ :
उँधो जाँदा थियो सखी चितोसांगे बिरुवा
उँभो आउँदा हेर सखी भयो कोपिला
टिपी राखे सुकिजाला
स्वामी मेरो परदेश
सिउरी राखे चुलठीमा
कसले लाइदेला ?
पितृसत्तात्मक समाजको अर्को खराब पक्ष बहुपत्नी प्रथा हो । आजको युगमा त बहुविवाह सामान्यजस्तै छ भने त्यतिखेर कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । श्रीमान्ले सौता हालेपछि पीडाले ग्रस्त भई अन्योलको चर्को भुमरीमा फस्न पुग्छन् महिलाहरू । घरमा जाऊँ सौताको डर, वनमा जाऊँ बाघ भालुको डर । आखिर ऊ जाओस् कहाँ ? यस्तै द्विविधालाई प्रस्ट पार्छ मारुनी लोकलयमा आधारित अर्को गीतले :
वनैपथ जाऊँ भने बाघको डर
घरैपथ जाऊँ भने सौतेनीको डर
सौतेनीको डरले रनवन गाएथेँ
कठैबरी वृन्दावनमा परिगयो रात
हिरादेवी वाइबाले गाएका गीतहरू प्रायः यस्तै वेदनाले भरिएका छन्, जहाँ तत्कालीन समाजले महिलालाई दिएका पीडा चित्रित हुन्छन् । उनले गाएका गीतमा विछोड, बुहार्तन र आर्तनाद भोग्न बाध्य नारीहरूको मनको आवाज सुनिन्छ ।
वाइबा ताम्सालिङकी छोरी भएकी हुनाले उनले गाएका सेलो गीतमा ताम्सालिङ क्षेत्रको आञ्चलिकता पनि भेटिन्छ । उनले सर्वप्रथम रेकर्ड गराएको गीतले यही तथ्य इंगित गर्छ :
चुरा त होइन अस्तुर
आमाको बिहेको दस्तुर
हो भने दिन्छु सुन हो
मनैमा नारान गुन हो
बाह्र तामाङ अठार जात
कुखुराको मासु धानको भात
जातैले पायो, हातैले खायो
भनन अब केको लाज
ल्हास्स्सो ।
हिरादेवी वाइबाका समग्र गीतलाई मूल्यांकन गर्दा सामन्ती र पितृसत्तात्मक समाजमा नारीको अवस्था, आदिवासीका सांस्कृतिक विरासतका विविध रंगहरू भेटिन्छन् ।