• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अनिल यादव
२०८० श्रावण १३ शनिबार ०८:०५:००
यात्रा

रेशमको बाटो

जेलबाट सीधै मन्त्री क्वाटर पुगेका रेशमको अबको बाटो कता ?

२०८० श्रावण १३ शनिबार ०८:०५:००
अनिल यादव

 

डिल्लीबजार सदरखोरभित्र कैद भएको करिब चार वर्ष भइसकेको थियो । एक दिन पक्कै न्याय पाउने आशासहित आफ्नो रिहाइको दिन कुरिरहेका थिए, रेशम चौधरी । जेलमा रिहा गर्ने आश्वासन लिएर उनलाई भेट्न आउने नेताहरूको कमी थिएन । तैपनि आश्वासनमै सीमित भइरहेको थियो उनकोे रिहाइ । 


यही कारण जेलभित्र निकै दुःखी थिए उनी । मिति ठ्याक्कै याद छैन उनलाई । एक दिन जेलभित्र खाना खाइरहेका वेला आफ्नो कोठामा एउटा मुसा दौडिरहेको देखे । दुःख परेका वेला साथी भेटेजस्तै भयो उनलाई । तत्काल मुसालाई पाल्ने निधो गरे । नाम राखे– सेरु । सारासँग विश्वास गुम्दै गएका वेला उनमा अर्को विश्वास जाग्यो– यही सेरुले एक दिन मलाई उन्मुक्ति दिन्छ । 


मुसासँग एक्लै गफिन्थे रेशम । जेलभित्र कैयौँपटक उनको हाँसो र रोदनको एक्लो साक्षी बन्यो, सेरु । पछिल्लो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सम्मुखमा हो, एक दिन सेरुलाई चाउचाउ र कोक खुवाइरहँदा रेशमले भनेका थिएँ, ‘सेरु, मेरा धेरै सांसद जिताइदिनु है !’


‘नभन्दै म जेलमा हुँदा जन्मिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा चार र प्रदेश सभामा सात सिट जित्न सफल भयो,’ रेशम सम्झन्छन्, ‘जेलमा म सेरुसँग एक्लै बोल्थेँ, ठट्टा गर्थें । मनका कुरा खोल्थेँ । आज बाहिर निस्किएपछि त्यही कथा मैले मेरा सांसदहरूलाई सुनाएँ । सबै चकित भए । अहिले सबैजना सेरु हाम्रो पहिचान हो भन्छन् ।’ 


राष्ट्रपतिबाट आममाफी पाएर रेशम जेलबाट छुटेको आज ५० दिन नाघिसक्यो । अहिले उनको साथमा सेरु छैन । सेरु जेलभित्रै छुट्यो । अहिले त्यही सेरुलाई सबैभन्दा बढी मिस गरिरहेका छन्, रेशम । ‘दुःख परेको वेला भेटिएको मुसा थियो,’ रेशमले सम्झिए, ‘एकजना कैदीबन्दी मित्र देवेन्द्र भन्ने साथीले पनि उसलाई पाल्नमा सहयोग गरेका थिए । उनी पनि जेलमुक्त भइसके । त्यही मुसाका कारण मुक्ति पाएको विश्वास गर्थे । अहिले डिल्लीबजार जेलभित्र धेरै कैदीहरू त्यही मुसालाई आफ्नो गहना ठान्छन् । जेलभित्र उसैलाई भगवान् मान्छन् । त्यसैले मलाई बाहिर ल्याउन दिएनन् । मन गाँठो बनाएर मैले पनि सेरुलाई त्यहीँ छोडेर आएँ ।’

 

‘अविश्वसनीय’ रिहाइ
२०७२ मा राज्यको पुनर्संरचना हुने क्रममा सुदूरपश्चिममा प्रदेशको नामकरणलाई लिएर आन्दोलन चलिरहेको थियो । थारूहरू पहिचानसहितको थरुहट प्रदेशको माग राख्दै आन्दोलनमा थिए भने अर्कोतिर अखण्ड सुदूरपश्चिमको । त्यही क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना हुन पुग्यो । घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको मृत्यु भयो । 


उक्त घटनाको मुख्य अभियुक्त बनाइए, रेशम । त्यसपछि देश छाडेर भाग्न बाध्य उनी राज्यको नजरमा ‘फरार अभियुक्त’ हुँदाहुँदै ०७४ को निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभाको उम्मेदवार बने । तत्कालीन राजपाबाट चुनाव लडेका उनलाई कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवामा लुकेरै बसेको अवस्थामा पनि कैलाली १ का मतदाताले ३४ हजार तीन सय ४१ मत दिएर चुनाव जिताए । तर, त्यसपछि यति ठूलो जनमत पाउँदापाउँदै पनि उनी संसद् छिर्न पाएनन्, डिल्लीबजारस्थित सदरखोरभित्र ‘कैदी सांसद’ बन्न बाध्य भए । 

रेशम अहिले भेटघाटमा व्यस्त छन् । जेलबाहिर निस्किएको ६१ दिनमा उनी मेचीदेखि महाकालीसम्मका ३८ जिल्ला पुगे । यसबीचमा उनले गीत रेकर्ड गर्नसमेत भ्याए ।


जुन पार्टीबाट टिकट लिएर उनले चुनाव जिते, उसले पनि रिहाइका लागि पहल गरेको महसुस नभएपछि अन्ततः रेशमले जेलमा रहँदारहँदै श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ पार्टी खोले– नागरिक उन्मुक्ति पार्टी । राज्यबाट उत्पीडनमा परेका नागरिकहरूको उन्मुक्तिको लडाइँ अब आफैँ पार्टी खोलेर लड्ने निष्कर्षमा पुगे । 


यसबीचमा ठूला दलका शीर्ष नेताहरू पटक–पटक उनलाई जेलमा भेट्न नगएका होइनन् । तर, जो जान्थे रिहाइको आश्वासन मात्रै दिन्थे । ‘तपाईं निर्दोष हुनुहुन्छ, तपार्इंमाथि अन्याय भएको छ, तपार्इं छुट्नुपर्छ,’ सबै तत्काल रिहा गराउने आश्वासन दिएर जान्थे । तर, ०८० जेठ १५ सम्मको कुरा हो, उनी रिहा हुन सकेका थिएनन् । गणतन्त्र दिवसको केही दिनअघिको कुरा हो, टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशमलाई कैद सजाय माफी दिएर रिहाइ गर्ने खबर फैलियो । तर, त्यो खबर यसपटक पनि रेशमले पत्याएका थिएनन् ।


रिहाइ हुनु एक घन्टाअघिसम्म उनलाई आफू छुट्दै छु भन्ने विश्वास थिएन । कारण, पटक–पटक पाएको धोका । अझ त्यसमाथि छुट्ने दिन बिहान आममाफी पाउनेमा सुरुमा १८ जनाको मात्रै नामावली आयो । त्यसवेला उनीसँग नजिक रहेका सहायक जेलर आत्तिँदै उनीकहाँ आएका थिए । जेलको आँगनमा आएर उनले रेशमलाई भने, ‘समाचारमा तपाईंले आममाफी पाएको खबर आएकै छ, तर यहाँ तपाईंको नाम आएन । एकचोटि बुझ्नुस् न के रैछ ?’ 

 

जवाफमा रेशमले भने, ‘म के बुझौँ र भाइ, मैले फोन गर्न पाउँदिनँ । तपाईं आफैँ बुझ्नुस् ।’ त्यसपछि सहायक जेलरले राष्ट्रपति कार्यालयमा कार्यरत आफ्ना सहकर्मीसँग यसबारे बुझेपछि जवाफ आयो– ‘आममाफी भएको हो, पत्र आउँदै छ ।’लगत्तै त्यसको केही समयपछि गृह मन्त्रालयबाट कारागारमा रिहाइको पत्र आइपुग्यो । 


‘तीन दिनका लागि भनेर जेल गएको मान्छे झन्डै साढे चार वर्ष बसिसकेको थिएँ,’ रेशम भन्छन्, ‘यो बीचमा पटक–पटक मैले मेरो रिहाइको हल्ला सुनिरहेकै थिएँ । सबै ठुल्ठूला नेता अब छुट्नुुहुन्छ भन्दै भेट्न आउँथे, तर छुटेको थिइनँ । त्यसैले एक न एक दिन छुट्छु भन्ने त थियो, तर त्यही दिन छुट्छु भन्नेमा विश्वास थिएन । छुट्नुअघिको रात पनि अरू दिनजस्तै बिन्दास तरिकाले नै सुतेँ । रिहाइको खबर सामान्य लाग्न थालिसकेको थियो । मान्छेले धेरै पीडा खेपेपछि विश्वास हराउने रहेछ ।’


२ जेठमा सर्वाेच्च अदालतमा रेशमको मुद्दाको फैसला हुँदै थियो । अब त छोरा छुट्ला भनेर रेशमकी आमा सुल्फीदेवी कैलालीको जगतपुरबाट काठमाडौं आएकी थिइन् । साँझ फैसला आउनुअघिसम्म रिहाइ हुने फैसला आउला भनेर सर्वाेच्च अदालतको गेटमा बसिरहेकी थिइन् । तर, फैसला अपेक्षा गरेभन्दा फरक आइदियो । उच्च अदालतले सुनाएको जन्मकैदकै फैसलालाई सर्वोच्चले सदर गर्‍यो । 

जेलभित्र हुँदा रेशमको खुट्टामा सधैँ टिलिक्क टल्किएको जुत्ता हुन्थ्यो । जुत्ता हेर्दा लाग्थ्यो– उनी कतै टाढा यात्रामा जाँदै छन् । तर, विडम्बना ! उनी जेलको चार दिवारभित्र कैद थिए । चाहेर पनि यात्रामा निस्कन सक्दैनथे । अहिले रेशम खुला संसारमा छन् । यात्राका लागि उनी स्वतन्त्र छन् । यतिखेर धेरैलाई जिज्ञासा छ, ‘अब रेशमको बाटो कुन हो ?’ 
 


आमालाई खबरले पिरोल्यो । आमा न गाउँ फर्किइन्, न रेशमलाई भेट्न जेलमै गइन् । ‘आमालाई साह्रै पीडा भएछ, सर्वोच्चको फैसलापछि मलाई भेट्न आउनुभएन,’ रेशमले भने, ‘आउन मनै लागेनछ । म छुट्ने दिन भने बिहान ६ बजे नै आइपुग्नुभएको थियो । भेट्नेबित्तिकै रुनुभयो, मेरो निधार छाम्नुभयो । मेरो रिहाइमा साह्रै खुसी हुनुहुन्थ्यो । मन्त्रीज्यू (श्रीमती रन्जिता श्रेष्ठ) आउन ढिला भयो, जेलमा मलाई बुझिलाने नै आमा पो हुनुभयो । मन्त्रीज्यू त जेलबाहिर गेटमा पो भेटिनुभयो ।’

अबको बाटो
डिल्लीबजार कारागारमा रहँदा रेशमलाई भेट्न आउने नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको लर्को हुन्थ्यो । यतिसम्म कि कारागार प्रशासनले उनको नाममा छुट्टै रजिस्टर नै राखेको थियो । जेलभित्र पुग्दा रेशम सधैँ सुटबुटमा ठाँटिएर ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा व्यस्त भेटिन्थे ।


जेलभित्र हुँदा रेशमको खुट्टामा सधैँ टिलिक्क टल्किएको जुत्ता हुन्थ्यो । जुत्ता हेर्दा लाग्थ्यो– उनी कतै टाढा यात्रामा जाँदै छन् । तर, विडम्बना ! उनी जेलको चार दिवारभित्र कैद थिए । चाहेर पनि यात्रामा निस्कन सक्दैनथे । अहिले रेशम खुला संसारमा छन् । यात्राका लागि उनी स्वतन्त्र छन् । यतिखेर धेरैलाई जिज्ञासा छ, ‘अब उनको बाटो के हो ?’ जेलबाट सिधै मन्त्री क्वाटर पुगेका रेशमको अबको बाटो कता ?रेशम सर्टकर्टमा जवाफ दिन्छन्, ‘राजनीति नै हो । पार्टीलाई अघि बढाउने हो । पार्टीको कार्यदिशा र रणनीति बनाउने हो ।’


रेशमको रिहाइअघिसम्म उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको मूल एजेन्डा नै टीकापुर घटना र उनको रिहाइ थियो । तर, अब उनी रिहा भइसके । उनको पार्टीले बोक्ने मुख्य एजेन्डा के त ? ‘अबको एजेन्डा पहिचान स्थापना नै हो,’ रेशम भन्छन्, ‘म पहिचानको आन्दोलन गरेको मान्छे । पहिचानको आन्दोलन गर्दागर्दै जेल पुगेको मान्छे । त्यसैले स्वाभाविक रूपमा हाम्रो मुख्य एजेन्डा थरुहट प्रदेश नै हो । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता हाम्रो लक्ष्य हो ।’


रेशम साउनको दोस्रो साताबाट पार्टीको संगठन विस्तारमा होमिँदै छन् । ०८४ को चुनावमा पार्टीलाई राष्ट्रिय दल बनाउने उनको योजना छ । ‘जुन पार्टीसँग मुद्दा हुँदैन, उसले व्यक्ति हेरेर भोट दिन्छ । जोसँग मुद्दा हुन्छ, त्यहाँ नेताभन्दा पनि पार्टी हेरिन्छ,’ रेशम भन्छन्, ‘हाम्रो विजय भनेको उम्मेदवार होइन, मुद्दा हो । हामी मुद्दामा हिँडेको पार्टी भएका नाताले हामी ०८४ को चुनावमा राम्रो परिणाम ल्याउँछौँ भन्नेमा ढुक्क छौँ । मात्रै असल नेता र नेतृत्व छान्न चुक्नुहुँदैन भन्ने छ ।’

 

जेलबाहिरका ६१ दिन 
रेशमलाई अहिले मान्छेहरू भेटघाट गरेरै फुर्सद छैन । जेलबाहिर निस्किएको ६१ दिनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३८ जिल्ला घुमे उनी । यसबीच उनले गीत रेकर्ड गर्नसमेत भ्याए । चार दिवारबाट बाहिर निस्किएको साढे पाँच वर्षपछि देशव्यापी यात्रामा निस्कँदा भेटिएका पात्र र दृश्यहरूले आश्चर्यमा छन् उनी । थुप्रै परिवर्तन महसुस गरेका छन् । 


त्यसो त परिवर्तन जेलबाट रिहा भएलगत्तै सुरु भयो । फरार सांसद भएका वेला उनी जेल भित्रिएका थिए । निस्कँदा मन्त्रीका श्रीमान् भए । जेलबाट रिहा भएपछि उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मन्त्री क्वार्टर लिएर गइन् । ‘हिजो मेरी श्रीमती काठमाडौंमा एउटा कोठा लिएर डेरामा बस्थिन्,’ रेशमले भने, ‘मन्त्री हुनु अघिल्लो रातसम्म डेराको एउटा कोठामा थिइन् उनी । अहिले मन्त्री भएपछि क्वार्टरमा छिन् । टीकापुर घटनाले मेरो घर, एफएम, गाडी सबै नष्ट गर्‍यो । त्यसैले म अहिले श्रीमतीको क्वार्टरमै बस्न बाध्य छु ।’


१५ जेठमा रिहा भएकै दिन काठमाडौंमा स्वागत ग्रहण गरेपछि उनी आफ्नो कार्यकर्तालाई धन्यवाद दिन टीकापुर हानिए । नेपालगन्ज एयरपोर्टमा ओर्लिनासाथ उनको स्वागतमा ठूला भिड जम्मा भएको थियो । बाजागाजासहित आएको त्यो भिडमा पाँच–६ जना वृद्धवृद्धाहरूको समूह थियो । जसमा एकजना १०३ वर्षका वृद्ध पनि थिए ।


लौरो टे्क्दै आएका ती वृद्धले रेशमलाई फूलको मालाले स्वागत गर्दै भने, ‘म सधैँ रेशम चौधरी भेट्न पाइन्छ कि पाइँदैन भनेर सोच्थेँ । मेरो भाग्य बलियो रहेछ, तिमीलाई यही जुनीमा देख्न पाएँ । अब ढकियामा (नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न) भोट हाल्न पाउँछु कि पाउँदिन थाहा छैन । तर, चिन्ता नलिनू । मैले मेरो परिवारको सबैलाई सम्झाएको छु ।’ती वृद्धको भनाइले रेशम निःशब्द भए । ‘मेरो आँखामा अझै ती वृद्ध आइरहेका छन्,’ रेशम भन्छन्, ‘जताततै ९०–९५ वर्षका आमाबुबाहरू मलाई माला लगाउन आउनुभएको थियो । मलाई भेट्न आउने, सहानुभूति राख्ने, मलाई सम्झिने सबैको दैलोमा धन्यवाद भन्न पुगेको हुँ ।’


यसबीच सबै दलका शीर्ष नेताहरूले रेशमलाई भेट्न बोलाए । नेताहरू कैलाली पुगेर जसरी निर्दोष भन्थे, त्यही तरिकाले बधाई दिए । धरान उपमहागनरपालिकाका मेयर हर्क साम्पाङलाई भने आफैँ भेट्न पुगे रेशम । हर्कको कामबाट प्रभावित उनलाई श्रम गर्न आवश्यक औजार साबेल, गैँची उपहार दिए ।


जेलमा रहँदा कैदीहरू प्रायः तीन प्रकारका चरा मात्रै देख्छन्, भंगेरा, परेवा र टाढा उडिरहेको चिल । बाहिर निस्किएपछि रेशमले हजारौँ पक्षीको चिरबिराहट देख्न र सुन्न पाए । ‘कर्णालीको पानी खाएर हुर्किएको मान्छे अहिले त गाउँमा पनि मिनरल वाटर पिलाउन थालेछन्,’ ठट्यौली शैलीमा रेशम भन्छन्, ‘व्यापारीकी श्रीमतीले पनि गुछीको ब्याग बोकेको देखेँ । साँच्चै दुनियाँ धेरै परिवर्तन भइसकेछ ।’

 

न्याय मिल्यो त ?
रेशमको रिहाइलाई लिएर बजारमा अनेक टीकाटिप्पणी भए । कतिपयले उनको आममाफीमाथि प्रश्न उठाए । कतिपयले स्वागत गरे । कतिपय भने उनले सजायमाफी पाएर रिहा हुँदा वास्तविक न्याय नमिलेको बताइरहेका छन् । ‘मैले कसरी न्याय पाएँ ? मैले त सहेको मात्रै छु नि,’ उनी भावुक सुनिए, ‘मेरो पीडा बुझिदिने कोही छैन । भदौ ७ गते टीकापुर घटना हुँदा सबैभन्दा बढी क्षति मेरै भयो । मेरो घर रहेन, रिसोर्ट रहेन, गाडी रहेन, एफएम रहेन, लत्ताकपडा रहेन ।

पुरातात्विक सामान रहेन । एउटा टिसर्ट र पाइन्टबाहेक अरू केही रहेन । आज निस्कँदा मसँग अझै बस्ने घर छैन । अदालतबाट स–सम्मान रिहा हुन्छु भन्ने अपेक्षा थियो तर आममाफी पाएर रिहा हुनुपर्‍यो ।’अझै पनि काठमाडौंका मान्छेहरूले हत्याराको ट्याग भिराइदिँदा उनको चित्त दुखेको छ ।

उनी भन्दै थिए, ‘मलाई अझै पनि हत्यारा भन्छन्, भाला रोप्यो भन्छन्, त्यही पनि सहनैपर्छ ? म त्यतिवेला मारिएको सानो बच्चाको नाममा टीकापुरमा सालिक बनाउँदै छु । म जेलबाट छुटेको भोलिपल्ट बच्चाको घरमा गएँ । परिवारसँग भलाकुसारी गरेँ । बच्चाको बाजे अहिले पनि भेट्न आइरहनुहुन्छ । घटनामा जसको बच्चा मरेको छ, उसको परिवारले रेशम निर्दोष भनिरहेको छ । तर, सहरमा बस्नेहरूचाहिँ मलाई हत्यारा भनिरहेका छन् । कहिलेकाहीँ त रिस उठ्छ, प्रतिकार गरौँ कि भन्ने लाग्छ । तर, आफँैलाई अहँ हुँदैन भनेर नियन्त्रण गरिहाल्छु ।’