
‘हेरहेर साउनको महिना ! सबैजना हरियो पहेंलो भएर हिँडेका छन् । तिम्रो भने न निधारमा टीका, न गलामा पोते, न हातमा चुरा ? त्यति लगाउँदा के हुन्छ र ?’ एकजना दिदीले भन्नुभयो । ‘मलाई रहर लाग्दा लगाउँछु । सधैँ लगाउन मन लाग्दैन’ छोटो जवाफ दिएँ । ‘चुरा, सिन्दुर र पोते त सौभाग्य हो, लगाउनुपर्छ,’ उनले थपिन् । ‘हो र ? सुझाबको लागि धन्यवाद,’ मैले यति भनेँ । आठ वर्षदेखि यी र यस्तै प्रश्नको जालोले बारम्बार जेलिरहेको छु । जन्मगाउँदेखि बिहे भएर गएको गाउँसम्म ।
पितृसत्ताले चुरा, सिन्दुर र पोतेको हकदार मानेको मेरो श्रीमान्लाई यो विषयमा कुनै चासो छैन र स्वयं म आफूलाई चासो छैन भने यो समाजलाई यति धेरै चासो र चिन्ता किन ? यी प्रश्न अनुत्तरित छन् । चुरा, पोते र सिन्दुर मेरा जिन्दगीभरका शत्रु हुँदै होइनन् र मेरा आत्मीय मित्र पनि होइनन् । ती मेरा जीवनका नातेदार हुन्, जो कहिलेकाहीँ मात्र मसँग भेट्छन्, तर अत्यन्तै सम्मानित भएर ।
केही समयअगाडि सासूआमाले सामाजिक सञ्जालको मेरो फोटो देखेर फोन गर्नुभयो र भन्नुभयो, ‘हेर, ठुटे र बुटे भएर फोटो हालेको ? न हातमा चुरा छ, न टीको, रित्तो गलो ? गाउँभरिका मान्छेले कुरा काटेका छन् । तेरी बुहारीले चुरापोते नलगाएर छोराको भएको आयु पनि घटाइदिने भई भनेर ! त्यति लाएर फोटो हाल्न के हुन्छ र ?’ आमाले एक सासमा हप्काउनुभयो । मलाई आमाले बारम्बार चुरापोते लगाऊ भन्नुहुन्छ र घरमा जाँदा वा आमा काठमाडौं आउँदा मैले हातमा लगाइदिन्छु पनि । किनकि उहाँ त्यही संस्कारबाट हुर्केर आउनुभयो, यति लगाइदिँदा उहाँको मन शान्ति होस् भन्नका लागि । तर, जब छोराको आयु घटाइदिने कुरा निकाल्नुभयो, तब मलाई असह्य भयो ।
त्यसपछि मैले विनम्रतापूर्वक भनेँ, ‘छोरा मान्छेको आयु श्रीमतीको चुरा र पोतेले धानिदिने भए कैयौँ पुरुष किन अकालमै मरे, श्रीमतीलाई विधवा बनाएर ? हजुुरले पनि त सधैँ रातै भएर हिँड्नुहुन्थ्यो होला, बा २० वर्षअगाडि किन बित्नुभयो ? हजुरको चुरापोते र सिन्दुरले किन बचाउन सकेन बालाई ? आज भनिहाल्नुभयो, अब आइन्दा यस्ता कुरा ननिकाल्नू । अबदेखि निकाल्नुभयो भने सासूबुहारीको सम्बन्ध राम्रो होला भन्न सक्दिनँ ।’
‘बुबा त रोग लागेर बित्नुभको नि ! हाम्ले त सधैँ लगायौँ, तिमीजस्तो ठुटेबुटे कहिल्यै भएनौँ,’ यति भनेर फोन च्वाट्टै काट्नुभयो । त्यसपछि मलाई एकछिन साह्रै पीडा भयो । यो समाजले अझै पनि श्रीमान्को आयु श्रीमतीको चुरपोते र सिन्दुरलाई नै ठेक्का दिने रैछ भने श्रीमतीको आयुको ठेक्का कसले लिइदिने ? दिमाग रन्थनियो ।
यो समाजसँग प्रश्न गर्न मन लाग्छ– महिला मान्छे हुन् कि कठपुतली ? यदि मान्छे हुन् भने उनीहरूले आफूले चाहेजस्तो कपडा लगाउन किन पाउँदैनन् ? किन सिन्दुर, पोते र चुरा नलगाएको आरोप खेप्नुपर्छ ? एउटी महिलाले शृंगार गर्दिनँ भन्ने अधिकार पनि ऊसँग छैन ?
त्यसपछि आमा हप्ता दिनसम्म बोल्नुभएन । पछि मैले सम्झाएँ । यस्ता कुुरीतिको विषयमा धेरे चासो नराख्नुहोस् । सम्बन्धमा माया, प्रेम र विश्वासभन्दा बलियो हतियार चुरापोेते र सिन्दुर होइन भनेर । थोरै कन्भिन्स त हुनुभो, तर पूरै सहमत हुनुभएन । किनकि, उहाँको चेतनालाई पितृसत्ताको ढक्कनले यसरी ढाकिदिएको छ कि उहाँको चेतना त्यहाँबाट निस्किन कहिल्यै कोसिस गर्दैन । त्यसैले त्यस्तो चेतनाले हरेक कुरामा महिलाले रुढिवादी परम्परा अँगाल्नुपर्ने दाबी पेस गरिरहन्छ ।
चाहेर वा नचाहेर त्यही चेतनाको सिकार उहाँ स्वयं भइरहनुभएको छ । भन्नुुुहुन्छ, ‘बुबा बितेदेखि मैले मासु छाडेँ ।’ थोरै रातो मिसिएको त के कलेजी रंगको कपडा लगाउन पनि समाजले के भन्छ भन्ने सोच्नुहुन्छ र हामीलाई बारम्बार चुरापोते र सिन्दुर लगाउन जोड गरिरहनुहुन्छ । यसमा आमालाई दोष त दिन मिल्दैन, तर हरेक कुरामा परापूर्वका कुरालाई समातिरहनु न्यायोचित हुँदैन ।
महिला : कठपुतली कि मान्छे ?
यतिवेला हामी २१औँ शताब्दीमा छौँ । देशमा भएको राजनीतिक परिवर्तनले आममान्छेमा चेतनाको गुणात्मक विकास भएको कुरालाई नकार्न सकिँदैन । चुलोको चौघेरामा आफ्नो आवाज दबाउँदै बस्न बाध्य महिलाहरू आज राजनीतिको घेरामा आएर आवाज बुलन्द गर्न सक्ने भएका छन् । यसको जस स्वयं महिलाहरूलाई जान्छ । किनकि जो घरको पर्खाल नाघेर अधिकारका लागि बन्दुकको नाल समात्न तयार भए । पितृसत्ताले शृंगारिक वस्तुको रूपमा लिएको मान्छे अनुहारमा गोलीको दाग बोक्न तयार भए । यो चानचुने चुनौती थिएन ।
अहिले पनि समाजको एउटा तप्का महिलालाई शृंगारको वस्तु बनाउन हरदम प्रयत्न गरिरहेको छ । उसको स्वाभिमान, उसले गर्ने काम, कर्तव्य र निष्ठाभन्दा पनि उसको अनुहारमा शृंगार छ कि छैन भनेर त्यो तप्काले चिहाइरहेको हुन्छ । यसले गर्दा शृंगारमा रुचि नभएका महिलाहरू प्रताडित बन्नुपरेको छ । समाज आज पनि महिलालाई श्रीमान्को आयुको ठेक्का दिन तँछाडमछाड गरिरहेको छ । उसले लगाउने चुरापोते, टीका र सिन्दुरलाई श्रीमान्को आयुको नापतौलमा जोखिरहेको हुन्छ । आत्मनिर्भर र सहअस्तित्वमा बाँच्ने कोसिस गरिरहेका महिलाका लागि यो ठूलो चुनौतीको विषय बनेको छ । यी विषय नियाल्दै गर्दा यो समाजसँग प्रश्न गर्न मन लाग्छ, महिला मान्छे हुन् कि कठपुतली ? यदि मान्छे हुन् भने किन उनीहरूले आफूले चाहेकोजस्तो कपडा लगाउन पाउँदैनन् ? किन सिन्दुर, पोते र चुरा नलगाएको आरोप खेप्नुपर्छ ? एउटी महिलाले शृंगार गर्दिनँ भन्ने अधिकार पनि ऊसँग छैन ?
समाजका हरेकजसो महिला शृंगारलाई आफ्नो अस्तित्व ठानिरहेका छन् । गफ प्रगतिशीलताको गर्ने तर आँखा लुगा, गहना र शृंगारमा तन्काउने हाम्रो परिपाटी छ । यसलाई फेर्नु नितान्त आवश्यक छ । यदि हामी स्वावलम्बी र आत्मनिर्भरको बाटोमा अघि बढ्ने हो भने शृंगारलाई पहिलो प्राथकिताबाट हटाउनैपर्छ । महिलाले शृंगार गर्नै हुँदैन भन्ने होइन । तर, सधैँभरि शृंगारलाई पहिलो प्राथमिकतामा राखेर जीवनका यावत् कुरालाई पछाडि पार्नु भनेको हामी कठपुतली बन्नु नै हो । त्यसैले हामी मान्छे बन्ने कि कठपुतली ? सोच्ने वेला आएको छ ।