• वि.सं २०८२ बैशाख २० शुक्रबार
  • Friday, 02 May, 2025
गोविन्द मरासिनी
२०८० श्रावण २७ शनिबार ०६:४९:००
साहित्य

राष्ट्रवाद र राष्ट्रप्रेमको बहस

एउटा निश्चित भूगोलप्रतिको निष्ठा र बफादारिता नै राष्ट्रवाद हो भनिए पनि त्यसमा सिमाना बाधक हुनुहुँदैन भन्ने लेखकको विश्लेषण छ

२०८० श्रावण २७ शनिबार ०६:४९:००
गोविन्द मरासिनी

 

नेपालको राजनीतिक वृत्तमा राष्ट्रवाद र राष्ट्रप्रेमको विषय दशकयता चर्चामा छ । राजनीतिक अस्थिरता, सामाजिक बेमेल, आर्थिक संकट, बेरोजगारी र विभिन्न समयमा आइपरेको राष्ट्रिय संकटका कारण यी विषयले स्थान पाएका हुन् । आखिर राष्ट्रवाद र राष्ट्रप्रेमबीचको अन्तर्सम्बन्ध साथै सामन्जस्यता के हो भन्ने विषयमा बहस हुनु स्वाभाविक पनि हो । यी दुई शब्द आफैँमा गहन र संवेदनशील पनि छन् । थोरै शब्दमा परिभाषित गर्न सकिँदैन । यी दुवै शब्दको गहनता साथै अर्थगत व्यापकतालाई सीमित सीमामा खुम्च्याउन पनि सकिँदैन ।


राष्ट्रवाद र राष्ट्रप्रेमको अर्थ बुझ्न पहिले राष्ट्र के हो भन्नेबारेबाट नै प्रस्ट हुनुपर्छ । राजनीतिशास्त्रले राष्ट्र कुनै खास सिमानाभित्रको जाति, भाषा, संस्कृति र साझा मनोविज्ञान हो भनेर पारिभाषित गरेको छ । यतिले मात्र राष्ट्रको परिभाषा अपूर्ण हुन्छ । विभिन्न दर्शनशास्त्रले भिन्न रूपले राष्ट्रको परिभाषा गरेका छन् । तर, हामी धेरैजसोले चाहिँ राष्ट्र भनेको देश भनेर बुझिरहेका छौँ । तर, राष्ट्रसँगै जोडिएका राष्ट्रियता, राष्ट्रवाद, राष्ट्रप्रेम, राष्ट्रभक्तिजस्ता शब्दको पनि भिन्नभिन्न परिभाषा गरिएको छ । वास्तवमा यी शब्दहरूको परिभाषालाई सामान्य रूपले पूर्णता दिन सकिँदैन । त्यसैले यी शब्दहरू आफैँमा गहन र बहुअर्थी छन् ।


नेपालमा राष्ट्रवादको बहस चलिरहेको मात्र होइन, राष्ट्रवादी बन्ने होडबाजी छ । किनकि हामीले राष्ट्रवाद भनेको जाति, भाषा, धर्म, संस्कृति र साझा मनोविज्ञानप्रतिको भक्तिभाव हो भनेर बुझेका छौँ । मातृभूमिको माया साथै आफ्नो भूगोल, सिमाना र माटोप्रतिको प्रेमका रूपमा बुझिरहेका छौँ । स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति भक्तिभाव प्रकट गर्नुलाई पनि हामी राष्ट्रवाद र राष्ट्रप्रेम भनिरहेका छौँ । सामान्य र जनस्तरमा चर्चाको विषय यस्ता परिभाषाले राष्ट्रवादको गहिराइमा पुग्न नसकिने र राष्ट्रप्रेमको गहनता बुझ्न नसकिने भन्ने विषयलाई ‘सायरेम्मा–राष्ट्रपे्रम कि राष्ट्रवाद ?’ नामक पुस्तकले सार्वजनिक बहसमा ल्याएको छ । युवा लेखक तथा विश्लेषक लाओस राईले लेखेको पुस्तक राष्ट्रवादको परिभाषा खुम्च्याइएकोप्रति लक्षित छ । ‘गति, शक्ति र युवा’पछि राईको दोस्रो पुस्तक आएको हो ।


राष्ट्रवादबारे विशुद्ध सैद्धान्तिक पाटोबाट मात्र नभई राजनीतिक, धार्मिक वा सांस्कृतिक विधाबाट समेत विश्लेषण हुने गरेको प्रसंगलाई पुस्तकले समेटेको छ । युरोपका विभिन्न देशमा १७औँ–१८औँ शताब्दीदेखि भएका राष्ट्रवादी आन्दोलनको चर्चाका साथै पुस्तकभित्र नेपालमा राष्ट्रवादको जग कसरी बस्यो भन्ने पनि संक्षिप्त रूपमा उल्लेख छ । अझ रोचक विषय राई–किराँतीहरूको ‘सायरेम्मा’ (शिर उभ्याउने संस्कार)लाई लेखकले राष्ट्रवाद वा राष्ट्रप्रेमसँग अन्तर्सम्बन्धित गराउन खोजेका छन् । प्रतीकात्मक रूपमा ‘सायरेम्मा’शब्द प्रयोग भएको छ । कसैको व्यक्तिगत अथवा सामाजिक कारणले शिर झुकेको छ भने उसको शिर उठाउन ‘सायरेम्मा’ संस्कार गर्ने प्रचलनलाई शताब्दिऔँदेखि गणतन्त्र र स्वशासनको शिर झुकेकोप्रति पुस्तक लक्षित छ । संघीय गणतन्त्रको स्थापनाले शिर उँचो भएको लेखकको बुझाइ छ । 


१९औँ शताब्दीबाट राष्ट्रवादको बहस चर्किएको, प्रथम विश्वयुद्धपछि साम्राज्य विस्तारका क्रममा औपनिवेशिक शासनको चपेटामा परेका मुलुकका नागरिकले राष्ट्रवादको बहस उठाएको प्रसंग पुस्तकमा जोडतोडले उठाइएको छ । एउटा निश्चित भूगोलप्रतिको निष्ठा र बफादारिता नै राष्ट्रवाद हो भनिए पनि त्यसमा सिमाना बाधक हुनुहुँदैन भन्ने लेखकको विश्लेषण छ । नागरिकको अस्तित्व र पहिचान राष्ट्रवादको मूल तत्व हुने साथै जाति र नश्लको इतिहास, समुदायको प्राकृतिक पहिचान, भाषा, भावना आदि राष्ट्रवादका मूलभूत तत्व भएकाले पुस्तकले राष्ट्रवाद र राष्ट्रप्रेमको परिभाषालाई फराकिलो बनाउने प्रयास गरेको छ ।


प्रथम खण्ड र दोस्रो खण्डमा विभाजित पुस्तकको प्रथम खण्डमा पृष्ठभूमि, राष्ट्रवादको ऐतिहासिक विकासक्रम, वंश, गोत्र र जातिसँग राष्ट्रवादको सम्बन्ध, फ्रान्सेली, अंग्रेजी, अमेरिकी राष्ट्रवाद, एसिया र अफ्रिकामा राष्ट्रवादी आन्दोलनको लहर, आधुनिक स्वरूप, नेपालमा राष्ट्रवादको जग, शाह वंशीय राष्ट्रवाद, प्रजातान्त्रिक आन्दोलनपछि विकसित राष्ट्रवाद, विश्वयुद्धपछि विकसित राष्ट्रवाद, स्कटल्यान्ड र आयरल्यान्डको राष्ट्रवादी आन्दोलन साथै म्यासिडोनियामा जागेको राष्ट्रवादी आन्दोलन, राष्ट्रवाद र राजनीतिक दलहरूसँगको सम्बन्ध साथै राष्ट्र, राष्ट्रियता र नेपालका राजनीतिक दलहरूको अवस्था अनि राष्ट्रवादको सान्दर्भिकताका बारेमा पुस्तकमा चर्चा गरिएको छ । राष्ट्रप्रेमका बारेमा पुस्तकमा सानो अंश समेटिएको छ । राष्ट्रप्रेमको ऐतिहासिक विकासक्रम, विश्वयुद्धसँगै विकसित राष्ट्रप्रेम साथै आधुनिक विश्वमा राष्ट्रप्रेमका बारेमा पुस्तकले समयसापेक्षित व्याख्या गरेको छ । किराँत संस्कार मानिएको ‘सायरेम्मा’सँग राष्ट्रवादको सम्बन्ध साथै नेपालको सन्दर्भमा राष्ट्रवाद र ‘सायरेम्मा’को अन्तर्सम्बन्धका बारेमा समीक्षा गरिएको छ । 


पुस्तक इतिहासमा उठेका सवाल, वाद, सिद्धान्त र आदर्शलाई बिर्सन नहुने सन्दर्भमा अडिग छ । पृथ्वीनारायण शाहले स्थापना गरेका मान्यता र विचार साथै राजा महेन्द्रले उठाएको ‘महेन्द्रीय राष्ट्रवाद’, राणाकालीन अवस्थामा उठेको राष्ट्रप्रतिको धारणा, २००७ सालपछि विकसित राष्ट्रवादी धारणा र त्यसले जागृत गराएको राष्ट्रियताका जागरण राष्ट्रवादसँग सम्बन्धित रहेको प्रसंग पुस्तकले उठाएको छ । यद्यपि, पुस्तकले उठाउन खोजेको वा बहसमा ल्याउन खोजेको विषय सतही मात्र रहेको भान पनि हुन्छ । किनकि राष्ट्रवाद र राष्ट्रप्रेमजस्तो संवेदनशील विषयमा गहिरो खोज तथा अनुसन्धान गर्नबाट लेखक चुकेका छन् । साथै, विषयवस्तु सिलसिलेबार नहुनु, भाषाशैली पनि तारिफ गरिहाल्नुपर्ने किसिमको छैन । पत्रकार युवराज गौतमको सम्पादनमा तयार भएको पुस्तक २३६ पेजमा समेटिएको छ । पुस्तकको दोस्रो खण्डमा लेखक राईले नै विभिन्न समयमा विभिन्न सञ्चारमाध्यममा लेख्नुभएको ३४ वटा लेखहरू छन् । ती लेखहरू कहीँ न कहीँ राष्ट्रवाद र राष्ट्रप्रेमसँग सम्बन्धित छन् । पुस्तकको मूल्य ६२५ राखिएको छ ।


राष्ट्रवादको बहस नेपाली नयाँ पुस्तामाझ आवश्यक्ता मात्र नभई अपरिहार्यता हो । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अँगालेको नेपालमा यस्तो किसिमको बहस वा अभियानले राजनीतिमार्फत समुन्नत मुलुक निर्माणमा सघाउ अवश्य पुर्‍याउनेछ । र राजनीतक सिद्धान्त, विचार, दृष्टिकोण निर्माणमा पुस्तक सारथि बन्नेछ । राष्ट्रवाद वा राष्ट्रप्रेमको परम्परागत व्याख्यालाई पुनः परिभाषित गरेर पुस्तकले नयाँ परिभाषा स्थापित गर्ने प्रयास गरेको छ । पुस्तकले धेरै हदसम्म अहिले देखिएको राष्ट्रवाद र राष्ट्रप्रेमको पक्ष र विपक्षमा देखिएका तर्क र विचारधारालाई समेट्ने कोसिस गरेको छ । लेखकले राष्ट्रवादसँग सम्बन्धित विभिन्न अवधारणा, मूल्य र मान्यतालाई सटिक रूपमा पुस्तकमा समेट्ने कोसिस गरेका छन् ।